site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आजको नेकपा स्थायी कमिटी बैठकका यी हुन् तीन सम्भावित परिदृश्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को छैठौं स्थायी कमिटी बैठक बुधबार (आज) बस्दैछ । अहिलेसम्मको जानकारी अनुसार बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । २८ गतेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले १ गतेको बैठक बालुवाटारमै बस्ने बताएका थिए ।

आज बस्ने बैठकमा पार्टीको आन्तरिक समस्या (अध्यक्षद्वयको प्रस्तावलगायत स्थायी कमिटी बैठकमा पेस भएका दस्तावेजहरू) माथि छलफल गर्ने कार्यसूची रहे पनि मङ्गलबारबाट नेकपाभित्रको सिनेरियो पुनः परिवर्तन भएको छ । पूर्वनिर्धारित कार्यसूची (एजेन्डा)बाट मोडिएर नेकपा नयाँ विषयमा प्रवेश गर्ने नेकपाका नेताहरू बताउँछन् ।

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सरकारले संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या घटाउनेगरी अध्यादेश जारी गरेपछि नेकपाभित्र गत फागुनदेखि हुर्कंदै आएको कलह–विग्रहले नयाँ मोड लिएको उनीहरूको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका नेताहरूले आजको बस्ने स्थायी कमिटीको तीनवटा परिदृष्य अनुमान गरेको छन् ।

परिदृश्य– १ : वैशाख १७ र असार १६ कै पुनरावृत्ति

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानुनका सीमा, बन्धनहरू भत्काएर अघि बढ्न खोजेको अहिले नै पहिलोपटक होइन । गत फागुन १० गते सचिवालय बैठकमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउन मिल्नेगरी संविधान संशोधन गर्ने निर्णय नै भएको थियो । र, माधव नेपाल संयोजक, पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको तीन सदस्यीय कार्यदलसमेत बनेको थियो । 

चर्को आलोचना भएपछि नेकपाले त्यसको औचित्य, आवश्यकता पुस्टि गर्न सकेन । फागुन १४ गते कार्यदल विघटन गरेको निर्णय सुनाएर संविधानको सीमा मिच्नबाट बँच्यो ।

पार्टीभित्र झाँगिदै गएको अन्तरविरोध व्यवस्थापन गर्न नसकेपछि गत वैशाखमै प्रधानमन्त्री केपी शर्मा ओली पृथक–अलग बाटो हिँड्न नखोजेका होइनन् । वैशाख ८ गते राजनीतिक दल विभाजन गर्ने प्रावधान खुकुलो बनाउँदै र संवैधानिक परिषद्को गणपूरक सङ्ख्या घटाउनेगरी, विपक्षी दलका नेताको अनुपस्थितिमा पनि निर्णय गर्न बाधा नहुने व्यवस्था राख्दै एकैसाथ दुईवटा अध्यादेश जारी गरे ।

त्यसको पनि पार्टीभित्र व्यापक आलोचना भयो । वैशाख १० गते २० जना स्थायी कमिटीले १५ दिनभित्र बैठक माग गर्दै लिखित निवेदन दिए । प्रधानमन्त्रीले अध्यादेशको औचित्य पुष्टि गर्न सकेनन् । आलोचना थेग्न पनि सकेनन् । चारदिनपछि, वैशाख १२ गते अध्यादेश फिर्ता भयो ।

तर, अध्यादेशमा प्रधानमन्त्रीको गलत मनशाय देखिएको र नेकपा विभाजन गर्न उद्यत रहेको भन्दै वैशाख १७ गते बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरे ।त्यसमा अरू सदस्यले बैठकमा बोलेर साथ त दिएनन् । तर, बहुमत सचिवालय सदस्यहरूको भित्री इच्छा त्यही थियो । र, प्रचण्डमार्फत् उद्घाटित भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हामी सबै प्रधानमन्त्री भइहाल्यौँ, उपाध्यक्ष वामदेव गौतम बाँकी हुनुहुन्छ, उहाँलाई बनाऔँ’ भनेर प्रस्ताव गरेपछि घटनामा ट्विस्ट आयो । वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच सचिवालय बैठकअघि करिब ३० मिनेट ‘कानेखुसी’ भयो । मङ्सिर ४ गतेको सहमति (सचिवालय बैठकको निर्णय) कार्यान्वयन गर्ने प्रतिबद्धतासँगै त्यतिबेलाको प्रकरण त्यत्तिकै सेलायो ।

ओली–प्रचण्डको ‘चोचोमोचो’ ( दुई अध्यक्षको समझदारीलाई पार्टीका वरिष्ठ माधव नेपालले यही भनेर परिभाषित गरेका थिए) मिले पनि पार्टीभित्रको अन्तरविरोध व्यवस्थापन भएको थिएन । लिपुलेक, कालापानी, लिम्पियाधुरासहित यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर नक्सा प्रकाशित गर्ने, संविधान संशोधनमार्फत् वैधानिकता दिने काम भएपछि ओलीको राजीनामाको विषय चिसिँदै गएको थियो ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकमा पुनः ब्युँतियो । असार १० गतेकै बैठकमा त राजीनामाको प्रसङ्ग आएन । प्रधानमन्त्री स्वयम्ले निम्तो दिए ।

असार १४ गते मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका दिन बालुवाटारमा आयोजित कार्यक्रममा भारतले मौजुदा सरकार ढाल्न खोजेको र दूतावासको सक्रियतासँगै नेकपाका नेताहरू होटलहोटलमा गतिविधि बढाउन थालेको आरोप लगाएपछि राजीनामाको मुद्दा प्रखर भएर आयो । असार १६ गते बसेको बैठकमा बहुमत सचिवालय सदस्यहरूसहित स्थायी कमिटीका झण्डै बहुमत सदस्यहरू राजीनामाको पक्षमा उभिए ।

आजको स्थायी कमिटी बैठकको परिदृश्य ठ्याक्कै असार १६ गतेको जस्तै हुने नेकपाका नेताहरू बताउँछन् । स्थायी कमिटीको बैठक चलिरहेको छ । नेताहरूबीच अनौपचारिक संवाद पनि भइरहेको छ । अहिले नै संवैधानिक परिषद्को बैठक बसेर आयोगहरूमा पदपूर्ति नगरे बिग्रिइ–नासिइहाल्ने कुरा पनि केही छैन । तर, प्रधानमन्त्रीले अध्यादेशहरू तयारी हालतमा छन् भन्ने सन्देश प्रवाह गर्ने र म अलग बाटो हिँड्न तयार नै भइसकेको छु भन्ने जसरी हठात् अध्यादेश ब्युँताएपछि नेताहरू क्रुद्ध बनेका छन् । सशक्त प्रतिवादको तयारी गरेका छन् ।

मङ्गलबार नै पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बहुमत सचिवालय सदस्यहरूको बैठक बसेर आवश्यक तयारी गरिसकेका छन् । अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने तयारी गरेको स्रोतले जानकारी दियो ।

परिदृश्य–२ : प्रधानमन्त्री बैठकमा अनुपस्थित हुने, प्रचण्ड–नेपाल समूहको तयारी हेरेर अर्को कदम उठाउने

गत २१ गते पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा ओली उपस्थित भएनन् । त्यसो त, अघिल्लो दिन बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठकलाई रत्यौली खेल्ने थलोको उपमा दिँदै, प्रस्ताव–कार्यसूचीमा समझदारी नभएको भन्दै उपस्थित नहुने बताइसकेका थिए ।

भोलिपल्ट उनी आउँदैनन् भन्ने अपेक्षा, अनुमान स्वाभाविकै थियो । तर, प्रधानमन्त्रीले पत्र लेखेर बैठकमा उपस्थित नहुनाको कारण बताए ।

ओली अनुपस्थित भएपछि त्यसदिनको बैठकले दस्तावेज अध्ययनका लागि भन्दै सातदिनको समय छुट्टयायो । त्यसबीचमा अनौपचारिक संवाद गर्ने, सहमतिको वातावरण तयार पार्ने भन्दै अर्को बैठक मङ्सिर २८ गते निर्णय गर्‍यो ।

त्यसबीचका ठोस संवाद र कुराकानी त भएन । ओलीले प्रचण्डकहाँ आफ्ना सन्देशवाहकहरू पठाएर कुराकानी आदान–प्रदान गरे त्यसले निकास दिन सकेन । तथापि मङ्सिर २८ गतेको बैठकमा ओली उपस्थित भए ।

त्यसदिन बैठक कार्यसूचीमा प्रवेश गरेन । २४ गते निधन भएका पार्टी केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकियो ।

पटकपटक बैठकमा आउन अनिच्छा देखाउँदै आएका ओली बुधबार पनि बैठकमा उपस्थित नहुने सम्भावना रहेको नेकपाका नेता बताउँछन् । असार १६ गते राजीनामा मागिएपछि असार १८ गतेको बैठकमा ओली उपस्थित भएका थिएनन् । बरु मन्त्रिपरिषद्को बैठक डाकेर संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयकहाँ सिफारिस पठाए । 

आज पनि त्यस्तै घटना फरक रूपमा दोहोरिन सक्ने सम्भावना रहेको नेकपा नेताहरूको आकलन छ । प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी विद्यमान ऐन संशोधन गर्ने अध्यादेश पनि तयारी हालतमा राखेको नेकपा नेताको आशङ्का छ । आशङ्कालाई बल पुग्नेगरी हिजोमात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पनि भएको छ । अध्यादेशबारे मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूलाई थाहा नभएकाले यो शङ्का सत्यको नजिक भएको नेताहरूको विश्लेषण पनि छ ।

परिदृश्य– ३ : बहुमतले निर्णय

नेकपाभित्रको विग्रहले विभाजनको बाटो देखाएको यो नै पहिलोपटक होइन । विभाजनको प्रयास पनि यो नै पहिलोपटक होइन । तर, नेताहरूको सामूहिक विवेक, प्रयासले नेकपा पटकपटक फुटको जोखिमबाट उम्कँदै आएको छ ।

तर, अहिले विभाजनको डिल सन्निकट पुगेकाले फिर्ता रहन कठिन भएको नेकपाकै नेताहरूको विश्लेषण छ । कथम् प्रधानमन्त्री ओली आजको बैठकमा अनुपस्थित भए बैठक नरोकिने एक नेताले जानकारी दिए । प्रधानमन्त्रीको गलत क्रियाकलाप–कार्यशैलीको साक्षी बस्दै आए पनि र त्यसलाई सदर गर्दै आए पनि यसपटकको असंवैधानिक कदमको साक्षी बन्न नसकिने ती नेताको भनाइ छ ।

प्रधानमन्त्रीको असंवैधानिक, गलत हर्कतविरूद्ध राष्ट्र नै एकजुट भइसकेकाले केही न केही निर्णय गनैपर्ने दबाब कमिटीलाई पनि छ । सधैँ पार्टी फुट्छ कि भनेर खुट्टा कमाएर बस्ने सुविधा–सहुलियत अब नेकपा र तिनका सदस्यहरूलाई नरहेको भन्दै पार्टीको अन्तरिम विधानको धारा–६० अनुसार बहुमतले निर्णय गरेर अघि बढ्ने ती नेता बताउँछन् ।

“ओली आउँछन् कि आउँदैनन् गौण कुरा हो, प्रधान कुरा त नेकपा कुनै न कुनै निष्कर्षमा पुग्नुपर्छ भन्ने नै हो । सधैँ सहमति खोजेर पार लाग्दैन । पार्टी विधानअनुसार चल्नु कमिटी प्रणालीको विशेषता पनि हो । हामी त्यसैअनुसार अघि बढ्छौँ,” स्थायी कमिटीका एक सदस्यले बाह्रखरीसँग भने ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC