site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अपेक्षाकृत सफल भ्रमण पूरा गरेर भारतका विदेश सचिव हर्षवर्धन शृंगला हिजो (शुकवार) स्वदेश फर्के । चीनका रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणमा भोलि (आइतवार) नेपाल आइपुग्दै छन् । विदेश सचिव शृंगलाको भ्रमणले भारत र नेपालबीचको लामो संवाहीनताको अन्त्य गरेको छ । यस्तै चिनियाँ रक्षामन्त्री कोभिडको कहरपछि नेपाल भ्रमण गर्ने सबैभन्दा उच्च अधिकारी हुन् । यी दुवै भ्रमण भारत र चीन दुवै मुलुकले नेपाललाई महत्त्व दिएको उदाहरण हुन् । भारतीय विदेश सचिवको भ्रमणमा सीमा विवादको विषय पनि उठेको बताइएको छ भने विकास निर्माणक थाती रहेका योजनाहरू पूरा गर्न भारतीय प्रतिबद्धतासमेत व्यक्त भएको छ । चिनियाँ रक्षामन्त्रीको भ्रमणबाट पनि केही यता शिथिल प्रायः देखिएको चीनसँगको सहकार्य पुनः थालिने अपेक्षा गर्न सकिन्छ । अब नेपालले आफ्नातर्फबाट सक्रियता देखाएर  सहमति कार्यान्वयनमा गति दिनुपर्छ ।

यी दुवै भ्रमण नेपालका लागि सन्तोषका विषय हुन् । साथै, यसले नेपालका लागि कूटनीतिक चुनौती पनि बढाएको छ । भारत र चीन दुवैसँग भूरणनीतिक निकटताका सापेक्षतामा मित्रताको पुनव्र्याख्या गर्नुपर्ने अवस्थामा नेपाल पुगेको छ भने अर्कातिर नेपालको राजनीतिक नेतृत्वले यो चुनौती धान्न सक्तैन कि भन्ने सन्देह देशभित्र व्यापकरूपमा प्रकट भएको छ । साथै, नेपालले भारत र चीनसँगको सम्बन्धलाई दिएको महत्त्वका सापेक्षतामा युरोप र अमेरिकासँगको सम्बन्धलाई उपेक्षा गरिआएको देखिएको छ । त्यस अवस्थामा युरोप र अमेरिकाले पनि नेपाललाई चीन र भारतबीचको सम्बन्धका आधारमा रणनीतिक महत्त्वमात्र दिने जोखिम बढ्छ । पश्चिमसँग पनि सन्तुलित सम्बन्ध कायम राख्न सकेन भने नेपाल भारत र चीनको छायामा पर्नेमात्र हैन बाँकी विश्वबाट एक्लिन पनि सक्छ । यसैले छिमेकीहरूको बढ्दो ‘सद्भाव’ पनि नेपालका लागि चुनौतीपूर्ण हुन्छ । 

केही वर्ष यता नेपालको कूटनीतिक सन्तुलन खलबलिएको छ । विशेषगरी सत्तारुढ दलका नेताहरूको ‘बेला न कुबेला भेनेजुयला’ गर्ने ‘डन किहोटे’ प्रवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि अपरिपक्व देखिनथालेको छ । त्यसैले अहिले अमेरिका र युरोपसँग नेपालको सम्बन्ध सम्भवतः इतिहासमै सबैभन्दा चिसो हुनपुगेको हुनुपर्छ । अर्कातिर पछिल्ला केही वर्षमा नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चीनको कम्युनिस्ट पार्टीबीचको निकटता निकै बढेको छ । भारतले केही समय यता नेपालमा आपत्तिजनक कूटनीतिक गतिविधि गरेको देखिएको छैन तर नेकपाको आन्तरिक विवादमा चीनका नेपालस्थित राजदूतको अकूटनीतिक देखिने सक्रियताले राजनीतिक र कूटनीतिक वृत्तमा सन्देह बढाएको छ । चीन वा भारतले नेपालका राजनीतिक दल विशेषसँग अनुचित र अनावश्यक निकटता बढाउन थालेपछि अमेरिका र युरोपेली मुलुकहरूले पनि नेपालमा आफ्नो प्रभाव बढाउने प्रयत्न पक्कै गर्न थाल्नेछन् । त्यस अवस्थामा नेपालमा राजनीतिक गञ्जागोल सुरु हुनसक्छ । यसैले नेपालमा करिब साठी वर्षअघि लागेको एउटा नारा अहिले सान्दर्भिक र मननीय हुने देखिन्छ - ‘ हिन्दी-चिनी भाइभाइ : बाहिरै बस भित्र नआई’ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC