site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
संसद्‌मा सरकार बन्ने विकल्प हुँदासम्म विघटनको व्यवस्था संविधानमा छैन 
Sarbottam CementSarbottam Cement

अहिले नेपालमा प्रतिनिधि सभा विघटनलाई लिएर राष्ट्रिय राजनीति तातेको छ ।  प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की संविधानमा भएको व्यवस्थाअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्ने ठाउँ नभएको तर्क गर्छिन् ।
०४७ यता नेपालमा ३० वर्ष संसद विघटनै विघटनको इतिहास भएकाले त्यसलाई रोक्न अहिलेको संविधानले धारा ७६ को व्यवस्था गरेको उनको धारणा छ ।

प्रतिनिधि सभा विघटनको विषयमा संविधानको धारामा गरिएको व्यवस्थाको व्याख्या अदालतले गर्ने उनको भनाइ छ ।  नेपालका राजनीतिक दलहरुले संविधानलाई आफूअनुकूल व्याख्या गर्न कोसिस गर्दा कुनै पनि संविधान लामो नटिकेको कार्की बताउँछिन् ।  उनै पूर्वप्रधानन्यायाधीश कार्कीसँग प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विषयमा केन्द्रित रहेर बाह्रखरीका जगन्नाथ दुलालले गरेको कुराकानी :

अहिले प्रतिनिधि सभा विघटनको विषयलाई लिएर अदालतभित्र र बाहिर पनि बहस छ । प्रतिनिधि सभा विघटनमा उठेका संवैधानिक प्रश्नलाई कसरी हेरिरहनुभएको छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

कानुनविद्हरुले संविधानमा जे छ त्यही व्याख्या गर्नुपर्ने हो । हामीले संविधानमा जे छ त्यही भन्ने हो । एउटा देशको संविधानसँग अर्को देशको संविधान मिल्दैन ।

हरेक देशको संविधान अर्को देशको संविधानसँग मिल्दैन । संविधान देशअनुसार मौलिक हुन्छ । हाम्रो ०४६ सालमा बहुदल आयो । ०४७ सालमा संविधान बन्यो । ०४७ को संविधानमा प्रधानमन्त्रीले चाहेको बेलामा संसद भंग गर्न सक्छन् भनेर स्पष्ट व्यवस्था गरिएको थियो । त्यसैले गिरिजाप्रसाद कोइरालाले संसद भंग गर्नुभयो । 
पछि मनमोहन अधिकारीले भंग गर्नुभयो । अदालतले रोक्यो । त्यसपछि शेरबहादुर देउवाले संसद भंग गर्नुभयो । सूर्यबहादुर थापाले राजाको निवेदन दिएर संसद भंग गर्न माग गर्नुभयो । राजाले सर्वोच्च अदालतलाई सोध्नुभयो, राय माग्नुभयो । अदालतको रायपछि संसद् भंग भएन । 

Global Ime bank

यी सबै घटनाले गर्दा नेपालमा कहिले पनि स्थायी सरकार नहुने भयो भन्ने विषय संविधान सभामा आयो ।  अहिले जो नेताहरु हुनुहुन्छ, संविधान सभामा पनि उहाँहरुनै हुनुहुन्थ्यो ।  संविधान सभामै रहेका नेताहरु अहिले पार्टीमा पनि नेता छन् ।  कोही सरकारका, कोही प्रतिपक्षमा छन् । केही नयाँ मानिस पनि आए होलान् । 
संविधान बनाउँदा कुनै पनि सरकारले पूर्ण कार्यकाल (पाँचवर्ष) काम गर्न पाएनन् भन्ने अवधारणा विकास भयो । 

त्यसपछि संसद् विघटन नहोस्, सरकारले पूर्ण काम गर्न पाओस् भनेर संविधानको धारा  ७६ (१) (२) (३) (४) (५) सम्म राखे ।  १ मा बहुमतको सरकार बन्ने, २ मा बहुमतको नबने संयुक्त सरकार बनाउनेलगायतको व्यवस्था राखे ।  अन्तिममा यदि संसदले सरकारनै दिन सकेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई लेखेर पठाउने  भन्ने व्यवस्था धारा ७६ (७) मा राखियो । 

यसो भन्नुको मतलव के हो भने संसद्बाट सरकार बनुन्जेलसम्म बनाइराख, यदि बन्नै सकेन प्रधानमन्त्रीले राष्ट्रपतिलाई लेखेर पठाउने व्यवस्था राखेर चेक एण्ड ब्यालेन्सको व्यवस्था गरेको देखिन्छ । 

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रतिनिधि सभा विघटन राजनीतिक विषय भएकाले अदालत प्रवेश गर्न नमिल्ने बताउनुभएको छ नि ! 

राजनीतिक विषयमा बोल्न मिल्दैन भनेर भनिएको छ । तर, कुरा के छ भने संविधानको धाराको व्याख्या त अदालतले गर्छ । संविधानको धारामा लेखिएको व्याख्या गर्ने अधिकार कसलाई छ ? अदालतलाई छ । संविधानले कुन अवस्थामा भंग गर्न मिल्ने वा नमिल्ने व्याख्या अदालतले गर्नुपरेन ?  अदालतले के व्याख्या गर्छ त्यो अलग कुरा हो । संसद् भंग भएकाले धारा ७६ को कुरा छ । त्यो धारा किन ल्याइएको हो भन्दा चेक एण्ड ब्यालेन्सका लागि ल्याइएको हो । 

जसले पायो त्यसले पकेटबाट फुत्त भंग गर्न मिल्दैन । निजी आफ्नो विषयलाई लिएर, म पदमा रहन्छु कि रहन्न, मेरो पार्टी सत्तामा रहन्छ कि रहन्न भन्ने कुरालाई लिएर संसद् भंग गरिँदैन । यहाँ त जसलाई जतिबेला मन लाग्यो संसद भंग गर्दियो । 

संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गरेर ताजा जनादेशमा जाने अधिकार छ भनेर पनि कतिपयले भनिराखेका छन् । त्यस्तो अधिकार त प्रधानमन्त्रीलाई हुन्छ नि होइन ? 

हाम्रो संविधान ‘वेष्ट मिनिस्टरियल’ छ भनौँ भने हुबहु पनि छैन । हुबहु भारतको जस्तो पनि छैन । संविधानको मोडल कस्तो हुन्छ भन्नेमा त्यहाँको भूगोल, जनसँख्या, जातीयलगायतका विविध  कुराहरुले पनि अर्थ राख्छ । 

हरेक देशको फरक फरक संविधान हुन्छ । कतै हजार शब्दको संविधान छ । अमेरिकामा १७८७ तिर लेखिएको संविधान, जापानको संविधान अंग्रेजले दोस्रो विश्वयुद्धपछि लेखेर दिएको संविधान हो । हाम्रोजस्तो सानो देशमा सातवटा संविधान  आइसक्दा पनि चल्ने अवस्था देखिएन । 

त्यही देखेर ‘कन्ट्रोलिङ’, ‘मेजरमेन्ट’ अपनाएकोजस्तो लाग्छ । संविधानमा जे लेखियो हामी त त्यही भन्छौं । संविधानको अक्षरस पालना गर ।

संविधानको धारा ७६ मा आधारित भएर मात्र संसद विघटन गर्न सकिन्छ भन्ने कुरा संविधानले बताइरहेको छ । 

यो मैले भनेको पनि होइन । संविधानले भनेको हो । किन त्यस्तो संविधानमा लेखियो ? प्रधानमन्त्रीले चाहेका बेलामा संसद विघटन हुन्छ भनेर ०४७ को संविधानमाजस्तो लेखिदिएको भए भइहाल्थ्यो । यो राख्नुर्‍यो किन ? यहाँ त जो पनि आउने भयो, आफूलाई मन परेन भने संसद् भंग गर्दिइहाल्ने भयो । त्यसैलाइ रोक्नका लागि अंकुश लगाउन धारा ७६ को व्यवस्था गरिएको हो । 

संविधानको दृष्टिकोणबाट हेर्दा अहिले संसद जीवितै छ कि विघटन भएको अवस्था हो ? 

अहिले प्रतिनिधिसभा विघटन गरिएको छ । अदालतले पुनःस्थापना गर्‍यो भने ठिक छ, पुनः स्थापना हुनसक्छ । बाटो दुईवटा छ । यो मैले भनेको होइन हाम्रोमा चलन र इतिहास पनि छ । जनता सडकमा गए । मनमोहन अधिकारीले भंग गर्दा अदालतले पुनःस्थापना गरिदियो । ०६३ मा जनआन्दोलन भयो । संसद पुनः ब्युँतियो । शेरबहादुर देउवाको पालामा राजाले भंग गरेको संसद जनआन्दोलनपछि ब्युँतियो । हाम्रो यो इतिहास हो ।

संविधानको कार्यान्वयनमा सरकारको प्रतिबद्धतालाई लिएर पनि प्रश्न उठाइएको छ नि ? 

हामीकहाँ संविधान बनाउँछन् तर संविधानमा आधारित भएर काम गर्दैनन् । ०६३ कै संविधानको अनुहार हेरौं न, ५–६ पटक संशोधन । संविधान जारी हुन पाउँदैन, आफ्नो अनुरुपको काम गर्न संशोधननै अघि आइहाल्छ ।  ०६३ को त १–२ वर्षका लागि ल्याइएको संविधानमा कति चोटी संशोधन भयो ? हाम्रो त्यस्तो प्रवृत्ति छ । अमेरिकाको १७८७ मा लेखिएको संविधान अहिलेसम्म कायम छ । तर,  हामीकहाँ सातवटा संविधान लेखियो  । 

संविधान आउन पाएको छैन सबैलाई आफूअनुकूल संविधान चाहिने ।   अहिले पनि आफ्नो अनुकूल बनाउन खोजेको हो नि ! आफुलाई जे चाह्यो त्यही गर्ने । संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिस हेर्नुस् त ! म एउटालाई मात्र दोष लगाउँदिन । 

हरेक दल आउँदा संविधानमा आआफ्नो अनुकूलको व्याख्या गर्न खोज्छन् । आफू अनुकूल भएन, डेडलक भयो भने संविधान संशोधन गर्नतिर लाग्छन् । संविधानसम्मत् काम गर्नुपर्छ । संविधान त तपाईंहरुले हस्ताक्षर गरेर जारी गरेको हो नि । 

सरकार, प्रधानमन्त्री, राष्ट्रपति, जनताभन्दा पनि माथि बसेको हुन्छ । संविधानको पालना पो गर्नुपर्छ । हाम्रा गल्ती के हो भने हामी संविधानको पालना गर्दैनौं । संविधानमा भएको व्यवस्था नमान्ने हो भने त्यसको के अर्थ  ? संविधानको नाममा धेरै खर्च भएको छ । हेर्नुहोला अलि पछि फेरि आउँछ अर्को संविधानको माग । जनताको खाने, बाँच्ने, उपचार पाउने, स्वास्थ्य उपचारको अधिकारका कुराहरु छन् । रोजगारीका कुराहरु छन् । जनताका यी विषयमा कसैको ध्यान छैन । खाली संविधान लेख्ने कुरा हुन्छ । किनभने पैसा झर्छ नि ! विदेशीले पैसा दिन्छ, त्यही त भइरहेको छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ? 

संविधानले राम्रो कुरा गर्न रोक्दैन । नराम्रो कुरा गर्नलाई मात्र रोक्छ । अदालतले के व्याख्या गर्छ त्यो अलग कुरा हो ।  अरु देशमा विघटन गर्न पाउने यहाँ किन नपाउने भन्ने हो भने त्यही अनुसारको व्याख्या होला ।  तर, मैले तपाईंलाई भने ०४७ देखि यता नेपालमा संसद् विघटन नै विघटनको इतिहास छ ।  त्यसैलाई रोक्नका लागि अहिलेको संविधानले धारा ७६ को व्यवस्था गरेको हो । त्यसलाई नमान्ने हो भने अलग कुरा हो । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC