भोको कवि
भोकै पेटले
लेखिरह्यो वर्षौंसम्म
‘अघाउनु’ को महाकाव्य
जब भरिँदै भरिएन
छोराको पेट,
तब भोकाएको हो कवि
चामलको कविता लेख्न ।
० ० ०
सिमाना
कसले बनाइरहेछ पिँजडा ?
अनि कसले समातिरहेछ ती स्वतन्त्र पन्छी ?
साना हत्केलामा शीतका थोपा थाप्दै
पिँजडाभित्रको पन्छीलाई पानी पिलाउने को हुन् ?
अनि को हुन सक्छन्,
ती साना हत्केलामा हत्कडी लगाउनेहरू ?
सिमानामा देश दुखिरहँदा–
आँखा चिम्म गर्ने को हुन् ?
अनि को हुन ती ?
–जो सडकमा राष्ट्रप्रेमले भरिएको छाती बोकेर हिँडिरहेका छन् ।
मध्यरातमा राष्ट्रियताको ओछ्यानमा लम्पसार परेको देशप्रेमी,
किन बिहान आँखा मिच्दै नेपाली हुँ भनेर पनि भन्न डराउँछ ?
के सिमाना मिचिँदै गर्दा, राष्ट्रियता पनि मिचिने हो र ?
सिमानामा देश लुटिरहँदा–
किन चुपचाप छन् ती ओठहरू ?
अनि किन उठ्दैनन् खबरदारीका औंलाहरू ?
के ती ओठहरू आफ्नी आमाको अस्मिता लुटिँदै गर्दा पनि चुपचाप बसिदिन्छन् र ?
इतिहासमा कहिल्यै गुलामी गर्न नजानेका नेपाली,
किन झुक्न बाध्य छन् छिमेकीको संघार भित्र ?
अनि किन लाचार बनेर हेरिरहेछन् आफ्नै कोखलाई बलात्कार गरिरहेको दृश्य ?
के किताबको पानामा पढेको गोर्खाको इतिहास झुटो थियो र ?
गणतन्त्रको आश्वासनमा गोली–बारुद खेलेका खेलाडी
किन मौन छन्, आफ्नै आँगनमा स्वाभिमानको प्रश्न उठ्दा ?
अनि किन सक्दैनन् सिमानामा तैनाथ हुन ?
र पनि फेरि किन स्थिर छन् ती हत्केलाहरू ?
जुन हत्केलाले सडकमा ढुंगा हान्न सिकाएको थियो ।
इतिहासमा शान्तिको झन्डा फहराउँदै
नीला आकाशमा उडेका ती स्वतन्त्र पन्छीहरू,
किन पिँजडाभित्र थुनिन बाध्य छन् छिमेकीको तगारोभित्र ?
अनि शीतका थोपा टिप्न किन आउँदैनन् कसैका हत्केलाहरू ?
के ती हत्केलाहरू पनि, छिमेकीको पैताला मिच्न बाध्य बनिरहेका छन् ?