site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कोरोनाको दोस्रो लहर नआए बैंकिङ क्षेत्र र नेपालको अर्थतन्त्र सहज हुनेछ
Sarbottam CementSarbottam Cement

सुनिल केसी कुशल बैंकर मानिन्छन् । करिब चारवर्षदेखि एनएमबि बैंकको नेतृत्व गर्दै आएका छन् । उनकै नेतृत्वमा रहेको एनएमबी बैंकले तीनपल्ट बैंक अफ द इयर उपाधि जितेको छ । अर्थतन्त्रप्रति उनको धारणा पनि पृथक र आशावादी छ । कोरोना भाइरससँगै थलिएको अर्थतन्त्र खोपको आशाले तंग्रिएको विश्वास उनी गर्छन् । कोरोना भाइरसको दोस्रो लहर नदेखिए नेपाली बैंकिङ क्षेत्र र अर्थतन्त्र पनि सहजै पुरानै अवस्थामा आउने तर्क उनको छ । जसलाई उनी कारणसहित पुष्टि गर्छन् ।
प्रस्तुत छ, बैंक अफ द इयरको प्रसंग, नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था, वर्तमान र भविष्यको अर्थतन्त्र र उनका आशावादी विचारबारे केसीसँग बाह्रखरीले गरेको अन्तर्वार्ताको सम्पादित अंशः 

तेस्रोपटक ‘बैंक अफ द इयर’ को उपाधि एनएमबी बैंकले जितेको छ । कस्तो अनुभव भइरहेको छ ?

पछिल्लो चारवर्षमा तीनपल्ट यो अवार्ड पाएका छौँ । पाइरहँदा हामीले गर्व गर्नुपर्ने कुरा के हो भने हामी अन्तर्राष्ट्रिय क्षेत्रमा छाप छोड्न सक्यौं । यो ‘रिकग्निसन’ त्यही नै हो । हामी त्यसै पनि विदेशी बैंकको साझेदार भएर काम गरिरहेको भएकाले यो अवार्ड हाम्रा लागि निकै महत्वपूर्ण छ ।
आगामी दिनमा हामीलाई विदेशी बैंकसँग काम–सहकार्य गर्दा, विदेशी लगानी भित्र्याउन यसले ठूलो महत्व राख्दछ ।

Prabhu Bank
Agni Group
NIC Asia

सयवर्ष पुरानो द बैंकर भन्ने म्यागेजिनले दिने यो उपाधिले हामीलाई खुसी बनाएको छ । र, आउने दिनमा नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकिङ क्षेत्रमा विदेशी लगानी भित्र्याउन सहयोग पुर्‍याउने छ । हाम्रा कर्मचारी, ग्राहक, नियामक निकायले दिनुभएको साथले आज यो सफलता मिलेको हो । उपाधिले थप जिम्मेवारी सिर्जना गरेको महसुस हामीले गरेका छौं ।

ग्राहकको अपेक्षा बढ्दै जान्छ, सरोकारवालाको पनि विश्वास बढ्दै जान्छ । यस्ता अपेक्षा पूरा गर्नका लागि हामीले गर्दै आएका काम कारबाही थप परिस्कृत ढंगले निर्वाह गर्नुपर्छ । ग्राहकलाई नयाँ सुविधा दिँदै जानुपर्ने भएको छ । थप जिम्मेवारी पक्कै आएको छ ।

Global Ime bank

यो सफलता के कारण हासिल भएको विश्वास गर्नुहुन्छ ?

यसका २–३ वटा पाटा छन् । पहिलो त हाम्रो वित्तीय अवस्था ‘कन्सिस्टेन्ट’ छ । हामी ठूलो र एकैपल्ट उपलब्धि हासिल गरेको बैंक भनेर चिनाउँदैनौं । हामीले सधैं रणनैतिक रुपमा काम गर्दै आएका छौँ । हाम्रा वित्तीय परिसूचक उत्कृष्ट बनाउन काम गर्दै आएका छौँ । यो वर्षको अवार्ड कोभिड महामारीको अवस्थामा पनि कर्मचारीको कुशल व्यवस्थापनमार्फत् उत्कृष्ट बैंकिङ सेवा दियौँ । हाम्रा सेवा अविछिन्न रहे । हाम्रो व्यवसाय निरन्तरता रणनीति पनि यही थियो ।

दोस्रो, कोभिडले सिर्जाएको अनिश्चितताका बाबजुद हामीले अन्तर्राष्ट्रिय वित्त निगमसँग २५ मिलियन अमेरिकी डलर बराबरको वैदेशिक ऋण लिन सक्यौँ । सो रकमले नेपालको अर्थतन्त्रमा ‘कन्फिडेन्स’ छ भन्ने सन्देश दियौँ । यो सन्देश एनएमबी बैंकले मात्र होइन, नेपालको बैंकिङ क्षेत्रले दिएको हो । नियामक निकायलाई समेत यो कार्यले उच्च मनोबल बनायो ।

अर्थतन्त्र उधोगतितर्फ जान्छ, तरलताको अभाव हुन्छ, विप्रेषण घट्छ भन्नेलगायत हल्ला चलिरहँदा हामीले वैदेशिक रकम भित्र्याएका हौँ । एनएमबीलाई गरेको विश्वास सबैले गर्र्व गर्नुपर्ने विषय हो ।

तेस्रो, विस्तारै हामीले बैंकिङ सेवालाई सहरबाट ग्रामिण क्षेत्र उन्मुख बनाउँदै लगेका छौँ । त्यसका लागि पछिल्लो केही वर्षमा हामीले प्राप्तिलगायत कामबाट सेवा विस्तार गरिरहेकै छौँ । कोभिड परिवेश माझ पनि हामीले सुदरपश्चिमको कञ्चन विकास बैंकलाई प्राप्ति गर्‍यौँ ।

जसमार्फत् हामीले नेपालको बैंकिङ क्षेत्रमा थोकमात्र नभएर स–साना तथा ग्रामिण व्यवसायमा बैंकिङ गतिविधि बढाउने प्रतिबद्धता व्यक्त गरेका छौँ ।

अनिश्चितताका माझ देखाएको यस्ता प्रतिवद्धता उपाधि पाउन कोषेढुंगा बने ।

यस्तै, पछिल्लो ४–५ वर्षमा हामीले भ्याल्युज बेस्ड बैंकिङ अर्थात् दिगो व्यवसायमा बढी केन्द्रिकृत गरेका छौँ । जसको उदाहरण हो, ऊर्जा क्षेत्रमा हामीले गरेको लगानी । आजको दिनमा ४४–४५ वटा जलविद्युत् आयोजनामा जोखिम मोलेर हामीले लगानी गरिरहेका छौँ । लकडाउन माझ नै हामीले जलविद्युत् तथा पर्यटन क्षेत्रमा लगानी गरेका छौँ । यो प्रतिवद्धता नेपालको दिगो र यथार्थ आर्थिक वृद्धिका लागि हो ।

यो उपाधिले हामीमा अवसरसँगै चुनौती पनि थप्यो नि !

मैले भनिहालें । विश्वव्यापी बजारमा हामी चिनिने अवसर पायौँ । भविष्यमा विविध सम्बन्ध तथा व्यवसाय विस्तारका लागि यसले ढोका खुला गरेको छ । बैंकलाई अन्तर्राष्ट्रियकरण गर्न यो उपाधिले पक्कै सघाउ पुर्‍याउने छ । चारवर्षमा तीनपल्ट पाउँदा ग्राहक, नियामक निकाय तथा सरोकारवाला निकायको अपेक्षा बढेर गएको छ । त्यतिबेला साबिककै जस्तो सेवा दिने छुट छैन, परिस्कृत बनाउनु छ । यस्ता माग पूर्ति गर्न हामी तयार बस्नुपर्ने चुनौती छ ।

अलिकति बैंकको वित्तीय परिसूचकको कुरा गरौं । अहिलेको दिनमा बैंक कुन स्थितिमा छ ?

हामी लगातार रुपमा अघि बढिरहेका छौं । आजको दिन (मंसिर २३)मा हामीसँग १ खर्ब ४० अर्बभन्दा बढी निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छौँ । अनिश्चितताका बाबजुद हामीले पहिलो त्रैमासमा राम्रै नाफा गर्न सक्यौं । पुँजीका आधारमा पनि हामी सुदृढ अवस्थामा छौं । २० अर्बभन्दा बढी कोर क्यापिटल छ । अरु परिसूचक पनि सुदृढ छन् ।

हामी ‘कन्सिस्टेन्ट’ रुपमा अघि बढेका छौँ । चाँडै ठूलो बन्ने होडभन्दा आफू जुन क्षेत्रमा जानुपर्ने हो, पहिचान गरेका क्षेत्रमा काम गर्छौँ । हाम्रो अध्ययनले ग्रामिण तथा अर्धसहरी क्षेत्रमा व्यवसाय अवसर बढ्दै जाने देखाउँछ । नेपाल संघीयतामा गएपछि बढेका यस्ता अवसर कोभिड प्रभाव सकिएपछि अझै बढ्ने अनुमान गरेका छौँ । त्यहाँ हुने आर्थिक गतिविधिलाई नजिकबाट नियालेका छौँ । त्यसलाई ‘ट्याप’ गर्नेगरी व्यवसाय विस्तार गर्दै छौँ ।

डिजिटल भविष्यको कुरा गरिरहँदा बैंकिङ पनि डिजिटल नै हुनेछ । डिजिटल बैंकिङका लागि हामीले थुप्रै लगानी गरेका छौँ । ती लगानीका प्रतिफल विस्तारै देखिन थालेका छन् ।

डिजिटल बैंकिङमा हामी नेतृत्व गर्छौँ । सामाजिक सञ्जालमार्फत् बैंक खाता खोल्ने व्यवस्था नेपालमा पहिलोपल्ट हामीले नै गरेका हौँ । मोबाइलबाट सापटी लिन अर्टिफिसियल इन्टिलिजेन्स उपयोग गर्ने हामी पहिलो बैंक हौँ ।

यस्तै थुप्रै नवीन तथा नेपालका लागि पहिलो हुने खालका प्रोडक्ट ल्याइरहेका छौँ । यसकारण हामी ग्राहकमाझ गइरहँदा जबरजस्ति भन्दा स्वतःस्फुर्त कस्टुमर अनुभव सिर्जना गर्न खोजेका छौँ ।

यी भोलिका दिनका लागि लोयाल्टी (निष्ठा)का कुरा हुन् ।

ग्रामिण तथा अद्र्धसहरी क्षेत्रमा जुन सम्भावना देखिएको छ, त्यसलाई ट्याप इन गर्नु नै हाम्रो अहिलेको योजना हो ।

 

 

अब समग्र वित्तीय क्षेत्रको कुरा गरौँ । कोभिड १९ रोगले बैंक तथा वित्तीय क्षेत्रमा केकस्तो प्रभाव पार्‍यो ? आउने दिनमा कस्तो परिस्थिति होला ?

कोभिडले स्वास्थ्य समस्या जन्माएको हो । तर, यसको प्रभाव अर्थतन्त्रमा पक्कै पर्‍यो । तीनवर्षमा आर्थिक वृद्धिको ट्रयाकमा अघि बढेको मुलुक नेपालमा एकाएक अल्पबिराम देखियो । यसले बैंकिङ क्षेत्रको अवसर खुम्च्यायो । आयात घट्ने क्रमले व्यापार सम्बन्धित बैंकिङ कारोबार ठप्प बनायो । रेमिट्यान्स ठीकै देखिएको हो ।
तर, विदेशमा रोजगारी गुमेको छ । गन्तव्य मुलुक अझै पुरानै स्थितिमा नफर्केका कारण भोलि रोजगारीको अवस्था के हो भन्न सक्ने ठाउँ छैन ।

रेमिट्यान्स र बैंकिङ क्षेत्रबीच एउटा विषेश अन्तरसम्बन्ध छ । रेमिट्यान्समा कमी आए बैंकिङ क्षेत्र बिथोलिन सक्ने सम्भावना यथावत् छ । यता खोपबारे सकारात्मक समाचार विकास थालेपछि विश्वभर आशाका किरण फैलन थालेका छन् । अनिश्चितता अझै पनि छ । धेरै जसो मुलुकमा कोरोनाको दोस्रो लहर देखिँदा नेपालमा डराउने ठाउँ अझै छ ।

अहिले अनिश्चितताका माझ बैंकिङ व्यवसाय कसरी अघि बढाउने भन्नेबारे सोच्ने समय आएको छ । यति भनिरहँदा नेपालको बैंकिङ क्षेत्र दुईवटा कारणले सहज रुपमा अघि बढ्ने मेरो विश्वास छ । पहिलो, बैंकिङ क्षेत्रमा अहिलेको अवस्थामा राम्रो पुँजी छ । पुँजी पर्याप्ततामा केही समस्या छैन । पुँजी बढाउने केन्द्रिय बैंकको नीतिले सानातिना कम्पन थेग्न सक्नेगरी ड्राइभ गरेको हो । पुँजी पर्याप्त हुँदा वित्तीय क्षेत्रमा आउन सक्ने पराकम्प सहजै धान्न सक्छ ।

दोस्रो, केन्द्रीय बैंकले तरलताका व्यवस्थापन लागि समयमै पहल गरिदिँदा (सीसीडी रेसियो बढाइदिँदा) पर्याप्त तरलता छ । लगानीयोग्य रकम पर्याप्त छ । रकम अभाव हुने बेला तरलता पुग्दैन कि भन्ने डर छैन । कोभिड नियन्त्रण आउने आशासहित पुनरुत्थानका लागि आवश्यक फन्ड उपलब्धतामा समस्या हुने छैन । बैंकहरुले व्यवसाय र अर्थतन्त्रलाई यसर्थमा साथ दिने देखिन्छ ।

केही खराब कर्जा पनि होलान्, त्यो लकडाउनका कारण हो । धेरै गतिविधि ठप्प थिए । उद्योगहरुको क्षमता उपयोग एक चौथाइ सम्म झर्‍यो । यसले गर्दा नगद प्रवाहमा केही समस्या छ । तर, हामी अघि बढ्छौँ भनिरहँदा मेरो बिचारमा नेपाली बैंकिङ क्षेत्र आफैँले सम्हालेर जान सक्ने अवस्था छ । उद्योगहरुको क्षमता उपयोग ७० प्रतिशत पुगिसकेको छ । ऊर्जा उत्पादन बढिरहेको छ । केही परियोजना निर्माण सम्पन्न हुने क्रममा छन् । केही समयावधीमा हामी आत्मनिर्भर पनि बन्ने छौं । यस्ता कुराले औद्योगिक वृद्धिमा टेवा दिन्छ ।

अरु विषयलाई छाड्ने हो भने भुकम्पपछि जसरी पुनरुत्थान भयो, त्यसरी नै पुरानै बिन्दुमा फर्कन सकिन्छ । नेपाली बैंकिङ र अर्थतन्त्रको त्यो रेजिलियन्स अहिले पनि यथावत् छ ।

केही नीतिगत विषय गरौं । पहिलो त्रैमासिक समीक्षामार्फत् केन्द्रिय बैंकले बचतको ब्याजदर मुद्दतीको सँग टाइ अप गरिदियो । यो बैंकहरुले बचतकर्तामाथि अन्याय गरेकाले यो नीति अख्तियार गरेको हो ?

अन्याय कसरी भन्ने ? निक्षेप र कर्जाको ब्याजदर बजार आफैंले निर्धारण गर्नुपर्ने हो । आजभन्दा १ वर्ष अघि तपाईंहरुसँग यसरी कुरा गरिरहँदा बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा कर्जा लिनेहरु समस्यामा परेको भनिन्थ्यो । निक्षेपमा १२ प्रतिशतसम्म ब्याज दिँदा अनियन्त्रित भयो भनिन्थ्यो ।

एउटा विशेष अवधीलाई हेरेर प्रश्न गर्नुभन्दा २–४ वर्षको परिवेश हेरेर पो कुरा गर्ने कि ? ‘भोलाटाइलिटी’ पक्कै भएको हो । बजारको माग र आपूर्तिले आफैँ ब्याजदर निर्धारण गरेको हो । निक्षेपको ब्याजदर घट्नुको कारण कर्जाको माग नहुनु हो । बजारमा तरलता पर्याप्त हुँदा कर्जा प्रोत्साहन गरिँदै ब्याजदर घटेको हो । सोहीअनुसार निक्षेप दर पनि घटेको हो ।

केन्द्रिय बैंकको चासो पनि एकहिसाबले जायज हो । मुद्रास्फीतिभन्दा निक्षेपको ब्याजदर कम भयो भने अर्थतन्त्रमा प्रभाव पर्छ भनेर केन्द्रिय बैंकले नियामको हिसाबमा राम्रो सोचेको हो । व्याजदर निर्धारण खुल्लै छाडिदिएको भए बैंकहरु जिम्मेवार बन्ने थिए । तर, नियामक निकायले भनेपछि जसरी अरु निर्देशन पालना हुन्थ्यो त्यसरी नै मान्नु परि नै हाल्यो ।

अर्कातिर कर्जा निक्षेपको ब्याजदर अन्तर ५ प्रतिशतसम्म हुन पाइने व्यवस्थाले कर्जाको माग कस्तो हुँदै जान्छ, सोहीअनुसार ब्याजदर निर्धारण हुन्छ । यसबीचमा एउटा राम्रो अभ्यास भएको पनि थियो नि । कर्जाको ब्याजदर एक अंकको हुनुपर्ने माग विस्तारै पुरा हुँदै थियो । बैंकहरुको औसत कर्जाको व्याजदर ९.८५ प्रतिशतमा आइपुगेको थियो ।

डेढ वर्षअघिको तथ्यांकसँग तुलना गर्दा यो दर २ प्रतिशतसम्म कम हो । यसको लाभ व्यावसायिक क्षेत्रले पाएका थिए ।

बजारमा ‘क्रेडिट क्वालिटी’ कस्तो छ ?

अहिले ‘क्यास फ्लो’को समस्या भएको हो । सबै ठीकै थियो, एक्कासी नसोचेको परिवेशको सामना गर्नुपर्यो । यसलाई सामना गर्ने कसैले योजना बनाएको पनि थिएन । एक महिनाभन्दा कम समयमा सम्पूर्ण गतिविधि ठप्प भए । उद्योगहरु बन्द भए, श्रमिकहरु काममा जान पाएनन् । आयात र आपूर्ति बिथोलियो । हुन नहुने सबै एकैपल्ट भयो ।

सबै एकैचोटी भएर त केही हुँदैन थियो । यहीबेला बैंकिङ सेवा दिन नगद प्रवाह भएन । ७,८ महिना बित्दा केन्द्रीय बैंकले राहत प्याकेजमार्फत् पुनर्वित्तीयकरण, पुनर्तालिकीकरण, पुनर्संरचनाको व्यवस्था गरेको हो । अबको दिनमा कोभिड नियन्त्रणमा आएर व्यवसाय यथावत् हुने हो भने नगद प्रवाह यथावत् अवस्थामा आउने आश छ ।

धेरै मान्छेले काम नपाउँदा, धेरैको आयस्रोत गुम्दा केही क्वालिटी कम त हुन्छ नै । यसलाई हामीले समयानुकल रुपमा व्यवस्थापन गर्दै गयौँ भने सबै समस्या समाधान गर्न सकिन्छ ।  यसअर्थमा, कोभिडका कारण कर्जाको गुणस्तरमा भन्दा पनि नगद प्रवाहमा भएको हो । जागिर गुम्यो, व्यवसाय बन्द भयो, सबैथोक रोकियो । तर, ऊ (व्यवसायी) तिर्नै नसक्ने भएको त होइन । लयमा आएपछि ऊ फेरि सक्षम हुन्छ ।

अहिले गर्नुपर्ने चाहिँ ब्याजदर घटाएर कर्जाको माग सिर्जना गर्नुपर्ने थियो । जसले देखिएका यावत् समस्या आफैँ समाधान गर्दै लग्ने थियो ।

अन्तर्राष्ट्रिय स्तरमा कतिपय मुलुकको उदाहरण हेर्दा आर्थिक मन्दि देखिइसकेको छ । अर्थविद् पनि प्रभाव बढ्दै जाने अनुमान लगाइरहेका छन् । नेपालको हकमा के होला ?

असरै पार्दैन भन्ने होइन । विश्व बैंकले गरेको अनुमान नै सबैभन्दा न्यून अवस्थाको आकलन हो । अप्ठ्यारो, अनिश्चितता अझै छ । तर, केही समाचार सकारात्मक छन् । अमेरिका, युरोपमा नियन्त्रण नभएपनि सहज महसुस गरेको उदाहरण देख्न सकिन्छ । ‘न्यु नर्मल’ साबिकको भन्दा निकै फरक हुने पक्का हो । तर, मैले अर्थतन्त्रमा केही सहज स्थिति आउने आँकलन गरेको छु ।

यस्ता प्रभाव नाफामै देखिएका छन् । नाफा नै घट्दै गएको छ । आलोचना हुँदै आएको रिटर्न अन इक्विटी पनि घट्दै गएको छ । २०,२५ प्रतिशतबाट १३ प्रतिशतसम्म खुम्चिएको छ । बैैंकिङ क्षेत्रले सबै प्रभाव सोस्दै गएको छ । केन्द्रिय बैंक र नेपाल सरकारको राहत तथा पुनरुत्थान प्याकेजमा बैंकिङ क्षेत्रले आफूले गर्न सक्ने सबै काम गरिरहेको छ ।

राहत हामीले आफ्नै ब्यालेन्स सिटबाट निकालेर दियौँ । रिफाइनान्सिङ, हामीले कम मार्जिनमा काम गरिरहेका छौँ । स्प्रेड घटाएर काम गरिरहेका छौँ । यो सबै कामको प्रभाव हुन्छ ।

तर, मैले भन्न खोजेको बैंकिङ क्षेत्र प्रोफेसनल रुपमा व्यवस्थित भएको र प्रोभिजनिङ पर्याप्त गरिएको, क्यापिटल बेस राम्रो भएको, तरलता पर्याप्त भएको, केन्द्रिय बैंकको नियमन असल भएको कारण नेपालको बैंकिङ क्षेत्र अहिलेको भन्दा थप असहज परिस्थिति (कोभिडको दोस्रो लहर) नआएको खण्डमा बैंकिङ क्षेत्र र नेपालको अर्थतन्त्र सहज हुने कुरामा आशावादी छु ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC