site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रातो पान्डाको संरक्षण 

रातो पान्डा (हाब्रे) स्तनधारी वर्गअन्तर्गत पर्ने मेरुदण्डीय जनावर हो । विश्व वन्यजन्तु कोषका अनुसार रातो पान्डा घरपालुवा बिरालोभन्दा केही ठूलो, भालुजस्तो शरीर भएको र हेर्दा रकुनजस्तै देखिने जनावर हो । यो पूर्वी हिमालय र दक्षिण पश्चिमी चीनको रैथाने प्रजातिको जीव हो । यो जनावर विशाल पान्डा पत्ता लाग्नुभन्दा ५० वर्षअघि नै पत्ता लागेको थियोे । यो जीव आफ्नो ट्याक्सोनोमिक परिवारको एकमात्र सदस्य हो । यसलाई फायरफक्स, लेसर पान्डा, रातो भालुबिरालो, रातो बिरालोभालु भनेर पनि चिनिन्छ । विश्व प्रकृति संरक्षण कोष (डब्लुडब्लुएफ) का अनुसार पान्डा भन्ने शब्द नेपाली भाषाको ‘पुन्य’ भन्ने शब्दबाट आएको हो जसको अर्थ बाँस खाने जीव हो ।

रेड पान्डा नेटवर्कका अनुसार यसको टाउको र शरीरको लमाइ औसतमा ५६ देखि ६३ सेन्टिमिटर हुन्छ भने पुच्छर करिब ३७ देखी ४७ सेन्टिमिटर लामो हुन्छ । यसका दुई उपप्रजाति पनि छन् । ती दुई उपप्रजाति आइलुरस फुलजेन्स फुलजेन्स र आइलुरस फुलजेन्स स्टायनी (आइलुरस फुलजेन्स रिफुल्जेन्स) हुन् । रेड पान्डा नेटवर्कका अनुसार आइलुरस फुलजेन्स फुलजेन्स नेपाल, उत्तर पूर्वी भारत (पश्चिम बंगाल, सिक्किम, अरुणाचल प्रदेश), भुटान र चीनका केही भागमा पाइन्छ । त्यस्तै आइलुरस फुलजेन्स स्टायनी चीन र उत्तरी म्यान्मारमा मात्र पाइन्छ । 

रातो पान्डा बिरलै देखिने स्तनपायी जन्तु हो र नेपाल, भारत, चीन, भुटान तथा म्यानमारको पहाडी जंगलमा पाइन्छ । रातो पान्डा संरक्षण कार्य योजना (२०१९–२०२३) का अनुसार नेपालका २४ जिल्ला र सात वटा संरक्षित क्षेत्रमा यो जीव पाइन्छ । गुराँस, मालिङ्गो, निगालोको जंगल र पानीको स्रोत नजिकै भएको दसदेखि २५ डिग्री सेल्सियस तापव्रmम हुने स्थानमा यो जनावर बसोवास पाइन्छ । यिनीहरु रातमा भन्दा पनि झिसमिसे बिहानी र गोधुली साँझमा बढी सव्रिmय हुन्छन् । यिनीहरुले दिउँसोको धेरैजसो समय रुखमा आराम गरेर वा सुतेर बिताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रेड पान्डा नेटवर्कका अनुसार यिनीहरु प्रायः एक्लै बस्न रुचाउने प्राणी भए पनि प्रजननको समयमा जोडी भएर बस्छन् । यसलाई मांसाहारी वर्गमा राखिएको भए पनि यसको प्रमुख आहारा बासको पात हो । यसले एक दिनमा करिब बाँसका बीस हजार पात खाने गर्छ । यसको मेटाबोलिक रेट कम भएको हुनाले आफूले खाएकोे बासको पातको एक चौथाइ जतिमात्र पचाउन सक्छ । नेपालमा गरिएको एक अध्ययनअनुसार १७ प्रकारका बाँस र निगालो प्रजाति हाब्रेको मुख्य आहारा हो । बासको पातबाहेक यसले घाँस र फलहरु पनि खाने गर्छ भने कहिलेकाहीँ अन्डा, कीरा र साना जनावर पनि खान्छ ।

रेड पान्डा नेटवर्कका अनुसार यसको शरीरमा हुने रातो र कालो रङ्को रौँले यसलाई सिकारी र शत्रुबाट बच्न मद्दत गर्छ । यिनीहरुको शरीरको पछाडिको भागमा हुने रातो रङ् र रुखको बोव्रmामा पाइने झ्याउको रङ उस्तै उस्तै हुने भएकाले र यिनीहरुको पेटको भागमा हुने कालो रङले यसलाई तलबाट हेर्दा नदेखिने बनाउँछ । विशाल पान्डाजस्तै, रातो पान्डामा पनि अतिरिक्त थम्ब (औलो) हुन्छ जसले बाँसको डाँठ र रुखका हाँगा समात्नका लागि मदत गर्छ । यसका पन्जा बिरालोकाजस्तै तीखा र फिर्ता तान्न मिल्ने खालका हुन्छन् । यो जनावरको खुट्टाका औँलाहरु रौँले ढाकिएका हुन्छन् जसले चिसोबाट बच्न र चिप्ला रुखका हागाहरुमा चढ्न र पक्रन मद्दत गर्छन् ।

Global Ime bank

 

रातो पान्डाको अनुहारको छापले पनि यसलाई बाँच्न मद्दत गर्छ । रातो रङको ‘आसु ट्रयाकहरु’ तिनीहरुका आँखाबाट मुखको कुनासम्म फैलिएमा सूर्यलाई तिनीहरुको आँखाबाट बाहिर राख्न मद्दत गर्छ । त्यस्तै तिनीहरुको अनुहारमा भएको सेतो चम्किलो रङले हराएका बच्चाहरुलाई अन्धकारमा आमा खोज्न र बाटो पहिचान गर्न पनि मद्दत गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यसको आयु १५ वर्ष र गर्भधारण अवधि एक सय १२ देखि एक सय ५८ दिनको हुन्छ । रेड पान्डा नेटवर्कका अनुसार तीन महिनासम्म आमाको गर्भमा हुर्केपछि शाकाहारी टुप्पा र घाँसले बनेको गँुडमा बच्चाहरु जन्मिन्छन् । नवजात शिशुहरु बाक्लो खैरो राैँले ढाकिएका हुन्छन् र तिनका आखा र कानहरु बन्द हुन्छन् । गुँडबाट बच्चाहरु तीन महिनापछि निस्किन्छन् र अर्को प्रजनन मौसम सुरु नभएसम्म आमासँगै बस्छन् । रातो पान्डा संरक्षण कार्य योजना (२०१९–२०२३) का अनुसार यो जनावर १८ देखि २० महिनामा प्रजननका लागि परिपक्व हुन्छ र जन्मेको करिब २४ देखी २६ महिनामा पहिलो पटक सन्तान जन्माउन सक्छ ।

रेड पान्डा नेटवर्कका अनुसार यिनीहरु उत्तेजित हुँदा र डराउँदा कुराकानी गर्ने गर्छन् । यिनीहरुले शारीरिक भाषा जस्तैः टाउको तलमाथि हल्लाउने, पुच्छर माथि  घुमाउने, पछाडिका खुट्टामा उभिने आदि गरेर सूचना आदानप्रदान गर्छन् । त्यस्तै विभिन्न आवाजहरु जस्तैः आत्तिएर कराउने र चेतावनी सीटीसहित विभिन्न चर्को आवाज निकालेर पनि सूचना आदानप्रदान तथा कुराकानी गर्ने गर्छन् । तपाईँले पछाडिको खुट्टाले उभिएको रातो पान्डा देख्नुभयो भने त्यसबाट टाढै बस्नुुहोला । किनभने त्यस्तो अवस्थामा पान्डा आक्रामक हुन्छ । यसले आफ्नो पुच्छरको सतहमा भएको सुगन्ध ग्रन्थीको मद्दतले आफ्नो क्षेत्र छुट्याउँछ ।

रेड पान्डा नेटवर्कका अनुसार रातो पान्डाको पुच्छरले कम्बल र सिरानीको काम गर्छ । अत्यन्त जाडो समयमा यसले पुच्छर आफ्नै जिउमा लपेट्छ र गहिरो निद्रामा जान्छ । यसो गर्दा यसको मेटाबोलिक मागहरु कम हुन जान्छ । यसका साथै यिनीहरुको खास तापमान र श्वासप्रश्वास दर दुवै कम हुन्छ । यसको पुच्छरले रुखमा चढ्दा शरीर सन्तुलनमा राख्न पनि मद्दत गर्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीयन) को रातो सूचीले यस जीवलाई संकटग्रस्त जीवको सूचीमा राखेको छ । “दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि” (साइटिस) ले यसलाई अनुसूची १ मा सूचीकृत गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, १९७३ ले यसलाई संरक्षित जीवको सूचीमा राखेको छ । त्यस्तै स्तनधारी जीवको राष्ट्रिय रातो सूचीले यसलाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ । 

रेड पान्डा नेटवर्कका अनुसार बितेका बीस वर्षमा यसको संख्या ५० प्रतिशतले घटेको अनुमान गरिएको छ । रातो पान्डा संरक्षण कार्य योजना (२०१९–२०२३) अनुसार प्राकृतिक वासस्थानमा दस हजारभन्दा थोरै वयस्क रातो पान्डा छन् । त्यस्तै कृत्रिम वासस्थानमा आइलुरस फुलजेन्स फुलजेन्स ६१० वटा र आइलुरस फुलजेन्स स्टायनी ३४९ वटा गरी जम्मा नौ सय ५९ वटा रातो पान्डा रहेको पनि उक्त कार्य योजनामा उल्लेख छ ।

हाब्रे पाइने वनक्षेत्र राम्रो वासस्थानको सूचक हो । त्यसैले यसलाई समशीतोष्ण वन क्षेत्रको छाता प्रजाति मानिन्छ । यिनीहरु वातावरणका सूचक पनि हुन् । यो जीव पाइने स्थान वरपर स्वस्थ वनजंगल, सफा पानी, जीवन्त पारिस्थितिकी प्रणाली र दिगो जीविका पाउन सकिन्छ । रातो पान्डा बस्ने वनजङ्गल दक्षिण एसियाको फोक्सो हो । यी जङ्गलले ठीकसँग कार्य गरे भने यो जीवले वैश्विक जलवायु परिवर्तनसँग लड्न र दक्षिण एसियाका मानिसहरु, जनावरहरु र बोटबिरुवाको स्वस्थ जीवन सुनिश्चित गर्न सहयोग पुर्‍याउन सक्छन् । यो छाता प्रजाति भएकाले यसको संरक्षण गरेमा यो पाइने स्थान वरपर भएका समग्र वन, वनस्पति र जीवजन्तु, भूमि आदि सबैको संरक्षण हुन्छ । 

यो रुखमा बस्ने जीव हो । त्यसैले यसको संरक्षण गर्न यसको वासस्थान जोगाउन र वनविनाश न्यूनीकरण गर्न सकियो भने शुद्ध हावा, पानी प्राप्त गर्न र वायुको वेग कम गर्न सकिन्छ । हामीले रातो पान्डा पर्यटनको विकास गरी रोजगारी र व्यापार व्यवसाय गर्न सक्छौँ । यो अत्यन्त सुन्दर र मनमोहक जनावर भएकाले यसलाई हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन् । 

विश्व प्रकृति संरक्षण कोषका अनुसार केही पान्डाहरु नेपालको लाङ्टाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कन्चनजङ्घा संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु वरुण राष्ट्रिय निकुञ्जमा फेला परेका छन् । हाब्रे संरक्षण कार्य योजना (२०१९–२०२३) का अनुसार रातो पान्डाको कुल वासस्थानमध्ये ७० प्रतिशत वासस्थान संरक्षित क्षेत्रबाहिर छन् । नेपालमा पाइने कुल रातो पान्डाको २४.३३ प्रतिशत जनसंख्या लाङ्टाङ राष्ट्रिय निकुञ्जमा छन् । सन् २०२० मा अर्जुन थापा, प्रकाशचन्द्र अर्याल र उनका सहकर्मीहरुले प्रकाशन गरेको अनुसन्धनात्मक लेखअनुसार हाल नेपालको १४.२३ प्रतिशत (२१ हजार छ सय ८० वर्ग किलोमिटर) क्षेत्रफलको भूभाग हावापानीका दृष्टिले रातो पान्डाको लागि अनुकूल छ । शान्तराज जनावली र उनका सहकर्मीहरुले २०११ सालमा तयार पारेको अनुसन्धनात्मक लेखका अनुसार नेपालमा रातो पान्डाको संख्या ३ सय १७ देखि ५ सय ८२ वटा रहेको अनुमान छ । 

रेड पान्डा नेटवर्कका अनुसार यसको विनाशको प्रमुख कारण द्रूूत मानव जनसंख्या वृद्धि हो । यसले गर्दा वासस्थान विनाश र विभाजन, गैरकानुनी बेचबिखन, अनियन्त्रित वन विनाश हुने गर्छ । त्यस्तै अन्य कारणहरुमा वनमा डँढेलो, अव्यवस्थित पशुचरण,सडक निर्माण, जलविद्युत् निर्माण, विद्युत् प्रसारण लाइन, उत्खनन्, बस्ती र कृषि रुपान्तरण आदि विभिन्न विकास कार्यहरु रहेका छन् । खुलारूपमा हिँड्ने भुस्याहा कुकुरहरुमा पाइने ग्यास्ट्रोइन्टेस्नाइनल परजीवी (क्यानाइन डिस्टेम्पर भाइरस) रातो पान्डाको लागि निकै घातक परजीवी हो । 

वन्यजन्तु अपराध नियन्त्रण ब्युरो नेपालका अनुसार ९० प्रतिशत वन्यजन्तु अपराधका घटनामा उजुरी नै गरिँदैन । उक्त कुरा रेड पान्डा नेटवर्कको वेबसाइटमा उल्लेख गरिएको छ । उक्त नेटवर्कका अनुसार रातो पान्डाको संरक्षणका लागि हाल नेपालमा छ वटा ‘एन्टी पोचिङ् नेटवर्क’ छ । रातो पान्डा संरक्षण कार्य योजना (२०१९–२०२३) का अनुसार यसलाई मार्ने, किन्ने वा बेच्ने व्यक्तिलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म जेल सजाय वा दुवै हुनसक्ने प्रावधान छ । यसका साथै सूचना दिने व्यक्तिलाई २५ हजार पुरस्कार दिने व्यवस्था पनि छ ।

हाब्रेको संरक्षणका लागि नियम, कानुन र ऐन भए पनि प्रभावकारी तवरले त्यसको कार्यान्वयन नहुँदा अवैध चोरी सिकारी घट्न सकेको छैन । त्यसैले यसको संरक्षणका लागि नियम, कानुनको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । यसका साथै यो जीव पाइने स्थानमा बस्ने मानिसमा कानुनको जानकारी नभएको र यसको छाला बेच्दा थुप्रै धन आर्जन गर्न सकिने हल्लाको पछि लाग्नाले पनि यो जीवको सिकार गरिएको पाइएको छ । त्यसैले मानिसमा हाब्रेसम्बन्धी जनचेतना जगाउन अत्यन्त आवश्यक छ । यो जीव मानिसलाई देख्दा नभाग्ने, उल्टै रोचक ढंगले हेरिरहने भएकाले सिकारीलाई यसको सिकार गर्न सजिलो हुन्छ ।     

(स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणी शास्त्र विषयमा एमएस्सीका शोधकर्ता )
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC