वागमती । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगले सङ्घीय लोकसेवा आयोगको छविलाई कायम राख्दै काम गर्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको कार्यालय निरीक्षण तथा अवलोकनका लागि आयोगको कार्यालय हेटौँडा पुगेका मुख्यमन्त्री पौडेलले कसैले पनि आफूले प्राप्त गरेको अख्तियारको दुरुपयोग गर्नु नहुने धारणा राखे । पौडेलले प्रदेशमा भनसुन र पहुँचका आधारमा जागिर पाउने सम्भावना नरहने बताए । उनले आयोगले आफ्नो काममा कसैले पनि औँला ठड्याउन नसक्ने गरी काम गर्नुपर्ने धारणा राखे ।
सो अवसरमा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगले आयोगका सबै पदाधिकारी तथा कर्मचारीले चाहेमा समेत निश्चित उम्मेदवारलाई उत्तीर्ण वा अनुत्तीर्ण गराउन नसकिने गरी प्रणाली व्यवस्थित गरिएको बताए । आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आयोगले सीमित स्रोत र साधनका बाबजुत पनि प्रशस्त काम गर्न सकेको बताए । रासस