site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरस्कृत कविता
Ghorahi CementGhorahi Cement

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७७ मा प्रथम द्वितीय र तृतीय हुन सफल कविताहरू : 

प्रथम कविता 

नेपालको गीत

Agni Group

भैरवी भूगोल
 
ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ,
यो घामपानीको जीवन ।
थाहा छैन, कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा ।
लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौँ
समानताको विरुवा
विकास गरौँ
मानव समाजको
विभेदरहित अध्याय ।
समस्त मानव जीवनहरूमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरूका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियुन्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू ।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याइकन,
कहिल्यै नदुखुन् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरू ।
युगौँदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
सङ्गच्छध्वम् संवदध्वम्
सिरोपर गरेर
जपिरहौँ चरैवेतिको मन्त्र
निर्माण गरौँ समृद्ध नेपाल ।
अनि,
नेपाली मन, पहिचान बोकेर 
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहून्
मेरा सन्ततीहरू
गाइरहून् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । 

(नुवाकोट)

Global Ime bank

०  ० ०

द्वितीय कविता 

सङ्कल्प 
            
प्रज्वल अधिकारी

श्रमलाई बादल बनाइदिन्छु 
र, मेघसँग ठोक्काएर 
बर्साइदिन्छु पसिनाको झरी 
र, भिजाइदिन्छु–कलेटी परेको धर्तीको ओठ 

निधारलाई फाँट बनाइदिन्छु 
र, मेहनतकोे कलमले देखिनेगरी नै लेखिदिन्छु
कर्मका सुनौला अक्षरहरू

दिमागको खोपिल्टोमा विचारको बीउ छर्छु 
र, हराभरा बनाउँछु–बाँझो मगज
ओठको आँगनमा मुस्कानको फूल फुलाउँछु
र, खुसीको बगैँचा भएर मगमगाउँछु
हृदयको गरामा भावनाको खेती गर्छु 
र, प्रेमको भकारीमा मायाले भरिन्छु

आँखामा देश सजाइदिन्छु
आँखीभौँ र परेलालाई
सुरक्षार्थ खटाइदिन्छु

बोलीलाई मन्त्र बनाइदिन्छु
हातलाई यन्त्र बनाइदिन्छु
गोडालाई यात्री बनाइदिन्छु

छातीलाई बनाएर पर्खाल
मुटुजस्तो कोमल देश जोगाउन हरदम लागि पर्छु
र, धड्काइरहन्छु देशको ढुकढुकी
 
नङ्ग्रा खियाएर
उदास डाँडाहरूमा पोतिदिन्छु हरियो रङ
ढाडलाई बनाइदिन्छु, देशको मेरुदण्ड 
र मजबुत काँधले जुरुक्कै उचालेर देशको स्वाभिमान
पूरा गरिदिन्छु, सन्तान हुनुको अभिभारा
यो मेरो कायालाई देश बनाइदिन्छु !

यति गर्दागर्दै सकिएछ भने मेरो देह
निस्सन्देह म माटो बनिदिन्छु ।

(लमजुङ) 

० ० ०

तृतीय कविता – १

आमाको आदेश         

गणेशप्रसाद खतिवडा 

बाँधी कर्मठ पाखुरा युवक हो हेरेर बस्छौ किन ?
तिम्रो आरन तान हाल अहिल्यै यो देशमा पाइन
हे कुञ्जो, बसिला, छिनो र घनले आशा जगा देशका
चिल्लो पार्न मुहारमा मुलुकको बिर्खे तँ रन्दा लगा ।

एकै आँगनमा फुल्यो बहुलता हुर्क्यो यहीँ एकता
जङ्गे पिल्लर कुर्दछस् दशगजा लौ हाल तेरो बता
वैरी हेर्छ कुदृष्टिले यदि भने जा मार्न भाला खुँडा
हे मुङ्ग्रो अब वैरभाव सब ठोक् अस्तित्व मेरो बचा ।

माटोभित्र भविष्य कोर्दछ हलो बाँझो फुटालीकन
भर्सेलीतिर सुक्दछन् सरङमा आला तिता अड्चन
नौनी खार्न समृद्ध पार्न सपना ठेकी मदानी चला
लिस्नो बन् अब देश उक्लिन सकोस् उत्थानका नौ तला ।

दाँदे स्वच्छ विचारको जमिनमा गाडूँ हुँडल्दै हिलो
डल्लेठो अब आ फुटा विकृतिका डल्ला बना थङ्थिलो 
नर्सिंहा अब आ र जागरणको चर्केर सन्ध्या जगा
ट्याम्को मादल खैँजडी मुलुकको विस्तारको गान गा ।

कस्तो मौसम प्राप्त भो मुलुकमा साह्रै सफा निर्मल
आमाको स्तन पोषिलो छ जसरी त्यस्तै हिमाली जल
सारा देश पखाल्न स्वच्छ जलले बग्ने नदी छन् कति
भ्रष्टाचार बगाइदे मनहरा आचार ले वाग्मती ।।

(सोलुखुम्बु)    

० ० ०

तृतीय कविता – २

आमा : एक विश्वविद्यालय 

देवकी अभिलाषी

चराहरूले मङ्गल गीत गाउनुअघि 
जीवनको आरती गाउँछिन् आमा 
अनिमात्र विस्तारै खुल्न थाल्छन् 
घरका श्यामश्वेत आँखाहरू ।

अँध्यारोको अन्तिम गीत नसकिँदै 
बज्न थाल्छ पँधेरोमा
संगीतको आदिम धुन
पानीका घैलाहरूमा सुरु हुन्छ 
जीवनको प्रिय सिम्फोनी 
कलिलो घाम बामे नसर्दै 
फर्किन्छिन् आमा जङ्गलको रंगशालाबाट 
र, सल्काउँछिन् भोकजस्तै दाउराहरूलाई 
अक्सर हरेकदिन 
बनाउँछिन् आमा हाम्रो लागि 
आँगनभरी उज्यालो रङहरूको क्यानभास ।

हामीले गाउँ छाडेपछि 
वर्षौँदेखि एक्लै छिन् आमा 
इतिहासजस्तो घरमा 
जुनकिरीहरू साथी छन्
बटुवाले हिँड्न भुलेका 
रित्ता बाटोहरूजस्ता यादहरू साथी छन्
वर्षौँदेखि फ्रेममा बेहिसाब हाँसिरहेका
बाका धमिला तस्बिरहरू साथी छन्
लाग्छ, 
मेरी आमा
कसैले लेख्न नसकेको 
एउटा अदभूत महाआख्यान ।

आमाको अनुहारभरि छन् 
पहाडी बाटोजस्तै नागबेली सपनाहरू 
जुन बाटो हिँडेर आइपुगेको हुँ म 
सपनाको आधार शिविरसम्म 
हिउँजस्तै फुलेको केस
सुरुङजस्तै गहिरिएका आँखा 
हिँड्न सिकाउने आमाका प्रेमिल औँला
पृथ्वी थामिरहेका खुट्टा 
आफ्नै जिन्दगीभन्दा गह्रौँ 
आकाश बोकिरहेको शिर 
हरेक दिन पढिरहेछु म आमाको आँखामा
प्रेमको अन्तिम सौन्दर्यशात्र ।

एक साँझ 
सहरमा लोरी गाइरहेका चराहरूसँग
म पनि उडेर गएँ गाउँमा 
र भेटेँं आमालाई
बुढो जुनजस्तै आमाको काखमा 
बगिरहेथ्यो एउटा कर्णाली ।

अहो ! मलाई मेरी आमा 
धरतीको सबभन्दा 
महान् विश्वविद्यालय लाग्छ ।

(दोलखा)

० ० ०

तृतीय कविता – ३

समृद्ध नेपालको सपना 

रेजिना आपगाईँ

हृदयमा शान्तिका मुनाहरू अङ्कुरित भएपछि
सगौरव तिम्रो समीपमा आइपुगेको छ 
यो शान्तिदूत, 
मेरी प्रिया ! 
म श्री अन्तुको सूर्योदयसँगै 
आइपुग्ने छु अपीसैपालमा 
पोल्टाभरि शान्तिका सगुनहरू लिएर 
तिमी शिरमा हिमशैलका शिरताज पहिरिएर 
तराईका उर्वर फाँटका रातानीला 
पच्छ्यौरी ओढेर मलाई पर्खेर बस है । 
हामी प्रणय सफरमा निस्कौँला एकैसाथ 
पुगौँला राराफेवा अनि, महाकाली 
र, गुन्जाउँला समृद्ध नेपाल निर्माणको 
मिठो धुन,     
चाँदनीले परेलाहरू नझिम्क्याउँदै 
तरौँला सप्तकोसी 
र पुगौँला कञ्चनजङ्गा 
हामीसँगै गाउँला हाक्पारे र पालाम 

अनि, च्याब्रुङ ढोल बजाउँला र नाचौँला 
साकेला र धाननाच । 
तिमी षोडशी यौवनको उन्मादले 
मदहोस बनेको बेला 
हामी तीनजुरेको गुराँसमाथि 
मधुरात्रि मनाउँला 
र रोपौँला तिम्रो गर्भमा 
शान्तिको वंशाणु 
अनि, जन्मनेछ 
यो देशको भविष्य । 
                            
नेपाल आमाका वक्षस्थलमा 
पराइले रोपेका अतिक्रमणका 
भालाहरू निकालेर 
ठड्याउँला जङ्गेपिलर 
मेची–महाकालीभन्दा पर 
अनि, कोरौँला हाम्रा रगतका मसीले 
नेपालको अकाट्य मानचित्र 
त्यसबेला 
हामी एकजोर सेता परेवा उडाएर 
विजयोत्सव मनाऔँला 
बालेर शान्तिको अखण्ड दीप 
हेरौँला तीन करोड आँखाले 
सुन्दर, शान्त र समृद्ध नेपाल । 

(तेह्रथुम)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC