काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताको मिति सर्ने भएको छ । पुस ११ देखि सुरु हुने भनिएको प्रतियोगिताको मिति सर्न सक्ने क्यानका एक उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने ।
नेपाल क्रिकेट संघले पीएम क्लब पुरुष क्रिकेट काठमाडौंमा हुने र महिला क्रिकेट दाङमा हुने बताएको थियो । क्यानले पुस ११ बाट काठमाडौंमा सुरु गर्ने उल्लेख गर्दा हाल जिल्ला तथा प्रादेशिक छनोटहरु भइरहेका छन् ।
“पीएम कप निर्धारित समयमै हुने कार्यतालिका थियो । तर, केही प्राविधिक र कोरोनाका कारण केही दिनपछि हुने देखिन्छ । त्यसमा पनि महिला र पुरुषको फरक-फरक मितिमा हुनेछ,” क्यानका एक उच्च अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने ।
क्यानले हाल जिल्ला टिम तयारीका लागि संघबाट २० हजार र एक दर्जन बल उपलब्ध गराएको छ । प्रधानमन्त्री कपको प्रादेशिक प्रतियोगिता पुस ७ गतेभित्र सम्पन्न गर्नुपर्ने क्यानले बताएको छ ।