काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भोलि सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ । कोरोना कहरका बीच कांग्रेसले सरकारका पछिल्ला कामकारवाहीविरुद्धमा देशव्यापी आन्दोलनका कार्यक्रम तय गरेको छ । पार्टीका प्रभावशाली नेताहरूले विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउँदैछन् ।
सरकार अलोकप्रिय हुँदैछ । तर प्रतिपक्षले समेत जनताको माग उठाउन सकेको छैन । आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको ‘ज्यादति’को विरोधमा कांग्रेस सडकमा निस्कन लागेको हो ।
कांग्रेसका तमाम मुद्दा असरल्ल छन् । सबैभन्दा पहिले पार्टीको विधानअनुसार कार्यसमितिको म्याद फागुनमा समाप्त हुँदैछ । फागुनमा महाधिवेशन सम्भव नभए पनि कतिपय नेताहरु अर्को मिति तय गर्न तयार छैनन् ।
नेताहरूले पार्टीले गर्ने कामका बारेमा खासै वास्ता नगरे पनि नेतृत्वका लागि पनि आन्तरिकरुपमा निकै काम गरेको बताएका छन् ।
नेतृत्वको चाहना राख्नेमध्येका एक हुन् महामन्त्री शशांक कोइराला । १३ औं महाधिवेशनमा सभापतिबाहेक फरक प्यानलबाट निर्वाचित महामन्त्री कोइरालालाई अघिल्लो वर्षसम्म लाग्दै आएको आरोप के हो भने उनी देउवाका सहयोगी मात्रै बने । पार्टी यो अवस्थामा पुग्नुमा देउवाको जति हात छ त्यति शशांकको पनि छ भन्नेहरू कांग्रेसमा प्रशस्त छन् ।
तर कांग्रेसका संस्थापक बीपी कोइरालाका छोरा भएका कारणले पनि उनले एकपल्ट कांग्रेसको नेतृत्व गर्नुपर्ने कतिपय कांग्रेस नेता कार्यकर्ताको चाहना छ भने स्वयम् शशांकले सभापति देउवालाई हराउनसक्ने आफूमात्र भएको सार्वजनिक टिप्पणी गर्दै आएका छन् । कोइराला परिवारबाट डा. शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाले नेतृत्वमा आकांक्षा राखे पनि एकजनाले मात्रै उमेदवारी दिने तीनै नेताले बताएका छन् ।
तर पछिल्लो समीकरणको प्रयास हेर्दा तीन नेता एकै ठाउँ बस्न सक्ने अवस्था भने नभएको उनीहरु निकट नेताहरु बताउँछन् ।
“बीपीले सिद्धान्त र विचारबाट नेपाली समाजलाई नेतृत्व गर्नुभयो, गिरिजाप्रसादले संगठन निर्माण गरेर कांग्रेसलाई सशक्तरुपमा चलाएर सफलतापूर्वक बिदा लिनुभयो,’’ शशांक कोइरालाले शनिबार आफ्नै निवासमा बाह्रखरीसँग कुरा गर्दै भने, “त्यसपछि कांग्रेस नेतृत्वविहीन जस्तै बनेको छ ।’’
उनले सुशील कोइरालाले सुरुवाती चरण कांग्रेसलाई राम्रै नेतृत्व गरे पनि पछिल्लो समय पार्टी नेताहरुबाटै असफल पारिएको बताएका छन् । त्यसपछि कांग्रेसमा सांगठानिक अराजकता सुरु भएको उनको बुझाइ छ ।
‘‘अब त कांग्रेस यसरी गुटको चङ्गुलमा फसेको छ कि त्यसबाट बाहिर निकाल्न सहज अवस्था छैन, त्यसका लागि पात्र छनोटदेखि नेतृत्वको व्यवहारसम्म परिवर्तन गरेर आम कार्यकर्तालाई म गुटको हैन कांग्रेसको नेता कार्यकर्ता हुँ भन्ने अभास दिन जरुरी छ,’’ उनले भने, ‘‘त्यो भावना निर्माणको भूमिका अहिले देशभरका सचेत नेता कार्यकर्ताहरुबाट खोजी भइरहेको छ ।’’
उनले ‘महाधिवेशनको चुनावी प्रयोजन’ वा कुनै महत्वपूर्ण विषयको ‘वैचारिक बहसमा‘ बाहेक गुट बन्न नहुने भन्दै चुनावपछि पनि गुट जीवित राखेर शासन गर्ने मानसिकताले कांग्रेसलाई थिलथिलो बनाएको निष्कर्ष निकालेका छन् । त्यसैले यी सबै तँगारा भत्काउँदै कांग्रेसलाई नेतृत्व दिने पक्षमा दृढ संकल्पित देखिन्छन् ।
‘‘पहिले त यहाँका प्रतिष्पर्धीहरुलाई मिलाउनु पर्यो, शेरबहादुरजीदेखि रामचन्द्र दाइ, शेखर‘दादेखि प्रकाशमानजी, विमलेन्द्र निध्दिेखि अन्य थुप्रैजना नेतृत्वको लागि प्रतिष्पर्धाको तयारीमा हुनुहुन्छ,‘‘ शशांकले भने, ‘‘पहिले उहाँहरुलाई मिलाउनुछ, त्यसपछि आम नेता कार्यकर्ता साथीहरुको विश्वास लिनुपर्छ ।’’
उनले गुटको चङ्गुलमा परिसकेको पार्टीलाई त्यसबाट बाहिर ल्याएर पार्टीकै रुपमा स्थापित गर्नु कम चुनौतीपूर्ण नभएको बताएका छन् ।
कोइरालाले पार्टीलाई एक बनाउनका लागि तुलनात्मक रुपमा सबैका लागि स्वीकार्य नेतृत्व आवश्यक हुने बताएका छन् ।
‘‘१३ औँ महाधिवेशनमा म रामचन्द्र दाइको समूहबाट उमेदवार थिएँ, शेरबहादुरजीको अर्कै प्यालन थियो, उहाँहरु आफ्नो पूरै प्यानल विजयी गराउन चाहनुहुन्थ्यो,’’ शशांकले भने, ‘‘तर, शेरबहादुरजीलाई भोट हाल्ने धेरैले मलाई भोट हाले र उहाँको प्यालन जित्न सकेन । यसको मतलव शेरबहादुरजीसँग हिँड्ने ठूलो समूहले मलाई माया गर्छ, नेतृत्वमा देख्न चाहन्छन् ।’’
उनले निर्वाचित भएपछि आफूले निर्वाचित नेतृत्वको वैधानिकता र सफलताका लागि काम गरेको भन्दै यसो गर्दा थुप्रै आलोचना पनि खेप्नुपरेको बताएका छन् । तर, त्यस्ता आलोचनाले आफूलाई कुनै असर नगर्ने भन्दै पुरै पार्टीका सदस्यले ‘हाम्रो नेतृत्व’ भन्ने अवस्थाका लागि आफू त्यसभन्दा धेरै आलोचना खेप्न तयार रहेको शशांक बताउँछन् ।
‘‘तर अवस्था त्यति नकारात्मक छैन, शेरबहादुरजीले मैले छोडदा बीपीकै छोरालाई छोड्ने हो तिमी तयार हौ भनेर केही वर्षअघि नै भनिसक्नभएको छ, रामचन्द्र दाइलाई मैले अल्लिोपटक अघि बढाएँ, अब उहाँले मलाइ अघि बढाउनु नै हुने छ,’’ शशांकले भने, ‘‘शेखर‘दा, प्रकाशमानजी, विमलेन्द्रजी पनि म सँगसँगै हिँड्न असहमत हुनुहुन्छ भन्ने लाग्दैन ।’’
उनले पार्टी सञ्चालनको विधि बदल्ने, सदियौँदेखि अन्यायमा परेको वर्गपहिचान गर्ने र सबैलाई सम्मानपूर्ण अवस्थाको विकास गर्ने नयाँ नेतृत्वको कार्यभार आत्मसाथ गरेको बताएका छन् ।
जहाँसम्म विचार निर्माणको कुुरा छ त्यसमा बीपीभन्दा अगाडि जनुपर्ने आवश्यकता नदेखिएको बताएका छन् । ‘‘बीपीले आमनागरिकको जुनस्तर निर्माण गर्ने भन्नुभएको थियो, त्यहाँ अहिलेसम्म पुग्नै सकिएको छैन,’’ उनेले भने, ‘‘बीपीले आफ्नो नियमित काम गरेर एकघण्टा पार्टीका लागि काम गर्नुस् भन्नुहुन्थ्यो, अहिले होलटाइम दिने अभ्यास बढिरहेको छ ।’’
उनले राजनीति पेशा हुन नसक्ने भन्दै आफ्नो पेशा गरेर राजनीतिमा काम गरेमात्र भ्रष्टाचार नियन्त्रण सम्भव हुने बताए ।
‘‘लिडरसिप भनेको आफैँमा सुपर व्यक्तित्व मात्र हैन, विचारहरुको संयोजन र त्यसलाई दिशानिर्देश गर्ने र सबैलाई मिलाएर अघि बढ्ने समन्वयकारी भूमिका पनि हो,’’ शशांकले भने, ‘‘त्यसैले बीपी वा जीपी जस्तो बन्न नसकेपछि अहिलेको संकटबाट बाहिर निकाल्ने नेतृत्व कांग्रेसको अपरिहार्यता हो ।’’
शशांकलाई बीपीको राजनीतिक नभएर ‘बायोलोजिक जिन’ भन्ने समेत आरोप लाग्ने गरेको छ । त्यसो हुनुमा उनको अन्तर्मुखी स्वभाव, भाषणप्रतिको अनाकर्षण पनि कारण हो । तर, त्यस्तो आरोप लगाउनेलाई शशांकको आग्रह छ,‘‘राजनीतिक जिन हो कि होइन भनेर अब परीक्षा लिनुस्, एकपटक नेतृत्वमा गएर काम गर्ने मौका दिनुस् ।’’
राजनीतिमा भाषण सबै कुरा होइन भन्ने उदाहरण कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला हुन् ।
मुस्किलले ५ देखि १० मिनेट भाषण गर्ने उनी संगठनमा कहिल्यै पछि परेनन् । शशांकका भाषण पनि पाँच मिनेट भित्रै सीमित हुन्छन् । भाषणको विषयमा कुराकानी सुरू गरेपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिए । “केपी ओलीले दुईवर्षअघि नै रेल, पानी जहाज चलाउँदै देशलाई समृद्धिको शिखरमा चुमाउने कुरा गर्नुभएको थियो, अहिले खोइ कहाँ के भयो ?,” उनको जिज्ञासा थियो ।
‘‘बिनाकुनै भिजन बोल्दै हिँड्ने, आफूले के भनेका थिए भनेरसमेत भुल्दै हिँड्न भिजनलेसबाट देश बन्दैन, न त पार्टी नै बन्छ,’’ शशांक भन्छन्, ‘‘देशको स्रोत के हो भनेर पहिचान गर्न नसक्ने र परिचालनका लागि योजनाको काममा विज्ञहरु राख्न नसक्नेले भाषण गर्नुको औचित्य हुँदैन ।’’
देशको विकासका लागि पहिलो पर्यटन, दोस्रो उर्जा र तेस्रो कृषि भएको उनको भनाइ छ । ‘‘पर्यटन कोरोनाका कारण थला परेको अवस्था छ, त्यसलाई विस्तारै उठाउनुपर्छ, ऊर्जाको क्षेत्रमा काम भइरहेका छन्, त्यसलाई व्यवस्थित गर्नुछ,’’ शशांक भन्छन्, ‘‘सबैभन्दा धेरै काम कृषिमा गर्नुछ । जमिन चक्लाबन्दीमार्फत कहाँ के खेती गर्ने भन्ने नीति बनाउनुछ अनि हलोजोत्ने कृषिलाई प्रविधिसँग जोड्दै आम युवालाई कृषि राम्रो पेशा हो भनेर विश्वास गराउनु छ ।’’
उनले देशबाट युवालाई विदेश पठाउने अवस्थाको अन्त्य गरी प्राविधिक जनशक्ति मात्र विदेश पठाउने अनि यहाँको पानी प्रशोधन र प्याकेजिङमार्फत विश्वभर निर्यात गर्न सके देश ‘बुलिस ट्रेन्ड’मा अघि बढ्ने बताउँछन् ।
‘‘त्यसो गर्न सके देशबाट प्राविधिक जनशक्ति पनि विदेश पठाउनुपर्ने बाध्यता अन्त्य हुन्छ,’’ शशांक भन्छन्, ‘‘तर, यी सबै कुरा भाषण गरेर हुँदैन काम गर्नुपर्यो । काम गर्नका लागि जिम्मेवार ठाउँमा पुगको व्यक्ति जिम्मेवार पनि बन्नुपर्यो ।’’
कोइरालालाई अहिलेसम्म कृषि क्षेत्रमा मानिसहरु आकर्षित हुन नसक्नुको कारण विचौलियाको भूमिका प्रधान हुनु हो भन्ने लाग्छ ।
‘‘किसानले उत्पादन गर्ने तर सधैँ घाटा सहनुपर्ने, उपभोक्ता सधैँ मूल्यको मार खेप्न बाध्य हुने,’’ शशांकले भने, ’’तर, विचौलियाहरु ३० देखि ४० प्रतिशतसम्म नाफामा छन् । यस्तो अवस्थाको अन्त्य नगर्दासम्म युवाहरु कृषिलाई पेशा मान्न तयार हुँदैनन् । म यसको अन्त्यको पक्षमा छुँ ।‘‘
उनले सभापतिका लागि तयारी भइरहेको भए पनि अहिले घोषणा गरिहाल्ने अवस्था नरहेको बताए । पार्टीको विधान र लोकतन्त्र अहिले धरापमा पर्न खोजेको भन्दै पहिले त्यसलाई बचाउनुपर्ने बताए ।
‘‘हामीले नै विधान पालना गरेनौँ भने, हामीले नै आवधिक चुनावलाई सुनिश्चित गर्न सकेनौं भने लोकतन्त्रको रक्षा कसले गरिदिन्छ,’’ शशांक भन्छन्, ‘‘शेरबहादुरजी यहीँनेर चुक्न लाग्नुभ’को छ । मैले सम्झइरहेको छु, आशा गरौं उहाँ बिदाइ हुँदै गर्दा सम्मानजनकरुपमा हुनुहुनेछ ।”