site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
केपी ओलीबाट पार्टी र सरकार दुवै चलेन, कमिटीले निर्णय गर्नुपर्छ
Sarbottam CementSarbottam Cement

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विग्रह झाँगिदो छ । सचिवालयको बैठक शनिबार तय भएको छ । त्योभन्दा अगावै बहस चलिरहेको छ ।

कमिटीले के निर्णय गर्छ, छलफल, बहस कसरी अघि बढ्छ भन्दा पनि नेकपाकै भविष्य के हुन्छ ? पार्टी एकताको अध्याय पूरा नहुँदै विभाजनको मार खेप्ने त होइन भन्ने आशङ्का पैदा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनको जवाफ लेखिरहेका छन् । त्योअगावै प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले दस्तावेज मातहतको कमिटीमा पठाइसकेका छन् । यसले विभाजनको आधार झन् फराकिलो बनाएको टिप्पणी भइरहेको छ । यिनै विषयमा आधारित भएर बाह्रखरीले स्थायी कमिटी सदस्य युवराज ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंश :

Prabhu Bank
Agni Group
NIC Asia

घटनाक्रम हेर्दा नेकपा विभाजनको दिशातिर देखिन्छ हो ?
विभिन्न कारण र आधारहरूले हेर्दा विभाजनको कुनै सम्भावना म देख्दिनँ । त्यसका राजनीतिक, सैद्धान्तिक कारणहरू छन् । आधारहरू छन् । नेकपालाई विश्वास गरेर चालिसौं लाख जनताले गत चुनावमा मत हाले । आधा समय सरकार सञ्चालन गरेर भाग्ने, जनताका आवाश्यकता, भावनाको चिन्ता नै नगर्ने र उनीहरूको चाहनामाथि आघात पु¥याउने छुट नेकपालाई छैन ।

अहिलेको अवस्थामा पार्टी विभाजन गर्नु धेरै ठूलो मूर्खतापूर्ण कदम हुनेछ । यसले कम्युनिस्ट आन्दोलनमात्र नभई लोकतान्त्रिक आन्दोलनका लागि पनि धेरै ठूलो क्षति हुन्छ । जसले पार्टी फुटाएर जाने प्रयास गर्छ, उहाँहरूका लागि झन् ठूलो दुस्साहस हुन्छ । धेरै लामो समयसम्म जनताले प्रश्न उठाइरहने विषय बन्छ ।

Global Ime bank

पहिलेकोजस्तो अवस्था अहिले रहेन । जनताको धेरै ठूलो आशा, अपेक्षाको जिम्मेवारी बोकेर आएका छौं । विश्वासघात भइसकेपछि कम्युनिस्ट आन्दोलन उल्टो दिशातिर धकेलिन्छ, हामी कहाँ पुग्छौं, अनुमान गर्न पनि कठिन हुन्छ ।

यो कुरा नेताहरूलाई गहिरो गरी बोध छ । आत्मानुभूति होला भन्ने पनि लाग्छ । मलाई व्यक्तिगत रूपमा आवेग र उत्तेजनामा आएर गलत बाटो हिँड्नुहुन्न भन्ने नै लागेको छ । अहिले विचारको बहस न चलेको छ । विचारको बहस कहिलेकाहीँ तिखो, अभद्र पनि हुन्छ । सकेसम्म विवाद स्वस्थ र मर्यादित, तथ्य र तर्कमा आधारित होस् भन्ने नै सबैको चाहना हुन्छ । तर, परिस्थिति सधैँ काबुमै रहन्छ भन्ने होइन ।

कम्युनिस्ट आन्दोलनले विभिन्न ढङ्गको बहसको माग गरिरहेको छ । तर, त्यो प्रणालीमा आधारित, पार्टी पद्धतिमा आधारित हुनुपर्छ । त्यसो भयो भनेमात्रै यसले निकास राम्रो दिन्छ । समाधान पनि दिन्छ । अन्यथा ध्वंशात्मक हुनपुग्छ ।

यहाँले पार्टी विभाजन हुँदैन भनेर सुरुमै किटानका साथ भन्नुभयो, तर दुवैतर्फको तयारीले त्यसको खारेजी गरिरहेका छन् । सचिवालयको बैठक १३ गतेलाई बोलाइएको छ । त्यहाँ पेस भएका दस्तावेज तल-तल (कार्यकर्ता र जनतामा) गइसक्यो, त्यसका आधारमा तल मत निर्माण भइसक्यो । यो फुटको तयारीजस्तो भएन र ?
त्यस्तो गर्नुहुँदैन । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमै बहस केन्द्रित गर्नुपर्छ । त्यहाँ खुला-खुलस्तै भन्नुपर्छ । पार्टी सदस्यहरूले भन्न पाउनुपर्‍यो । 

पार्टी कमिटीमा हुने छलफल, बहसबाट तितरबितर हुनुपर्ने, भाग्नुपर्ने कुनै कारण म देख्दिनँ । त्यसले कम्तीमा पार्टीलाई ठीक ठाउँमा पुर्‍याउँछ । अहिले तल्ला कमिटीमा लगेर काम पनि छैन । बरु केन्द्रीय कमिटीमा लगिसकेपछि चाहिँ बहस खुला गर्ने भनेर निर्णय गर्न सकिन्छ । 

पार्टी एकताका काम थाती नै छन् । सदस्यता एकीकृत गर्ने, नवीकरण गर्ने काम पनि भएको छैन । महाधिवेशनका लागि बहस खुला गर्ने र विचारको बहस गर्ने काम एकैसाथ गर्न सकिन्छ ।

सबै काम रोक्ने, थाती राख्ने, बहस विवादमात्रै गरेर कहीँ पुगिँदैन । त्यो कम्युनिस्ट आन्दोलनको नोक्सानी मात्रै हो ।
यससन्दर्भमा सदस्यहरूका नेतृत्वका अनेक मत हुनसक्छन् । अब निर्णयका लागि नेतृत्वलाई सुम्पन, पर्खन सकिँदैन । कमिटीले नै निर्णय गरेर जानुपर्छ । अब सर्वाधिकार नेतृत्वमा पार्टी कमिटीलाई दिइनुपर्छ ।

कमिटीका निर्णयमा पनि कहाँ पार्टी चलेको छ र ? स्थायी कमिटीको निर्णय कार्यान्वयन भएन भन्ने होइन, अहिलेको मुख्य विवाद ?
कमिटीको निर्णय मान्दिनँ, चल्दिनँ भन्ने हो भने त पार्टीको आफ्नै प्रणाली छ नि । त्योअनुसार चल्नुपर्छ । सबैले कमिटीको निर्णय पालना गर्नुपर्छ ।

अहिलेको मुख्य कार्यभार पार्टीभित्रको बहस व्यवस्थित गर्ने हो । महाधिवेशनको तयारी गर्ने हो । एकीकरणका बाँकी काम त एउटै निर्णयले गर्न सकिन्छ ।

अहिले पार्टी एकताका बेलाको स्वार्थ टकराएको हो ? कि पार्टी एकताको मूल स्वार्थ नै सत्ता प्राप्ति थियो ?
घटनाक्रम हेर्दा त्यो प्रश्न नउठ्ने होइन । तर, कुनै पात्र विशेष, प्रवृत्ति विशेषलाई हेरेर समग्र चरित्र निर्धारण गर्नु हुँदैन । हामी कार्यकर्ताहरूले त मुलुक र कम्युनिस्ट आन्दोलन सकारात्मक दिशामा जान्छ, कम्युनिस्ट पार्टीको स्थिर सरकार बन्छ, समाजवादको आधार निर्माण हुन्छ, मुलुकका गरिखाने, निमुखा जनतालाई उठाउने काम गर्छ, देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ भनेर एकतामा सहमति जनाइएको हो ।

हिजो हामी उपाध्यक्ष, महासचिव, उपमहासचिव भएकाहरू पनि सदस्यमात्रै हुन मञ्जुर गरेर प्रश्न उठाइएन । आफ्नो व्यक्तिगत आकांक्षा पार्टी एकता अधीनस्थ राखियो । ऐतिहासिक रूपमा कम्युनिस्ट पार्टीलाई अवसर प्राप्त भएकाले त्यसको सदुपयोगबाहेक अरू हित चिताइएन । तर, यसभित्र कसै-कसैकोचाहिँ सत्ताभन्दा पर स्वार्थ रहेनछ कि, जसरी हुन्छ सत्ता प्राप्त गर्ने भन्नेबाहेक अरू थिएन कि भनेर देखिँदैछ । अहिले किटान गरिहाल्ने बेला भएको छैन । पछिपछि थिग्रिन्छ । टुङ्गो लाग्ला नि !

अहिलेको अन्तरविरोध, झगडा पार्टी एकताको उद्देश्य सफा नभएर नै उब्जिएको हो भनेर मान्न सकिँदैन ?
नीति, सिद्धान्त, विचार सही भएर मात्रै पनि सही परिणाम दिन्छ भन्ने होइन । संविधान राम्रो बनाएर मात्रै देश विकास हुने त होइन । संविधान आफैं लागु हुँदैन । पार्टीका नीति, कार्यक्रम लागु गर्ने त नेतृत्वले हो । कमिटीले हो । पार्टीले हो । सरकारमा पुग्नेले हो ।

पार्टीले ठीक नीति लिएको छ । तर, कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न समस्या देखा पर्दै आएका छन् । यी समस्याहरूका समीक्षा हामीले गरेनौँ । कम्तीमा ६/६ महिनामा सरकारको कामको समीक्षा हुनुपर्थ्यो । स्थानीय, प्रदेश र संघका कामहरूको समीक्षा हुनुपर्थ्यो । राम्रा उपलब्धिहरूको रक्षा गर्दै नराम्रा कामहरू सच्याउनुपर्थ्यो ।

अहिलेसम्म एकपटक पनि सरकारको कामको समीक्षा भएको छैन । समीक्षाका लागि नेतृत्व तयार भएको छैन । यो त भयङ्कर गल्ती हो । कमजोरी भएको भयै भए । तर, सच्याउने प्रयास नै गर्न पाइएन ।

कहिलेकाहीँ बैठकहरूमा उठे । तर, नेतृत्वले त्यसलाई सरकारप्रतिको आग्रह-पूर्वाग्रहका रूपमा मात्रै बुझ्यो ।
सरकार सञ्चालन गर्दा कमजोरी हुनसक्छन् । हामीले आलोचना सुन्नै चाहेनौं । प्रशंसा मात्रै सुन्न खोज्यौं ।  लोकतन्त्र, लोकतान्त्रिक पार्टीमा आलोचना अनिवार्य विषय हो । कम्युनिस्ट पार्टीको शोभा-सौन्दर्भ पनि त्यही हो ।

त्यसले गर्दा हामी लोकतन्त्रको विपक्षमा, लोकतान्त्रिक परिपाटीभन्दा फरक हुन पुग्यौं । मार्क्सवादी विचार जुन द्वन्द्ववादी विचार पनि हो । हरेक कुरामा सकारात्मक कुरा र नकारात्मक कुरा हुन्छ । हरेक सकारात्मक कुरामा पनि कमजोरी नभेटिने होइन । यी कुरालाई आत्मबोध गर्नुपर्थ्यो । आत्मआलोचित हुनुपर्थ्यो ।

सरकारको नेतृत्व पनि गर्न नसक्ने, आन्दोलनको रक्षा पनि गर्न नसक्ने नेकपा पार्टी चाहियोचाहिँ किन ?
समग्र पार्टीको दोष होइन । पार्टीको दोष पनि होइन । घुमिफिरी यसमा नेतृत्वकै कुरा आउँछ । कम्युनिस्ट पार्टी खराब, यसका सिद्धान्त खराब भन्ने निष्कर्षमा हामी पुग्नुहुँदैन । त्यो विचार पनि आइरहेको छ । कम्युनिस्ट पार्टीभित्रको घरझगडलाई देखाएर कतिपय मानिसहरू लोकतन्त्र बेठीक हो, गणतन्त्र बेठीक हो भन्ने निष्कर्ष सुनाउन थालेका छन् । यी कुरा गलत हुन् ।

लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र हो । निरङ्कुशतन्त्र विकल्प कहिल्यै बन्न सक्दैन । हामीले नेपालको सन्दर्भमा उन्नत खालको लोकतन्त्र ल्याएका छौं । तर, त्यसलाई नेतृत्व गर्ने क्षमता, हैसियत, दृष्टिकोण, चिन्तन नेतृत्वले प्रदर्शित गर्न नसकेकै हो ।

अहिले पार्टीभित्र चलिरहेको बहसले नेतृत्वलाई तिखार्ने र तयार पार्ने काम गर्छ । पार्टी शुद्धीकरणका लागि यो सहयोगी पनि बन्न सक्छ । तर, हामी बैठकबाट निरन्तर भागिरह्यौं । कमिटीका बैठक बसाउन मारमुङ्ग्री गर्नुपर्ने दुःखद् परिस्थिति निर्माण भयो । सचिवालय बोलाउन अध्यक्ष र पाँचजना नेताहरू निवेदन लिएर पुग्नुपर्ने अवस्था सिर्जना भयो ।

एकवर्षसम्म स्थायी कमिटीको बैठक बसेन । बीचमा स्थायी कमिटीका सदस्यहरूले पत्र बुझाउनुपर्ने अवस्था आयो । पटक-पटक यो अवस्था आएको छ । यसबाट के देखिन्छ भने, नेतृत्व साँचो अर्थमा लोकतन्त्र र कम्युनिस्ट पार्टी कसरी सञ्चालन गर्नुपर्छ भन्ने अलमलमा देखिन्छ ।

नेतृत्व निरङ्कुश बन्न खोजेकोजस्तो देखिन्छ ?
स्वेच्छाचारी तरिकाले चल्ने, कमिटीका निर्णयहरू नमान्ने, सामूहिक नेतृत्व चाहने परिस्थिति देखा पर्दैछ । कम्युनिस्ट आन्दोलनमा मात्रै होइन, लोकतन्त्रमा । सामूहिक नेतृत्व कम्युनिस्ट पार्टीमा मात्र होइन, लोकतन्त्रको पनि सौन्दर्य हो ।
पार्टीमा सामूहिक नेतृत्व प्रभावकारी कार्यान्वयन भएन । नेकपा गठनदेखि मात्रै होइन, तत्कालीन एमालेको नवौं महाधिवेशनदेखि नै यस्तो खालको अवस्था देखापर्‍यो । एकल नेतृत्व चाहने अवस्था देखापर्‍यो । कमिटीले के चाहन्छ होइन, अध्यक्षले जे चाहनुहुन्छ त्यही गर्नुपर्छ भन्ने कुरा हाबी हुन थाल्यो । एकीकरणपछि झन् संस्थागत हुनथाल्यो । समस्या बढ्दैजाँदा विस्फोटक बन्ने अवस्था सिर्जना भयो ।

भनेपछि अब केपी ओलीबाट पार्टी र आन्दोलन दुवै पार लाग्दैन भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
सकेसम्म हाम्रो प्रयास उहाँलाई सच्याउन नै हुनेछ । पाँचौं स्थायी कमिटी बैठक (असार १०-भदौ २६) मै यावत् कुराहरू उठे । पछि छलफल गरेर सहमतिमै जानुको विकल्प छैन भन्ने निष्कर्ष निकालियो । दस्तावेज पनि पास गरियो ।

एक महिनाभित्र पार्टी एकीकरणका अधुरा काम सबै सक्ने भनिएको थियो । पार्टीले सरकार सञ्चालन गर्ने, महत्त्वपूर्ण निर्णय पार्टीमा छलफल गरेर, विचार-विमर्श, सुझाव लिएर मात्रै गर्ने भनियो । एकजना अध्यक्ष पार्टीको समग्र काममा लाग्ने, अर्को अध्यक्षले सरकार सञ्चालन गर्ने भनियो ।

बैठकले पार्टी जीवनको जीवनमा अत्यन्तै काम लाग्ने उपयोगी निर्णय गर्‍यो । कार्यान्वयनका चरणमा पुग्दा निर्णयको बेवास्ता भयो । सचिवालयको बैठक पनि बस्न नसक्ने अवस्था निर्माण भयो । सरकारले गरिहाल्नुपर्ने कामका सन्दर्भमा पनि निर्णय भएको थियो । कोभिड–१९ को प्रकोप न्यूनीकरण, नियन्त्रणका सन्दर्भमा पनि राम्रो निर्णय भएको थियो । तर, यसमा ध्यान पुगेन ।

एकपछि अर्को विवादास्पद निर्णय हुने त्यसलाई सच्याउन बैठक नबोलाउने अवस्था बढ्यो । चैत २५-३० गते महाधिवेशन गर्ने भनिएको छ । तर, अहिलेसम्म कुनै तयारी छैन । पार्टी र सरकार सञ्चालनमा गम्भीर कमजोरी भएका छन् । पार्टी चल्दै नचल्ने अवस्थामा पुगेको छ । यसले उन्नति, प्रगति गर्नेभन्दा पनि सरकारसमेत चलाउन नसक्ने अवस्थामा पुग्यो ।

देशमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने सरकारको रूपमा दर्ज भएको तथ्य सार्वजनिक भएको छ । हामीले लगाएको आरोप होइन, सार्वजनिक रूपमा उठेको प्रश्न हो । अड्‍डा-अदालत जाँदा सरकारी सेवाप्रदायक संस्थामा जाँदा देखे-भोगेका कुरा जनताले बताएका छन् ।

रिपोर्टको (ट्रान्सपरेन्टी इन्टरनेसनल) सत्यतथ्य आफ्नो ठाउँमा होला । तर, जनताको आवाज हो । यसमा पार्टीभित्र लगाएको आरोप भनेर मात्रै हुँदैन । यसको निकास के हुन्छ मैले नै निर्क्योल गर्ने कुरा होइन । कमिटीमा छलफल गर्नुपर्छ । कमिटीको निर्णय सबैले शिरोपर गर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC