site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धर्म गुरु र पापधर्म
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
आज प्रकाशित धर्म गुरुहरूसम्बन्धी दुईवटा समाचार । 
पहिलो समाचार नेपालका विवादास्पद धर्म गुरु (?) कमलनयनाचार्यले अवैधरूपमा कब्जा गरेको वनक्षेत्रको जग्गामा उनैको स्वामित्व कायम हुने बाटो खोल्दै सरकारले राष्ट्रिय निकुञ्जकै सीमा हेरफेर गर्ने गरी निर्णय गरेको विषयमा छ । कान्तिपुरमा शुकवार प्रकाशित समाचारमा सरकारले अत्यन्त धुर्त्याइँ गरेको स्पष्टै बुझिने गरी प्रस्तुत गरिएको छ । कमलनयाचार्यले राष्ट्रिय निकुञ्जको जमिन अवैधरूपमा कब्जा गरेर भौतिक संरचना बनाएका र उनका सहयोगीमाथि मुद्दा चलाइएको समाचार धेरै पहिले आएको थियो । 
यसैगरी उनका एक जना भक्तलाई अर्थ मन्त्रालयको चिट्टा परेका बेला करोडौं रुपैयाँ सरकारी ढुकुटीबाट निकासा दिइएको र भक्तपुरमा उनले कब्जा गरेको जमिन वरपर तटबन्धसमेत बनाउन सरकारी ढुकुटी मासिएको समाचार त्यस अगाडि नै आएको थियो । (उनका भक्तलाई लाग्दा कमलनयनाचार्यका अगाडि स्वामि नलेखेर मैले उनको अनादार गरेँ । म कसैलाई पनि अनादार गर्दिन र व्यक्ति विशेषलाई स्वामि पनि मान्दिन । कुनै व्यक्ति महान् छ भने कसैले अनादर वा आदर गर्दा फरक पर्दैन पनि । व्यक्तिको स्वामि स्वयं ऊबाहेक अरू कोही हुनसक्तैन भन्ने मान्यतामा विश्वास गर्छु । उदार लोकतन्त्रको मूल मर्म पनि यही हो । यी कमलनयाचार्य भन्ने व्यक्तिलाई एकपटक न्युरो अस्पतालमा देखेको छु । उनको भावभंगी र बोलीचाली केही पनि श्रद्धाजनक लागेन । मेरै अवलोकनमा खोट हुनसक्छ । किनभने, त्यही बेला शेरबहादुर देउवालाई उनले गरेका सम्बोधन र देउवाको प्रतिक्रिया निकै हास्यास्पद लागेको थियो । मलाई पाखण्ड लागेको कुनै वस्तु अरूका लागि श्रद्धेय हुनसक्छ । कमलनयाचार्य नाम गरेका व्यक्ति विशेषका बारेमा चर्चा गर्नु यस टिप्पणीको विषय नभएकाले यसमा यत्ति ।) यसपछि बेलाबखत उनका बारेमा समाचार आउने गरेको थियो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको मन्त्रिपरिषद्ले कमलनयनाचार्य नाम गरेका तिनै व्यक्तिलाई अवैधरूपमा वन क्षेत्रको जग्गा कब्जा गरेबापत पुरस्कृत गर्ने निर्णय गरेको समाचार आज फेरि आएको छ । 
कान्तिपुरको समाचारको सुरुमै लेखिएको छ -" केपी ओली सरकारले साउन ५ गते पुरानो पदमपुरको २१ वर्गकिलोमिटर भूभाग चितवन राष्ट्रिय निकुञ्जमा गाभ्ने निर्णय गर्‍यो । बदलामा निकुञ्जको ०.३४ वर्गकिमि मध्यवर्ती क्षेत्रतिर सार्‍यो । ढल्न दिनगन्ती सुरु भएको सरकारले हतार–हतार किन निकुञ्जको सिमाना साटफेर गर्‍यो ? उत्तर खोज्दै जाँदा तथ्य भेटियो– बाहिर पारिएको जग्गा स्वामी कमलनयनाचार्यले अतिक्रमण गरी चर्चेको विवादास्पद भूभाग रहेछ ।  कमलनयनाचार्यले निकुञ्ज अतिक्रमण गरेको मुद्दा विचाराधीन छ । उनलाई मुद्दाबाट उन्मुक्ति दिई अतिक्रमित भूभागसमेत बिस्तारै उनैलाई व्यक्तिगत बनाउने बाटो खुलाउन मन्त्रिपरिषद्ले घुमाउरो निर्णय गरेको छ ।" 
समाचारका बाँकी अंशमा रुचि भए पाठकहरू आफैँ पढ्नुस् । कमलनयाचार्य र ओली सरकारको बदनियतका बारेमा थप जानकारी हासिल हुनेछ ।
हुनत, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.महेश्वर ढकालले निकुञ्जको क्षेत्रफलमा कमी नआउने दाबी गर्दै ‘विगतका कमीकमजोरीलाई नियमन गर्न खोजिएको’ र ‘भोलिका दिनमा अवैधानिक कार्यलाई रोक्न सचेत गराउने यसभन्दा राम्रो विकल्प अर्को छैन ।’ भन्ने ठोकुवा नै गरेका छन् । (डा. ढकाललाई संरक्षणका लागि अवैधानिक कार्यलाई मान्यता दिनु नै त्यसलाई रोक्ने उत्तम उपाय हो भन्ने नयाँ संरक्षण प्रशासन सिद्धान्तको आविष्कार गरेबापत युनेस्कोले पुरस्कृत त नगर्ला तर यस निर्णयलाई लोकतन्त्रको उपहास ठान्ने निकुञ्जका कर्मचारी पनि छन् र न निकुञ्ज धेरथोर जोगिएको छ । 
कान्तिपुरकै समाचारमा लेखिएको छ - "निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार कमलनयनाचार्यको मुद्दाका सम्बन्धमा सरकारी वकिलको कार्यालयमा निकुञ्ज अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्दा दर्ता गर्न राय/निकासा गरिएको थियो । ‘सबैको मुद्दाको प्रक्रिया एउटै हो, राय निकासाका लागि पठाएको हो,’ उनले भने, ‘मुद्दा किनारा लागिसकेको छैन ।’ निकुञ्ज स्रोतका अनुसार कमलनयनाचार्यले गजग्राह धाममा अटेर गर्दै मन्दिर, छात्रावास, स्कुल, आवास र जग्गा प्लटिङ गरेर बाटो बनाएका छन् । त्यहाँ सालका रूख थिए । अहिले सबै काटेर नांगो बनाइएको छ । रूख काटेर बाहिर पठाएको ती संरक्षण अधिकृतले बताए ।"
समाचारले यहाँका धर्मगुरु भन्नेहरूको पाखण्ड र लोकतन्त्रलाई भरेङ बनाएर सत्तामा पुगेका पाखण्डीहरूको सामन्ती चरित्र दुवै उजागर भएको छ । कमलनयानाचार्यले अवैधरूपमा कब्जा गरेको जमिनलाई वैध बनाउने हो भने अरू नागरिकले पनि त्यसरी नै कब्जा गरेका जमिन सबै वैध बनाउनुपर्छ । नेपालको संविधान, २०७२ ले कुनै नागरिकलाई 'विशिष्ट' र कुनै नागरिकलाई 'मामुली' बनाएको छैन । ओलीलाई राज्यको सम्पत्ति तजबिजमा बाँड्ने अधिकार पनि दिएको छैन र कमलनयनाचार्य नामका व्यक्तिलाई पाउने हक पनि दिएको छैन । यसरी अवैधरूपमा राजस्व मास्नु धार्मिक दृष्टिले पनि पाप हो । यति त मलाई पनि थाहा छ । 
अर्को समाचार अलि बेग्लै छ । स्थान र पात्र पनि बेग्लै प्रकृतिका छन् । 
भारतको कोचीका टेक्केमदथिल गोपिनाथन नाम गरेका एक जना ४० वर्षीय इलेक्ट्रिसियनको किडनीले २००९ काम गर्न छाडेपछि उनका सामु आफू बाँच्नका लागि नियमित डायलसिस गराउनेमात्र हैन दुई जना सन्तान र पत्नीको जीवन धान्न पनि नसक्ने अवस्था उत्पन्न भयो । तर, भाग्यले गोपीनाथनलाई साथ दियो । उनका मित्रहरू सहयोगी निस्के । टीएनएनमा प्रकाशित समाचारअनुसार उनीहरूले सेन्ट जेभिएर चर्चका फादर डेविस किरामललाई संरक्षक बनाएर उपचारका लागि आवश्यक रकम संकलन गर्न थालियो । साथीहरूले किनेर भए पनि गोपीनाथनको किडनी फेर्ने योजना बनाउन थाले । कोइम्बटुरको अस्पतालमा कुराकानी पनि गरे । 
परन्तु, फादर किरामलले किडनी किनबेच गर्ने हो भने म त्यसमा संलग्न हुन्न भनिदिए । उनैले उपाय पनि सुझाए बरु म मेरै किडनी दिन्छु । गोपीनाथन पनि सुरुमा त धर्म गुरुको किडनी लिन तयार भएनन् तर पछि सबैले सम्झाएपछि माने । 
त्यसपछि फादर किरामलले किडनी फाउन्डेसन अफ इन्डिया स्थापना गरे र १५ जना अरू पादरीहरू पनि किडनी दान गर्न अगाडि सरे । अहिले देशविदेशबाट जीवनकालमै किडनी दान गर्न चाहनेहरूले चासो देखाउन थालेका छन् । फादर किरामलले जीवितावस्थामै किड्नी दान गर्न सबैलाई आग्रह गरेको पनि समाचारमा उल्लेख छ । 
बाइबल देखाएर जमिन हत्याउने भनेर बदनाम इसाई पादरी कसैको जीवन बचाउन किड्नी दान गर्ने तर धर्मको रक्षाका लागि इन्द्रलाई बज्र बनाउने हाड दिनका लागि प्राण त्याग गर्ने दधिचीको गौरवमय परम्परा भएका हिन्दु धर्मका गुरु भने पशुपन्छीको वासस्थान मासेर जमिन हडप्ने कस्तो विडम्बना ? अनि त्यसरी अवैधरूपमा कब्जा गरेको जमिनलाई रकमी जालझेल गरेर वैध बनाउन लाग्ने राजनीतिक नेतृत्वलाई मतियार बनेर 'राष्ट्रसेवक' कर्मचारीले सघाउने ? यसभन्दा दुःखद विडम्बना के हुनसक्छ ? पशुपंक्षीको संरक्षणका लागि बलि रोकेरमात्र त पुग्दैन । के वन र वन्य जन्तुका पक्षमा आवाज उठाउने अर्का गोविन्द केसी कतै भेटिएलान् ?  
'अठार पुराणमा व्यासले जम्मा दुई कुरा भनेका छन् - परोपकार पुण्य हो र परपीडन पाप हो ।' वन्यजन्तुका लागि आरक्षित निकुञ्जमा अतिक्रमण गरेर सार्वजनिक जमिन हडप्नु र कानुन पालन गर्ने गराउने जिम्म लिनेहरूले अवैध कार्यलाई वैधता दिन रकमी जालसाझी गर्नुलाई पुण्य भन्न त पक्कै मिल्दैन । यथा, पादरीले गरेका भए पनि जीवन दानलाई पाप भन्न पक्कै मिल्दैन । 
  
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC