site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुन्दर लामाको ‘एकालाप’
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक छेउमा ठूलाठूला दाह्रा निस्किएको रातो अनुहार भएको लाखे छ, त्यसको अर्को छेउमा फूलमाथि कंकालदेखिने काग बसेको छ, जसको घाँटीमा लाखेको कम्मरमा हुने छन्छन् बज्ने गोटी छ र ती दुबैको माथिपट्टि घोडाको कंकाल छ । यी सबैको पृष्ठभूमि धमिलो छ । अर्कोमा मानवको शरीरमाथि घोडाको टाउको छ, त्यस्तै काग, घोडा, कुकुर, राँगो, सुई नभएको घडि भएको घण्टाघरबाट कमलका फूलहरु निस्किरहेका छन् । 

यो पर्फोमेन्स आर्टिस्ट र चित्रकार सुन्दर लामाले आफ्ना क्यानभासमा उतारेका धेरै चित्रकला मध्येका दुई हुन् । यी विभिन्न पात्रहरुमार्फत कलाकार लामाले आफूलाई, आफ्नो अवस्थालाई, आप्mनो सोचलाई, भावनालाई र निराशालाई प्रस्तुत गर्न खोजेका छन् । बेल फ्लावर र गार्डेन शिर्षकमा उनले क्यानभासमा उतारेका हरेक पात्रलाई प्रतिकात्मक रुपमा प्रयोग गरेका छन् । जसमा काग एक स्वतन्त्रताको प्रतिक हो भने घोडालाई उनले यात्राका लागि अपरिहार्य बाहानको प्रतिकका रुपमा, कुकुरको इमान्दारिता र राँगाको जिद्दी र एकोहोरोपनको गुणलाई प्रतीकका रुपमा र कंकाललाई भित्री कुराको प्रतीकका रुपमा प्रयोग गरेका छन् ।

साथै घण्टाघरमा फूलिरहेको कमलको फूललाई सकारात्मक सोच र राम्रो समयको सुरुवातको रुपमा प्रयोग गरेका छन् । कोरोना महामारीले लामो समयदेखि उत्पन्न  निराशालाई भ्याक्सिनको खबरले ल्याएको खुशी र सकारात्कताको खबर जस्तै । 

Prabhu Bank
Agni Group
NIC Asia

कलाकार लामाका यी दुईसहित करिब २५ वटा सिम्बोलिक चित्रकलाहरुको रसपान अब भर्चुअल रुपमा गर्न सकिन्छ । 

‘एकालाप’ शिर्षकमा क्लासिक ग्यालरीको आधिकारिक युट्युब पेजमार्फत २० डिसेम्बदेखि उनको एकल कला प्रदर्शनी सुरु भैसकेको छ । कला प्रदर्शनीको शिर्षक बारे प्रस्ट्याउँदै सुन्दर भन्छन्, “म सानैदेखि दुःख झेल्दै आएको व्यक्ति हुँ, चाहे त्यो मेरो व्यक्तिगत जीवनमा होस् वा व्यावसायिक । र ती सबै दुःखका कुरा आफ्नो मनमा भएका भावनाहरु र आफ्नो अवस्थाबारे म आफैंले आफैंलाई पोखिरहेको छु, यी चित्रकलामार्फत । त्यसैले मैले यो प्रदर्शनीको नाम एकालाप राखेको छु ।”
प्रायः चित्रकारहरु आफ्नो वरिपरि भएका, देखेका समाजका कुरा र समाजलाई चित्रमार्फत उतार्ने कोशिस गर्दछन्, तर सुन्दर भने आफूलाई नै चित्रमार्फत उतार्छन् । तर पात्रहरु भने समाजमा भएका र देखेका नै चयन गर्छन् र त्यसलाई आफूमा र आफूलाई त्यसमा धाल्ने कोशिस गर्छन् । 

Global Ime bank

उनकै भाषामा भन्नुपर्दा उनका चित्रकलाहरु उनका ऐना जस्तै हुन्, “मेरा कामहरु एकदमै पर्सनल हुन्छ, म आफूलाई पोख्ने ठाँउ भनेकै मेरै क्यानभासहरु हुन् ।”

यस अनलाइन प्रदर्शनीमा उनका केही पुराना र केही नयाँ सिर्जनाहरु छन् । ती पुराना चित्रकलाहरु आजको यो परिस्थिती सुहाँउदो भएर पनि उनले पुनः समावेश गरेका छन् । उनका पीडाहरु पोख्न कोरिएका यी केही पुराना चित्रकलाहरु अहिले कोरोना महामारीले दिएको त्यही अभावको स्थिती हो, चाहे त्यो आर्थिक होस् वा अन्य । यसैसँग मेल खान गएकाले उनले यी पुराना चित्रहरु (रिकरिंग मोमेन्ट)का रुपमा प्रयोग गरेका छन् । यो उनको पाँचौं एकल चित्रकला हो ।

उनले ‘अनफिनिस्ट मोमेन्टम’, ‘बेल फ्लावर’, ‘मःम’, ‘अप्टिकल इलुजन’लगायत शिर्षकमा सिरिजमा पनि काम गरेका छन् । जसमार्फत उनले सामाजिक, सांस्कृतिक, र विभिन्न सम्बधले त्यसको परिधि अनि जिम्मेवारीले आफूलाई, आफ्नो विचार, सोच र जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरिरहेको असरलाई पनि चित्रण गर्न खोजेका छन् । 

उनका चित्रकलाहरुमा नेवार र उनको आफ्नै समुदायको सांस्कृतिक झलकहरु पनि देख्न पाइन्छ । जस्तै उनका प्रायः चित्रमा नेवारी समुदायको संस्कृति झल्किने लाखे र लाखेसँगै  तान्त्रिक कुरामा आउने कंकाल र लामा तथा तामाङ जातिको आस्था बुद्ध भगवानको प्रतीक देख्न सकिन्छ । त्यस्तै उनका हरेक चित्रमा चरा र घोडा पनि कहीँ कतै अटेकै हुन्छन् । जसमार्फत उनले स्वतन्त्रतालाई र एक सोचबाट अर्को सोचमा अनि पलहरुको यात्रालाई देखाउन खोजेका छन् । 

काठमाडौंको नेवार टोल महाबौद्धमा हुर्किएका सुन्दरलाई लाखे पात्र र त्यसको कथाले सधैं मोहित गरेको थियो । त्यसैले उनले आफ्नो कलामा पनि त्यसलाई प्रस्तुत त गर्छन् तर त्यसमा पनि आफ्नै अर्थात मान्छेकै शरीर हालेर आफूलाई व्यक्त गर्न खोज्छन् । जस्तै मजिपा लाखेको प्रेम कहानी र मजिपा लाखेको गहिरो अनि चोखो प्रेमलाई उनी आफूले गरेको चोखो प्रेमको प्रतीकका रुपमा प्रयोग गर्छन् । 

उनले मजिपा लाखेको कथामा धेरै पटक पफमेन्स आर्ट पनि प्रस्तुत गरिसकेका छन् । हुन त उनी आर्टका गुरु (विद्यालयमा आर्ट शिक्षक) पनि हुन्, तर पनि परिवार बढ्दै गएसँगै काँधमा बढ्दै जाने जिम्मेवारीको बोझलाई यो क्षेत्रबाट पाइने कमाईले धान्न नसक्ने दुखेसो पोख्छन् । यति हुँदाहुँदै पनि यही क्षेत्रमा लागिरहनु भनेको केवल आफ्नो कामबाट पाइने आत्मसन्तुष्टि रहेको सुन्दर सुनाउँछन् ।  

कलाकार तथा कला समीक्षक मदन चित्रकार, सुन्दर लामालाई एक बहुमुखी कलाकारको रुपमा हेर्छन् । पेन्टिङ, पफमेन्स आर्ट, भिजुअल आर्टिस्टका साथै कविता लेखनमा पनि सक्रिय भएकै कारण उनलाई एक युवा बहुमुखी कलाकारको ट्याग उनले सुन्दरलाई दिएका हुन् । पेन्टिङमा स्नात्तकोतर गरेका लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि थुप्रै सम्मानहरु प्राप्त गरिसकेका छन् । 

गत वर्षमात्रै उनको ‘सुसेली रहेको मान्छे’ नामक कविता संग्रह पनि प्रकाशित भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC