site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘राष्ट्र बैंकले हाम्रो सुझाव माने बचतमा न्यूनतम साढे ३ प्रतिशत ब्याज दिन सकिन्छ, कर्जा खोसाखोस पनि अन्त्य हुन्छ’
Ghorahi CementGhorahi Cement

नेपालको अर्थतन्त्र अहिले कोभिड-१९ ले सिर्जना गराएको विषम् परिस्थितिसँग लडिरहेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको साढे ४ महिनामा प्रथम त्रैमासिक समीक्षामार्फत केही नीतिगत व्यवस्थामा परिमार्जन गरेको छ । अर्कोतर्फ कुनै समय उद्योगी व्यवसायीले कर्जाको ब्याजदर बढी भयो भन्दै आन्दोलन गरेको मुद्रा बजारमा अहिले निक्षेपकर्ता नै पलायन हुनेगरी निक्षेपको ब्याजदर घटेको अवस्था छ ।

अहिले वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्षमा भुवन दाहाल छन् । उनी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । कोभिड १९ पछि वित्तीय क्षेत्रमा पारेको प्रभाव, निक्षेपको ब्याजदर घट्नुको कारण तथा पछिल्लो बैंकिङ अवस्थालगायत अहिलेको विषयवस्तु हुन् । प्रस्तुत छ, सोही चासोमाथि बाह्रखरीका विजय पराजुलीले दाहालसँग गरेको संवादको सम्पादित अंश :

कोभिड १९ का कारण भएको लकडाउनका कारण ४/५ महिनासम्म बैंकहरुमा कर्जाको माग नै नभएकमो अवस्था थियो ? अब विस्तारै अर्थतन्त्र लयमा फर्किंदै गएको देखिन्छ । बैंकमा कर्जाको माग कस्तो छ ?

Agni Group

म केही तथ्यांक तपाईंलाई पेस गर्छु । गत वर्षको असोज मसान्त र यो वर्षको असोज मसान्तको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुको निक्षेप २३ प्रतिशतले बढेको छ । कर्जा १५ प्रतिशत र बैंकहरुले व्यवसाय गरेर सञ्चालन मुनाफा ७ प्रतिशतले नेगेटिभ भएछ । गत वर्षको तुलनामा २३ प्रतिशतले निक्षेप र १५ प्रतिशतले कर्जा वृद्धि भएको छ । यसले व्यवसायको भोल्युम बढेको देखिन्छ । यो राम्रो पक्ष हो किनभने कतिपय देशमा बढ्न नसकेको अवस्था छ । व्यवसाय विस्तार हुँदा पनि नाफा घट्यो भन्नुको मतलब बैंकहरुबीचमा अहिले तीव्र प्रतिस्पर्धा भइरहेको छ भने बैंकहरुसँग अहिले ‘आइडियल फन्ड’ पनि छ ।

व्यावसायिक क्षेत्र र बैंकिङ क्षेत्रको नङ-मासुको सम्बन्ध हुने हुन्छ । अर्थतन्त्रको कुनै पनि क्षेत्रसँग बैंकिङ क्षेत्रको गहिरो सम्बन्ध हुने भएकाले उद्योग व्यवसायमा पानी पर्‍यो भने बैंकले छाता ओढ्नुपर्ने हुन्छ । होटेल, उद्योग अथवा एउटा बैंकबाट ऋण लिएको ट्याक्सी चालकलाई असर गर्‍यो भने बैंकलाई असर गर्छ । अर्थतन्त्रको जुनसुकै कम्पोनेन्टलाई असर गर्‍यो भने बैंकलाई असर गर्छ । त्यसैले बैंकिङ क्षेत्र पनि अछुतो छैन ।

Global Ime bank

व्यवसाय विस्तार हुँदा पनि नाफा घट्यो भन्‍नुभयो, नाफा घट्नुको कारण के हो ?

अहिले कोभिड पछि बैंकहरुमा तरलता बढी हुँदा प्रतिस्पर्धा धेरै भयो । यस्तै बैंकको गत वर्षको पहिलो तीन महिनाको तुलनामा शुल्क तथा आम्दानी, विदेशी विनिमयबाट हुने आम्दानी सबै घटेको छ । अर्को बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी किन घट्यो त भन्दा बैंकहरुसँग आइडियल फन्ड पनि रह्‍यो भने प्रतिस्पर्धाले गर्दा ब्याजदर अन्तर, (स्प्रेड रेट) पनि खुम्चियो ।

लामो लकडाउन र त्यसपछि पनि कोभिडको कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने अवस्थाले गर्दा अर्थतन्त्र सामान्य अवस्थामा आउन सकेको छैन, यसको प्रभाव वित्तीय क्षेत्रमा कस्तो परेको छ ? 

अहिले कर्जाको माग बढेको छ । असोजपछि सबै क्षेत्रबाट कर्जाको माग बढेको छ । एउटा क्षेत्रबाट मात्रै नभएर सबै क्षेत्रमा कर्जाको माग छ । घर र गाडी कर्जा मात्रै नभएर निर्माण र जलविद्युत् क्षेत्रसँग सम्बन्धित परियाजनाको पनि कर्जाको माग आएको छ । पर्यटन क्षेत्रमै पनि निर्माणाधीन परियोजनाको काम सुरु भएको छ । कतिपय होटेल कोभिडकै बीचमा पनि सम्पन्न भए भने हामीले पनि सम्झौता भएको कर्जा रोकेनौं ।

मौद्रिक नीति समीक्षाले कोभिड प्रभावित व्यवसायीलाई थप सहुलियत बढाएको छ, यसले बैंकहरुमा कस्तो प्रभाव पर्छ ?

अहिले केही क्षेत्रहरु जस्तो पर्यटन र वैदेशिक रोजगारबाहेक अन्य क्षेत्र चलायमान भएको देखिन्छ । जो क्षेत्र अति प्रभावित छ उहाँहरुको धितो लिलाम गरेर घरबास नउठाउनुस् है अहिले तत्काललाई भनेर असारसम्मका लागि ‘रिल्याक्सेसन’ दिनुभएको हो । यसले बैंकहरुको अलिकति प्रोभिजन बढ्न सक्छ । त्यही पनि यो बेलामा त्यो आवश्यकता थियो कि भन्ने लाग्छ ।

यसले बैंकको निष्क्रिय कर्जा बढ्ने तथा अन्य जोखिम बढाउने त हुँदैन नि ?

यसले निष्क्रिय कर्जा त पक्कै पनि बढाउँछ नै । हामीले तीन महिनापछि नै रिकभरी प्रक्रिया सुरु गर्थ्यौं भने अब ६ महिनापछि गर्दा तीन महिनाको ‘ग्याप’ले केही असर नगर्ने भन्ने हैन । तथापि यो बेलामा सम्भवतः त्यो निर्णय जरुरी थियो कि भन्ने लाग्छ ।

कर्जा लगानी बढ्न नसक्नु र ब्याजदर प्रस्पिर्धाले, ब्याज आम्दानी प्रभावित हुँदा बैंकहरुले मुनाफाको लक्ष्य प्रभावित भएको देखिन्छ । जसले गर्दा मुनाफाको लक्ष्य पूरा गर्न धितोपत्र कारोबार बढाए भन्ने छ । बैंकहरुले धितोपत्र कारोबार गर्ने मिल्ने कि नमिल्ने ? यसले जोखिम र प्रतिफलमा के असर गर्छ ?

माथि उल्लेख गरेको तथ्यांकले व्यवसाय बढेको देखिन्छ । व्यवसाय बढाउन पुँजी पनि बढाउनुपर्‍यो नै । व्यवसाय पनि बढ्ने पुँजी पनि बढ्ने तर, मुनाफा कम भनेपछि स्वाभाविक रुपमा नाफाको प्रतिफल दर घटेको छ । तर, हामीले कोभिडका कारणले भनेर बसेका छौं ।

जहाँसम्म धितोपत्र कारोबारको कुरा छ । बैंकहरुको विभिन्‍न जोखिम- जस्तै कर्जा जोखिम, बजार जोखिमजस्ता हुन्छन् । जहाँसम्म सेयरमा लगानी गर्ने कुरा छ यो बजार जोखिमभित्र पर्छ । सबै बैंकहरुलाई के थाहा छ भने बैंकिङ भनेको ‘रिस्क म्यानेजमेन्ट’ व्यवसाय हो । रिस्क नै नहुने भन्ने त केही पनि हुँदैन । यस्तै बैंकहरुमा पनि रिस्क हुन्छ । त्यसलाई हामी ‘इन्हेरेन्ट’ रिस्क भन्छौं । बैंकहरुमा कर्जा जोखिम, बजार जोखिम, तरलता जोखिम र सञ्चालन जोखिम हुन्छ ।

सेयरमा लगानी गरेर बैंकहरुले कमाउन खोजे भन्ने कुरा जुन छ त्यसलाई हामीले मार्केट रिस्क (बजार जोखिम) भन्छौं । मार्केट रिस्क कति लिने भने राष्ट्र बैंकले पनि सीमा तोकेको छ । बैंकहरुले कोर क्यापिटलको १ प्रतिशतभन्दा धेरै धितोपत्र बजारमा ट्रेडिङ पाइँदैन । अर्कोतर्फ बोर्डले पनि विभिन्न प्यारामिटर तोकेको हुन्छ ।

स्वीकृत भएको सीमाभन्दा बाहिर गएर लगानी गर्न पाइँदैन । राष्ट्र बैंकको नियमभन्दा बाहिर गएर बैंकहरुले काम गर्नुहुँदैन र गर्नुभएको पनि छैन होला । यस्तै कुनै बैंकको सहायक कम्पनी छ भने त्यसमार्फत लगानी गर्नुभएको होला । कुनै बैंकले आफैं लगानी गर्नुभएको होला । तर, जसरी गरे पनि नियामक निकायले तोकेको सिमाभित्र रहेर गर्नुभयो होला जस्तो लाग्छ ।

जहाँसम्म प्रतिफलको कुरा छ, बजार बढ्यो भने प्रतिफल आउने भयो घटेर बेच्यो भने घाटा पनि लाग्ने भयो । बजार रिस्कमा तीनवटा ‘कम्पोनेन्ट’ पर्छ एउटा विदेशी मुद्राको कारोबार, अर्को कमोडिटी र अर्को सेयर कारोबार पर्छ ।

मौद्रिक नीतिले कर्जा स्वाप शुल्कमा केही सहज व्यवस्था गरेको थियो तर, बैंकहरुमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले त्यसलाई तीन महिनामै परिमार्जन गर्नुपर्ने अवस्था आयो भन्दै राष्ट्र बैंकले नै परिमार्जन गर्‍यो । तपाईंहरु हामी जतिको पारदर्शी क्षेत्र अन्य छैन भन्नुहुन्छ तर, तपाईंहरुबीच नै किन अस्वस्थ प्रतिस्पर्धा हुन्छ ?

बैंकहरुसँग अहिले करिब दुई खर्ब ‘आइडियल फन्ड’ छ । २७ वटा बैंकलाई भाग लगाउँदा सात अर्ब जति छ । औसतमा एउटा बैंकसँग सात अर्ब जति ‘आइडियल फन्ड’ भयो । बैंकहरुको स्रोतको लागत ४/५ प्रतिशत होला । ४/५ प्रतिशत ब्याजदरको ‘आइडियल फन्ड’ राख्नुभन्दा बेस रेटमै भए पनि ‘आइडियल फन्ड’ घटाउँ भन्ने सबैको इच्छा हुन्छ । त्यसले गर्दा लगानीको प्रयासहरु भइरहेको हुन्छ । स्वस्थ प्रतिस्पर्धा गर्नु बैंकको रोल नै हो । तर, ‘आइडियल फन्ड’ बढी हुँदा त्यसले प्रेसर बढाउँदो रहेछ ।

जहाँसम्म स्वाप शुल्कमा चाँडै संशोधन गर्न दबाब बढाउनुभयो भन्ने कुरा छ । संसारभरीको नियम नै कुनै पनि ग्राहकले प्रि-पेमेन्ट गर्न पाउनुहुन्छ र त्यो उहाँहरुको अधिकार हो । तर, ५ वर्षका लागि लिएका कर्जा एक वर्षमै तिर्नुभयो भने बैंकहरुले त्यो स्रोत त पाँच वर्षको योजना बनाएर जुटाएको हुन्छ, ऋणीले आजै त्यो पैसा तिर्दा बैंकले त्यो फन्ड अन्यत्र लगानी गर्नुपर्ने हुन्छ । तर, अहिले बैंकहरुसँग ७/८ अर्ब ‘आइडियल फन्ड’ बसेको छ । संसारभरी प्रि-पेमेन्ट र स्वाप शुल्क रि-इन्भेस्टमेन्ट रिस्कसँग जोडिएको हुन्छ । 

वर्किङ क्यापिटल लोन अगाडि तिरेमा प्रि-पेमेन्ट शुल्क लिदैनौं । तर, आवाधिक कर्जामा मात्रै स्वाप शुल्क लाग्ने हो । यो अन्तर्राष्ट्रिय मान्यता हो । जुन हामीले राष्ट्र बैंकलाई भन्यौं र त्यहीअनुसार केही सम्बोधन भयो तर, हाम्रो माग अझै बढी थियो । यो अन्तर्राष्ट्रिय अभ्यास हो हाम्रो अभ्यासभन्दा बाहिर गएर कमाउने उद्देश्य हैन ।

केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा कर्जा गएको भन्दै ओभर-ड्राफ्टलगायत केही कर्जामा कडाइ गर्‍यो भने सेयर धितोमा समेत केही व्यवस्था थप गरेको छ । सेयर अधिकृत तरलताले बैंकहरुको लगानी अनुत्पादक क्षेत्रमा बढेको हो ?

अनुत्पादक क्षेत्र त भन्नै मिल्दैन र लगानी गर्न पनि मिल्दैन । तर, कुन क्षेत्र कम र कुन क्षेत्र बढी उत्पादक हो भन्ने बहसको विषय होला । राष्ट्र बैंक आफैंले कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर धितो कर्जा दिन सक्छौं भनेकै छ, अनुत्पादक क्षेत्र भएको भए राष्ट्र बैंकले लोन दिन सक्छौं भन्दैन थियो होला । तर, राष्ट्र बैंकको प्राथमिकतामा रहेको क्षेत्र भनेको कृषि, ऊर्जा, एसएमई हो ।

तपाईंले भनेको क्षेत्र प्राथमिकताको होइन तर, पनि कर्जा प्रवाह गर्न पाउँदैनौ भनेको छैन । त्यो क्षेत्रभन्दा राष्ट्र बैंकले प्राथमिकता दिएको क्षेत्रमा कर्जा प्रवाह भएमा देशको अर्थतन्त्र राम्रो हुन्छ, रोजगारी सिर्जना हुन्छ आर्थिक वृद्धि हुन्छ भनेर ओभरड्राफ्ट, सेयर धितो कर्जाभन्दा प्राथमिकताको क्षेत्रमा कर्जा जाओस् भनेर राष्ट्र बैंकले संकेत भने गरेको हो । ‘बढोंका सन्देश भी आदेश होता है’ भन्ने एउटा भनाइ छ । राष्ट्र बैंकले संकेत भने गरेको छ । सेयर कर्जाभन्दा पनि हामीले प्राथमिकतामा राखेको क्षेत्रमा ध्यान देऊ भनेर राष्ट्र बैंकले संकेत गरेको छ । नजाऊ भनेको छैन ।

राष्ट्र बैंकको सेयर धितोसम्बन्धी नयाँ व्यवस्थाले सेयर धितो कर्जामा कस्तो प्रभाव पर्छ ?

बैंकले सेयर धितो कर्जामा अलिकति ध्यान दिनु है भन्ने संकेत दिएको छ । अघि पनि भने, हाम्रो प्राथमिकताको क्षेत्र हैन है सेयर, तिमीहरु कर्जा दिन सक्छौ तर, सेयर बजार अब उच्च विन्दुमा पुग्यो कि भन्ने संकेत पनि हुनसक्छ राष्ट्र बैंकको । राष्ट्र बैंक सेयर बजारको नियामक हैन धितोपत्र बोर्ड हो । तर, नियामकको बीचमा बेलाबेलामा संवाद हुन्छ होला । अर्थमन्त्रीको नेतृत्वमा वित्तीय क्षेत्रको उच्चस्तरीय समन्वयन समिति पनि हुन्छ । त्यसको पनि बैठक बसिरहेको छ। नियामकको बीचमा केही छलफल भएको हुनसक्छ । सर्वसाधारणलाई असर नगरोस् र कुनै पनि बैंकले सेयर धितो कर्जा दिन्छ भने त्यसलाई अलिक बढी विश्लेषण गरेर प्रवाह गर्नुहोस् भनेको हो । सेयर धितोमा मा प्रवाह गरेको कर्जा नडुबोस् भन्ने राष्ट्र बैंकको चाहाना हो । राष्ट्र बैंकले जहिले पनि त्यो चाहान राख्नु स्वभाविक हो ।

कुनै समय कर्जाको ब्याजदर बढी भयो भने उद्योगी व्यवसायी आन्दोलित हुनुपर्ने अवस्था आयो तर, अहिले बचत नै निरुत्साहित हुनेगरी बचतको ब्याजदर घटेको अवस्था छ, वित्तीय क्षेत्रमा छोटो समयमा नै कि यस्तो अवस्था देखापर्छ ? बैंकहरुमा दीर्घकालीन योजना बनाउन नसकेर हो अथवा के कारणले हो ?

सुरुदेखि नै यहाँलाई भनिरहेको छु । बैंकहरुसँग दुई खर्बजति आइडियल फन्ड छ । त्यो पैसाको बैंकहरुले निक्षेपकर्तालाई ब्याज तिरिरहेका छन् । बैंकहले निक्षेपकर्तालाई ब्याज तिर्ने तर, बैंकहरुले नकमाउने भएपछि प्रेसर हुने भयो । तथ्यांक हेर्नुभयो भने असर पछि निक्षेप र कर्जा बराबर जस्तै बढेको छ । तर, चैतदेखि असारसम्म कर्जा जाँदै गएन तर, निक्षेप बढ्यो । त्यही फन्ड अहिले हामीसँग आइडियल फन्डका रुपमा रहेको हो । हामीले राष्ट्र बैंकलाई केही सुझाव दिएका छौं । यो किसिमको औजार ल्याउँ । उक्त औजार ल्याउँदा राष्ट्र बैंकको पनि खर्च बढ्दैन र बैंकहरुको पनि आम्दानी बढ्छ । बचतको ब्याजदर पनि घट्दैन र एक हदसम्म बढाउन सकिन्छ भने जुन अहिले कर्जा तानातनमा धेरै नै प्रतिस्पर्धा भएको छ त्यो कम हुन्छ भन्ने सुझाव दिएका छौं ।

हाम्रो सुझावमा राष्ट्र बैंकले पनि अध्ययन गरिरहेको छ, त्यो अध्ययन सकेर कार्यन्वयन भएमा मलाई लाग्छ बचतको ब्याजदर पनि बढ्छ र कर्जा खोसाखोसको अवस्था पनि नियन्त्रण हुन्छ जस्तो लाग्छ ।

बैंकहरुले बचतको ब्याजदर घटाएपछि निक्षेपकर्ताको संरक्षणको लागि भन्दै राष्ट्र बैंकले मुद्दती र बचतको बीचको ब्याजदर अन्तर, तोकिदियो । तर, त्यसले बचतको ब्याजदर बढ्नुको साटो घट्यो, यसको कारण के देख्नुहुन्छ ? राष्ट्र बैंकको नीतिको किन उल्टो प्रभाव देखियो ?

राष्ट्र बैंकको उद्देश्य ब्याजदरमा उच्च उतारचढाव नहोस् र निक्षेपको माथि र बचतको तलको ब्याजदर अन्तर, धेरै भएर बचतकर्तालाई अन्याय नपरोस् भनेर राष्ट्र बैंकले सत्‌विचारसहित ल्याएको नीति हो । यसको प्रभाव के पर्छ भनेर हेर्न बाँकी छ । यो हाम्रा लागि पहिलो अनुभव हो । बचतको तल्लो ब्याजदर र मुद्दतीको माथिल्लो ब्याजदरबीचको अन्तर ५ प्रतिशत हुनपर्छ भन्ने नीति नेपालमा पहिलोपटक आएको हो । यसको प्रभाव के पर्छ हेर्न बाँकी नै छ ।

जहाँसम्म बचतको ब्याज बढ्नुको साटो मुद्दतीको ब्याज घट्यो भन्ने छ, बैंकहरुले आफ्ना सम्पत्ति र दायित्व व्यवस्थापन गर्ने हो । जुन बैंकसँग धेरै नै आइडियल फन्ड छ, जोसँग आइडियल फन्ड छैन उनीहरुले ब्याज बढाएको पनि छ । उदाहारण नै दिनुपर्दा पनि सानिमा बैंकले संस्थागत मुद्दतीको ब्याज बढायौं । एनएमबि बैंकले बचतको ब्याजदर बढायो, सनराइज बैंकले बचतको ब्याजदर बढायो ।

केही बैंकले घटाउनुभयो, केही बैंकले फ्ल्याट राख्नुभयो भने केही बैंकले त बढाएको अवस्था छ । हाम्रो ह्युमन नेचर नै जसले घटाएको छ, घटाएको कुरालाई बढी जोड दिन्छौं । राष्ट्र बैंकलाई बैंकहरुसँग भएको २ खर्ब कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले राष्ट्र बैंकलाई दिएको सुझाव पर्याप्त रुपमा आयो भने बचतको ब्याजदर न्युनतम ३ देखि साढे ३ प्रतिशत पुग्छ । 

राष्ट्र बैंकले पनि गर्दै नगरेको भने हैन । नेपाल सरकारले पनि बोन्ड इस्यु गरेको छ भने राष्ट्र बैंकले पनि तरलता तान्ने प्रयास गरेको छ । तर, त्यो पर्याप्त भने भएको छैन ।

बचतको ब्याजदर ३ देखि साढे ३ प्रतिशत सजिलै पुग्ने सुझाव राष्ट्र बैंलाई दिएका छौं भन्नुभयो । कस्तो सुझाव हो त्यो ?

हामीले राष्ट्र बैंकलाई सुझाव दिएका छौं । त्यसमा राष्ट्र बैंकले अध्ययन गरिरहेको छ । राष्ट्र बैंकको त्यसमा कुनै पनि खर्च हुँदैन, बैंकहरुको पनि आम्दानी बढ्छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदन चाँडै आउँछ जस्तो लाग्छ । मलाई लाग्छ सुखद समाचार नै आउँछ । त्यो भयो भने बचतको ब्याजदर बढ्छ । त्यो उपाय अहिले भन्न चाहिनँ तर, अबको एक महिनामै त्यसको प्रतिवेदन आउँछ जस्तो लाग्छ ।

बैंकिङ क्षेत्र केही बैंकको नियन्त्रणमा पुगेको हो ? पुराना र स्थापित बैंकहरुको नियन्त्रणबाहिर बैंकिङ क्षेत्र जान लागेको त होइन ?

एकपटक टपमा रहेको बैंक सधैं टपमा रहन्छ भन्‍ने छैन २७ वटा वाणिजय बैंक छ प्रतिस्पर्धा भइरहन्छ । यो एउटा साइकल हो प्रतिस्पर्धामा सधैं एउटा बैंक नै माथि रहन्छ भन्ने लाग्दैन । प्रतिस्पर्धा हो अहिले एउटा माथि हुन्छ भने भोलि अर्को अगाडि हुनसक्छ । तपाईंले प्रभु र एनआईसी एशिया बैंकलाई लक्षित गर्दै यो प्रश्न गर्नुभयो होला । यो वर्षको सरुवाती केही महिनामा जो दुईवटा बैंकले राम्रो गर्नुभयो उहाँहरुलाई बधाइ तथा शुभकामना पनि छ ।

कतिपय बैंकहरुले यो बेलामा कर्जा बढाउने अवस्था हो कि हैन भनेर हेर्नुभएको छ । कोभिडको अवस्थामा अर्थतन्त्र कता जान्छ । अनिश्चित अवस्था छ भन्ने हिसाबमा कतिपय बैंकहरु यो बेलामा कर्जा बढाउनु हुँदैन बरु घटाउनुपर्छ भन्ने सोचमा पनि जानुभयो । कतिपय बैंकहरुको अब भ्याक्सिन आइहाल्छ हामी अगाडि बढ्नुपर्छ भन्ने सोच भयो । त्यसले गर्दा केही बैंकले व्यवसाय धेरै विस्तार गर्नुभयो, केही बैंकले थोरै विस्तार गर्दा केही बैंकले व्यवसाय घटाउनुभयो । यो भनेको आ-आफ्नो हेर्ने दृष्टिकोण हो ।

साउनदेखि असोजसम्मको तथ्यांकमा त्यस्तो देखिए पनि कात्तिक लागेपछि त्यो सिनेरियो परिवर्तन भएको छ । पुसमा आउने तथ्यांक पहिलो त्रैमासमा जुन किसिमले दुईवटा बैंकको मनोपोली देखिएको छ त्यस्तो देखिँदैन ।

केचाहिँ हो भने ठूलो हुनु नै राम्रो हुनु होइन । गुणस्तर के कस्तो छ त्यो पनि हेर्नुपर्छ । कस्तो रणनीति लिने भन्ने आफ्नो-आफ्नो विचार हो । सानो बनाउने कि ठूलो बनाउने आफ्नो रणनीतिको कुरा हो । तर, ठूलो भएका बैंकले गुणस्तरमा कम्प्रमाइज गरेका छन् भन्ने खोजेको हैन । बिजनेस भोल्युममा अन्तर देखिएको छ । त्यो यथार्थ कुरा हो । त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ ।

अहिलेको अवस्थालाई हेर्दा बैंकहरुले ध्यान दिनुपर्ने कुरा के-हो र अबको चुनौती के देख्नुहुन्छ ?

कोभिडका कारण अहिले पनि केही क्षेत्रमा समस्या देखिन्छ । जस्तै होटेल अथवा वैदेशिक रोजगारीमा गएकाले पनि राम्रोसँग पैसा पठाउन सक्नुभएको छैन । निष्क्रिय कर्जाको व्यवस्थापन नै अहिलेको चुनौतीपूर्ण विषय हो । अर्थतन्त्र सहज भएकाले एक हिसाबमा हामी आशावादी छौं । आर्थिक गतिविधि पनि बढेको छ । तर, केही क्षेत्रमा अझै पनि च्यालेन्ज छ । हामीले जोखिम व्यवस्थापन गर्दै जानुपर्छ । तर, साथसाथै कोभिडले गर्दा अर्को एउटा डिजिटल बैंकिङको गतिविधि एकदमै बढेको छ ।

यो सकारात्मक पक्ष छ । यसले खर्च पनि घटाउन सकिन्छ । अहिले हामीले धेरै शाखा खोलेका छौं तर, डिजिटल बैंकिङ भए पनि धेरै शाखा पनि चाहिँदैन जसले खर्च घटाउन सकिन्छ ।

अन्त्यमा सानिमा बैंकको कुरा गरौं, सानिमा बैंक हरेक हिसाबले मजबुत र बलियो देखिँदै आएको थियो तर, गत असार र असोजको ब्यालेन्स सिटले भने बैंकको पर्फमेन्स खस्किएको देखिन्छ नि ?

चैतसम्म वास्तममै हाम्रो पफर्मेन्स एकदमै राम्रो थियो । क्यामेल्स रेटिङमा हेर्दा निकै नै माथि छौं । चैतसम्मको मुनाफालगायत विभिन्‍न रेसियोमा धेरै राम्रो थियौं । असार र असोजमा कोभिडका कारणले यो बेलामा हामी धेरै एग्रेसिभ हुनु हुँदैन भन्ने हिसाबले गयौं । त्यस्तै, हामी ब्याजदर अन्तर (स्प्रेड दर) धेरै भएकाले ऋणीलाई घटाउँदै गयौं । आर्थिक गतिविधि कम भयो भने तीन महिनाका लागि ऋणीलाई तपाईंहरुको ब्याजदर घटाइदियौं भनेर घटायौं, त्यसले गर्दा हाम्रो खुद ब्याज आम्दानीमा प्रभाव पर्‍यो । आम्दानीमा पनि कोभिडका कारणले एग्रेसिभ हुन हुँदैन भनेर स्लो नै अगाडि, बढ्यौं । त्यसले पनि असर गर्‍यो ।

तर, असोजपछि आर्थिक गतिविधि पनि बढेको छ । सानिमा बैंकको पफर्मेन्स पनि पुसमा देख्नुहुन्छ । एकदमै राम्रो भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC