site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
द्वन्द्वकालमा जस्तै कोभिडले ठूला होटेल पनि बन्द हुन थाले
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड १९ ले नेपालको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । पर्यटन मात्रै होइन अन्य सबै क्षेत्र प्रभावित भइरहेका बेला आतिथ्य सेवासँग प्रत्यक्ष जोडिएका पुराना एवं तारे होटेल नै बन्द हुने क्रम बढेको छ, जुन कोभिड १९ ले पारेको असरको प्रत्यक्ष उदाहरण पनि हुन् । पुस पहिलो साता ५५ वर्ष पुरानो पाँच तारे होटेल अन्नपूर्ण पनि बन्द हुने घोषणा गरियो । होटल सञ्चालक सिर्जना राणाले आम्दानीभन्दा खर्च बढी भएकाले कर्मचारीलाई आफूले पाउने तलब, सुविधा दिएर होटेल बन्द गर्न लागेको बताएकी थिएन् ।

“कोभिडका कारण सन् २०२१ सम्म कोही पनि पर्यटक आउन सक्ने अवस्था देखिएन । अहिलेसम्म कर्मचारीलाई खुवाइयो र आफूले पनि खाइयो तर अब खान र खुवाउन सक्ने अवस्था भएन । त्यसैले होटेल बन्द गर्नुपर्ने निर्णयमा पुगेको हो,” उनले भनेकी थिइन् । 

यसअघि गत असोजमा विराटनगरको ४१ वर्षको इतिहास बोकेको नमस्कार होटेल र २०५५ सालमा स्थापना भएको विराटनगरकै होटेल जेनियल पनि गत असारमा बन्द भए । यी पछिल्लो समयमा सार्वजनिक रुपमा जानकारी गराएर बन्द गरिएका होटेलको उदाहरण हुन् भने सार्वजनिक रुपमा जानकारी नगराई बन्द गरिएका होटेल अरु पनि धेरै हुन सक्छन् । 

Agni Group

अन्नपूर्ण हाेटेल बन्दकाे घाेषणा, कर्मचारीलाई दिनुपर्ने सुविधा दिएर बिदाई गरिने

कोभिड १९ को असरले पर्यटन क्षेत्र संकटमा परेको भएपनि डिसेम्बरपछि केही लयमा फर्कने अनुमान असफल हुँदै गएपछि होटेल सञ्‍चालकहरू आत्तिएको देखिन्छ । आगामी एक वर्ष नेपालको पर्यटन क्षेत्र चलायमान हुन नसक्ने अनुमान होटेल सञ्‍चालक एवं पर्यटन क्षेत्रका जानकारहरूको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ उद्यम बजारमा फेरि नयाँ किसिमको जोखिम आएकाले त्यसले अब आउने वर्षमा पनि पर्यटक आउने आशातित अवस्था नदेखिएको बताउँछन् ।

क्षेत्रीय एवं आन्तरिक पर्यटकबाट नाफा गर्न नसकिए पनि निरन्तरता दिन सकिएला भन्ने अपेक्षा रहेको उनले बताए । तर, ‘लङ हल’ (युरोप, अमेरिका) बाट पर्यटक आउने सम्भावना सारै निराशाजनक देखिएको उनले बताए । यसको असर कहिलेसम्म पर्छ भन्न नसकेकै कारण होटेलहरू बन्द भएको र हुने क्रममा रहेको उनले बताए । “कोभिड सुरु हुँदा यसको असर ६/७ महिना बढीमा डिसेम्बरसम्म हो । त्यसपछि केही न केही होला भन्ने आशा थियो तर २०२० को अन्तिममा आउँदा पनि आशाप्रद हुने स्थिति नदेखिँदा विस्तारै-विस्तारै होटेलहरू बन्द गर्नेतर्फ जाने सम्भावना देखियो,” उनले भने । 

Global Ime bank

यस्तै बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ठूला होटेल मात्रै होइन साना धेरै होटेल बन्द भएको बताउँछन् । “सञ्‍चालनको ३०/४० प्रतिशत कर्मचारीको तलबमै जान्छ । अरु सप्लाइ चेनमा तिर्नुपर्ने हुन्छ । कतिपयको ऋण रहेको हुन्छ । यसले गर्दा होटेलहरूलाई निकै गाह्रो छ, पर्यटन क्षेत्रका लागि गाह्रो स्थिति छ,” उनले भने । 

सरकारले कोडिभ १९ बाट अति प्रभावित पर्यटन क्षेत्रका लागि विभिन्न कोषको घोषणा गरे पनि कार्यान्वयनमा नल्याउँदाको परिणाम साना, ठूला होटेल बन्दको अवस्थामा पुगेको उनीहरूको भनाइ छ । “यही बीचमा सरकारबाट सहयोगका लागि ५० अर्बको कोष होस् वा पुनर्उत्थानका लागि भएको बजेट, प्रदेशमा भएका बजेट ती आर्थिक वर्षको आधा हुँदा पनि अझै मोबिलाइज हुन सकिरहेको छैन,” उनले भने, “ती फन्ड मोबिलाइज’ भएको भए केही न केही राहत हुन्थ्यो र २/४ महिना सस्टेन गर्ने वातावरण बन्थ्यो होला ।” 

यस्तै पर्यटन क्षेत्रका लागि राज्यका तर्फबाट आगामी दिनमा सहयोग होला भन्ने विश्वास हुन नसकेको श्रेष्ठले बताए । यसरी स्थापित होटेलहरू बन्द हुनु भनेको दीर्घकालनमा गन्तव्यका लागि निकै नकारात्मक असर पर्ने जोशी बताउँछन् । “आजको भोलि दक्ष जनशक्तिसहितको सेवा दिन सक्ने संस्थाहरू हराउनु भनेको त यसले पर्यटन रिभाइभलमा बलियो वातावरण बनाउँदैन । त्यसैले सोच्नुपर्ने हो,” उनले भने । 

होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह सरकारले बजेटमार्फत घोषणा गरेको राहत प्याकेज अझैसम्म नदिएको बताउँछन् । “यसअघि नै दिनुपर्ने राहत अहिलेसम्म दिइएको छ । हामी निकै समस्यामा छौं,” उनले भने, “छिटोभन्दा छिटो राहत नदिने हो भने द्वन्द्वकालमा बन्द भएका जसरी नै कोरोनाका कारण धेरै ठूला होटेल बन्द हुन्छन् ।”

केही ठूला होटेलहरू जुन बैंकहरूसँग राम्रो सम्पर्क/सम्बन्ध छन्, त्यस्ताले भने भित्रभित्रै राहत पाइरहेको दाबी केही होटेल सञ्‍चालकहरूको छ । बन्द भएका होटेलका कर्मचारीहरू भने कोरोनालाई बहाना बनाएर कर्मचारी निकाल्ने अवसर होटेल सञ्‍चालकहरूलाई भएको दाबी गर्छन् । 

कर्मचारी निकाल्ने बहाना हो त ?
बोर्डका पूर्व कार्यकारी प्रमुख जोशी कतिपय होटेलको यही बेलामा कर्मचारी निकालौं भन्ने रणनीति पनि हुन सक्ने बताउँछन् । तर, आम रुपमा हेर्दा कोभिडका कारण व्यवसायी र कर्मचारी दुवैलाई ठूलो पीडा पुर्‍याएको उनले बताए । 

होटेलहरूको ठूलो खर्च कर्मचारीमा हुने गरेको श्रेष्ठ बताउँछन् । “अहिलेसम्म जेनतेन सहमति र सहकार्यबाट होटेल सञ्‍चालन हुँदै आएका थिए तर मेजर ओभरहेड खर्च जुन सधैं पर्छ त्यो कर्मचारी खर्च हो,” उनले भने । त्यसैले पनि खास गरी ठूला होटेलहरूले यो मौकामा त्यो ओभरहेड खर्च लिनुभन्दा बन्द गरेर पुनर्निर्माण वा मर्मत गर्नतर्फ लागेको पनि हुन सक्ने उनले बताए । कर्मचारीलाई सेवा, सुविधा दिएरै भए पनि होटेल बन्द गर्नुपर्ने बाध्यता होटेलहरूको भएको उनको भनाइ छ । 

यद्यपि उनले अहिले कर्मचारीलाई सेवा सुविधा दिएर हटाए पनि पछि होटेल पुनः सञ्चालनमा ल्याइएको अवस्थामा ती कर्मचारीलाई नै पहिलो प्राथमिकतामा राख्‍ने सहमति गरे होटेल सञ्चालक र कर्मचारी दुवैलाई फाइदा हुने बताए । “बन्द होटेल फेरि सञ्‍चालनमा आयो भने ती कर्मचारीलाई नै पहिलो प्राथमिकता दिने समझदारी गर्न सकिन्छ । त्यसो गर्न सकिए कर्मचारी र कम्पनीलाई पनि फाइदा हुन्छ । कर्मचारीले पनि विश्वस्त हुन्छन् र बाँकी समय आ-आफ्नो तरिकाले जीविकोपार्जन गर्ने काम गर्न सक्छन् ।”

सशस्त्र द्वन्द्वका बेलामा पनि ठूला एवं पुराना होटेल बन्द भएका थिए । मुलुक सशस्त्र द्वन्द्वमा गएका बेलामा काठमाडौं उपत्यकामा सञ्‍चालित ठूला र पुराना होटेल बन्द भएका थिए । त्यस बेला दरबारमार्ग रहेका शेर्पा होटेल र उडल्यान्ड होटेल बन्द भएका थिए । यस्तै नारायणी होटेल र ब्लुस्टार होटल बन्द भएका थिए । ब्लुस्टार त्यो बेलामा नै करिब ४० वर्ष पुरानो भइसकेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC