बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार बालबच्चासँग यी गल्ती त गर्दै हुनुहुन्न ? प्रेमनारायण भुसाल 
बाह्रखरी - सोमबार, मंसिर १५, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

बाल्यकाल मानव जीवनको सबैभन्दा संवेदनशील, सुनौलो अनि सिर्जनशील समय हो । बालबालिकालाई भविष्यमा कस्ता हुनेछन् भन्ने तय यहीँ समयमा हुने भएकाले बालमस्तिष्कलाई ‘भाँडाको आकृति दिन तयार पारेको काँचो माटो’ जस्तो पनि भनिन्छ । अभिभावक, छरछिमेकी तथा सामाजिक घटनाक्रमको अनुकरण गर्दै व्यवहार गर्न सिक्ने उमेर पनि भएकाले बाल्यकालीन अनुभवले बालमनोविज्ञानमा गम्भीर एवम् अमीट छाप पारेका हुन्छन् । केही गुण जैविक आमाबाबुबाट वंशानुगतरूपमा प्राप्त गरे पनि धेरैजसो व्यवहार र व्यक्तित्वको निर्माणसमेत परिवार र समाजबाट सिकेर निर्माण हुने भएकाले बालमस्तिष्कमा सकारात्मक प्रभाव पार्ने क्रियाकलाप अभिभावकहरूद्वारा प्रदर्शित हुनु आवश्यक हुन्छ । 

‘मोडलिङ’ र अनुकरणबाट सामाजिक व्यवहार तथा भाषा सिक्ने भएकाले बालबालिकाका निकट रहने व्यक्तिले आदर्श व्यवहार गरेमात्र भविष्यमा असल व्यक्ति बन्ने गुण बालबालिकाले ग्रहण गर्छन् । अन्यथा, बाल्यकालमा खराब बानी लागेमा त्यसलाई बदल्न निकै कठिन हुन्छ । 

धेरै आमाबाबु आफ्ना साना नानीबाबुहरूलाई आकर्षक प्रलोभन देखाउँछन् । बच्चाले त्यस्ता कुरा दिगो र अभिभावकको पहुँचको भए नभएको छुट्याउन नसक्ने हुँदा उनीहरू खुसी पनि हुन्छन् । तर त्यस्तो आश्वासन पूरा नभएपछि तिनले अभिभावकका कुरा पत्याउन छाड्छन् । यसरी विश्वासै कम भएपछि तिनको सिकाइमा प्रत्यक्ष असर पर्न थाल्छ । कोही भने बच्चालाई फकाउन तुरुन्तै पुरस्कार दिने गर्छन् । राम्रो बानीमा अभ्यस्त गराउन पुरस्कार दिनु राम्रो हो जसले व्यवहार परिवर्तनमा पनि महत्त्वपूर्ण प्रभाव पारेको हुन्छ । कहिलेकाहीँ भौतिक पुरस्कार र निरन्तररूपमा भावनात्मक एवम् शाब्दिक पुरस्कार दिनु राम्रो हो तर अत्यधिकरूपमा भौतिक पुरस्कार दिइरहेमा पुरस्कारविना कुनै पनि काम नगर्ने अवस्था आउन सक्छ । यसैले गृहकार्य गर चकलेट दिन्छु, स्कुल जाऊ खेलौना किनिदिन्छु, भनेको मान मोबाइल खेल्न दिन्छु भन्दै प्रलोभनमा पारेरमात्र बच्चालाई काम गराउन थालियो भने उसमा काम गर्ने बानीभन्दा केही गर्नुपूर्व नै पुरस्कारका लागि मोलतोल गर्ने बानीको विकास हुन्छ । यसैले हरेक काममा प्रलोभन देखाउनु बालबालिकाको व्यक्तित्व विकासमा बाधक सिद्ध हुन्छ ।

Agani Group

केही आमाबाबु बच्चाले अटेरी गर्दा तिमीलाई एक्लै छोडिदिन्छु, बेसरी कुट्छु वा घरभित्र अथवा अन्यत्र कतै थुनिदिन्छु, प्रहरीलाई बोलाउँछु इत्यादि भनेर डर देखाउने गर्छन् । त्यसो गर्दा केही समय बच्चा आज्ञाकारीजस्तो देखिए पनि उसको कोमल मस्तिष्कमा परेको ‘भय’का कारण उत्पन्न त्रासले उसको व्यक्तित्व तथा मनोवस्थामा नराम्रो असर पर्छ । बच्चा एक्लै कतै टाढा नजाओस् भनेर ‘भूत’, ‘राक्षस’, ‘बच्चा चोर्ने मान्छे’ र अन्य यस्तै अजिब तत्त्वको डर देखाउने गरेको समेत पाइन्छ । प्रौढ व्यक्तिलाई समेत एक्लो र कमजोर अवस्थामा यस्ता विषयले असर पारेका हुन्छन् भने सुकोमल बालमानसपटलमा यी र यस्ता कुराले त आतङ्क नै सिर्जना गर्छन् । तत्काल अनुशासित भएजस्ता देखिए पनि यस्ता अवास्तविक र डरलाग्दा कुराले बच्चाको आत्मविश्वास कमजोर बनाइदिन्छ । निर्धक्क केही कुरा भन्न वा कुनै काम गर्न नसक्ने एवं अज्ञात त्रास र भयले गर्दा उसको व्यक्तित्व अस्थिर बन्छ । त्रासद कल्पनाका कारण डर लाग्ने किसिमका सपना देख्ने, बर्बराउने र झस्किने जस्ता लक्षणहरू बच्चामा देखा पर्न थाल्छन् भने दीर्घकालीनरूपमा कमजोर आत्मविश्वासका कारण समस्यासँग जुध्न नसक्ने, तुरुन्तै हतोत्साही हुनेजस्ता प्रवृत्तिको विकास भई बच्चालाई अघि बढ्न बाधा पुग्छ ।

फलानो त कति राम्रो छ, उसले यसो गर्छ उसो गर्छ भनेर आफ्ना बच्चालाई तिमी त नराम्रो मान्छे भनी तुलना गर्ने भुल पनि कहिल्यै गर्नुहुँदैन । यसले आमाबाबुप्रतिको बच्चाको विश्वास र आधारको डोरी चुडाइदिन्छ । अभिभावकको यस व्यवहारका कारण ऊ अन्य बच्चाप्रति ईष्र्या गर्ने तथा आफूलाई असहाय र निरीह ठान्ने गर्न थाल्छ । समयान्तरमा यसले बच्चामा ‘लघुता ग्रन्थी’ (इन्फेरियर कम्प्लेक्स)को जन्म हुन्छ । अभिभावकले आफूलाई अरुसँग तुलना गरी होच्याउँदा बच्चामा एक किसिमको दिक्दारी र निराशा सुरु हुन थाल्छ । बच्चा एकलकाटे बन्ने, ईष्र्यालु र झगडालु बन्ने, एकाग्र हुन नसक्ने र सधैँ चिन्तित बन्ने सम्भावना रहन्छ । फलतः उसमा कमजोर आत्मविश्वासका कारण विभिन्न किसिमका मानसिक समस्यासमेत देखिन थाल्छन् ।

sarbottam cement

बच्चाले सबैभन्दा बढी आफ्ना आमाबाबुलाई विश्वास गरेको हुन्छ । यसैले संसारको सबैभन्दा सुरक्षित स्थल आमाबाबु भएको ठाउँलाई मानेको हुन्छ । बच्चाको आफ्नै संसार हुन्छ जहाँ चकचक गर्ने, झगडा गर्ने वा गल्ती गर्ने प्रशस्त सम्भावना रहन्छ । आफ्ना साथी वा अन्य व्यक्तिले उसको भावना नबुझिदिँदा उसका मनमा चोट पनि परेको हुन सक्छ । जतिसुकै अप्ठ्यारोमा परेको भए पनि आमाबाबुले निःसर्त आफूलाई स्वीकार गरी सहयोग र सुरक्षा दिन्छन् भन्ने सोच उसमा रहेको हुन्छ तर अन्य व्यक्तिका अगाडि झपार्दा वा गाली गर्दा उसको ‘इगो’मा ठूलो क्षति पुग्छ । यसले उसलाई अन्तर्मुखी बनाउने, खेलकुद तथा समूहकार्यमा रुचि नलाग्ने, चुनौती लिन नखोज्ने र घर छोडेर भाग्ने अवस्थामा समेत पुर्‍याउँछ । यस्तो व्यवहारले आवेशमा आत्मघाती र आत्महत्याजन्य घटनासमेत गराउन सक्ने भएकाले असल अभिभावकले अरुका सामुन्ने आफ्नो बच्चालाई अपमानित महसुस हुने कुनै काम गर्नुहुँदैन । आकाङ्क्षाअनुसारको उपलब्धि वा व्यवहार नभए पनि सम्पूर्ण कुरा बिर्सेर आफ्नो सन्तानका रूपमा मात्र स्वीकार गरी बच्चाप्रति अझ बढी स्नेह र ममता प्रदर्शन गर्नुपर्छ । उसलाई एक्लै राखेरमात्र खराब कामका असरका बारेमा सम्झाउनुपर्छ । यसो गर्दा बच्चामा गल्ती स्वीकार गर्ने तथा हरेक कामबाट राम्रो कुरा सिक्ने बानीको विकास हुन्छ ।

धेरै आमाबाबुले आफूले बाल्यकालमा गर्नुपरेका सङ्घर्ष तथा सेवा र सुविधाको अभावमा जुध्नुपरेका कुरा र अहिले सबै सुविधा पाउँदा पनि बच्चामा प्रगति नभएको र आफूले यस्तो सुविधा पाएको भए त....’ भनी बच्चालाई सुनाउने गर्छन् । यसरी सङ्घर्षपूर्ण आत्मवृतान्त सुनाउँदा बच्चाले यस कुरालाई आत्मसात गर्ला र काममा लगनशीलता देखाउला भन्ने अपेक्षा अभिभावकको होला तर यस्ता कुराले बच्चामा सकारात्मक भन्दा बढी नकारात्मक असर पारेको हुन्छ । उसले आफू आमाबाबुभन्दा फरक भएको तथा आफ्ना कुरा बाबुआमाले बुझ्न नसक्ने निष्कर्ष निकाल्छ । अभिभावक अभाव र सम्पन्न दुवै परिस्थितिको अनुभव गरेको व्यक्ति भए पनि बच्चामा अहिलेको मात्र अनुभव भएकाले अभिभावकले भनेका र भन्न खोजेका कुरा नै नबुझ्ने र आफ्नो अहिलेको पराधीन अवस्थाभन्दा बाबुआमाको बाल्यकालीन स्वतन्त्र अवस्था नै सुखद रहेको निष्कर्षमा समेत पुग्न सक्छ । बालबालिकालाई यस्ता नकारात्मक कुराबाट सच्याउन खोज्नु भालुलाई पुराण सुनाएबराबर हुने भएकाले आफ्ना विगतसँग मनमनै तुलना गरे पनि बच्चासामु यस्ता कुरा गर्नुहुँदैन । अझ उसको उपलब्धि, बानी र त्रुटिका सन्दर्भमा त यस्ता प्रसङ्ग ल्याउनै हुँदैन ।

बालबालिकाले आफ्ना शिक्षकलाई सबै कुराको ज्ञाता र आफ्नो जीवनको आदर्श एवं अनुकरणीय व्यक्तित्व ठानेका हुन्छन् । शिक्षकले कुनै गल्ती गरे पनि त्यही नै सही हो भनेर जिद्दी गर्ने बानी बालबालिकाको हुन्छ । केही अभिभावक शिक्षकले गरेका गल्ती सच्याइदिने नाममा शिक्षकको आलोचना गर्छन् जसले गर्दा बच्चा दिग्भ्रमित हुन्छ । उसको विश्वासमा कमी आउँदा समग्र सिकाइ प्रक्रियामै नराम्रो असर पर्छ । यस्तोमा बरु अभिभावक स्वयंले शिक्षकलाई भेटेर उसका त्रुटिका बारेमा छलफल गर्नु राम्रो हुन्छ । यस्तै अन्य नातेदार वा व्यक्तिका बारेमा आलोचना गर्दा ती व्यक्तिलाई हेर्ने बच्चाको दृष्टिकोण नै बिग्रन्छ । यसैले बालबालिकासामु अरु नातेदार र मान्य व्यक्तिका नराम्रा बानीको चर्चा नै गर्नुहुँदैन ।

बच्चाले अनेक किसिमका प्रश्नहरू अभिभावकसँग सोध्न सक्छन् । तीमध्ये केहीको त कसैले पनि उत्तर दिन सक्दैन तर बच्चाका अगाडि जान्नेसुन्ने ठहरिन गलत जवाफ दिने वा असत्य र अवैज्ञानिक कुरा बताउने गरेमा बच्चाको दृष्टिकोण तथा चिन्तनशैलीमा नराम्रो असर पर्छ । ऊ भ्रमपूर्ण कुराका पछाडि रन्थनिन थाल्छ र सही सूचना पाउनासाथ आफ्ना अभिभावकलाई सबैभन्दा ‘अज्ञानी’ ठहर गर्न पुग्छ । यसैले बच्चालाई सही सूचनामात्र दिनुपर्छ, आफूलाई थाहा नभए त्यतिखेर केही नभनी पछि सही कुरा खोजी गरेर बताइदिनुपर्छ । यसबाट बच्चाको ज्ञानको दायरा फराकिलो हुँदै जान्छ ।

बालबालिकाले हरेक दिन नयाँ नयाँ वस्तु, घटना र अवस्थाको अनुभव गरिरहेका हुन्छन् । उनीहरूले आफ्नै किसिमले घटनाहरूको मूल्याङ्कन र विश्लेषण गर्ने भएकाले कहिलेकाहीँ अभिभावकसँग निरर्थक र झन्झट लाग्दा प्रश्न पनि सोध्न सक्छन् । काग किन का का गरेको ?, भ्यागुतो किन नउडेको ?, बाख्राले किन लुगा नलगाएको ?, कुकुर किन खुट्टा र हातले टेकेर हिँडेको ? म कहाँबाट कसरी जन्मेको ?, म किन केटा वा केटी भएको ? जस्ता प्रश्नहरू सोध्न सक्छन् । यस्तो अवस्थामा उनीहरूलाई प्रश्न सोध्न निरुत्साहित नगरी सम्भव भएसम्म कुरा बुझाउन प्रयास गर्नुपर्छ । कहिलेकाहीँ अनैतिक र असभ्य लाग्ने कुराका बारेमा पनि जिज्ञासा राख्न सक्ने भएकाले त्यतिखेर यस्तो कुरा गर्नुहुन्न भनी हप्काउनु हुँदैन । भन्न मिल्नेजति बताई अप्ठेरो प्रसङ्गमा बच्चाको ध्यान अन्यत्र मोड्न सक्नुपर्छ । उनीहरूले असभ्य र असामाजिक कुरा गरे भनेर झपार्ने काम कदापि गर्नुहुँदैन । यस्तै प्रश्नले त मानव महामानव बनेका छन् भन्ने कुरा बिर्सनुहुँदैन । बुद्धले यस्तै अनुत्तरित प्रश्नका कारण बुद्धत्व प्राप्त गरेका थिए भने स्वामी विवेकानन्द योगी सन्यासीहरूलाई भेट्नासाथ ‘तपाईँले ईश्वर देख्नुभएको छ ?’ भनी प्रश्न गर्थे । यस्ता प्रश्न गरेकाले उनी नास्तिक भएनन् बरु ठूला दार्शनिक बने ।

केही दम्पतीमा एकले आफूलाई असल तर अर्को अबुझ र स्वार्थी भन्दै एकले अर्कालाई खुइल्याउने गरेका हुन्छन् । बच्चाले आदर्श मानेका र सबैभन्दा विश्वास गरेका पात्र एकापसमा हिलो छ्यापाछ्याप गर्दा बालबच्चामा निराशाको बादल मडारिन थाल्छ । उसको आस्थाको धरोहर भत्किन पुग्छ । फलतः उसले संसारका यावत् कुरालाई विसङ्गत तरिकाले हेर्न थाल्छ र आफ्नो जीवनलाई नै निस्सार देख्न थाल्छ । यसले उसका व्यवहारमा विचलन आई नैतिक मूल्यलाई त्याग्ने, कुलतमा लाग्ने तथा झुटा कुरा गर्ने बानी बस्छ । यसैले बच्चाका अगाडि आमाबाबुले एकअर्कामा सम्मान र आदर देखाएर बच्चालाई कर्तव्यपरायण र नैतिक मूल्य मान्यताले सुसंस्कृत बनाउनुपर्छ ।

उपर्युक्त कुरामा ध्यान दिएर बालबालिकालाई असल व्यवहार र संस्कारले सम्पन्न बनाउन प्रयास गर्ने हो भने भोलिका कर्णधार आजका बालबालिका सभ्य, शिष्ट, आज्ञाकारी, नम्र र उच्च मनोबलका हुनेछन् । कुसंस्कार तथा कुलतबाट आफ्ना नानीबाबु टाढै रहून् भन्ने चाहना राख्ने अभिभावकले बच्चा हुर्काउने बेलामा माथिका कुरामा ध्यान पुर्‍याउनै पर्ने हुन्छ । यसरी बच्चामा खराब असर पर्नबाट जोगाई सही शिक्षादीक्षा दिन सके आदर्श व्यक्तित्व निर्माण हुन सक्छ । यसैले भविष्यमा बच्चा राम्रो बनोस् भन्ने चाहना राख्ने हरेक अभिभावकले आफ्ना व्यवहार तथा आचरणगत कुरामा पनि परिवर्तन एवम् सुधार ल्याउनुपर्छ । यसो गरेमा मात्र बालबालिका बौद्धिक, संवेगात्मक र मानसिक रूपमा स्वस्थ भई उज्ज्वल भविष्यको सिँढी चढ्न सक्नेछन् ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, मंसिर १५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्