site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सोमरस’ बारे वेदले के भन्छ ?

वेद ज्ञान र विज्ञानको भण्डार हो । सनातन धर्मको प्राचीन ग्रन्थ वेदबाट आध्यात्मिकमात्र नभई दार्शनिक, सामाजिक तथा ऐतिहासिक ज्ञानसमेत प्राप्त गर्न सकिन्छ । वेदमा यति धेरै विषय समाविष्ट छन् जसको सायद सूक्ष्म शोध भएको नै छैन । वेदमा भएका प्रसङ्गहरु गहन एवम् मर्मस्पर्शी छन् र तिनका विस्तृत अध्ययन अनुसन्धान गर्न आवश्यक देखिन्छ । तर, आज चर्चा गर्न लागिएको विषय भने हेर्दा सामान्य भए पनि रोचक हुनेदेखि प्रस्तुत गर्ने जमर्को गरेको छु । यो आलेखको विषयवस्तु सोमरस सम्बन्धमा वेदमा के उल्लेख गरिएको छ भन्ने बारे चर्चा गर्नु रहेको छ ।

यो विषयमा कलम चलाउनु पछाडिको कारण पनि चाखलाग्दो नै छ । हालसालै सामाजिक सञ्जालमा नजर दौडाउँदै गर्दा एउटा ‘ट्विटर ह्यान्डल’बाट भर्खरै बजारमा आएको नयाँ नेपाली ह्विस्कीको बारेमा वर्णन गरिएको ‘ट्विट’ देखेँ । तल ‘कमेन्टबक्स’मा ‘हिन्दु राज्यमा ह्विस्की व्यवसाय फस्टाएको’ भन्ने व्यंग्यात्मक आशयको एउटा ‘कमेन्ट’मा पनि आँखा पुग्यो । अहिले मदिराको खपत बढ्दै गएको अवस्था त हुँँदै हो बोलीचालीको भाषामा मदिरालाई ‘सोमरस’ भन्ने चलन पनि बढ्दो छ । वेदमा सोमरसका बारेमा प्रशस्त वर्णन भएको र उक्त ट्विट तथा कमेन्टले मलाई वेदमा सोमरस बारेमा के उल्लेख छ त भनी खोतल्न हुटहुटी लगाएकोले यो लेख प्रस्तुत छ ।

चार वेदमध्ये सबैभन्दा पुरानो ऋग्वेदका ऋचाहरुमा प्रकृति (हावा, पानी, आगो, सूर्य, चन्द्रमा इत्यादि) तथा प्राकृत शक्तिलाई देवताका रुपमा स्तुति गरिएको छ । त्यहाँ मानवले प्रकृतिसँग अन्तरक्रिया गर्ने क्रममा अनुभव गरेका अनेकौं रहस्यको बेलीबिस्तार पाइन्छ । ऋग्वेदको अघिल्ला मण्डल (खण्ड)मा मुख्यतया अग्नि, इन्द्र, वायु, सूर्य, यम, वरुण आदिका साथै सोमका बारे थुप्रै वर्णन पाइन्छन् । खासमा, अग्नि र इन्द्र पछि धेरैजसो मन्त्रहरु सोमका नाममा समर्पित गरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आखिर सोम के हो त? नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशमा ‘सोम’ शब्दको अर्थ ‘जून, चन्द्रमा, आइतबारका भोलिपल्टको वार, सोमवार, देवताहरुले पान गर्ने अमृत, सोमरस, सोमलता’ भन्ने छ । त्यस्तै, सोमको अर्थ मित्र, प्रसिद्धि, परमानन्द र सम्पन्नता पनि हो । वेदमा ‘सोम’ शब्दले मुख्यतः रस, लता र देवतालाई जनाएको पाइन्छ । सोमको सम्बन्ध चन्द्रमासँग पनि छ । वैदिक पूर्वजहरुले जल र अग्निलाई झैँ चन्द्रमालाई पनि प्रमुख शक्तिको रुपमा पुज्थे । सायद रातको निस्पट्ट अन्धकारमा उज्यालो दिई सुरक्षा र रोमाञ्चकता प्रदान गर्ने चन्द्रमाको महिमा बुझेर होला आज पनि बिजुलीको प्रकाश नभएको अँधेरी रातमा जहां सिकार र सिकारी लुकामारी गरिरहन्छन् । चन्द्रमाको उज्यालोले जीवन र मृत्युको निर्धारण गरेको भेटिन्छ । जसरी शुक्लपक्षमा चन्द्रमाले प्रकाश दिएर मानवलाई रातको अन्धकारमा देख्ने शक्ति तथा शीतलता प्रदान गर्छ त्यसरी नै सोमरसले पनि आनन्द र शक्ति प्रदान गर्छ भन्ने मान्यता रहेको बुझिन्छ । चन्द्रमा र सोमको सम्बन्ध पाश्चात्य जगतमा पनि देखिन्छ । सोमवार (अंग्रेजीमा ‘मनडे’) पनि चन्द्रमासँग सम्बन्धित छ । अंग्रेजीमा रैथाने (लोकल) रक्सीलाई ‘मुनसाइन’ भनिन्छ । अनि, वेदका सुरुका मन्त्रहरुमा सोमलाई आनन्ददायी पेयको रुपमा वर्णन गरिएको छ जुन यज्ञमा इन्द्र र अग्निलाई अर्पण गरिन्छ ।

सोम बनाउने प्रक्रियाको बारेमा ऋग्वेदमा थुप्रै वर्णन पाइन्छन् । सोमलाई काठको फलेकमा ढुङ्गाले कुटेर, दस औँलाले निचोरेर, भेडाको ऊनबाट बनेको कपडाले छानेपछि, गतिशील हुँदै ध्वनिसहित कलश (द्रोणकलश, सुवर्णकलश अथवा चमू नामका पात्र)मा जान्छन् भनी वर्णन गरिएको छ । तर, पात्रमा पुग्नुअघिको बग्ने प्रक्रियाको गति र ध्वनिलाई निकै महत्त्व दिई सादृश्यकासाथ वर्णन गरिएको पाइन्छ जस्तै ‘तेर्सो भएर बग्ने, नदी झैँ बग्ने, वर्षा झैँ झर्ने, आवाज गर्दै बग्ने, स्वतन्त्र छाडिएका घोडा झैँ बग्ने, हावा झैँ बग्ने, अग्निको गतिशील ज्वाला झैँ सजिलै फैलने’ आदि । पूरै ऋग्वेदलाई छिचोल्दा, तात्कालीन समयसान्दर्भिक अन्य थुप्रै उपमा दिई वर्णन गरिएको पाइन्छ । जस्तै ‘बनमा राँगा झैँ, समुद्रको छालको ध्वनि झैँ, चट्याङ्ग झैँ, युद्धमा गए झैँ, लैना गाई गोठमा बाच्छातिर गए झैँ, शुद्ध घ्यु झैँ, वनमा मृग कुदे झैँ, गाईतिर कराएर साँढे गए झैँ, घोडीको समूहमा घोडा कराए झैँ, तरुनी सङ्ग पुरुष गए झैँ, साथीकी पत्नीतिर कामुक पुरुष गए झैँ, सामगान गर्दै, वाणी उत्पन्न गर्दै’ बग्ने पनि उल्लेख गरिएको छ । धेरै ऋचाहरुमा ‘हे सोम तिमी इन्द्रका लागि चारैतिर बग’ भनिएको छ । सोम त्यसरी बग्दै पात्र (कलश)मा पुगी जम्मा हुन्छ जसरी बाज आफ्नो स्थानमा आएर बस्छ र अन्तमा इन्द्रको पेटमा पुग्छ भनिएको छ । ऋग्वेद (९.१३.१) मा सोमलाई निचारिएको, छानिएको, पानी र दूधमा मिसाइएको र खन्याएर भाँडामा राखिएको उल्लेख छ । सोमलाई कुकुरबाट जोगाउने (९.१०१.१) प्रसङ्ग पनि छ । 

Global Ime bank

सोमको गुणकारी महिमा असल मित्र र सूर्यको जस्तै छ भन्ने मानिएको छ । मीठो सोमरसबाट दुःख मेटाउने तथा शक्ति प्राप्त हुनाको साथै शत्रुरहित आनन्दको जीवन प्राप्त हुन्छ भन्ने वर्णन छ । अनि, युद्धको लागि घोडाको महत्त्व जति छ यज्ञको लागि सोमको महत्त्व पनि त्यत्तिकै छ भनिएको छ । सोमले ज्ञान, तेज, दीर्घायु, बल तथा सक्रिय जीवन दिन्छ भन्ने उल्लेख गर्दै सोमद्वारा मान्यजनको आमन्त्रण र सत्कार गरिन्छ पनि भनिएको छ । त्यस्तै गरी, हवि (चरु) हरुमध्ये सोम मुख्य रहेको र सोमको धारा कलशमा खसेको उल्लेख छ । 

सामवेदको ६९५ औं मन्त्रमा भनिएको छ “सोमो जत्रस्य चेतति” अर्थात् सोमले विजय प्राप्तिको उत्साह दिन्छ । ऋग्वेदको मण्डल ९ को सूक्त ६ मा सोमबाट बल प्राप्त गर्ने र युद्ध जितिने कुरा पनि उल्लेख छ । यसबाट सैनिकहरुले युद्धमा जानुअघि मादक पदार्थ सेवन गर्थे भन्ने अनुमान लगाउन सकिन्छ । मानव इतिहासलाई पल्टाएर हेर्ने हो भने परापूर्व कालदेखि नै सैनिकहरुलाई सुरो बनाउन लडाइ“मा जानुअघि मदिरापान गराइएका विवरण यत्रतत्र पाइन्छन् । धेरै टाढा जानु पर्दैन, डेढ दशकअघि नेपालमा भएको माओवादी सशस्त्र द्वन्द्वमा समेत लडाकुहरुले लड्न जानुअघि मादक पदार्थ प्रयोग गरेका उदाहरणहरु पाइन्छन् ।

सोमको रङ्ग बारेमा हरियो र कैलो वर्णका भनी धेरै मन्त्रहरुमा वयान गरिएको छ भने कतैकतै सुनौलो (९.४५.३) र सेतो वर्ण (९.१०७.२४) भनी उल्लेख गरिएको छ । सोमले छान्ने कपडा र दूधलाई पनि आफ्नै रङ्गमा परिणत गर्छ पनि भनिएको छ । एक मन्त्रमा यो अत्यन्त सुगन्ध भएको (९.१०७.२) भनी लेखिएको छ । यसको स्वादको बारेमा मीठो सोम भनी जताततै प्रशंसा गरिएको पाइन्छ । सर्सर्ती हेर्दा, वेदका सुरु कालमा सोम तयार गर्दा थोरै समयमात्र ‘फर्मेन्ट’ हुने हुनाले रङ्ग हरियो र ‘अल्कोहल कन्टेन्ट’ कम हुने देखिन्छ । ऋग्वेदमा सोमरसलाई जौमा मिलाइएको (९.६८.४) तथा १५ दिन पुरानो कडा सोम (१०.२७.२) तयार गरिएको र सोमको रङ्ग सुनौलो रहेको उल्लेख भएको हुँदा सोम वाइनजस्तै ‘फर्मेन्ट’ भई तयार गरिएको पेय हो भन्न सकिन्छ । सोम तयार गर्दा रसलाई दूध र दहीमा मिसाइने वर्णन वेदमा उल्लेख भएको र दूध ‘फर्मेन्टेसन’ प्रक्रियाबाट दही बन्ने हुनाले सोमरस पनि फर्मेन्टेसनबाट प्राप्त हुने पेय हो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन ।

वाइन ‘फर्मेन्टेसन’को प्राचीन पुरातात्विक प्रमाण चीन (७००० इपू), जर्जिया (६००० इपू), इरान (५००० इपू), ग्रीस (४५०० इपू) लगायतका स्थानहरुमा पाइएको छ भने इसापूर्व ४१०० मा अर्मेनिया (ककेसीयन मुलुक जसलाई आर्यहरुको उद्गमस्थल पनि मानिन्छ)मा वाइन नियमितरुपमा बनाइएको प्रमाण भेटिएको छ । प्राचीन इरानका जोरोस्ट्रियन (पारसी)को पवित्र ग्रन्थ ‘अभेस्टा’ मा ‘होम’ भन्ने पेय उल्लेख छ जुन वैदिक कालको ‘सोम’ जस्तै थियो भन्ने विश्वास गरिन्छ । तर, करिब आठ हजार वर्षदेखि वाइन बनेको पाइएता पनि लुई पास्चरले सन् १८५८ मा ‘यिस्ट’को अस्तित्व र महत्त्व प्रमाणित नगरेसम्म अङ्गुरका रस वाइनमा रुपान्तरण हुने प्रक्रिया रहस्यमय नै थियो ।

सोमलता ‘भाइन’ र सोमरस ‘वाइन’ नै हुन्थ्यो भने पनि मर्चा (यिस्ट) नहालिएको (अङ्गुरको दानामा केही मात्रामा प्राकृतिक ‘यिस्ट’ रहेको हुन्छ) वाइनमा ‘अल्कोहल कन्टेन्ट’ एकदम कम भएको ‘मादकता दिने’ ‘आनन्ददायी’ पेय पदार्थ तयार हुन्थ्यो भनी अनुमान गर्न सकिन्छ । तर, ऋग्वेदमा अङ्गुर (फल)को उल्लेख कहीँ कतै देखिँदैन । बरु, पहाडमा रहने, पानीमा बढ्ने (९.८५.१०) सुन्दर पात भएका (९.८५.११) सोमको लहरा खोजेर ल्याउँदै रस निकालेको वर्णन (९.८९.४) छ । नेपाली बृहत् शब्दकोशमा ‘सोमलता’लाई ‘चन्द्रमाका कला वृद्धि र ह्रास भए झैँ शुक्ल पक्षमा पात पलाउँँदै र कृष्णपक्षमा झर्दै गएर औंसीका दिन डाँठमात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो’ भनी व्याख्या गरिएको छ । केएन् स्वामीद्वारा निर्माण गरिएको संस्कृत–शब्दकोशः (एप)मा सोमलताको अर्थ ‘गुर्जो, घोडताप्रे, बाह्मी, प्राचीनकालमा सोमयज्ञ गरी रस पिइने लहरा’ भनिएको छ ।  

सोमरस केबाट बन्छ भन्ने सम्बन्धमा अनेकौं अनुमान तथा दाबी पाइन्छन् । कोही कमल अथवा कुमुदको बोटबाट त कोही भाङगाँँजाबाट सोम बन्छ भन्छन् । कसैले पुदिनालाई पनि सोमलता अनुमान गरेकाछन् । अमेरिकी लेखक आर गोर्डन वासनले आफ्नो शोधपत्रमा सोम एक प्रकारको च्याउ (अमानिता मस्कारिया) हो भनेका छन् । अन्य विद्वान्हरुबाट प्रशंसा गरिएको उनको खोजमा वेदमा वर्णन गरिएको सोमको ‘सुन्दर पात’ तथा ‘लहरा’को चित्तबुझ्दो जवाफ भने भेटिँदैन । अझ केहीले त सोम शब्दले कुनै एक निश्चित् वनस्पतिमात्र नभई धेरै प्रकारका वनस्पतिहरुलाई जनाउँथ्यो भन्ने दाबासमेत गरेका छन् । 

वेदका पछिल्ला मन्त्रहरुमा सोमलाई देवताको रुपमा बढी प्रशंसा गरिएको छ । कुनैकुनै मन्त्रमा त ‘सोम सर्व देवता’ समेत भनिएको छ । सोमबाट शक्ति, सम्पत्ति, अन्न, ज्ञान, मानसिक शान्ति तथा आनन्द आदि प्राप्त हुने उल्लेख छ । तर, वेद उत्पत्तिका एक हजार वर्ष (इपू १५०० देखि इपू ५०० सम्म) को समयमा सोमका बारे यति धेरै फरकफरक वर्णन गरिएको छ कि सोम आखिर के हो भन्ने द्विविधा समेत उत्पन्न हुन्छ । ‘सज्जनहरु बोलीले नै सोम तयार गर्छन्’ अथवा ‘सोम परिश्रमीले प्राप्त गर्छन्’ भन्ने दार्शनिक लक्षणा र व्यञ्जना पनि वेदमा पाइन्छ । 

ऋग्वेदको अध्ययनबाट सोमलाई वैदिक कालको पछिल्ला समय ‘पवमान सोम’ भनेर दैवीरुपमा पूजा गरेको तथा चन्द्रमासँग जोडिएको पाइन्छ । सूक्त ८६ पछि (९.८६.२८ देखि ३३ सम्म) सोमदेवलाई द्युलोक (स्वर्ग) का मालिक, हजारौं रुप भएका, देवता तथा मानिसका राजा, धनहरुका अधिपति भनी प्रशंसा गरिएको छ । यसरी, सोम एउटा आनन्ददायी, शक्तिवर्धक पेयको रुपमा चर्चा हुँदै पछिल्लो मण्डलमा आइपुग्दा शक्तिशाली देवताका रुपमा देखापरेका छन् । यद्यपि, थुप्रै मन्त्रहरुमा इन्द्र र अग्निले मनग्गे सोमपान गरेको वर्णन भेटिन्छ । कतैकतै ऋग्वेदमा सोमपान गरेमा अमरत्व प्राप्त हुन्छ (८.४८.३) भन्ने समेत उल्लेख भएको पाइन्छ ।

सोमको शक्तिलाई ऋग्वेदका थुप्रै मन्त्रहरुमा ‘शत्रुनाशक, राक्षसनाशक, रोगनाशक, तेजस्वी, बलशाली, दुष्टनाशक, दानी, रक्षा गर्ने, पोषण गर्ने, पापीलाई मार्ने, शत्रु लखेट्ने, वज्रसमान, उत्तम मार्ग बनाउने, खेत दिने, आयु बढाउने, प्राणवायु दिने, लुगा दिने, ऋण हटाउने’ भनी उल्लेख गरिएको छ । अपितु, सोमलाई ऋग्वेदका सुरुका मण्डलहरुमा ‘वर्षा, गाई, सुन, घिउ, दूध, मह,’ आदि चलअचल सम्पत्ति प्रदान गर्ने तथा पछिल्ला मण्डलहरुमा ‘घोडा, रथ, हतियार, सुख, सन्तानलगायत अभीष्टवर्षक (इच्छा गरिएको वस्तु दिने)’ का रुपमा चित्रण गरेको पाइन्छ । यी स्तुतिहरुले समयक्रमसँगै मानिसको आवश्यकता र आकांक्षामा आएको परिवर्तन पनि सङ्केत गर्छन् ।

धेरैजसो अग्नि र इन्द्रलाई (तर वरुण, वायु, बृहस्पति आदि देवतालाई समेत) सोम अर्पण गरी खुसी तुल्याएर धन, शक्ति, सौर्य, सन्तान आदि प्राप्ति गर्ने वर्णन वेदमा छ । विशेषगरी, वर्षाबाट अन्नबाली र गाई प्राप्तिमा जोड दिएको पाइन्छ । ऋग्वेदका प्रारम्भिक मन्त्रहरुमा सोमलाई उत्तम तरिकाले देवताका लागि वेग र अन्नका लागि उपयुक्त वर्षा गराऊ (९.६५.३) भनिएको छ । सोम कुट्ने (तयार गर्ने) र स्तोतालाई फल प्राप्तिको अपेक्षा गरिएको छ । तर, पछिल्ला मन्त्रहरुमा सोमलाई पेय पदार्थभन्दा पनि देवको रुपमा प्रार्थना गर्दै ‘तेजस्वी, श्रेष्ठ रथी, आनन्ददायी, पराक्रमी, बलशाली, ज्ञानी, दर्शनीय स्त्रीहरु झैँ सुन्दर, कर्मशील, अपराजित, दुख हटाउने, महान्, रसवान, कर्मठ, विद्वान्, ऐश्वर्यशाली, सिंह झैँ भयानक, मनभन्दा वेगवान्’ भनी स्तुति गरिएको छ । सोमले ‘ज्ञानज्योति, सौन्दर्य, वेग, बल दिनुका साथै वाणीलाई प्रेरित गर्छ’ भनिएको छ । 

ऋग्वेदको नवौं मण्डल (जसलाई सोममण्डल पनि भनिन्छ र जसमा ११४ सूक्त तथा ११०७ मन्त्रहरु छन्) पूर्णरुपमा सोमको लागि समर्पित भए पनि सोम के हो भन्ने हालसम्म रहस्यमय नै छ । केहीको भनाइमा सोम भगवानले स्वर्गमा पिउने एक प्रकारको रस हो । कतिले ‘सोम’लाई विशेष प्रकारको आनन्ददायी पेय तथा ‘सुरा’लाई वाइन र रक्सीसँग तुलना गरेका पनि छन् । कोही वेदका मन्त्रहरुमा उल्लिखित सोम कुनै मादक पदार्थ नभएर बौद्धिक तथा आध्यात्मिक ज्ञानामृत सम्बन्धमा गरिएको चर्चा हो भन्ने विश्वास गर्छन् भने कतिपयले योग र तन्त्रको उल्लेख गर्दै सोमको छुट्टै व्याख्या गरेको पनि देखिन्छ ।

डा. स्वामी प्रपन्नाचार्य आफ्नो पुस्तक ‘वेदमा के छ?’मा सुराको सम्बन्धमा लेख्छन् “आर्यहरुको समयमा... सुरापानको चलन पनि थियो । तर, अत्यन्त निन्द्य मानिन्थ्यो । अनि सुरापान गर्ने मान्छेको त्यतिखेर पनि सारै दुर्दशा हुन्थ्यो ।” उहाँ सोमरसको बारेमा भन्नुहुन्छ “उतिखेर विशेष महत्त्वको पेयपदार्थ थियो – सोमरस, तर सोमरसलाई कतिपय विद्वान्हरुले सुरा नै अर्थ गरेका छन् । त्यो कलमीसँग मेल खाँदैन । सुरा र सोमरस भिन्न पदार्थ हो । सोमरस पौष्टिक पेयपदार्थ थियो ।” स्वामी प्रपन्नाचार्यले मात्र होइन स्वामी सत्यप्रकाश सरस्वती र सत्यकम विद्यालंकारले समेत सामवेदको व्याख्या गर्दै सुरा र सोम एउटै होइनन् भनेका छन् ।

प्रपन्नाचार्यकै पुस्तकमा “ऋग्वेद ९।११३।१ सूक्तमा शर्यणवत ठूलो पोखरीको छेउछाउमा ‘सोम’ लता हुन्थे भनेर लेखिएको छ । यो शर्यणवत कहाँ छ पत्ता लगाउनु पर्ने विषय छ । पक्कै पनि सोमरस प्राचीन आर्यहरुको अत्यन्त प्रिय पेयवस्तु थियो । तर, अहिलेको जाँडरक्सीको नाउँ सोमरस होइन । ‘सोमरसमा’ मादकता हुँदैनथ्यो । यो प्रमाण अन्यत्र पाइन्छ” भन्ने उल्लेख छ । तर ऋग्वेद (८.२.१२) मा इन्द्रलाई स्तोताले स्तुति गर्दै ‘मदिरा पिएका बेलामा मात्तिएका मानिसहरु झैँ तिमीद्वारा पिइएका यी सोमहरु तिम्रा हृदयहरुमा लड्छन्’ भनी सोममा मादकता हुने उल्लेख गरिएको छ । त्यस्तै, ऋग्वेदमै ‘सोमको तेज विस्तृत छ र सोम पिउनेका अङ्गहरुमा सबैतिर पुग्छ’ (९.८३.१) भनिएको छ । अनि, ‘देवताहरुले सोमको शक्तिद्वारा नै जगत सृष्टि गर्छन् । हाम्रा पुर्खा अङ्गिराहरुले पनि त्यसै शक्तिद्वारा गर्भ राखेका थिए (९.८३.३)’ भनिएको छ ।

डा. प्रशन्न चन्द्र गौतमसहितका टोलीबाट नेपालीमा अनूदित ‘ऋग्वेद संहिता’मा “सोम रक्सी होइन तर यसमा मादकता प्रदान गर्न सक्ने क्षमता छ” भन्ने टिप्पणी गर्दै “सायणको ऐतरेय ब्राह्मणको भाष्यमा सोम तयार गर्ने विधि र अवधिको वर्णन छ” भन्ने उल्लेख छ ।

स्वामी विवेकानन्दले २० अक्टोबर १८९६ मा लन्डनमा दिएको प्रवचनमा भगवानहरु मदिरा सेवन गरी मात्तिएका तथा आपसमा लडाइ गरेका प्रसङ्ग खुलेरै अभिव्यक्त गरेको पाइन्छ । त्यस्तै गरी, वैदिक विद्वान्हरु राधाकृष्णन् र केएम मुन्सी (भारतीय विद्या भवनका संस्थापक) ले वैदिक ऋषिहरुले मदिरा पिउने गरेको बताएकाछन् ।
भारतीय राजनीतिज्ञ तथा प्रसिद्ध लेखक शशि थरुर आफ्नो पुस्तक ‘म किन हिन्दु हुँ’ (ह्वाई आई एम अ हिन्दु)मा लेख्छन् “वैदिक देवताहरु मदिरापान नगर्ने (टिटोट्लर) थिएनन् र यज्ञ गर्दा मद्यपान गर्नु अत्यावश्यक विशेषता थियो ः उदाहरणको लागि, एउटा अनुष्ठान (वाजपेयी यज्ञ गर्नुभन्दा अघि), इतिहासकार डिएन झाले सामूहिक पिउने धार्मिक विधिको वर्णन गरे जसमा यज्ञकर्ताले इन्द्रलाई पाँच प्यालाका साथै १७ प्याला सोम र १७ प्याला सुरा ३४ देवताहरुलाई अर्पण गरे ।”

तसर्थ, सोममा मादकता हुँदैनथ्यो भनी दाबी गर्ने आधार भेटिँदैन । ऋग्वेदपछिका वेदहरुमा विभिन्न अन्न तथा वनस्पति प्रयोग गरी सोम र सुरा बनाउने विधिको वर्णन छ । अथर्ववेदमा ‘सुरा’ तयार गर्ने विस्तृत विधि उल्लेख छ । अथर्व वेदकै केही स्थानमा सोमलाई औषधिको रुपमा पनि उल्लेख गरिएको छ । यसबाट के बुझ्न सकिन्छ भने मदिरा बनाउने प्रविधि वैदिक कालमा परिस्कृत हुँदै गएको थियो । 

अन्तमा, सोमको बारेमा आध्यात्मिक, दार्शनिक, सामाजिक तथा ऐतिहासिक दृष्टिकोणबाट विभिन्न धारणा व्यक्त गरिएको पाइन्छ । तर, यस लेखमा भएको बहस भने एउटा खोजको रुपमा गरिएको छ । सोमको आध्यात्मिक पक्षका बारेमा यहाँ विश्लेषण गरिएको छैन । निश्चय नै सोमलगायत अनेकन् आध्यात्मिक चिन्तनका लागि ऋक्, यजु, साम र अथर्व वेदमा अथाह वृत्तान्त छन् ।

चार वेद सनातन धर्मका यस्ता अमूल्य ग्रन्थ हुन् जसले जीवनका चार पुरुषार्थ धर्म, मोक्ष, काम र अर्थका साथै जीवन र जगतको बारेमा गहिरो ज्ञान प्रदान गर्छन् । किन्तु, यहाँ एक जिज्ञासुको रुपमा सोम के हो भन्ने उधिन्ने सानो प्रयासमात्र गरिएको छ । सोम, सोमरस र सोमलताको बारेमा विभिन्न तर्कवितर्क तथा विश्लेषणहरु हुँदाहुँदै के निष्कर्ष निकाल्न सकिन्छ भने सोमरस वैदिक कालमा वनस्पतिबाट तयार गरिने एक प्रकारको पेय हो जसको आनन्ददायी मादकतापूर्ण चमत्कारी गुणका कारण वेदमा व्यापक चर्चा गरिनुका साथै यज्ञमा मुख्य हविको रुपमा अर्पण गरिन्थ्यो ।

वेदकै कालखण्डमा ‘फरमेन्टेसन’मा विकास हुँदै सुरा कडा मादक पेयको रुपमा देखा पर्यो । अनि, सोम र सुरा दुई भिन्न पेयको रुपमा प्रकट भए । दार्शनिक कोणबाट हेर्दा, प्राचीन चिनियाँ दर्शन ‘यीनयाङ्ग’को व्याख्या झैँ वैदिक सोमरसमा पनि द्वैतवाद (डुअलिज्म) अनुभूत हुन्छ । नकारात्मक र सकारात्मक झैँ देखिने सोम र सुरा एकआपसमा पूरक, परस्पर तथा अन्योन्याश्रित सम्बन्ध राख्ने देखिन्छ । सोमको महिमा वेदमा कति धेरै छ भने यसको गहन अध्ययन एवं अनुसन्धान गर्न आवश्यक छ ।         
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC