पोखरा । पोखरामा भइरहेको नवौं संस्करणको आइएमई लिटरेचर फेस्टिवलमा पठन संस्कृतिको विकासका लागि के, कस्तो पहल गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
पोखरामा भइरहेको आईएमई लिटरेचर फेस्टिभलमा ‘पढ्ने र पढाउने हुटहुटी’ शीर्षक तोकिएको सत्रमा इटहरीका बिकेश कविन, कपिलवस्तुका हरि खनाल र काठमाडौंकी मनुश्री महत सहभागी थिए । उनीहरू सबै विद्यार्थी हुन् ।
मान्छे थुप्रै भ्रम, सीमितता र संकिर्णतासाथ बाँचिरहने भएकाले यसबाट बाहिरिन पठन आवश्यक रहेको बिकेशको भनाई थियो । ‘लेखक हुनलाई पाठक हुनैपर्छ ।’ आफूले कविता, निबन्ध र संस्मरण लेख्दै आएको बताउँदै उनले भाषिक सौन्दर्य, र शब्द भण्डार बढाउनका लागि पढ्नै पर्ने तर्क गरे । उनले भने ‘पठनका बेला हामीभित्रको हामीसँग हुन्छौं । स्वान्त सुखायको अवस्थामा पुग्छौं ।’
कक्षा १० की छात्रा मानुश्रीले कोर्स बाहिरको किताब पढ्दा मान्छेहरूले खिसी गर्ने गरेको बताइन् । “तर, बाहिरको किताब पढ्दा कोर्समा नभएको कुरा थाहा हुन्छ,” उनले भनिन्, “आख्यान पढ्दा अर्को मान्छेको जीवन बुझिन्छ, उनीहरूमार्फत् समाजका अन्य मानिसको भावनाहरू बुझिन्छ । गैर–आख्यान रियल लाइफको अनुभव, अप्स एन्ड डाउन्स बुझिन्छ । हाम्रो प्रस्पेक्टिभ नै ब्रोड हुन्छ ।”
पठनलाई आफूमा मात्रै सीमित नराखेका हरिले विगत दुई महिनायता विभिन्न कारागाराहरूमा पुस्तक वितरण गर्दै आएका छन् । राष्ट्रिय पुस्तकालयको अभियन्तासमेत रहेका उनी अरूलाई पढाएर र किताबको सहाराले आनन्द बटुलिरहेको बताउँदै थिए ।
“आफू बाच्नुको सम्बन्ध आफूसँग मात्रै हुँदैन,” हरिले भने, “वृक्षले फल उत्पादन गर्छ तर त्यो फल आफू खाँदैन । मैले पनि आफू मात्र पढ्न चाहिनँ । अरुलाई पढाएर, किताबको साहराले आनन्द बटुलिरहेको छु । विवेकानन्दका अनुसार खाना दिए केही घण्टालाई, वस्त्र दिए केही महिनाको लागि, ज्ञान दिए जीवन्त रहन्छ ।”
हरिझैं बिकेशले पनि ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुपमार्फत् अन्यलाई पढ्न पे्ररित गर्दै आएका छन् । सन् २०१७ सालमा ग्रुप सुरु गरेका उनी हाल डेढ सय टपिकका लेख–रचना जम्मा पारेर त्यसको संग्रह गर्दैछन् । “आजभन्दा १०–२० वर्षअघिका लेखहरू खोज्ने मान्छे टन्नै छन्,” उनले भने, “कसैले मागेमा हामीसँग भएका ईं–लेख उपलब्ध गराउन सक्छौं ।”
आफूले झैं पठनको रुची सेयर गर्ने दुई–तीन जनामात्रै साथी भएको मनुश्रीको भनाइ थियो । उनीहरूसँग कुराकानी गर्न खूब रमाइलो लाग्ने उनले बताइन् । कोर्सबाहिरका किताब खासै नपढ्ने साथीहरूलाई उनी विभिन्न पुस्तक र तिनका पात्रबारे बताएर पठनमा उत्साहित गराउन खोज्दी रहिछन् ।
बिकेशले भने, “पाठक यात्री हो । पुस्तक पढिसकेपछि पनि पठन सकिँदैन । पठन मूल कुरा हो भने चिन्तन, मनन महत्वपूर्ण कुरा हो । परिवारमा एक जनाले पढ्यो भने पठनको बिउ रोपिन्छ ।”
कारागारामा पुस्तक उपलब्ध गराउनुको अभिप्रायबारे पत्रकार स्वेच्छा राउतले बुझ्न खोज्दा हरिले दिएको जवाफ रोचक मानियो । उनले भने, “प्रकाशको आवश्यता त्यहीँ हुन्छ जहाँ अन्धकार हुन्छ । हाम्रो माग के छ भने कारागारलाई बन्दी गृह नबनाएर प्रज्ञा केन्द्र बनाइयोस् । स्वतन्त्रताको अनुभव आफूभित्रै निहित हुन्छ । जसले आफूलाई बुझेको छ, ऊ कारागाराभित्र रहेका पनि स्वतन्त्र हुन्छ । उसलाई बन्दी भन्न मिल्दैन ।”
‘अपराध गर्नेलाई सजाय दिनुपर्छ, किताब होइन’ भन्ने खालका प्रतिकृया आउँदा आफूलाई नमिठो लाग्ने गरेको हरिले बताए । “मान्छे जन्मिँदै अपराधी हुँदैन,” उनले भने, “अपराध त समाजदेखि जन्मिरहेको छ, त्यो समाज भनेको तपाई–हामी नै हो । अपराधीले फाँसी दिने हो भने हामी आफैं पनि फासीमा चढ्न सक्नुपर्छ, सकिन्छ त ।”
कारागारबाट पुस्तकहरूको माग आउन थालेयता आफूहरूलाई अलि समस्या परेको उनले जानकारी दिए । “हामी आफैं विद्यार्थी हौ, फन्डिङको स्रोत छैन,” उनले भने, “डोनेसनको किताबमा भर पर्नुपर्छ । मागअनुसार उपलब्ध गराउन सकिएको छैन ।”
मध्यस्थकर्ता राउतले मधेसी मुलका बिकेशलाई भाषाका कारण पठनका बाधा–अड्चन पुग्ने, नपुग्नेबारे सोधेकी थिइन् । बिकेशले आफू मिश्रित समुदायमा हुर्केको हुँदा सबै भाषाभाषीमा अपनत्व महसुस हुने बताए । “म थारु र नेपाल भाषा बरोबर सुन्छु,” उनले भने, “पठनको अभावले कुसुन्डा भाषा लोप भइसक्यो । मलाई त मुन्धुम, किरात भाषा सबै मेरै हो जस्तो लाग्छ । अन्य भाषासँग मलाई पठनले नै नजिक बनाएको हो ।”
सरकार केही काममा चुकेको हो
नेपालमा कोरोना भाइरस महामारीले जनस्वास्थ्यको क्षेत्रमा नयाँ पाठ सिकाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताएका छन् । बास्तोलाले नेपालमा कोरोना माहामारी व्यवस्थापनामा जति लगानी भएका छन् त्यसलाई लिपीवद्ध गरेर राख्नुपर्ने आवश्यकता आँैल्याए, कारण अबको ५० वर्षपछि आउनसक्ने संभावित महामारीमा अहिले हामीले गरेका अभ्यास उपयोगी हुन सकुन् ।
आइएमई लिटरेचर फेस्टिभलको नवौँ सँस्करणमा विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस महामारीले नेपालको जनस्वास्थ्यमा पारेको प्रभावलाई लिएर छलफल भएको थियो ।
नेपालमा पहिलोपल्ट जनवरी १३ मा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको थियो । त्यसपछिको केही समय शून्य संक्रमण भएको नेपालमा मार्च, अप्रिलको समयमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेर गएको छ । यहीबिचमा नेपालको जनस्वास्थ्य प्रणाली कमजोर भएको धेरै टिका टिप्पणी गरिए ।
तर हेल्थ एक्सन एण्ड रिसर्चकी सँस्थापक तथा मेडिकल डाक्टर रोलिना धितालले मल्लकालिन समयदेखि नै जनस्वास्थ्यको बोरमा कुराकानी भइरहेकोमा अहिले पनि विकासको अवस्थामा नै रहेको बताइन् ।
पहिला परिवार नियोजन र खोपका विषयमा केन्द्रित जनस्वास्थ्य सन् २००० पछि केही बेवास्तामा आएपनि अहिले पुन प्राथमिकतामा रहेको बताइन् । कोरोना सम्बन्धि अनुसन्धानमा सहभागी रहेकी धितालले ‘हामी सिक्ने क्रममा छौँ’ भन्दै बलियो स्वास्थ्य प्रणाली भएको देश भन्ने बेला नभएको बताइन् ।
संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी नेपालमा जनस्वास्थ प्रणाली कमजोर हुनुको प्रमुख कारण स्वास्थ्य क्षेत्रमा अनुसन्धान नहुनुलाई देखाउँछन् । नेपालको स्वास्थ्य क्षेत्रको बारेमा अनुसन्धान गर्ने संगठन ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्’ मा संरचनागत समस्या, राजनीतिक हस्तक्षेप अनि भएका तथ्याङकमा पनि तोडमोड भएका हुन्छन् । नराम्रो सँस्कार छ । मनिटरिङ छैन । काम कस्तो भयो भनेर हेरिँदैन, कारवाही गरिँदैन ।’
छलफलमा चिकित्सक बास्तोलाले जुन अवस्थामा कोरोना महामारी आउँदा पनि अहिलेको संघीय व्यवस्थाले पनि काम गर्न सहज भएको र सरकार र अस्पतालले धेरै राम्रो काम गरेको बताए । बास्तोलाले स्थानीय तहसँग कोरोना भाइरसको नियन्त्रणमा विशेषगरी ‘कन्ट्याक्ट ट्रेसिङ’ मा योजना भएपनि कार्यान्वयन गर्न नसकेको बताए ।
कतिपय व्यवहारिक समस्याले पनि स्वास्थ्य सेवा प्रवाहमा समस्या भोगेको अनुभव बताउँदै बास्तोलाले भने, “सरुवा रोग अस्पतालले पुरानै संरचना, कम जनशक्तिको आडमा पनि कोरोनाको बिरामीलाई कहिले पनि फर्काएनौँ, जब की हामी आफैँले रिफर गरेको अस्पतालले पनि कोरोनाको लक्षण देखिएका बिरामीलाई भर्ना लिन मानेको थिएन ।”
नेपालमा पहिलो चरणको कोरोना भाइरस संक्रमण दर पछिल्लो समय कम देखिएको छ । पहिलो चरणको कोरोना भाइरस देखिएको मुलुकमा अहिले दोस्रो चरणको भाइरसले संक्रमण फैलाइरहेको छ ।
डा. अनुप सुवेदीले व्यक्ति एक्लैले महामारी नियन्त्रण गर्न नसकिने यसमा व्यक्तिदेखि अस्पताल, सरकारले नै अभियान थाल्नुपर्ने बताए । उनले ‘सरकार केही काममा चुकेको’ भन्दै आफू नेतृत्व पदमा भएको भए महामारीको आँकडा राख्ने, मकामारी फैलिएको सूचना प्रवाह गर्ने र जनस्वास्थ्यको संयन्त्र प्रभावकारी बनाउने काममा अहिलेको भन्दा फरक काम गर्न सक्ने आत्मविश्वास रहेको पनि बताए ।
उनले कोभिडको समयमा भष्ट्राचारको कुरा आउनु दुर्भाग्यपूर्ण कुरा भएको भन्दै नेपाल सरकारको कोरोना महामारी नियन्त्रण संरचना ‘फङ्सनल नभएको’ बताए । उनले प्राविधिक, व्यवस्थापकीय र राजनीतिक सबै काममा आफू चुकेको बताए । उनले व्यक्तिमा निर्भर नहुने भएपनि नागरिकलाई सामान्य सूचना प्रवाह गर्ने काममा पनि असफल भएको बताए ।
पुस १४ गतेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५९ हजार पाँच सय भन्दा धेरै रहेको छ भने भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ४० पुगेको छ ।
कोरोना भाइरस महामारीपछिको जनस्वास्थ्यको विषयमा भएको छलफल कार्यक्रमलाई प्रस्तोता सोबिता गौतमले सहजीकरण गरेकी थिइन् ।