site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
अर्को पुस्तालाई पनि लगानी र व्यावसायिक वातावरण बनाउन लाग्नेछु
Sarbottam CementSarbottam Cement

अन्जन श्रेष्ठ, नेपालको चेम्बर अभियानमा विगत १६ वर्षदेखि निरन्तर लागि रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा विगत १६ वर्षदेखि र विगत १२ वर्षदेखि कार्यसमिति सदस्य हुँदै विभिन्न समितिमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको आगामी वस्तुगततर्फको उपाध्यक्षका लागि उनले उमेदवारी दिएका छन् । महासंघको निर्वाचनमा केन्द्रित रहेर श्रेष्ठसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

महासंघको साधारणसभा सुरु भयो । प्रचार प्रसार सकियो कि जारी राख्नुभएको छ ?

प्रचारप्रसार त शुक्रबारसम्म छ । शनिबार निर्वाचन छ, त्यसैले प्रचार प्रसार व्यापक नै भएको छ । सानो समूहमा भेटघाट गर्ने, व्यक्तिगत भेटघाट गर्ने कामहरु भइरहेको छ । वस्तुगत संघका अध्यक्षज्यूहरुलाई भेटेर आफ्नो कुराहरु राख्ने, उहाँहरुको कुरा सुन्ने काम गरिरहेको छु । यो प्रचारप्रसारको क्रममा उहाँहरुले मलाई उत्साह र उर्जा थपिरहनुभएको छ ।
 
अहिलेसम्म प्रचार प्रसार, भेटघाट गर्दा उहाँहरुले तपाईँलाई के भनिरहनुभएको छ ?

Prabhu Bank
Agni Group
NIC Asia

मेरो व्यावसायिक सफलता र चेम्बर अभियानमा मेरो संलग्नता यी दुइवटै कुराबाट तपाईँको नेतृत्व एक हिसाबले प्रमाणित गरिसक्नुभएको छ भनेर भन्नुभएको छ । व्यावसायिक नेतृत्व, महासंघको विभिन्न समितिहरुमा बसेर गर्नुभएको कामहरुको आधारमा पनि तपाईँ कुशल नेतृत्व दिन सक्नुहुन्छ भन्ने उहाँहरुको धारणा छ ।
राजश्व समिति, रोजगारदाता परिषद्मा बसेर गरेको कार्य, उद्योग समितिमा पनि बसेर गरेको कार्यहरुले पनि मलाई सहयोग गरेका छन् ।

व्यवसायीहरुको भावना बुझ्ने, व्यवसायीका चुनौती, समस्या उजागर गर्न सक्ने देखिन्छ । त्यसैले तपाई अगाडि बढ्नुहोस्, नेतृत्व उन्मुख हुनुहोस्, हामी तपाईँलाई साथ दिन्छौं, सहयोग गर्छौँ भन्ने भन्नुभएको छ ।
 
अहिले व्यवसायीहरुको समस्या, चुनौती के हो ?

Global Ime bank

वस्तुगत मात्रै होइन समग्र व्यवसायीहरुको समस्या करिब एकै किसिमको छ । सबैभन्दा पहिला व्यवसायीहरुले व्यावसायिक वातावरण खोज्छौं । व्यापार, व्यवसाय सञ्चालन गर्ने वातावरण होस् भन्छौं । र, लगानीको सुरक्षा खोज्छौं ।  व्यावसायिक वातावरणका लागि नीतिगत स्पष्टता, निरन्तरता हुनुपर्छ । लागू गर्न सकिने नीतिहरु आउनुपर्छ । कुनै पनि नीतिहरु व्यवसायलाई नियन्त्रण गर्ने खालको हुनुहुँदैन । पछिल्लोपटक आएका नीतिहरु व्यवसाय नियन्त्रण गर्न आएको जस्तो, पहिला थुन्ने अनि सुन्ने जस्तो देखिन्छ । 

