एजेन्सी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी, भारतको सेरम इन्स्टिच्युटले पनि कोरोनाविरुद्धको खोपको स्वीकृतिका लागि आवेदन दिएको छ । कम्पनीले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग सहकार्य गरि खोप विकास गरिरहेको छ । सेरमका प्रमुख, अदर पुनवालाले यसबारे ट्वीट गर्दै भनेका हुन्, “हामीले वाचा गरे अनुरुप यस वर्षको अन्त्यसम्म भारतमै बनेको खोप, ‘कोभिसिल्ड’ लाई आपत्कालीन प्रयोगका लागि स्वीकृति माग गरिसकेका छौँ ।”
यो अनुसन्धानात्मक खोप २ देखि ८ डिग्रीको तापमानमा राख्न सकिन्छ भने भारतमा अत्यन्तै सहज रुपमा वितरण गर्न पनि सकिने बताएको छ जहाँ विश्वकै दोस्रो ठूलो संक्रमण दर रहेको छ । भारतीय मिडियाहरुका अनुसार सेरमले बुझाएको आवदेनमा बेलायत, ब्राजिल र भारतबाट प्राप्त क्लिनिकल डाटाका आधारमा कोभिसिल्ड खोप कोभिड संक्रमणविरुद्ध अधिक प्रभावकारी रहेको उल्लेख गरिएको छ ।
त्यस्तै भारतीय खोप निर्माताहरुका अनुसार सेकेन्डरी बजारमा पनि यो खोप बिक्री गर्ने तयारी भइरहेको छ । निजी क्षेत्रले पनि खोप किन्न सक्ने यो पहिलो संकेत भएको बताइएको छ । खोप भारतमा मार्चदेखि नै खरिदका लागि उपलब्ध हुने बताइएको छ । उत्पादन गर्न यसअघि नै लाइसेन्स प्राप्त गरिसकेको सेरम इन्स्टिच्युट अफ इन्डियाले हालसम्म ४ करोड डोज तयार गरिसकेको र यो महिना १० करोड उत्पादन गर्ने बताएको छ ।
त्यसैले प्रयोगका लागि खोप स्वीकृत हुनासाथै पहिले यो भारत सरकारलाई आपूर्ति गरिनेछ र पछि २ देखि ३ करोड डोज चाहिँ निजी क्षेत्रलाई बिक्री गरिने कम्पनीका प्रमुख, अदर पुनवालाले बताएका हुन् । उनले फाइनान्सियल टाइम्ससँग बोल्दै भनेका छन्, “अहिले सबैले हामीसँग, मैले कहिले खोप पाउँछु भनेर सोधिरहेका छन् र त्यसको जवाफमा मैले मार्च या अप्रिलभित्रमै उपलब्ध हुनेछ भनेको छु ।”
विश्वव्यापी औषधि कम्पनीहरुले यतिखेर विभिन्न खोपको तीव्र उत्पादन सुरू गरेका छन् । अनुसन्धानात्मक चरणमै भए पनि प्रभावकारी र सुरक्षित साबित भएमा अर्को वर्षसम्म अरबौँ डोजहरु उत्पादन हुने अपेक्षा गरिएको छ । गत बुधबार मात्र बेलायतले पहिलो कोभिडविरुद्धको खोप स्वीकृत गरि सर्वसाधारणलाई लगाउन सुरू गरेको हो ।
तर त्यहाँ चाहिँ सबै खोप कार्यक्रम सरकारी स्वास्थ्य निकाय, एनएचएसले नै सञ्चालन गर्ने र निजी क्लिनिकहरुलाई बिक्री नगरिने बताइएको छ । त्यस्तै अमेरिकी कम्पनी फाइजरले पनि आफ्ना खोप निजी क्षेत्रलाई आपूर्ति गर्ने कुनै योजना नरहेको बताएको छ । तर निजी क्षेत्रलाई पनि खोप उपलब्ध हुनुले केही स्थानीय या विदेशबाट आएकाहरुलाई खोप प्राप्त गर्न मद्दत मिल्नेछ जो सरकारको कार्यक्रम अन्र्तगत खोप लगाउन योग्य नहुन सक्छन् ।
तापनि कतिले चाहिँ निजी क्षेत्रलाई खोप खरिद गर्न दिनुलाई अनुचित बताइरहेका छन् ।
दक्षिण भारतस्थित येनेपोया युनिभर्सिटीका अनुसन्धानकर्ता अनन्त भान भन्छन्, “यदि खोप निजी बजारमा पनि उपलब्ध भयो भने यसले पक्षपात् सिर्जना गर्न सक्छ किनकि त्यसो गर्नाले मानिसहरु आफ्नो पालो नपर्खि खोपको लाइनमा अगाडि आउनेछन् । अन्ततः यो विश्व महामारी हो भन्ने कसैले पनि भुल्नु हुँदैन र यसलाई जित्न सार्वजानिक स्वास्थ्य प्रतिक्रिया नै आवश्यक छ ।”
सेरमले एस्ट्राजेनेकाको खोपलाई रिटेलमा झन्डै ६०० भारु मा भारतीय निजी बजारमा बिक्री गर्ने अपेक्षा गरिएको छ । भारत सरकारका लागि भने सेरम इन्स्टिच्युटले उदारवादी मनोसायले, प्रति डोजको ३ डलर निर्धारित गरेको पुनवालाले बताएका हुन् । भारतीय प्रधानमन्त्री मोदीको सरकारले यसअघि जुलाइ २०२१ सम्ममा कम्तिमा पनि ३० करोड डोज आवश्यक पर्ने बताएको थियो जसमा पहिलो प्राथमिकता फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी अनि त्यसपछि जेष्ठ नागरिकलाई दिइने बताइएको छ तर अहिलेका लागि भने सबै खोप स्वीकृत हुने पर्खाइमै छन् ।
पुनवालाका अनुसार एस्ट्राजेनेका खोप बेलायतमा स्वीकृत हुनासाथै भारतमा पनि आपत्कालीन प्रयोगका लागि छिटै स्वीकृत हुनेछ र आगामी जनवरीदेखि नै प्रयोगमा ल्याउन सकिनेछ ।
यस सम्बन्धी एसट्राजेनेकाले भनेको छ, “भारतको सेरमसहित विश्वव्यापी रुपमा हामीले जति पनि सम्झौता गरेका छौँ ती सबैमा पहिलो प्राथमिकता सरकारी निकायलाई नै आपूर्ति दिने रहेको छ । महामारीको समयमा गैर लाभकारी एजेन्डा कायम राख्नका लागि हामी सरकारी संगठनलाई मात्र खोप प्रदान गर्न प्रतिबद्ध छौँ ।”
तर भारतको सन्दर्भमा १.४ अर्ब मानिसलाई सरकारद्वारा सञ्चालित कार्यक्रममार्फत मात्र खोप प्रदान गर्नु अत्यन्तै चुनौतिमय हुने विज्ञहरुले बताइरहेका छन् जहाँ संक्रमण सङ्ख्या ९५ लाख पार गरिसकेको छ ।
अहिले जाडोयाममा प्रदुषणका कारण पनि संक्रमण झन् फैलिरहेको छ ।
यसैकारण सबै योजनाहरु सोचविचारपूर्वक बनाइनुपर्ने तर प्रभावकारी नीति निर्माण भारतको सबैभन्दा ठूलो कमजोरी भएको क्रिस्टियन मेडिकल कलेजस्थित भाइरोलोजी विभागका पूर्वप्रमुख टी जेकब जोन बताउँछन् । उनी भन्छन्, “यदि खोप कसले पाउने भन्ने प्रतिस्पर्धा सुरु भयो भने यसले सीधै भ्रष्टाचारका लागि ढोका खुलाउनेछ । किनकि खोप प्रभावकारी छ तर आपूर्ति कम छ भने कालो बजारी बढ्ने प्रबल सम्भावना हुन्छ ।”
यता शुक्रबार मात्र एक बैठकमा बोल्दै प्रधानमन्त्री मोदीले अबका केही हप्तामै भारतीय उद्यमीहरुले अति अपेक्षित कोरोनाविरुद्धको खोप उत्पादन सुरु गर्ने बताएका हुन् ।
एक भर्चुअल बैठकमा उनले भनेका हुन्, “विज्ञहरुको विश्वासमा अब हामीले भ्याक्सिनका लागि लामो समय पर्खनुपर्ने छैन । र आउँदा केही हप्तामै खोप तयार हुनेछन् । अहिले सरकार यसैका लागि वैज्ञानिकहरुको स्वीकृतिको पर्खाइमा छ ।”
त्यसैगरी उनले भारतमा हाल कोभिडविरुद्धका आठवटा खोपहरु विभिन्न चरणमा निर्माण भइरहेको पनि बताएका हुन् । तीमध्ये पनि तीनवटा चाहिँ पूर्ण रुपमा स्वदेशी रहेका छन् । यसमा हाइद्रावादस्थित भरत बायोटेक कम्पनीले ‘इन्डियन काउन्सिल मेडिकल रिसर्च, आइसीएमआरसँगको सहकार्यमा निर्माण गरिरहेको पहिलो स्वदेशी खोपको तेस्रो ट्रायल गत महिना नै सुरु भएको थियो ।
यसबारेमा भारतका वरिष्ठ मेडिकल रिसर्च अधिकारीले भनेका हुन्, “यतिबेला पूरै विश्व सस्तो तर अधिक प्रभावकारी खोपको खोजीमा छ । र यसमा विश्वले भारतलाई पनि हेरिरहेको छ । त्यसैले तपाईँहरु यो कुरामा विश्वस्त हुनहोस् कि हाम्रा वैज्ञानिकहरु अहिले कडा परिश्रम गरिरहेका छन् ।”
त्यस्तै विदेशी खोपलाई प्रयोगमा ल्याउनु अगाडि तिनलाई भारतीय नागरिकहरुमा ट्रायल गर्न जरुरी रहेको पनि बताइएको छ । अनि मात्र त्यसको प्रभावकारिता पुष्टि हुन सक्ने भनिएको छ । तर फाइजरले स्थानीय क्लिनिकल ट्रायलबिना नै खोप वितरण गर्न आवेदन दिएको छ । फाइजरलाई स्टोर गर्न र यसको ओसारपसारमा तुलनात्मक रुपमा सहज नहुने बताइएको छ । तापनि यसको प्रभावकारीताका कारण यो खोप प्रयोगमा आउन सक्ने अधिक सम्भावना रहेको छ ।
डिप फ्रिजरमा राख्नुपर्ने आवश्यकताका कारण फाइजरको खोप धनीहरुका लागि मात्र सम्भव देखिएको विज्ञहरुले बताएका छन् । अर्कोतर्फ एस्ट्राजेनेका र सेरमले कम्तिमा पनि १ अर्ब डोज उत्पादन गर्ने भनेका छन् । अहिलेसम्म हेर्दा विश्वव्यापी कारोबारको सबैभन्दा बढी सम्झौता गर्ने कम्पनी एस्ट्राजेनेका नै रहेको छ । तर फाइजरको खोप पनि बेलायतमा स्वीकृत भइसकेको छ र अमेरिकामा पनि यसको प्रक्रिया थालिसकिएको छ ।