site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाहाल–नेपाल समूह प्रधानमन्त्रीप्रति आक्रामक, राष्ट्रपतिप्रति मौन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टी विभाजन भएको ४ दिनपछि, पुस ९ गते प्रधानमन्त्रीनिवास बालुवाटार र कार्की पार्टी प्यालेस बबरमहल दुवैतिर विभाजित नेकपाको बैठक बसिरहेको थियो । कार्की पार्टी प्यालेसबाट पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुस १० गतेदेखिको आन्दोलनको घोषणा गर्दै थियो ।

ठीक त्यही समयमा १ हजार १ सय ९९ सयको विस्तारित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकिएकोमा कटाक्ष गर्दै थिए । “न जनयुद्ध लडेको, न जनआन्दोलनमा सहभागी भएको उसकै संयोजकत्वमा आन्दोलन !,” ओलीले टिप्पणी गरेका थिए,” खुट्टी हेर्दै चाल पाइयो !”

आन्दोलन उठ्नुअगावै प्रधानमन्त्री ओलीले खुट्टा र नाडी छाम्ने प्रयास गरे पनि मङ्गलरबारको प्रदर्शन- विरोधसभाको उपस्थिति, सहभागिताले आफूहरू उत्साहित भएको र संसद् विघटनप्रति जनआक्रोश चुलिएको दाहाल-नेपाल समूहले बताएका छन् । उनीहरूले प्रधानमन्त्रीको असंवैधानिक कदम सडकले नै सच्याइदिने र मङ्गलबारको प्रदर्शनले त्यसको आधार निर्माण गरेकोसमेत जिकिर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौँमा तुलनात्मक रूपमा पार्टी सङ्गठन राम्रो छ । पूर्वएमालेतर्फ माधव नेपाल महासचिव भएबेलादेखि नै काठमाडौंमा उनीहरू कमजोर थिए । पार्टी सदस्यता र जिल्लादेखि आधारभूत तहसम्मै सङ्गठनमा ओली पक्षकै पकड थियो ।

त्यति मात्र नभई, पार्टी एकताको ३० महिना नपुग्दै विभाजित भएकाले तलका धेरै कार्यकर्ता निष्क्रिय बस्ने, दुवै पक्षमा नखुल्ने र प्रदर्शन प्रभावित हुने दाहाल-नेपाल पक्षको आशङ्का थियो । तर, काठमाडौँमै उत्साह जगाउनेगरी विरोध प्रदर्शन गर्न सकिएको बेदुराम भुसाल बताउँछन् ।

Global Ime bank

स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल भन्छन्, “आन्दोलनको पहिलो दिन जतिको सहभागिता देखियो, त्यो उत्साहबर्द्धक हो ।” उनले ओली पक्षले काठमाडौँ उपत्यकालगायत देशैभरको प्रदर्शनलाई कमजोर बनाउन पार्टी सङ्गठन, कार्यकर्तामात्र नभई, सत्ता पनि प्रयोग गरेको आरोप लगाए ।

“आन्दोलन रोक्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेका छन्,” उनी भन्छन्, “सत्ताले त्यो प्रयत्न गर्दागर्दै पनि र छोटो समयको तयारीमै जुन प्रकारको उपस्थिति देखियो, त्यो निकै नै उत्साहपूर्ण हो ।”

प्रधानमन्त्रीप्रति आक्रोशित, राष्ट्रपतिप्रति मौन
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित एउटा पक्ष, दाहाल-नेपाल समूह पुस १० गतेदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरूद्ध चरणबद्ध आन्दोलनमा छ । पुस १० गते माइतीघर मण्डलामा बहुमत केन्द्रीय सदस्यहरू भेला भएर ‘हामी यहाँ छौँ’ अर्थात् बहुमत हामी हौँ र आधिकारिकता पनि हामीले नै पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए । र, त्यही दिन निर्वाचन आयोग पुगेर आफ्नो पक्षको तेस्रो केन्द्रीय कमिटी बैठकको निर्णयको जानकारीसमेत गराएका थिए ।

त्यसयता प्रधानमन्त्रीको पुस ५ गतेको कदमलाई असंवैधानिक र प्रतिगनको संज्ञा दिँदै दाहाल-नेपाल समूह दिनहुँजसो  आन्दोलनमा छ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन मंगलबार उनीहरूले जनप्रदर्शनसहितको विरोधसभा आयोजना गरेका थिए ।

विरोधसभामा बोल्ने अधिकांश वक्ता प्रधानमन्त्री ओलीविरूद्ध आक्रामक देखिए । प्रधानमन्त्री ओली प्रतिक्रान्तिकारीहरूको गोटी बन्दै संविधानको हत्या गर्ने र मुलुकलाई प्रतिगमनतिर धकेल्ने चेष्टा गरेको आरोप लगाए । राष्ट्रपति विद्या भण्डारीप्रति भने उनीहरूले कुनै रोष प्रकट गरेनन् । विरोधका वचनसमेत बोलेनन् ।

अनौपचारिक संवादहरूमा राष्ट्रपति भण्डारीप्रति खरो रूपमा प्रस्तुत हुने, शीतलनिवासमा बसेर ओलीको गुटको संरक्षण गरेको आरोप लगाउने उनीहरूले राष्ट्रपतिविरूद्ध मुख खोलेनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक मात्रै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा भङ्ग गर्न नपाउने र संविधानमा त्यो प्रावधान नरहेको बाहेक राष्ट्रपतिविरूद्ध कुनै शब्द प्रयोग गरेनन् ।

“हुँदै नभएको व्यवस्था, हुनै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले संसद् विघटन गर्नुभयो, त्यो गलत छ । सदन भङ्ग भएको छैन । हामी माननीय सदस्यहरू अहिले पनि जीवित छौँ,” विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “भङ्ग भएको त केपी ओलीको सरकार हो । संविधानविरोधी काम गरेर केपी ओलीले आफूले आफैँलाई विघटन गराएका छन् । केपी ओलीले इतिहासका कलङ्कको टीका लगाएका छन् । त्यो कहिल्यै मेटिँदैन । जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, लोकतन्त्रमाथि मैले घात गरेँ, आफैँले बनाएको संविधानको बलात्कार गरेँ मैले, म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले उनलाई माफी दिने छैन ।”

वक्ताका रूपमा रहेका पार्टीका समान वरीयताका अध्यक्ष माधवकुमार नेपाल पनि ओलीप्रति नै आक्रामक रहे । ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि जनतालाई सुख कम दुःख ज्यादा दिएको, मान कम, अपमान ज्यादा गरेको टिप्पणी गरे ।

“प्रधानमन्त्रीजी तपाईंमा लोकतान्त्रिक आचरण रहेनछ । कम्युनिस्ट आचरण, संस्कार रहेनछ । न कम्युनिस्ट चरित्र छ तपाईंमा,” नेता नेपालले ओलीप्रति टिप्पणी गरे, “तपाईंमा सल्लाह गर्ने, सहमतिमा चल्ने, सामूहिकतामा विश्वास गर्ने बानी छैन । त्यसो भएर पार्टीभित्र हामीले भन्यौँ– केपी ओलीमा व्यक्तिवाद छ । केपी शर्मा ओलीमा गुटवादी प्रवृत्ति छ । केपी शर्मा ओलीमा निरङ्कुश चरित्र छ । र, उहाँमा बदलाको भावना छ । उहाँको हृदयमा विशालता छैन, सबैलाई समेटेर जान चाहनुहुन्न । न उहाँ राष्ट्रियताको विषयमा दह्रो गरी उभिनुभएको छ । उहाँ खाली ‘म्यानुपुलेसन’मा विश्वास गर्नुहुन्छ ।” 

नेता नेपालले केपी ओलीमा ‘केपीबा’ प्रवृत्ति रहेको र त्यो सामन्ती संस्कारकै निरन्तरता भएकोसमेत आरोप लगाएका थिए ।

तर, उनले राष्ट्रपतिप्रति कुनै विरोधमा शब्द खर्चिएनन् । उनले मात्र होइन, वरिष्ठ नेता झलनाथ खनाल, विरोधसभाको अध्यक्षता गरेका प्रवक्ता तथा केन्द्रीय सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ र स्वागत मन्तव्य दिएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पनि राष्ट्रपति लक्षित गरेर कुनै विरोध, आक्रोश राखेनन् ।

संसद् विघटन गर्ने सिफारिस प्रधानमन्त्री ओलीको भएकाले राष्ट्रपतिप्रति त्यति नेताहरूले विरोध नगरेको बेदुराम भुसाल बताउँछन् । यद्यपि, विरोध प्रदर्शनमा भने राष्ट्रपतिविरूद्ध उत्तेजक र भद्दा नारा नै लागेका थिए । “संसद् विघटनको मुख्य दोषी प्रधानमन्त्री नै हुन्, राष्ट्रपति विद्यादेवी भण्डारीले उनको सिफारिस कार्यान्वयन न गरेको हो,” भुसाल थप्छन् ।

सत्तामा नेकपा, सडकमा पनि
विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पाँच वर्ष सरकार चलाउने म्यान्डेटका साथ जनअनुमोदित भएर आएको पार्टीले तीन वर्ष पुग्दानपुग्दै सडक आन्दोलनको नेतृत्व गर्नुपर्ने परिस्थितिमा आइपुगेको भनेर चिन्ता व्यक्त गरे । उनले यो पस्थितिमा पार्टी आइपुग्ला भनेर सोच्दा पनि नसोचेको बताए ।

“यति छिट्टै हामी प्रतिगमनका विरूद्ध सङ्घर्षको मैदानमा उत्रिनुपर्ला भनेर हामीलाई लागेको थिएन । जतिबेला हामीले वाम गठबन्धन गरेर, पार्टी एकताको सङ्कल्प गरेर, निर्वाचनमा गएका थियौँ, सिङ्गो पार्टी पंक्ति र जनसमुदायले अपार उत्साहका साथ त्यो पार्टी एकताको सङ्कल्पलाई र वाम गठबन्धनलाई स्वीकार गरेको थियो,” उनले विरोध सभाको सुरुआतमै भने, “झन्डै दुईतिहाइ मत दिएर जनताले त्यसलाई अनुमोदन गरेका थिए । तीन वर्ष पुग्दानपुग्दै यो दिन आउला भनेर हामीले सोचेका थिएनौँ ।”

प्रचण्डले भनेझैं पार्टीभित्रको आन्तरिक विग्रहलाई समुचित व्यवस्थापन गर्न नसक्दा सत्तारूढ पार्टी नेकपा विभाजित भएर एउटा समूह सडक आन्दोलनको अगुवाइ गर्ने तहमा पुगेको छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको अर्को समूह नयाँ, ताजा जनादेशमा जाने उद्घोषका साथ चुनावी तयारीमा जुटेको छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विग्रहले कामै गर्न नपाएको कुरा जनतालाई प्रभावकारीरूपमा भन्ने र दुई तिहाइ जनमतका साथ पुनः सरकारको नेतृत्व गर्ने उद्घोष पनि गरेका छन् ।

७ वटै प्रदेशमा नयाँ संयोजकहरू तोकेर पार्टी सङ्गठन निर्माण र चुनावी तयारी एकैसाथ गर्ने योजना पनि ओली पक्षले बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC