बीबीसी । अमेरिकी स्टेट जर्जियाका निर्वाचन अधिकारीले राष्ट्रपति ट्रम्पमाथि हिंसालाई बढावा दिइरहेको आरोप लगाएका छन् । नोभेम्बरमा भएको चुनावमा हार बेहोरेपछि मतगणनामा धाँधली भएको भन्ने आधारहिन दाबी गरिरहँदा यसबाट उत्पन्न विभिन्न किसिमका हिंसात्मक गतिविधिकका लागि उनले ट्रम्पलाई जिम्मेवार ठहर्याएका हुन् ।
रिपब्लिकन पार्टीका ग्याब्रियल स्टरलिङले आक्रामक शैलीमा बयान दिँदै भनेका हुन्, “यो कुराले अब सिमा पार गरिसक्यो । यो सबै अब रोकिनैपर्छ ।”
ट्रम्पको चुनाव अभियानको अनुरोध पश्चात् जर्जियाले अहिले दोस्रोपटक पुनः मत गणना गरिरहेको छ । सो स्टेटमा डेमोक्रेटका उमेदवार बाइडेनले थोरै अन्तरमा जित हासिल गरेका थिए । र यसबारे ट्रम्प अभियानका प्रवक्ता टिम मर्टाफले आफूहरु केबल सबै वैध मत गणना भएको र अवैध मतको गन्ती नभएको सुनिश्चित गर्ने प्रयास मात्र गरिरहेको बताएका हुन् । उनले भनेका छन्, “यसमा कसैले पनि धम्की या हिंसामा संलग्न हुनु हुँदैन र यदि त्यस्तो भएमा हामी त्यसको विरुद्धमा छौँ ।”
ट्रम्प आफैँले चाहिँ समर्थकहरुको आक्रामक शैलीबारे केही भनेका छैनन् ।
अमेरिकी महान्यायधिवक्ता विलियम बारले यसअघि ट्रम्पले गरेको चुनाव धाँधलीको दाबी सम्बन्धी न्याय विभागले अहिलेसम्म कुनै प्रमाण फेला नपारेको बताएका हुन् जुन ट्रम्पका लागि ठूलो झट्का थियो किनकी बारलाई उनको नजिकी सहायक मानिन्छ ।
यसैपछि निर्वाचन विभागका अधिकारी र तिनका परिवारहरुले विभिन्न किसिमका धम्की र उत्पीडनको सामना गर्नुपरिरहेको खबर बाहिरिएको हो ।
यस्तोमा एट्लान्टास्थित संचारकर्मीहरुसँग बोल्दै जर्जिया निर्वाचन प्रणालीका व्यवस्थापक स्टरलिङले आफ्नै पार्टी रिपब्लिकनका सदस्य र राष्ट्रपति ट्रम्पको उद्देश्यमाथि प्रश्न उठाएका हुन् ।
उनका अनुसार ग्वीनेट काउन्टीमा फैलिरहेका विभिन्न अफवाहका आधारमा अहिले आफू सहित परिवारले नै ज्यान मार्ने धम्की सहनुपरिरहेको छ । त्यसैले उनको घरमा सुरक्षाका लागि पुलिस राख्नपरेको र पत्नीले पनि विभिन्न गालीगलौज पाइरहेको स्टरलिङले बताए ।
उनले भनेका छन्, “राष्ट्रपतिज्यू तपाईँले अहिलेसम्म यस्ता गतिविधिको कतै कहिँ कुनै तरिकामा निन्दा गर्नु भएको छैन । सिनेटरहरुले पनि कुनै भाषामा यस किसिमका क्रियाकलापप्रति विरोध जनाएका छैनन् । यदि तपाईँहरु वास्तवमै देशको नेतृत्व गर्न चाहनु हुन्छ भने यस सम्बन्धी केही कदम उठाउनुहोस् । मार्ने धम्की, कुटपिटको धम्की, हेला, घृणा यो कुनैपनि हालतमा उचित होइन । आफ्ना दाबी साबित गर्न सबैले आफ्नो नैतिकता नै त्यागिसकेका छन् ।”
त्यस्तै स्टरलिङले गत महिना ट्रम्पसँग चुनावबारे भएको विवादपछि जागिरबाट निकालिएका अमेरिकी साइबर एवम् संरचना सुरक्षा एजेन्सीका प्रमुख क्रिस कब्र्सलाई आइरहेका ज्यानमार्ने धम्कीका बारेमा पनि चर्चा गरेका हुन् । सोमबार ट्रम्पका आफ्नै वकिलको ‘कब्र्सलाई साँझमा बाहिर लगेर गोली हान्नुपर्ने’ भन्ने अधिक आपत्तिजनक भनाइको उनले कडा आलोचना गरेका हुन् ।
अन्त्यमा उनले ट्रम्पलाई सिधै सम्बोधन गर्दै, ठूलो मान्छे जस्तो व्यवहार गर्न र यस किसिमका हिंसा भड्काउने गतिविधिमा नलाग्न आफ्ना समर्थकहरुलाई आग्रह गर्न भनेका हुन् । ट्रम्पले स्टरलिङको भनाइको प्रतिक्रियामा उनले बोलिरहेको भिडियो ट्वीटरमा रिपोस्ट गरेका छन् तर त्यसमा उनले हिंसा सम्बन्धी कुनै चिन्ता जनाएका छैनन् ।
उल्टै जर्जियामा ठूलो स्तरमा मत धाँधली भएको दाबी दोहोर्याएका हुन् । ट्रम्प र उनका समर्थकले चुनाव नतिजा सम्बन्धी चलाएको कानुनी मुद्दामा अहिलेसम्म एरिजोना, पेनिसिल्भेनिया, जर्जिया, मिचिगन र नेभाडामा असफलता हासिल गरेका छन् ।