व्यवसायलाई नियन्त्रण गर्न खोेजेको जस्तो लाग्छ । विश्वव्यापी रुपमा खुला बजार अर्थनीति छ । हाम्रो संविधानले पनि प्रतिस्पर्धी बजारलाई स्वीकारेको स्थितिमा अब नियन्त्रण गर्ने होइन, उद्योग व्यवसाय गर्नको लागि सजिलो वातावरण हुनुपर्छ । ‘ह्यासल फ्रि’ को वातावरण हुनुपर्छ । 

हामीहरुले एकद्वार प्रणालीको कुरा गर्छौँ । नीति, नियम बाझिनुहुँदैन । डकुमेन्ट सरल हुनुपर्यो भन्ने सबैको चाहना हो । कुनै ऐन नियमबाट लगानी गर्छौँ भने त्यो लगानी सोही नीति नियम अन्तर्गत हुनुपर्यो । हाम्रोमा छिटो छिटो ऐन नियम परिवर्तन भइरहेको हुन्छ ।  एउटा ऐनलाई अर्को ऐनले काटिरहेको हुन्छ । एउटा नियमलाई अर्को नियमले काटिरहेको हुन्छ । औद्योगिक व्यवसाय ऐनले दिएको सुविधा वा व्यवस्थालाई बजेटले काटेको हुन्छ । यस्ता कुराहरुले गर्दा हामीहरुलाई उद्योग, व्यवसाय गर्न गाह्रो छ । 

निश्चित अवधिको लागि समान किसिमको ऐन होस्, त्यसैबाट विजनेश ‘प्रेडिक्ट्याविलिटी’ हुनुपर्छ । ‘प्रेडिक्ट’ गर्न सकिएन भने लगानी गर्न कसैले चाहन्न । आज एउटा सुविधा, व्यवस्थाअनुसार काम सुरु गरेर भोलि दुइवर्षमा परिवर्तन भयो भने त्यसले व्यवसाय गर्न गाह्रो हुन्छ ।  यसरी व्यवसायीहरु आकर्षित हुँदैनन् । त्यसैले व्यावसायिक वातावरण हुनुपर्यो, लगानी सुरक्षा हुनुपर्यो । यी सबै व्यवसायीहरुको आवश्यकता हो । व्यवसायको प्रकृतिअनुसार समस्या आ–आफ्नै हुन्छन् । निर्यात, उत्पादन, सेवा, ट्रेड, कृषिलगायतको केही फरक होला तर समग्रमा सबैले चाहने भनेको व्यावसायीक वातावरण र लगानी सुरक्षा नै हो ।
 
यसै सन्दर्भमा वस्तुगत संघका साथीहरुसँग छलफल गरेर उत्पादन, सेवा, व्यापार र कृषि क्षेत्रका बारेमा एउटा पुस्तक नै तयार पारेको छु ।   वस्तुगत संघका अध्यक्षज्यूहरुको सुझाव, धारणा अन्तर्गत त्यसलाई भोलिका दिनमा महासंघमा वस्तुगत संघहरुको समस्या, चुनौती, एवं कतिपय अवसरका कुराहरुलाई कार्यान्वयन गर्न अगाडि बढ्ने गरी पुस्तक तयार गरेको छु । 

त्यो पुस्तकमा यी सबै विषयलाई समेटेर हामी अगाडि बढ्ने गरी तयार भएका छौं । हामीले आधारपत्रको रुपमा त्यसलाई सार्वजनिक पनि गरिसकेका छौं । त्यो आधार पत्रको आधारमा नै भोलि महासंघमा काम गर्नको लागि तयारी साथ लागेका छौं । 

महासंघमा गइसकेपछि तपाईँको प्राथमिकताका क्षेत्रहरु के हुन् ? कसरी काम गर्नुहुन्छ ?

अहिले कोभिड–१९ को कारणले अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । शून्य स्थितिमा पुगेको आर्थिक वृद्धि अब ऋणात्मक हुने पो हो कि भन्ने डर छ । तर, जनजीवन विस्तारै सामान्य हुँदैछ, उद्योग व्यवसाय पनि सञ्चालन हुँदै गइरहेका छन् । यो अवस्थामा विस्तारै अगाडि त बढ्नुपर्छ । त्यसका लागि १० प्रतिशतको आर्थिक बृद्धिदर गराउनेतर्फ हामीले काम गर्नुपर्नेछ भनेर त्यसको तयारी गरिरहेका छौं ।

कोभिडको कारणले रोजगारीमा असर परेको छ । विदेशमा पनि रोजगारी गुमाएर फर्कनुपरेको छ, स्वदेशमा पनि रोजगारी गुमेको छ ।  ४ देखि ५ लाख जनशक्ति प्रत्येक वर्ष श्रम बजारमा आइरहेका छन् । तिनीहरुलाई पनि व्यस्थापन गर्नुपर्ने चुनौती छ । व्यापार घाटा विकराल स्थितमा छ । व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने छ । ती विषयहरुलाई प्राथमिकता दिएर काम गर्छौँ । 

हाम्रो नारा नै सवल, सुदृढ र सफल निजी क्षेत्र छ । निजी क्षेत्र सवल र सदृढ भयो भने सफलता हासिल गर्न सक्छौं । त्यसबाट राष्ट्रको सामाजिक, आर्थिक रुपान्तरण गर्न, आर्थिक समृद्धि ल्याउन सफल हुन सक्छौं । 

तपाईँको जीतको आधार के हो ? 

मेरो ३० वर्षको उद्योग व्यवसायको अनुभव, यो अवधिमा उद्योग व्यवसायमा प्राप्त गरेको सफलता, सानो व्यवसायीबाट सुरु भएको लक्ष्मी गु्रप आज नेपालको उद्योग व्यवसायको क्षेत्रमा अग्रणी गु्रपको रुपमा स्थापित भएको छ । ४६–४७ वर्ष भन्दा अगाडि ३ सय रुपैयाँ लगानी गरेर सुरु भएको भेन्चर आज अग्रणी ग्रुपको रुपमा प्रस्तुत भइरहँदा ३० वर्ष मेरो पनि योगदान छ । 

लक्ष्मी ग्रुपलाई यहाँसम्म ल्याउनको लागि मेरो परिवारका सदस्य, दाजुभाइहरुको योगदान छ ।  त्यसमा मैले पनि सशक्त भूमिका खेलेको छु । मैले यो किन भनिरहेको छु भने उद्योग व्यवसायको क्षेत्रमा मेरो अनुभव हो यो र मैले देश विकासमा कुनै न कुनै रुपमा योगदान पुर्‍याएको छु  ।  अर्को १६ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा लागिरहेको छु । जहाँ मैले नेतृत्व क्षमता देखाइसकेको छु । 

पछिल्लो १२ वर्षदेखि कार्यसमिति सदस्यको रुपमा कार्यरत छु । कार्यसमिति सदस्य भईरहदा ७ वर्ष योजना परिषद्मा काम गरेको छु ।  पछिल्लोपटक श्रम ऐनको मस्यौदाका लागि आधार हामीले बनाएका थियौं । यस्तै सामाजिक सुरक्षा ऐन पनि कार्यान्वयनमा ल्यायौं ।  राजस्व समितिको सहसभापति २ पटक भएर काम गरेँ । त्यो बेलामा भन्सार सुधारका लागि डिजिटलाइजेसन, आसिकोडा वर्ल्ड लागू गर्नको लागि महासंघको प्रतिनिधित्वको रुपमा काम गरेको छु । 

उद्योग समिति सभापति भएँ । औद्योगिक व्यवसाय ऐन आएको छ, त्यसमा धेरै काम गरेको छु । नियमावली आएको छ, त्यसमा काम गरेको छु ।  वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा कृषिका विभिन्न ७ वटा क्षेत्रमा विदेशी लगानी आउन सक्नेसहितको मस्यौदा सरकारले बनाएको थियो ।  त्यसमा महासंघको प्रतिनिधित्व गर्दै संसद्का विभिन्न समितिमा विरोध गर्दै रोक्न सफल भयौं । 

किनभने यो नेपालको हितमा थिएन । कुनै पनि देशले आफ्नो देशको प्रतिस्पर्धी क्षमता भएको क्षेत्रलाई संरक्षण गर्छ ।  अमेरिका, चीन, भारतले संरक्षण गरेको देखिएको छ । हामीले पनि स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ भन्ने भावनाले काम गरेको हो । त्यसमा हामी सफल पनि भयौं ।  महासंघबाट गुणस्तर विभागमा प्रतिनिधित्व गर्छु । देशमा गुणस्तरीय उत्पादन हुनुपर्छ । 

विदेशबाट आउने सामानमा पनि गुणस्तर कायम गराइनुपर्छ भनेर गुणस्तर विभागसँग मिलेर काम गरेको छु ।  मैले महासंघमा बसेर गरेका यावत् यस्ता काम, नेतृत्व क्षमतालाई पनि परिस्कृत गर्दै सक्षम, सवल नेतृत्व दिन सक्छु भनेर काम गरेर नै प्रमाणित गरिसकेको छु । त्यसैले पनि महासंघको उपाध्यक्ष हुनको लागि सशक्त दाबेदार हुँ ।

यसअघि पटक–पटक कार्यकारिणी समिति सदस्य हुनुभएको, यसपटक उपाध्यक्षमा किन जान खोज्नुभयो ? 

उद्योग वाणिज्य महासंघमा कार्यसमितिमा १२ वर्ष बसेँ । अब नेतृत्वउन्मुख हुने भनेर नै हो । आफ्नो संस्थाहरुमा क्षमताअनुसार नेतृत्वमा पुग्न सबै चाहन्छन् । मैले महासंघमा कार्यसमिति सदस्य भएर विभिन्न समिति सभापति भएर काम गरँे, अब त अगाडि जाने हो । मलाई समयले अगाडि जानकै लागि भनेको छ । महासंघको उपाध्यक्ष बन्नको लागि विगतको अनुभव, क्षमता, योगदानले पनि मलाई अगाडि बढ्न प्रेरणा, हौसला दिएको छ । 

सोही अनुभव, क्षमता र, विश्वासका साथ अगाडि बढेको छु । मलाई महासंघले खोजिरहेको छ । 

साधारणसभामा सहभागी हुनुहुने उद्योगी व्यवसायी, मतदातालाई तपाईँ के भन्नुहुन्छ ?

मेरो ३० वर्षको व्यावसायिक सफलता, व्यावसायिक नेतृत्व, विगत १६ वर्षदेखि चेम्बर अभियानमा निरन्तरता, १२ वर्षसम्म महासंघको विभिन्न समितिहरुमा बसेर गरेको कामको अनुभव, खेलेको भूमिकाबाट नै महासंघको नेतृत्वतर्फ उन्मुख हुन सक्षम, सवल छु भन्नेमा मलाई विश्वास छ ।  विगतमा मैले देखाएको नेतृत्वदायी क्षमतालाई विश्वास गरेर मलाई अगाडि बढाइदिनुहोस् । उद्यमी, व्यवसायीका समस्या, चुनौती र भोलीका दिनमा उद्योगी व्यवसायीका लागि लगानीको वातावरण, व्यवसायिक वातावरण र लगानी सुरक्षाका लागि गर्नुपर्ने, खेल्नुपर्ने भूमिका खेल्नेछु । 

र, यो पुस्तालाई मात्रै होइन अर्को पुस्तालाई पनि लगानी र व्यवसायिक वातावरण बनाउनको लागि लाग्ने छौं ।  नयाँ सोच, नयाँ उर्जाका साथ हामी लाग्ने छौं । विश्वास गरिदिनुहोस्, मौका दिनुहोस् । 

भोलिका दिनमा नेपालको सामाजिक, आर्थिक रुपान्तरण गर्न, आर्थिक समृद्धि ल्याउन डटेर लाग्नेछौं । र, चेम्बर अभियानलाई सशक्त रुपमा अगाडि लैजान्छौं । व्यावसायिक, आर्थिक समृद्धिको उद्देश्य प्राप्तिमा हामी सफल हुन सक्छौं यसको लागि हातमा हात साथमा साथ दिएर सहयोग गर्नुहुन मेरो अनुरोध छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC