site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनेता : वातनेता 


दुई दशकअघिको कुरा हो सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलह चरममा पुगेको थियो । सभापति गिरिजाप्रसाद कोइरालाको समूह प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव पेस गर्ने तयारीमा थियो । सांसदहरु सिद्धान्तभन्दा सत्ता र शक्तिको लोभमा यो वा त्यो पक्ष गुटमा गोलबद्ध हुँदै थिए । 

भट्टराईलाई सत्ताच्युत गर्न आफ्नै पार्टीका सांसदले त हस्ताक्षर अभियान चलाएकै थिए दरबार र भारतसमेत उनका लागि अनुकूल थिएनन् । 

यस्तैमा भट्टराई समर्थक कांग्रेसका वरिष्ठ नेताले बालुवाटारमै पुगेर भने – किसनुजी भरपर्दो उपाय नखोजे सरकार कुनै पनि बेला ढल्न सक्छ । त्यस दिनको घटना कांग्रेस नेता प्रदीप गिरीले पुष ८ गते कृष्णप्रसाद भट्टराई अध्ययन केन्द्रको वेबिनारमा यसरी सुनाए – सरकार ढाल्न पार्टी सभापति गिरिजावावु आफैँ कस्सिनुभएको थियो । सांसदहरूलाई घरमै बोलाएर किसुनजीविरुद्ध हस्ताक्षर गराउँदै हुनुहुन्थ्यो । उहाँले क–कसलाई बोलाउनु भयो, कुन कुन सांसदले सरकारविरुद्ध हस्ताक्षर गरे भन्नेजस्ता सूचना तारन्तर आइरहेका थिए । म किसुनजीको बेडरुममा थिएँ । तलबाट कसैले खबर ल्यायो – पार्टीका केही नेता तल बैठक कक्षमा पर्खिएर बस्नुभएको छ । किसनुजीलाई छिटो भेट्नु छ । सरकार अप्ठेरोमा परिसक्यो भनिरहनु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस दिनको घटना गिरीले यसरी सम्झिए – म प्रधानमन्त्रीको बेडरुमबाट तल झरेँ । अनि फेरि माथि उक्लिएर किसुनजीलाई बाहिर फलानो फलानो नेता छन् भनेर बताएँ । तीमध्ये कतिपय अहिले पनि राजनीतिमा सक्रिय भएकाले नाम चाहिँ नभनौँ । किसुनजी झर्किनु भयो । किन आएका बेला न कुबेला !  

क्षणभरमै प्रधानमन्त्री तल्लो तलाको बैठक कक्षमा पुगे । त्यहाँ भएको छलफलका मुख्य अंश – 

Global Ime bank

वरिष्ठ नेता : किसुनजी अब हजुर प्रधानमन्त्री भइरहने हो भने अलिकति पैसा व्यवस्था नगरी भएन । गिरिजाबाबु सांसदहरुलाई निवास (महाराजगञ्ज) मा बोलाउँदै पैसा र पद बाँडेर धमाधम सही गराउँदै हुनुहुन्छ । 

भट्टराई : ए बाबु म पनि त्यसै गरौँ ? कहाँबाट ल्याउँ ?

वरिष्ठ नेता : किसुनजी हजुरले हुन्छ भन्नुमात्र पर्‍यो पैसाको कमी हुनेछैन । हामी गर्छौँ इन्तजाम । साथीहरु भर्खरै चुनाव जितेरआएका छन् । उनीहरु माथि ठूलो ऋण छ । अलिकति पैसाको व्यवस्था हुनसक्यो भने त धेरैले सरकारविरुद्ध हस्ताक्षर गर्नेछैनन् । अनि हामी सहजै संकट सामना गर्नसक्छौँ । 

भट्टराई : मैले के गर्नु पर्‍यो ? 

वरिष्ठ नेता : पैसा दिने मान्छे हामीले लिएरै आएका छौँ । यहीँ तल छन् । हजुरको आज्ञा भए बोलाऊँ ?  

भट्टराई : मैले के गर्नु पर्‍यो भने नि त ? 

वरिष्ठ नेता : केही गर्नु पर्दैन किसुनजी ! दुई जना तल छन् । उनीहरु तीन तीन करोड सहयोग गर्न पनि तयार छन् । त्यति भए सरकार जोगाउन सकिन्छ । बस !  हजुरले उनीहरुलाई भेटेर वचन दिए पुग्छ किसुनजी !  

भट्टराई : कस्तो वचन बाबु ? 

वरिष्ठ नेता : एउटालाई शाही नेपाल वायुसेना निगमको कार्यकारी प्रमुख र अर्कोलाई नेपाल आयल निगमको महाप्रबन्धक बनाई दिन्छु भने हुन्छ । 

भट्टराई : अरे बा ! गज्जब !  आफ्नै पार्टीका सांसद किन्न मैले कार्यकारी अध्यक्ष र जीएम पद बेच्नु पर्ने ? मेरो नाममा (२०५६ को चुनावमा कांग्रेसले भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको थियो) चुनाव लड्ने । जिताएपछि पनि मलाई भ्रष्ट बनाएर प्रधानमन्त्री पदमा टिकाई रहने ? 

वरिष्ठ नेता : के गर्ने त किसुनजी सरकार त जोगाउनु पर्‍यो नि !  

भट्टराई : (कोठातिर जान फनक्क फर्किँदै) तपाईँहरु कोसँग कुरा गर्न आएको ? नैतिकता बेचेर, पैसा बाँडेर, चाकरी गरेर मलाई पद जोगाउनु छैन । बस ! गर्नुस् । 

राणा शाहीको अन्त्य र मुलुकमा प्रजातन्त्र स्थापनाका लागि २००३ सालदेखि अनवरत संघर्ष गर्दै आएका भट्टराई पाँच दशक लामो राजनीतिक जीवनकालमा प्रतिस्पर्धा गरेका सबैजसो चुनावमा पराजित भएका थिए । मुलुकमा भएको पहिलो संसदीय चुनाव (२०१५) मा गोर्खाबाट हारे । यस्तै २०४६ सालको जनआन्दोलन पछि अन्तरिम प्रधानमन्त्रीको हैसियतमा आफैँले गराएको निर्वाचन (२०४८) मा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँग काठमाडौं क्षेत्र नं १ बाट पराजित भए । भण्डारीको निधनपछि २०५० मा सोही क्षेत्रमा भएको उपचुनाव पनि भट्टराईले विद्या भण्डारीसँग हारे । 

विसं २०५६ को संसदीय निर्वाचनमा पहिलो पटक पर्साबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएर प्रधानमन्त्री बनेका भट्टराई सरकार बनेको छ महिना पुग्दा नपुग्दै चौतर्फी  घेराबन्दीमा परे । माओवादीले हिंसात्मक गतिविधि ह्वात्तै बढायो । त्यसैलाई आड बनाएर राजदरबार सरकारले केही गर्न सकेन भन्दै कांग्रेस सभापति कोइरालालाई सत्ता लिन उकास्न थाल्यो । छिमेकी मुलुक भारत भट्टराई सरकार लम्मिएको हेर्न चाहँदैनथ्यो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसदीय दलको सामना गर्न वा संसद् भंग गरेर ताजा जनादेशमा जान शुभचिन्तकहरुबाट तीव्र दबाब परिरहेको थियो । 

लोकतन्त्रका मूल्य मान्यतामा कसैसँग सम्झौता नगर्ने स्वभावका भट्टराई नित्य गीतापाठ गर्थे । कम गर फलको आश नगर भन्ने गीताको सारमा अगाध विश्वास राख्थे । आफ्नै अन्तरआत्माको आवाज सुनेर निर्णय लिने स्वभाव थियो उनको । 

एकातिर सरकार चरम संकटमा थियो अर्कोतिर केही दिनमै प्रधानमन्त्री फ्रान्स भ्रमणमा जाने तय भइसकेको थियो । जंगवहादुर राणा पछि नेपालका प्रधानमन्त्रीले पहिलो पटक फ्रान्सको औपचारिक भ्रमणका लागि निमन्त्रणा पाएका थिए । भट्टराईले आफूविरुद्धको प्रस्ताव फिर्ता गरे फ्रान्सबाट फर्किएपछि राजीनामा दिने वाचा गरे । उनकै नाममा मत मागेर चुनाव जितेको भए पनि सभापति कोइरालाले फ्रान्स जाँदासम्मका लागि पर्खने धैर्य देखाएनन् । सत्ता छोड्न दबाब बढाई रहे । 

यस घटनाले पनि संसद् भंग गरेर ताजा जनादेशमा जानुबाहेक किसुनजीका सामु विकल्प छैन भनेर सल्लाह दिनेहरुलाई नै बल पुगिरहेको थियो । तर, लोकतान्त्रिक अधिकारका लागि सारा जीवन अर्पण गरेका भट्टराईले संसद्मै जनप्रतिनिधिहरूलाई ‘मार्मिक’ सम्बोधन गर्दै पद त्यागको घोषणा गरिदिए । पद जोगाउनका लागि उनी न सांसद किन्न तयार भए न त संसद् भंग गर्ने प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गर्न रुचाए । बरु प्रधानमन्त्रीका रुपमा बालुवाटार छिर्दाको बेदाग छविलाई झनै चम्किलो बनाएर बाहिरिए । 

गणेशमान सिंहले भन्ने गरेकै शैलीमा उनको जीवन चलिरहेको थियो । कहिले नेताको पछि लाखौ मानिसको भिड, त कहिले ऊ एक्लै । प्रधानमन्त्रीबाट निवृत्त भएपछि भट्टराई भैँसेपार्टी स्थित सांसद शरतसिंह भण्डारीको घरमा बस्न थाले । भट्टराई निवासमा खासै चहलपहल थिएन । 

तिनैताका कान्तिपुर टेलिभिजनका लागि लेखकलाई दिएको एउटा अन्तवार्तामा भट्टराईले भनेका थिए – उनका लागि राजनीति कमाउने उद्योग होइन, न त सत्ता र शक्तिमा पुग्ने भर्‍याङमात्रै हो । भट्टराईका लागि त राजनीति सेवा गर्ने माध्यममात्र हो । त्यही दिन मैले सोधेको थिएँ – किसुनजी तपाईँलाई भावी पुस्ताले कुन रुपमा स्मरण गरोस् भन्ने चाहनु हुन्छ ? हसिँलो अनुहार बनाएर उनले भनेको अझै सम्झन्छु – बस्, भट्टराई एउटा इमानदार मानिस हो भनेर सम्झिदिए पुग्छ । 

सत्य बोल्नसक्नु, सिद्धान्तअनुसार जीवन यापन गर्नसक्नु राजनेताको गुण हो । जस्तोसुकै कठिन अवस्थामा पनि सत्य बोल्न सक्नु र गम्भीर परिस्थितिमा समेत ठट्टा गरेर सबैलाई हसाउन सक्नु भट्टराईको विशेषता थियो । 

सामान्य मानिस हुन् वा राजा भट्टराईमा सबैसँग उही रुपमा प्रस्तुत हुनसक्ने अद्भूत गुण थियो । यस प्रसंगमा प्रदीप गिरीले एउटा रोचक प्रसंग सुनाएका छन् । विसं २०१६ ताकाको कुरा हो । सभामुखको हैसियतमा भट्टराई पहिलोपटक राजा मेहन्द्रलाई भेट्दै थिए । 

राजा : (रानी रत्नलाई चिनाउँदै) महारानी यी हुन् कृष्णप्रसाद भट्टराई । हाम्रा सभामुख । कुमार हुन् यिनी । 

भट्टराई : सरकार गल्ती भयो । अविवाहित हुँ कुमार होइन । 

सत्तामा हुँदा होस् वा घात प्रतिघात र अपमानको सिकार हुँदा भट्टराईले हाँसीखुसी र ठट्ठामा कमी गरेनन् । गम्भीर राजनीतिक वार्ता र बहस जारी रहेका बेलासमेत मानिसहरुलाई मजाले हसाउन सक्ने भट्टराईकै जस्तै क्षमता वर्तमान प्रधानमन्त्री केपी ओलीमा पनि छ । धारा प्रवाह बोल्न पनि सक्छन् । यी दुई केपी (कृष्णप्रसाद र खड्गप्रसाद) बीच केही समानता र धेरै असमानता पनि छन् । एक जनाले जीवनभर सिद्धान्त अनुरूपको जीवन यापन गरे । आफू मेटिन तयार भए, अपमान सहे तर प्रजातन्त्रमाथि कहिल्यै घात गरेनन् । 

अर्काले (प्रधानमन्त्री केपी ओली) सिद्धान्तअनुरुप व्यवहार गरे वा गरेनन् मैले लेखिरहनु पर्दैन । जनतालाई बाँडेका सपना पूरा गर्न कति इमानदारी देखाए त्यो पनि इतिहासले नै मूल्याङकन गर्नेछ । लोकतन्त्रमाथि भने अहिल्यै प्रहार गरिसकेका छन् ।
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC