जुनकिरीसँगै
उठाउँदै प्रातःको उज्यालो,
खोजी गर्दै म तिम्रो
अकण्टक अदम्य
तृष्णा त्यो मेरो
भेटाउन तिमीलाई
बोकी अभिष्ठ हिँडेको थियो ।
कहाँ खोजिनँ मैले ?
अनकण्टार गुफाभित्र,
दिव्यज्योति जलाई
उडी माथि नभमा
बादलको केस्रा केलाई
फारेर विस्फारित नेत्र मेरा
भेटाउन खोजे मैले
विशाल त्यो
व्योममा तिमीलाई ।
बयान म के गरूँ !
हिमालको दृढ उभ्याइसँगै,
उभिएर चारैतिर
दिव्य नजर घुमाइ
आकाशको विशाल फाँटमा
जीवन बोध नाप्दै
हिँडेथे मेरा पाइलाहरू
हातमा बूढो लाठी समाइ
समुद्रको छालभित्र
अबोध्य जलजीव खेलाइ
म खोज्दै हिँडे गहिराइमा,
भेट्छु कि भनी तिमीलाई !!
देखिइनौं कहीँ तिमी
भेटिइनौं कहीँ
खोजें फेरि
वरिपरि जहीँतहीँ,
रातको ओसले शीत बनी
पातबाट टप्किएर थोपा सरी
झर्न लाग्यौ कि धरतीमा भनी
माटोमा दिल बिच्छ्याएर
थापी बसेँ दिनरात नभनी
फैलाएँ मैले मनको आँचल
घेरा हाली छेकी सबैतिर
दिल तिम्रो पग्ली कतै
विलुप हुन्छ्यौ कि भन्ठानेर ।
माघको ठिहीमा
कर्कलाका पात चढी
देखाउँथ्यौ बैंसको आभा
गर्दै तिमी ढलिमली
सुनौलो शृंगारिक मञ्चमा
घुम्टोभित्र लजाउँदै
गथ्र्यौ नखरा तिमी
ढलपल ढलपल गर्दै
मोतीजस्तै टल्किँदै,
बिहानी सूर्यको किरणसँगै
छथ्र्यौ प्रीतिको मधुमास तिमी !
आज मबाट हरायौ किन ?
बनाएर व्याकुल मलाई ?
कुन दिशा हो तिम्रो यात्रा
विक्षिप्त छु म थाहा नपाई,
आशा मेरो मरेको छैन,
म पर्खेर बसुँला सधैं
आऊ उडी व्योमको मार्ग हुँदै
औँसीको रातमा तिमी
प्यारो जुनकिरीसँगै ।
० ० ०
सूर्य
सर्वाङ जलाएर आफ्नो काया
छरिरहेछ दिव्य किरण
दिएर राप र ताप
ब्युताइरहेछ ब्रह्माण्डका
खगोलीय पिण्डहरू ।
प्राणी वा वनस्पतिको
जिन्दगी ज्युने सहारा,
कुनै लाभ वा हानिको
हिसाब नगरी
एकोहोरो योगदानको प्रतीक बनेर,
हिलियम–हाइड्रोजन उत्सर्जनले
अकल्पनीय ताप उमारेर
शरीरमा,
आवश्यकताअनुसार
खगोलभित्रका
पिण्ड–पिण्डलाई
पृथ्वी लोकका सारा जीवनलाई
दान दिइरहेछ सूर्य,
कहीँ चुम्बकीय गुरुत्वाकर्षणका रूपमा
कहीँ प्रकाशयुक्त न्यानोपनमा ।
रिसाएन कहिल्यै सूर्य,
निराश भएर
बिहान उसरी नै
क्षितिजको गर्भबाट,
आफ्नो कलिलो
रक्तरञ्जित हँसिलो मुहार देखाउँदै
जागृत गराउँदै विश्व जीवनलाई
दिनको पौरखी प्रचण्ड,
राप र तापको ओजस्विताले,
ओस र खोल्साहरू तताउँदै
पगाल्दै हिउँका चिसा फाँटहरू
फेरि लुप्त हुन्छ सूर्य ढल्कँदै
साँझको बुढ्यौलिसितै
अर्काे पाटोको बिहानी बन्दै ।
यो यात्रा निरन्तर,
खगोलको इतिहाससँगै
जिवात्माको कथाभन्दा अगाडिदेखि,
विभिन्न आयाम र उथल–पुथलबीच
हिँडिरहेछ सूर्य
एक अविश्रान्त पथिक झँै
आँखा नचिम्ली सधैंभरि ।
कसैको बुझाइको देवता हो सूर्य
कसैको बुझाइको पिण्ड हो सूर्य
कसैको बुझाइमा अग्निकुण्ड हो सूर्य
कसैको मान्यतामा,
ब्रह्माण्डको मुख्य चालक हो सूर्य
जहाँ जसले जे माने पनि,
जहाँ जसले जे ठाने पनि
प्रकृतिको अनुपम उपहार
खगोलीय संरचनाको चमत्कार
प्राणी, वनस्पतिको, जीवनदाता
सृष्टिकै अतुलनीय,
भयङ्कर, प्रज्वलन हो सूर्य,
देवता हो,
भगवान् हो,
सारा संरचित खगोलको
रक्षक हो सूर्य ।
सूर्यविनाको संरचना
अकल्पनीय विध्वंश वा
निराकार खगोलीय वृत्त हो,
त्यसैले सूर्य एक
सन्तुलन हो ब्रह्माण्डको
संरचित यो विश्व जीवनको ।
(कोटेश्वर)