site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
तीन दशकमा पनि मैले नचिनेको अमेरिका

बधाई छ जो बाइडन र कमला ह्यारिसलाई ! चार वर्षको ट्रम्पको शासनकालको पीडालाई नोभेम्बर ३ को चुनावको नतिजा नआउन्जेलको सम्मको चार पाँच दिनको पर्र्खाइले थप असहय बनाएको थियो । अमेरिकामा मात्र होइन साधारण नेपालीदेखि विश्व नै अमेरिकाको नयाँ नेतृत्वको पर्खाइमा थियो । यद्यपि, ट्रम्पले हार स्वीकार गरेर विश्वको शक्तिशाली देशको प्रजातान्त्रिक अभ्यासको उदारहण बन्नुको साटो आफ्नो गलत चरित्र देखाउँदै छन् । अहिले उनको व्यवहारले झन् प्रस्ट बनाएको छ किन सबैजना ट्रम्पको बहिर्गमनका लागि आतुर थिए भनेर ।

अमेरिकामा भेदभाव 

युरोपियनहरूले रैथाने अमेरिकनको हिंसात्मक दमन गरेर जमिन खोसेपछि नै अमेरिकी माटोमा भेदभावको जन्म भएको हो । अनि १७ औँ शताब्दीको सुरूदेखि अफ्रिकाबाट दासहरू ल्याएर उपनिवेशवादको विस्तारसँगै विभेद र असमान समाजको निर्माण भएको हो । एकातिर आजको संयुक्त राज्य अमेरिकाले आप्रवासीहरूले स्थापना गरेको इतिहास बोकेको छ भने अर्कोतिर स्थापनाकालदेखि नै विभेदी समाज सुरु गरेको तितो सत्य पनि छ । सन् १७७६ मा स्वतन्त्रताको घोषणाको दस्ताबेजले सबै नागरिकलाई समान अधिकारको कुरा गरे पनि अफ्रिकी र दासहरूलाई त्यो समान अधिकार प्रदान गरेको थिएन । सन् १८६५ मा मात्र दासहरूले संवैधानिकरूपमा दासप्रथाबाट उन्मुक्ति पाए । व्यवहारमा भने अर्को सय वर्षसम्म विभिन्न अधिकारबाट वञ्चित नै रहे । अश्वेत पुरूषहरूले १८६० को दशकमै मताधिकार पाए पनि सबै राज्यहरूमा भने १९५० र ६० को दशकमा मार्टिन लुथर किङलगायतको अगुवाइमा भएको अल्पसंख्यक नागरिकको अधिकार अभियानपछि मात्र अधिकार स्थापित भयो । अनिमात्र मताधिकार पूर्ण तवरले सुरक्षित गर्नुका साथै श्वेत र अश्वेतलाई भिन्न स्कूलको व्यवस्था, अन्तरजातीय वैवाहिक सम्बन्धको प्रतिबन्ध, सार्वजनिक यातायात सेवामा भेदभाव, रेस्टुराँमा हुने विभेदको अन्त्य भयो ।  

Agni Group

अमेरिकामा जातीय भेदभावको मामलामा अफ्रिकन अमेरिकनको अनुभव नै सबै सामाजिक विभेदको आधिकारिक वर्णनका रूपमा लिइन्छ । उनीहरुको दासत्व अनि सयौं वर्ष सहेको पीडा र हिंसाको इतिहासले अमेरिकी समाजमा गहिरो जरा हालेको भेदभावको यथार्थ चित्रण गर्छ । तर, जातीय भेदभाव सुरूदेखि नै सबै अश्वेत समुदायले भोगेको हो । पहिला त अमेरिकाकै आदिवासीले हिंसा सहे, त्यसपछि चिनियाँ र जापानी मूलका बासिन्दाले पनि भेदभाव तथा सामाजिक असमानताको पीडा भोगे । इसं २००१ सेप्टेम्बर ११ को घटनापछि अमेरिकाको मानसपटलमा मुस्लिम समुदायतर्फ बेग्लै धारणा बन्यो । बुझ्नेले त्यो उग्र आतंकवादको काममात्र हो भनेर बुझे पनि ससामान्य अमेरिकी समाजमा उनीहरुको तिरस्कार गर्ने ‘लाइसेन्स’ मिल्यो । यही निहुँमा इराक, अफगानिस्तानमा आक्रमण गरियो र त्यो लडाइँ आजसम्म जारी नै छ ।

पछिल्लो समय अमेरिकाको दक्षिण सिमानाबाट गैरकानुनी तरिकाले छिर्नेहरूको विरोधमा सामाजिक तथा राजनीतिको विवादको विषय बन्यो । खासगरी मेक्सिकनहरूको विरुद्ध लक्षित यो कार्य रिपब्लिकन पार्टीका उग्रकट्टरपन्थी र आप्रवासीहरूको विरोधीहरूको लागि राजनीति र कूटनीतिक अडानको विषय नै बन्यो । 

Global Ime bank

अमेरिका त गोरो वर्ण हुनेको मात्र पो हो जस्तो लाग्छ । किनभने उनीहरुको जातीय पहिचानमा मात्र संयोजक चिह्न प्रयोग हुँदैन । अरु सबै जाति पुरानै भए पनि अफ्रिकन —अमेरिकन, नेपाली—अमेरिकन, अनि हुँदा हुँदा त्यहाँका रैथाने भूमिपुत्रलाई पनि नेटिभ —अमेरिकन रे ! अजबको संसार ! 

विगत ५०—६० वर्षमा सामाजिक असहिष्णुता कानुनीरूपमा क्रमशः अन्त्य हुँदै गए पनि समाजमा वर्षौंदेखि चलिआएको सामाजिक मूल्यमान्यता व्यवहार र मानसिकतामा परिवर्तन हुन समय लाग्दो रहेछ । अल्पसंख्यकले आफनो अधिकार र समानता खोज्छन र परिवर्तनको हतारमा हुन्छन भने बहुसंख्यकले सधँै समाजलाई आफ्नो मुट्ठीमा राख्न चाहन्छन् ।

यस्तो इतिहास हुँदाहुँदै पनि अमेरिकामा सधैँ सबैले एक किसिमको आतिथ्य महसुस गर्छन् । नभए किन अमेरिकी समाजले आफूलाई गर्वका साथ आप्रवासीहरूको देश भनेर चिनाउँथ्यो र? अनि किन विश्वका सबै राष्ट्रका नागरिक कानुनी, गैरकानूनी उपाय अपनाएर पनि त्यहाँ पुग्न मरिहत्ते गर्थे ? हो यो आप्रवासीले बनेको समाज भए पनि जातीय विभेद र संस्थागत भेदभावरहित समाज र बाहिरबाट कल्पना गरेको स्वर्ग कै एक अंस पनि होईन । यो समाजमा पनि विश्वका अरू सबै समाजमा हुनेजस्तै गुण र अवगुण निस्चय पनि छ ।

अमेरिकी समाजमा एक अश्वेत नेपाली  

अमेरिकामा मेरो जीवनको तीन दशक बितेको छ । सन् १९८५ देखि आजसम्म आउँदा सातौं राष्ट्रपतिको कार्यकाल सुरू हुनलागेको छ । त्यहाँको माटोले मेरो दुःख, सुख, हाँसो, आँसु, सफलता, अनि असफलता सबैमा साथ दिएको छ । अठार वर्षको उमेरमा अमेरिका छिर्दा म पनि बढो उत्साह लिएर छिरेको  थिएँ । कतै सबै अमेरिका हलीवुडमा चित्रण गरिएको फिल्म नै हो कि जस्तो लाग्थ्यो । पढेको, सुनेको, र टेलिभिजनमा देखेको अमेरिका भन्दा केही हदमा मध्यपस्चिम अमेरिकाको इन्डियाना राज्य अवश्य नै भिन्न थियो । कलेजमा विभिन्न राष्ट्र र राज्यका भिन्दाभिन्दै जात, रंग, धर्मका विद्यार्थीको उपस्थिति थियो । हुन त म बुढानीलकन्ठ स्कुल, अनि त्यसपछि बैंककमा अमेरिकन हाइस्कुलमै पढेर गएको हुँदा भिन्न रहनसहन, जात, धर्म वा अरु सामाजिक भिन्नताले फरक नपर्ने बरु सहजै  घुलमिल गर्ने क्षमता ममा थियो । त्यसैले अमेरिकी समाज र कलेजको जीवन मैले सजिलै आत्मसात् गरे । 

असीको दशकमा अमेरिकामा नेपालीको संख्या धेरै कम थियो । म रहेको सहरमा त झन् शून्य प्रायः । त्यसैले कलेजको डोर्मिटोरीमा अमेरिकाकै विभिन्न राज्यदेखि विश्वका कतिपय देशका विभिन्न जात, धर्म, वर्णका विद्यार्थीहरूसँग बिताइयो । संख्यात्मक हिसाबले श्वेत वर्णका साथीहरू धेरै भएकाले र आफ्नो समुदायको अभावमा मेरो घुलमिल र  संगत अमेरिकन खासगरी गोरा वर्णका सँग नै थियो । उनीहरुको चाडबाडदेखि अन्य कार्यक्रममा सम्मिलित हुन्थेँ । यी सबै संसर्गले मेरो अमेरिकन समाज र संस्कृतिको राम्रो नराम्रो दुवै पक्षसँग पहिचान भयो । 

अमेरिकनहरूको भूगोलको ज्ञान त हास्यास्पद नै छ । विश्वको शक्तिशाली देश भनेर सबैले मानेपछि उनीहरुको संसार आफ्नै ५० राज्यमै सीमित थियो र अझै छ । एकपल्ट एकजना न्यु योर्कको सहपाठीले नेपाल भनेको पेन्सलभनियामा होइन भनेर सोधेको कहिल्यै बिर्सन्न । त्यसै बेलादेखि मैले मनमनै अठोट गरेँ — मौका मिलेसम्म नेपाल चिनाएर छोड्छुु । मेरा साथीहरूको संजालमा नेपाल नचिन्ने कोही रहेनन् । अनि पछि कलेजमा पढाउँदा नेपाल बारे नजानी कुनै विद्यार्थी उम्केन ।

अमेरिकी समाजमा विद्यमान विभेदकारी सोचसँग परिचित भए पनि मैले संगत गर्ने साथीहरूको जातीय विविधताप्रति संवेदनशीलताको कमी र अज्ञानलाई उनीहरुको सरलता भन्दा गहिरिएर भने धेरै समयसम्म हेरिन । सायद, त्यो मेरो आफ्नै उमेरको अपरिपक्वता वा सरलता थियो । एउटा कुरा चाहि प्रस्ट थियो — मेरा श्वेत वर्णका साथीहरूको दिमागमा असहिष्णुता र भेदभावको पनि तह थियो । म अश्वेत तर एसियन मूलको व्यक्ति भएकै कारण बेलाबखत ‘तर, तिमी त कालो जातको होइन नि’ भनेर  उनीहरूको संगतका लागि ‘योग्य’  बनाउँथे मेरो अश्वेतपनलाई । त्यो सहज स्वीकार गर्नु त्यस बेलाको समाजमा विवादरहित मिसिने आकांक्षा थियो सायद ।

समयको परिवर्तन र नयाँ पुस्ताको अगमनसँगै अमेरिकी सामाजिक मूल्यमान्यता पनि उदार र समावेशी पनि हुँदैगयो तर पूरै निर्मूल भएको भ्रम भने कसैलाई पनि थिएन । कानुनी घेरामा बाँधिने डरले समाज सुसंस्कृत हुनथालेको थियो । हाकाहाकी हुने विभेद र असमानता, जातीय, धार्मिक असहिष्णुता औपचारिक र अनौपचारिक व्यवहारमा कमसेकम बाहिरबाट हेर्दा देखिँदैन थियो । यदाकदा केही समूहको अभिव्यक्तिमा नीतिगत र राजनीतिक सवालमा घुमाइफिराई छनक भने पाइन्थ्यो । खुलमखुला अश्वेत जाति, आप्रवासी, धार्मिक विभेदजन्य अभिव्यक्ति भने उग्रजातीवादको नारा र क्रियाकलापमा सीमित छ भनेर बुझिन्थ्यो । भेदभावको जग गहिरिएर समाजको संरचनाहरूमा संस्थागत भइसकेकाले नागरिक अधिकारका अभियन्ता र प्रगतिशील विचारका राजनीतिज्ञहरू सुधार गर्न निरन्तर लागिरहेका थिए ।

एक्काइसाैँ शताब्दीमा खुट्टा टेकेपछि बल्ल आप्रवासीको भूमि भनेर चिनिएको समाज वास्तवमा समावेशी र भेदभाव रहित हुने बाटोमा लागेजस्तो लाग्थ्यो । जातिगतका साथै समलिंगीहरूको हकहितको र अन्य सामाजिक मामलाहरूमा पनि अमेरिका उदार देखिन थालेको थियो । तर, सेप्टेम्बर ११को घटनाले केही हदसम्म पछाडि धकेली दियो ।

ट्रम्पको उदय 

दुर्भाग्य, डनल्ड ट्रम्पको राजनीतिक उदय सबै सामाजिक प्रगतिको उल्टो दिशामा बहने प्रतिगामीहरूलाई साथ लिएर भयो । सुरूमा रिपब्लिकन पार्टीकाले नै उनको आकांक्षालाई हल्का रूपमा लिए । तर, सबैलाई छक्क पार्दै ट्रम्प राष्ट्रपतिको उम्मेदवार भएर जीते पनि । सर्वसाधारणदेखि राजनीतिज्ञसम्म चुनावका बेला मुख बन्द गर्दै ट्रम्पजस्तो अपरिपक्व व्यक्तिलाई राष्ट्रपतिको गरिमामय पदमा जनताले जिताउँदैनन् भनेर ढुक्क भए । तर अमेरिकी जनताको भित्री मन बेग्लै रहेछ । अनि विज्ञहरूका अनुमानलाई विफल बनाउँदै चुनावी नतिजाले ट्रम्पलाई सर्वसाधारण अमेरिकनहरूको समर्थन रहेको देखाइदियो । अर्थात् न ट्रम्प झुक्किएर राष्ट्रपती बनेका थिए न श्वेत उग्रकट्टरपन्थीहरूको समर्थनले मात्र सफल भएका थिए । विश्लेषकहरूका अनुसार कसैले राजनीतिक पृष्ठभूमिभन्दा बाहिरको व्यक्तिले देश चलाएको हेर्न मन लागेर मत दिए त कसैले हिलरी क्लिन्टनलाई मन नपराएर दिए । र, धेरैले ट्रम्पको व्यापारिक पृष्ठभूमिले देशको अर्थतन्त्रलाई सकारात्मक गति दिन्छ कि भन्ठाने । अनि कतिले ८ वर्षको अश्वेत राष्ट्रपतिको शासनप्रति विरोध जनाउन ट्रम्पलाई मत दिए । हुन पनि बाराक ओबामाको कार्यकालमा ट्रम्प ओबामा अमेरिकामा जन्मेका होइनन् भन्ने भ्रम सञ्चार माध्यममा चर्चा गर्नेमध्येका नाइके थिए ।

यथार्थमा ट्रम्प व्यापारिक पृष्ठभूमिमा लुकेका उग्रकट्टरपन्थी र जातिवादी व्यक्ति रहेछन् । उनको २०—२५ वर्षको सार्वजनिक जीवनदेखि राजनीतिमा होम्मिने बेलासम्मका अभिव्यक्तिले ट्रम्पको विभेदवादी सोचको संकेत नगरेका थिएनन् । उनी श्वेत समुदायका स्खलित हुँदै गएको शक्तिको लागि ‘मसिहा’ बन्नपुगेका रहेछन् । वास्तवमा ट्रम्प एक जना ‘विध्वंशकारी’का रूपमा अमेरिकाको राजनीतिमा उत्रिएर वासिङटनको दशकौंदेखि चलेको राजनीतिक यथास्थितिलाई भताभुङ्ग पार्ने मनःस्थितिमा अगाडि बढेका रहेछन् । चाही नचाही विश्वले शक्तिशाली राष्ट्रको राष्ट्रपतिको हैसियतले उनलाई अंगालनु परेको थियो । देशभित्र उनको साथ नभए आफ्नै हैसियत नरहने ठानेर रिपब्लिकन राजनीतिज्ञहरू  ट्रम्पको पुच्छर समातेर राजनीतिको बैतरणी पार गर्न तयार भए । तर ट्रम्पको एकपछि अर्कों निर्णयले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आफू त खिसीको पात्र भए नै उनले राष्ट्रलाई नै विश्वको नेतृत्व पंक्तिमा कमजोर बनाए । अनि रिपब्लिकनहरूलाई आफ्नै पार्टीको राष्ट्रपति पनि बेलाबेलामा निल्नु न ओकल्नु भयो । तर, देखाउनको लागि भए पनि ट्रम्पको समर्थन गरेर बसे । राष्ट्रिय स्तरका पुराना राजनीतिज्ञ ट्रम्पको चर्तिकलाको मुकदर्शक हुनु नै उनलाई हौसला दिएजस्तो भयो । अमेरिकाको जातीय, धार्मिक, सामाजिक अल्पसंख्यकलाई भने ट्रम्प कार्यकाल निराशजनक रह्यो ।

ट्रम्पको राजनीतिक उदयले अमेरिकाले दशकौं अगाडिदेखि फेर्न थालेको काँचुली त्यागेर पुरानै झलक देखाउन थाल्यो । जातीय भेदभावका पक्षधर उग्रश्वेत समुदाय नेपथ्यबाट बाहिर निस्केर बोल्न थाले । त्यसको विरोध गर्नु वा तिनीहरूमाथि कारबाही गर्नुको साटो ह्वाइट हाउस नै उनीहरूको शक्तिको स्रोत र समर्थक हुन पुग्यो । म र मजस्ता अश्वेत र आप्रवासीले अमेरिकालाई आफनो घर अनि आफ्नै समाज झैँ ढुक्कसँग आत्मसात गरेका थियौँ । हामीलाई ट्रम्पको चुनावी दौडको नारा नै घोच्ने थियो । उनको जित पश्चातको नीति र अभिव्यक्ति त झन् घाउमा नुनखुरसानी छर्केजस्तो रह्यो । जुन शैलीले ट्रम्पले राज्य गरे त्यसले देशका अश्वेत, आप्रवासी, मुस्लिम समुदायलाई सधैँ भय र त्राशमा खुम्चिएर जीवनयापन गर्न बाध्य बनायो । 

बाइडन र ह्यरिसको जित र अमेरिकी राजनीतिमा नयाँ मोड 

राष्ट्रपति ट्रम्पले कार्यकालको अन्त्यसम्म आफ्नै पार्टीका पुराना नेतादेखि मतदातासम्मलाई कति धेरै चिढाएका रहेछन् भने उनीहरुले खुलेआम प्रतिद्वन्दी जो बाइडनलाई समर्थन जनाए । डेमोक्रेट पार्टीले ट्रम्पको आप्रवासी, महिला तथा अन्य जातीय र धार्मिक अल्पसंख्यक नागरिकहरूको विरोधमा दिएका अभिव्यक्तिलगायत सम्पन्न वर्गलाई मात्र फाइदा हुने आर्थिक नीतिलाई चुनावी मुद्दा बनाइयो । तैपनि, विज्ञहरूले डेमोक्य्राट पार्टी राष्ट्रपतिदेखि स्थानीय निकायसम्म सजिलै विजयी हुने अनुमान गरेजस्तो परिणाम नोभेम्बर ३ को चुनावमा आएन । राष्ट्रपति पदमा बाइडनले सजिलै जिते पनि उनले पार्टीले सिनेटदेखि स्थानीय निकायमा भने सोचेजस्तो जित हासिल गर्न सकेन ।

बाइडनले ट्रम्पलाई झन्डै साठी लाखको ऐतिहासिक मतान्तरले जिते भने ट्रम्पले पनि २०१६ भन्दा झन्डै १ करोड बढी मत ल्याएर पनि चकित तुल्याएका छन् । एकातिर बाइडन र उनको उपराष्ट्रपतिमा जमैकन र दक्षिण एसियाली मूलको अश्वेत जातको प्रगतिशील विचारधारा बोकेकी महिला कमला ह्यारिसको जितले समाजको संरचनामा आएको परिवर्तनको संकेत गर्दै एकपल्ट फेरि अमेरिकी राजनीतिमा नयाँ उत्साहजनक मोड लिएको छ । अर्कोतिर पूर्वराष्ट्रपति ओबामाले हालै एउटा अन्तर्वार्तामा ट्रम्पले पाएको मतले अमेरिकन समाज अझै कति विभाजित छ भन्ने संकेत गर्छ भनेर चिन्ता व्यक्त गरेका थिए । 

जे भए पनि बाइडनलाई जिताउन यसपटक २०१६ का ट्रम्पका मतदाताको सहयोग मिल्यो । त्यसैगरी ट्रम्पलाई पनि ७ करोडभन्दा बढी मत ल्याउनुको कारण केही मतदाता डेमोक्य्राटलाई छोडेर रिपब्लिकनतर्फ लागेको पनि तथ्यांकले देखाएको छ । मूलतः श्वेत मतदाताको मत परिवर्तनले नै बाइडनले जितेका हुन् । विसं २०१६ मा ट्रम्पलाई भोट दिएका ६५ वर्षभन्दा माथिका वृद्धहरूले एक लाख डलरभन्दा कम आय  भएकाले, उच्चशिक्षा हासिल गरेका र नगरेका श्वेत महिला र पुरुष दुवैले सबै यसपटक बाइडनतर्फ ढलकिएको तथ्यांकले देखाएको छ । 

आज मलाई बाइडनको जितले दिएको हर्षभन्दा यो तीन दशक आफूले आत्मसात गरेको अमेरिकी समाजबाट ट्रम्पले फेरि पाएका मतको संख्याले दुखी तुल्याएको छ । सन् २०१६ को जितका लागि शंका सुविधा दिए पनि यो वर्ष ट्रम्पले पाएको मतसंख्याको कारण बुझ्न मलाई कठिन भइरहेको छ । फलस्वरूप म तीन दशकका साथी र सम्पूर्ण चिनजानका व्यक्तिको सूची आफनो दिमागमा घुमाइरहेको छु । अनि शंकाको दृष्टिले तिनका व्यक्तित्वलाई चिरफार गरिरहेकोछु । तीमध्ये ककसले ट्रम्पलाई भोट दिए होला ? किन दिए होला ? के आज उनीहरुको मप्रतिको दृष्टिकोण पनि मैले भेटेको बेला भन्दा फरक भयो होला ? कतै उनीहरुको मप्रतिको दृष्टि ट्रम्पको जस्तै अभिव्यक्ति सधैँ उस्तै थियो तर ठाडै प्रकट गर्नबाट उनीहरुलाई समाजको मूल्य मान्यताले रोकेको थियो? यस्तो सोचले मेरो मानसपटल भरिएको छ । एउटा भनाइ छ —‘चोर्नेलाई एक पाप, हराउनेलाई सय पाप’ । मेरा चिनजानमा पनि एकाध छन् होला विभेदी र जातीय विभेदको भावना राख्ने । तर, मैले मेरा सारा साथीभाइलाई शंकाको दृष्टिले हेरेर सायद आफैँले पाप बोकिराखेको छु ।

ट्रम्पलाई सन् २०१६ भन्दा अझ बढी भोट दिलाउन अर्को आश्चर्य र निराशजनक तथ्यांक पनि छ । चार वर्षअगाडिको दाँजोमा  यसपल्ल्ट खासगरी दक्षिण अमेरिकी मूल र अन्य ल्याटिनो समुदायको मतका साथै अफ्रिकन अमेरिकनहरूको मतसंख्या पनि ट्रम्पलाई बढेको छ । साथै नेपालीलगायत अन्य दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली मूलका मतदाता पनि ट्रम्प पक्षमा प्रशस्तै छन् । कसरी आफ्नो जात, वर्ण, धर्मलाई रातदिन हियाउने, आफना उग्रकट्टरपन्थी समर्थकलाई उक्साएर विभेदकारी अभिव्यक्ति र व्यवहारलाई बढावा दिने व्यक्तिलाई समर्थन गर्ने ? कसरी आफूजस्तै अमेरिकन सपनाको खोजीमा जानेलाई मनपरी भनेको सुनीसुनी पनि समर्थन गर्ने ? के नगरिकता फेर्दैमा आफ्नो इमान, नैतिकता र स्वाभिमान पनि छाड्नुपर्छ र ? यो मैले कहिल्यै बुझ्ने छैन र तिनीहरूप्रति मेरो सहानुभूति पनि रहनेछैन । 

वास्तवमा मैले अमेरिका चिनेको रहेनछु । मैले श्वेत अमेरिकालाई चिनेको रहेनछु भने आप्रवासी भएर गएका नयाँ अश्वेत अमेरिकीलाई त झनै चिनेको रहेनछु । (समाजशास्त्री )  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC