site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
जहाँ ‘सुकरातहरु’ प्रताडित भइरहन्छन्

हाम्रो समाज विचित्रको छ । यहाँ सामाजिक, आर्थिक, राजनीतिक आदि सबै क्षेत्रमा स्वतन्त्रता छ तर जिम्मेवारी र जवाफदेही भने छैन । लोकतन्त्र छ तर लोकतान्त्रिक अभ्यासहरु लोकतन्त्रलाई नै खिसी टिउरी गर्ने खालका छन् । राज्यका तीनै अङ्ग छन् तर तिनको प्रभावकारी तथा सुदृढ उपस्थिति जनताले महसुस गर्न पाएका छैनन् । ती ‘फसाद’ का रुपमा छन् । अरु त के कुरा समाजको अन्तिम धरोहर र आस्थाको केन्द्रको रुपमा रहेको न्याय प्रणालीमा जनसाधारणको भरोसा र विश्वास खस्केको छ । न्याय प्रशासनको निगरानीमा नपरेर हो कि कतिपय अर्धन्यायिक निकाय (क्वासी जुडिसियल बडी) का कामकार्बाही त झनै उदेकलाग्दा छन् । कुनैकुनै अर्धन्यायिक निकाय त सशस्त्र विद्रोहीका कंगारु कोर्टजस्ता प्रतीत हुन्छन् – शक्ति र व्यक्तिको सनकका भरमा चल्ने । त्यहाँँ विधि र प्रक्रियाको पालना गरी हुने स्वच्छ सुनवाइको गुन्जाइस हुँदैन । दसीप्रमाण खोतली सत्यतथ्य पत्ता लगाउनुभन्दा स्वविवेकको भरमा दण्ड निर्धारण हुन्छ । यहाँ जङ्गबहादुरहरुलाई पनि माथ दिने नवजंगबहादुरहरु विभिन्न स्वरुपमा देखापरिरहन्छन् । तर विडम्बना, यति हुँदा पनि हाम्रो समाज सहेर बस्न बाध्य छ । आखिर व्यक्तिको शासनको बोलवाला भएको ठाउँमा विधिको शासनको के लाग्छ? त्यसैले यहाँ निर्दोषहरु दोषी घोषणा हुँँदा, अनि दोषीहरु निस्फिक्री शिर ठाडो पारी मस्त घुमिरहँदा पनि ताजुब मान्नु पर्दैन । यहाँ निरपराध ‘सुकरात’हरु मृत्युवरण गर्न बाध्य छन् ।

सुकरात ग्रिक दार्शनिक हुन् जसलाई पश्चिमा दर्शनको प्रवर्तकमध्ये एक मानिन्छ । तर, उनले आफैँ कुनै लेखन वा प्रकाशन भने गरेनन् । उनको चेला प्लेटोले सुकरातका विचारहरुलाई सार्वजनिक गरेपछि उनी चर्चित भए । तत्कालीन सामाजिक चिन्तनको घेरालाई तोडेर फैलिएको उनको सोच व्यापक त छँदै थियो त्यो दुस्साहसपूर्ण पनि थियो । जगत र जीवनलाई हेर्ने सुकरातको दृष्टिकोण परम्परा, धार्मिक पदसोपान र मिथकमा आधारित नभई बहस र तर्कद्वारा निर्धारण हुन्थ्यो । आफ्नो विचारशक्ति दोहन गरी वरपरका चराचर जगतको व्याख्या गर्थे । समय र परिवेशको दाँजोमा उनको सोच अत्यन्तै अग्रगामी थियो । 

Agni Group

ईसापूर्व पाँचौ शताब्दीमा एथेन्सको लोकतन्त्रबाट सुकरातको विचार प्रभावित थियो । तर, सदियौंदेखि धर्मान्धता, दासता र व्याप्त व्यभिचारले गाँजेको सहरमा गलत प्रवृत्तिको विरोध गर्ने साहस कसैमा थिएन । सुकरात भने हक्की थिए । उनी एथेन्सका विशाल भवन, भव्य संरचना र अजङ्गको पानीजहाज भए पनि त्यहाँका मानिस सुखी हुन सक्दैनन् भने त्यसको के अर्थ रहन्छ भनी प्रश्न गर्थे । अनि सोध्थे — के लोकतन्त्रले मात्र न्यायपूर्ण समाज सृजना गर्न सक्छ? के धन नै सबैथोक हो? नैतिकता र ज्ञानविज्ञानको क्षेत्रमा उनको दार्शनिक चिन्तन विशिष्ट छ जसले पछिल्ला थुप्रै दार्शनिकहरुमा व्यापक प्रभाव पारेको देखिन्छ । पश्चिमा कला, साहित्य तथा लोक संस्कृतिमा समेत उनको दर्शनको प्रभाव यत्रतत्र भेटिन्छ । “आफूलाई खोज्नको लागि आफ्नै लागि सोच” भन्ने धारणा राख्ने सुकरात भन्छन् — “परीक्षणबाट नगुज्रिएको जीवन बाँच्न योग्य हुँदैन”

अन्य पुरुष नागरिकसरह सुकरातले पनि सैनिक सेवा गरे र उत्तरी ग्रिसको रणनीतिक सहर प्रोटिडायाको रक्षार्थ खटिए । त्यसपछि सुकरातको विचार अझ प्रखर र विहङ्गम भयो । उनले नैतिकतालाई दर्शनशास्त्रमा समेटे । एथेन्सका सैनिक जेनरल अल्सिबाइडिस सुकरातका मित्र एवं शिष्य थिए । परन्तु, अल्सिबाइडिसले पेलोपोनेसियाको युद्धका दौरान धेरैपटक आफ्नो राजनीतिक निष्ठा बदले । अनुभवी सैनिक अधिकारी भए पनि उनको बफादारी आफ्नो स्वार्थअनुरुप परिवर्तन भइरहन्थ्यो । अल्सिबाइडिस ईसापूर्व पाचौं शताब्दीमा पेलोपोनेसियाको युद्धका क्रममा भएको विनाशकारी ‘सिसिली अभियान’का मुख्य समर्थक थिए जहाँ लगभग सम्पूर्ण एथेन्सका फौज अर्थात् करिब ५० हजारभन्दा बढी लडाकु र गैरलडाकु सैनिक मारिएका वा पक्राउ परेका थिए । 

Global Ime bank

यसैबीच सुकरातलाई मुद्दा चलाइयो । दार्शनिक सुकरातलाई मुद्दा चलाइनुको मुख्य कारण अल्सिबाइडिससँगको उनको सामिप्य थियो । तर, उक्त कारण सुकरातलाई मृत्युदण्ड दिन पर्याप्त थिएन । तसर्थ, उनलाई तत्कालीन समयको सबैभन्दा गम्भीर अपराधहरुमध्ये दुई आरोप ‘नैतिक भ्रष्टाचार गरी युवाहरुलाई भड्काएको’ र ‘ईश्वरको अनादर गरेको’ लगाइयो । परन्तु, एथेन्सवासीहरु उनलाई बौद्धिक र नैतिक शुद्धीकरणमार्फत् समाजको सुधार गर्ने नागरिकको रुपमा चिन्थे । बहसको समय धेरैले केही जरिवाना गराएर बुज्रुक दार्शनिकलाई छाड्नुपर्ने धारणा राखे पनि उनको विद्वतता र स्वाभिमानप्रति ईष्र्या गर्ने विरोधीहरुले मृत्युदण्ड नै दिनुपर्ने अडान राखे । महान् दार्शनिक सुकरातलाई समाजप्रतिको जिम्मेवारी तथा योगदान भए पनि उनका वैरीहरुले बढाइचढाइ गरेर अनेकौं मिथ्या आरोप लगाई अन्ततः मृत्युदण्ड दिइछाडे । उनले समाजमा रहेको जडवादी चिन्तन तथा हठधर्मी प्रवृत्तिको तर्कपूर्ण ढङ्गले खण्डन गर्दै आफ्नो विद्वततामार्फत् समाजलाई सकारात्मक दिशातर्फ परिवर्तन गर्ने चेष्टा गरे पनि तत्कालीन यथास्थितिवादी तथा अन्धविश्वासीहरुलाई पचेन । मृत्युदण्डपछि प्लेटोले सुकरातलाई “सबैभन्दा ज्ञानी र सम्पूर्ण मानिसमध्ये सबैभन्दा सच्चा” भनेका छन् । अचम्म लाग्छ, कसरी कुटिल मानिसहरु कुतर्कको भरमा निःसंकोच सेतोलाई कालो अनि कालोलाई सेतो बनाउन सफल हुन्छन् ?

सतहमा तर्क र कुतर्क एक झैँ लाग्छन् । दुबैमा अरुको विचारलाई प्रभावित गर्ने क्षमता हुन्छ । तर, ती दुईबीच आकाश र जमिनको भिन्नता छ । तर्कले सत्यलाई पछ्याउन प्रयत्न गरिरहेको हुन्छ भने कुतर्कले असत्यलाई सत्यको रुपमा पेस गरिरहेको हुन्छ । तार्किक विचारहरु पनि कहिलेकाहीँ गलत हुन सक्लान् तर तिनका नियत भने गलत हुँदैनन् । तर, कुतर्कको नियत सधँै ‘खोटो’ हुन्छ । जुन समाजमा अज्ञान व्याप्त छ र जहाँ अर्धज्ञानीहरु आफूलाई ज्ञानीको रुपमा प्रस्तुत गर्छन् अनि जहाँ भएका सीमित ज्ञानीहरु अज्ञानी र अर्धज्ञानीहरुसँग कुतर्कमा जित्न नसकेर गुमनाम र चुपचाप बसिरहेका हुन्छन् त्यो समाजमा सत्य र असत्यबीच भेद खुट्याउन कठिन हुन्छ । त्यहाँ न्याय मरेको हुन्छ ।
    
सुकरात आफ्ना ब्रह्मले देखेको सहीलाई सही र गलतलाई गलत भन्न धक मान्दैनथे । उनको ध्येय पुरातनवादी तथा रुढीवादी सोचमा आफ्नो व्यक्तिगत लाभ तथा प्रतिष्ठाको लागि बोली मिलाउनु नभएर समाजको भलाइका लागि चिन्तन गर्नु थियो । उनको प्रष्ट विचार तात्कालिक दंभी एवं आत्ममुग्ध (नार्सिसिस्ट) शासकहरुलाई पचेन । ती शासकले सुकरातको स्पष्टवादिता र समाजको हितप्रति उनको निष्ठालाई ‘अवज्ञा’ को लेपन दलेर दोषी ठहर गरे । अदालतसमक्ष मस्तक ठाडो पारी दृढतापूर्वक दिएको सही र स्पष्ट तर्क क्षुद्र मानसिकता भएकालाई अस्वीकार्य भयो । सुझाव गरिए झैँ बचाउमा चाप्लुसी शैलीमा बयान दिई आरोपलाई अन्त मोडेर पनि बच्न सक्थे तर त्यसो गर्नु उनले आफ्नो स्वाभिमानविरुद्ध ठाने । सफाइमा समाजको भलाइको काम गरेकाले आफूले सजाय होइन बरु पुरस्कार पाउनुपर्ने जिकिर उनले गरे । सुकरातलाई निकृष्ट शासक सामु झुक्नुभन्दा सत्यमा अडिग रही हाँसीहाँसी जीवन उत्सर्ग गर्नु उत्तम लाग्यो र उनले आफ्नो सही अडान छाडेनन् । तर, स्वाभिमान र अभिमानबीचको फरक नदेख्ने दृष्टिदोषीहरुका अगाडि उनी कसुरदार ठहरिए । उनले कुनै संकोचविना ‘हेम्लक’ विष सेवन गरी देह त्याग गरे । सत्ताको मातले चुर स्वार्थी शासकले जस्तोसुकै आरोप लगाएर सुकरातलाई मृत्युवरण गर्न बाध्य पारे पनि समाज र मुलुकलाई उनले दिएको योगदान आखिर उजागर भएरै छाड्यो । विश्वले उनलाई उच्च सम्मान दियो । ती अन्यायीहरु उदाङ्गिए । सत्य नडग्ने र झुठो नटिक्ने आखिर साबित भएरै छाड्यो ।  
    
हाम्रो समाजमा अझै पनि केही यस्ता ‘सुकरात’हरु छन् जो सत्यका खातिर बलिदान दिन हिच्किचाउँदैनन् । भलै, तर्क र कुतर्कबीचको भेद नछुट्याउने विवेकहीनहरुबाट कुनै दसीप्रमाण तथातथ्यको पहिचानविना झुठा आरोपमा गुमनाम ‘सुकरातहरु’ लाई दोषी ठहर गरिन्छ । हाम्रै समाजमा आफ्नो निष्ठा बदलिरहने, धूर्त, द्रोही तथा विश्वासघाती ‘अल्सिबाइडिस’हरु पनि छन् जो निरपराध सुकरातको मृत्युको कारण बनिरहन्छन् । यही समाजमा अरुको गहन विचार सहन गर्न नसक्ने दम्भी शासकहरु पनि छन् । त्यसैले त ‘प्रभु’ को ‘आदेश पालना नगरेको’ आरोपमा इमानदार एवं निर्दोष ‘सुकरातहरु’ मृत्यवरण गर्न बाध्य छन् । यहाँ अझ कति ‘सुकरात’हरुले हेम्लक पिउनुपर्ने हो हेर्न बाँकी छ । सत्ता र शक्तिले मदमस्त भएकाहरुले कुतर्कको भरमा अन्यायपूर्वक दमन गरिएका ‘सुकरातहरु’को सत्यतथ्य एक दिन बाहिर आउने नै छ । अन्यायीहरुको पाप धुरीबाट अवश्य कराउँछ । समय बलवान छ, हेर्दै जाऊँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC