site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहमतिको ढोका बन्द भइसक्यो, महासंघमा मेरै आवश्यकता छ
Ghorahi CementGhorahi Cement

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनसहितको साधारणसभा बिहीबारदेखि तीनदिनसम्म काठमाडौंमा हुँदैछ । चुनावीसभासमेत भएकाले वरिष्ठ उपाध्यक्षदेखि केन्द्रीय कार्यसमितिका उमेदवार मत आ–आफ्नो पक्षमा लाग्न लागि परेका छन् ।  वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको चुनावमा केन्द्रित रहेर वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

महासंघको साधारणसभा बिहीबारदेखि हुँदैछ । निर्वाचन पनि हुने भएकाले तपाईँ जिल्ला पुगेर पनि फर्किसक्नुभयो । प्रचारप्रसारका क्रममा जिल्ला जिल्लामा जाँदा तपाईँप्रति महासंघ प्रतिनिधिको प्रतिक्रिया कस्तो पाउनुभयो ?

मेरो बेस नै जिल्ला हो । जिल्लाबाट नै नेपाल उद्योग वाणिज्य महासंघको क्रियाकलाप सुरु गरेको हो । जिल्ला, त्यतिबेलाको क्षेत्रीय उद्योग वाणिज्य संघको अध्यक्ष, महासंघको केन्द्रीय सदस्य हुँदै महासंघमा २८ वर्ष यात्रा पूरा भएको छ ।  यो यात्राको सुरुवात स्वर्गीय महेन्द्र गोल्छाको प्रेरणाबाट भएको हो । स्वर्गीय महेन्द्र गोल्छा शेखर गोल्छाको दाजु हुनुहुन्थ्यो । उहाँको सपना मलाई उद्योग वाणिज्य महासंघको अध्यक्ष बनाउने थियो, त्यो उहाँको सपना साकार बनाउन हामी अगाडि बढेका छौं । 

Agni Group

भ्रमणका क्रममा सबै जिल्लाका १ सय ६ वटा जिल्ला तथा नगरका साथीहरुलाई भेट्दा असाध्यै मप्रति प्रेम, सद्भाव, लगनशीलताको सम्मान, आत्मियता देखाउनुभएको छ । जिल्ला भ्रमणबाट उत्साहित भएर आएपछि मेरो अभियानलाई तीब्रता दिएको हो । मलाई विश्वास छ जिल्लाका मित्रहरुले मलाई यसपटक जसरी पनि निर्वाचित गराउनुहुनेछ । त्यसमा वस्तुगत तथा एसोसिएटका साथीहरुको योगदान पनि रहन्छ र म उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुन सफल हुन्छु । 

प्रचारप्रसारका क्रममा जिल्लामा जाँदा त जिल्लाका उद्योगी व्यवसायीले दुबैलाई स्वागत गरेका छन् । स्वागत गरेकै र सभामा उनीहरु पुगेकै आधारमा भोट दिन्छन् भन्ने हुन्छ र ?

Global Ime bank

स्वागत गर्ने फरक–फरक तरिका हुन्छ । मेरो अनुभवमा मलाई मनैदेखि स्वागत गर्नुभएको छ । मलाई सम्मान गरेको स्थितिलाई नजिकबाट हेरेको छु । म उद्योगी व्यवसायी साथीहरुलाई भेट्न ढोका ढोकामा पुगेको छु । एकै ठाउँमा भेला पारेर सभा गरिनँ । जनकपुर र नेपालगञ्जमा भने गरेको थिएँ । सुरुवातको आत्मीयता मैले अर्कै किसिमको पाएँ जुन आत्मीयता साथीहरुले भित्रैबाट गर्नुभएको हो । उद्योग वाणिज्य महासंघको पदाधिकारी हो, त्यसैले स्वागत गर्नुपर्छ भन्नु र भित्रैबाट स्वागत गर्नु फरक हुन्छ । 

जसरी मलाई साथीहरुले स्वागत गर्नुभयो त्यो आत्मीय स्वागत थियो, मेरा लागि अविष्मरणीय हुन्छ र छ । त्यसैले म उद्योग वाणिज्य महासंघमा जिल्लादेखि केन्द्रसम्म २८ वर्षसम्म गरेको सेवाको प्रतिफल दिन साथीहरुले भित्रैबाट मलाई स्वागत गर्नुभएको हो । 

महासंघमा गइसकेपछि हाम्रो कुरा नै सुनिएन भन्ने गुनासो उद्योगी व्यवसायीको रहँदै आएको छ । यसपटक पनि त्यस्तो गुनासो धेरै सुनिएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको कुरा केन्द्रले किन सुन्दैन ? यो व्यवसायीहरुको आरोप मात्रै हो वा वास्तविकता नै हो ?

विगत १०–१२ वर्ष अर्थात तीन–चारवटा कार्यकालबाट यस्तो कुरा सुरु भयो । अहिले यसले बृहत रुप लियो । पहिला जिल्लाका समस्या आउँदा निराकरण गर्ने व्यवस्था थियो । तर, केहीवर्ष अगाडि महासंघमा राणाकालको जस्तो शासन सुरु भयो ।

प्रधानमन्त्री एउटा तर शासन गर्ने अर्कैले जस्तो । जब उद्योग वाणिज्य महासंघमा यस्तो सुरु भयो तबदेखि जिल्ला, वस्तुगतका समस्या सुन्ने कुरामा ह्रास आयो । नसुनिने नै भनेको होइन तर जिल्लाका समस्याहरुलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्यो । र, ठूला ठूला उद्योगी व्यवसायीका समस्यालाई प्राथमिकता दिने वातावरण तयार भयो । त्यसले गर्दा जिल्लाका साथीहरुको त्यो गुनासो छ । त्यसैले जिल्लाकै नेतृत्वबाट आएको मान्छे भएर म अगाडि बढेको हो । 

विगतका ३–४ वटा कार्यकालमा अधिकांश एसोसिएट सदस्यका व्यक्तिहरुले नेतृत्व गर्नुभयो । ती व्यक्तिहरुलाई नेतृत्व दिलाउन सहयोग गर्नेहरु नै महासंघमा हावी भएर महासंघको क्रियाकलापमा अवरोध पैदा गर्ने प्रवृत्ति बढ्यो ।  जसले गर्दा स्पष्ट रुपमा काम देखाउन सकेनौं । नेतृत्वले गर्न सक्ने क्षमता हुँदाहुँदै पनि बाधा अड्चन भएको कारणले कुनै पनि हालतमा हुन सकेन । 

त्यसैले साथीहरु दुःखी हुनु स्वाभाविक हो । १०–१२ वर्षमा समस्या समाधान हुन नसके पनि साथीहरुले यसलाई बृहत रुपमा लिनुभयो । सोही कारणले नेपाल चेम्बर अफ कमर्स छुट्टिएर गयो ।  केही वस्तुगत संघहरुले महासंघ आफैँ खोल्नुभयो । हामीले सेवा गर्न सक्ने क्षमतालाई बृद्धि नगरेर शासन गर्ने क्षमताको बृद्धि जुन ग¥यौं त्यस कारणले महासंघलाई कमजोर बनाउने काम भयो ।

काम नभएपछि त समस्या जहाँको त्यहीँ रह्यो । त्यसैले यो प्रवृत्तिलाई पूर्णरुपमा नयाँ आयामबाट सुरु गर्न र त्यसमा जिल्ला तथा नगर, वस्तुगत र एसोसिएटका सम्पूर्ण समस्याहरुलाई वान डोर सिस्टमबाट तुरुन्तै समाधान गर्ने प्रवृत्ति हामीले बनाउन खोजेका छौं ।  नयाँ नेतृत्वले महासंघलाई नयाँ कार्यदिशा दिनुहुन्छ । साथीहरुको समस्या समाधान गर्नेतर्फ आगामी नेतृत्व अगाडि लाग्छ । जिल्ला नगर, वस्तुगत र एसोसिएटका समस्या समाधान गर्न प्रयासरत रहन्छौं । 

तपाईँले मैले सबै उद्योगी व्यवसायीको समस्या, गुनासो सुन्छु भन्नुभएको छ । निर्वाचित भएर गएपछि तपाईँले उहाँहरुको कुरा सुन्नुहुन्छ भनेर कसरी आश्वस्त पार्न सक्नुहुन्छ ?

हाम्रो ‘प्रेसिडेन्सीयल रुल्स अफ अर्डर’ बाट चल्ने संस्था हो । महासंघको यही मान्यताको विधानअनुसार संस्था चलेको हुनाले जो अध्यक्ष हुन्छ, सुधारको लक्ष्य निर्धारण गर्छ ।  सुधार गर्ने क्रममा कतिले सुधार गर्न सक्छ कतिले सुधार गर्ने प्रयासमा सफलता हासिल हुँदैन ।  जस्तो अमेरिकी राष्ट्रपति ट्रम्प किन हारेभन्दा जे एजेण्डा अगाडि सोरका थिए त्यो एजेण्डा सफल हुने भएन । 

हामीले पनि विगतका वर्षमा लगेको एजेण्डामा सफल हुन सकेनौं । भोलि महासंघको अध्यक्ष भएर शेखर गोल्छा बस्दै हुनुहुन्छ, उहाँले भिजन डकुमेन्ट ल्याउँदै हुनुहुन्छ ।  नेपाल उद्योग परिसंघ, वस्तुगत संघहरु, नेपाल चेम्बरलगायत सबै निजी क्षेत्र, पूर्वअध्यक्षहरुको पनि सहमति लिएर निजी क्षेत्रको भिजन डकुमेन्ट बनाउँदै हुनुहुन्छ । 
हामीले त्यसको अनरसीप लिइसकेपछि सरकारसँग पनि सहकार्य गर्न गृहकार्य गर्छौँ । 

सोही आधारमा उद्योगी व्यवसायीको हकहितको लागि परिणाम ल्याउने गरी हामी अगाडि बढ्छौं । परिवर्तन अति आवश्यक छ । अहिलेको नेतृत्वले त्यो परिवर्तन गर्ने आभास दिइ पनि सकेको छ । उहाँले ठुलो चुनौती लिने कोसिस गर्नुभएको छ, उहाँलाई साथ दिन हामी अगाडि बढेका छौं । 

उद्योग वाणिज्य महासंघ जसरी प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने थियो, सरकारसँग नेगोसिएयन गर्न सक्नुपर्ने थियो, गर्न सकेको नसकेको, निजी क्षेत्र एक भएर अगाडि बढेन भन्ने गुनासा उद्योगी व्यवसायीबाटै आएका छन् । सरकारसँग सही रुपमा ट्याकल गर्नको लागि पनि उद्योग व्यवसायमा सफल व्यक्ति आवश्यक छ तर त्यसमा तपाईँमा कमजोरी छ भन्ने आरोप छ, के भन्नुहुन्छ ? 

सफलताको कडि नाप्ने अधिकार कसलाई छ ? मैले त मजस्तो सफल व्यवसायी कोही पनि छैन भन्छु । आफ्नै कर्मको सफलतालाई मात्रै सुखको आभास गरेको छु । सफल भनेको के हो ? मेरो अगाडि करोड–१० करोड राखेको मान्छे मात्रै सफल हो ? आफ्नो व्यवसायसँग सन्तुष्ट भएका व्यक्ति नै सफल हो । चाहे त्यो पान पसले किन नहोस्, चाहे मोटरसाइकल बनाउने टेक्निसीयन, चाहे किराना पसल किन नहोस् । त्यसमा त्यसको सुख देखिन्छ भने उ सफल हो । 

चना बेच्ने व्यापारी होस् अथवा पान पसले किन नहोस् उ त्यसैमा सन्तुष्ट छ तर असफल कसैले भन्छ भने त्यो पनि असफल नै हो ।

मलाई त आश्चर्य लाग्छ, वास्तविक उद्योगी भनेको के हो ? मसँग धेरै पैसा छ, मसँग दुई–तीनवटा बैंक छ भने मात्रै वास्तविक उद्योगी ? कुनै व्यापारीको ऋण छैन, कसैलाई दिनु छैन भने त्यो अवास्तविक व्यापारी हुन्छ त ? यस्तो नजरले हेर्नुभएन ।

विगतमाजस्तो यसपटक पनि महासंघमा दुईवटा प्यानल बनेको छ । तपाईँको जीतको आधार के हो ?

मेरो जीतको आधार प्रशस्त छ । मेरो जीतको आधार भनेको मेरो संलग्नता हो । २८ वर्षसम्म संस्थालाई दिएको बलिदान हो । सम्पूर्ण उद्योगी व्यवसायीको मनमा बसेको नै मेरो जीतको आधार हो । म सबैको आत्मामा बसेको छु । म इमान्दार, निष्ठावान र कर्तव्यनिष्ठ भएर महासंघमा सेवा गरेको छु, मेरो कुनै स्वार्थ छैन । मैले आजसम्म निस्वार्थ भावनाले सेवा गरेको छु । 

सोही कारण वर्तमान अध्यक्ष, हुनोवाला अध्यक्षसहित सबै पूर्वअध्यक्षहरु मेरोतर्फ खडा हुनुभएको छ । सबै उद्योगी व्यवसायीले किशोर प्रधानको योगदान, अनुभवलाई क्यास गर्नुपर्छ भन्नु भएको छ । 

जहिले पनि महासंघले सरकारसँग प्रतिपक्षिको भूमिका खेल्ने आँट गर्नुपर्छ । राम्रो कुरालाई समर्थन गर्ने र उद्योगी व्यवसायीको अहित कुराको विरोध गर्ने क्षमता राख्ने व्यक्तिको रुपमा मलाई साथीहरुले हेर्नुभएको छ । सबै क्षमता मसँग भएकाले म भारी परेको छु । उद्योगी व्यवसायीमार्फत तपाईँहरुले बुझ्नुहोस्, को भारी छ भनेर । 

महासंघलाई एक बनाउन आवश्यक छ, त्यसैले सहमतिका आधारमा अगाडि बढ्नुपर्छ भनेर पूर्वअध्यक्षहरुले सहमतिको प्रयास पनि गर्नुभएको थियो । अब सहमतिको सम्भावना सकिएको हो ?

पूर्वअध्यक्षहरुले सहमति प्रयास गरिरहँदा पनि मेरो एउटै जवाफ थियो कि नेपाल उद्योग वाणिज्य महासंघको मर्यादाको लागि मबाट कुर्वानी भएर यसको सम्मान बृद्धि हुन्छ भने त्यसमा म कहिले पनि पछि हट्दिन भनेर ।  यो कुरा मैले बारम्बार अन्तर्वार्तामा भनेकै हो । तर मेरा प्रतिपक्षी साथीको एउटै कुरा के रह्यो भने म धेरै अगाडि बढिसकेको छु भन्ने । 

केही दिनअघि मात्रै अन्तिम प्रयास महासंघको अध्यक्षले गर्नुभएको थियो । हामी लामो समय छलफल ग¥यौं । मैले त्यो बेलामा पनि भनेको थिएँ सहमति बोलेर मात्रै हुँदैन, सहमति गर्नको लागि अधिकार दिनुपर्छ । अध्यक्ष वा पूर्वअध्यक्षहरु जसले सहमतिका लागि नेतृत्व लिन चाहन्छ त्यसलाई हामीले अधिकार दिनुपर्छकि तपाईँहरुले गरेको निर्णय हामीलाई मान्य छ भनेर ।

तपाईँ बस्नैपर्छ तर म बस्दै बस्दिनँ भनेपछि कसरी सहमति हुन्छ ? सहमतिको आधार बनाउनुहोस् हामी दुईजनाले लेखेर देऊ, उहाँहरुको निर्णयलाई हामीले मानौं भनेको थिएँ । तर, त्यसमा सहमति हुन सकेन ।  सहमतिको ढोका ९९.९९ प्रतिशत बन्द भइसकेको छ । 

महासंघलाई तपाईँ किन आवश्यक छ ?

महासंघलाई म किन आवश्यक हो भने मेरो नेतृत्वले मलाई सफल र सक्षम ठानेर अगाडि बढाउनुभयो, त्यसैले म आवश्यक छु । सफल र सक्षम बनाउने आधार के थियो भने मैले २८ वर्ष महासंघमा निस्वार्थ भावनाले काम गरेको हुनाले महासंघलाई आवश्यकता छ ।  यसअघि केन्द्रीय सदस्य हुँदा विभिन्न ५ वटा समितिको सभापति भएर काम गरेँ । त्यो बेलामा कानुनमा नेपालको कानुनअनुसार विधी स्थापना गरेँ । सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याउँदा त्यस बेलाको समिति सभापति थिएँ । 

त्यसलाई सरकारको नीतिमा समावेश गराएँ । अर्को स्थानीय आर्थिक विकास समिति सभापति बनेँ ।  त्यसबेलामा पनि नेपाल सरकारको कानुनमा स्थानीय आर्थिक विकासलाई जिल्ला उद्योग वाणिज्य संघसँग समन्वय गरेर कसरी अगाडि बढाउन सकिन्छ भनेर कानुनमा त्यसको स्थापना गराएँ ।

नेपालमा पहिलोपटक विजनेश फोरम स्थापना गर्न भूमिका खेलेँ । त्यसको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । महासंघको दुईपटक उपाध्यक्ष हुँदा अध्यक्षलाई निस्वार्थ भावनाले सहयोग गरेको कारण नै मेरो दक्षता प्रमाणित भएको छ । सोही कारण म महासंघमा आवश्यक छु ।  गएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा हारेको थिएँ । त्यो बेलामा एक वर्षसम्म जिल्लातर्फको उपाध्यक्ष पद खाली हुन पुग्यो ।

त्योबेलामा हालको अध्यक्षले महासंघको लागि तपाईँ आवश्यक छ भनेर भन्नुभएको थियो । आग्रह गरेर मलाई उपाध्यक्षमा ल्याउनुभयो । अध्यक्ष बनाउन भूमिका खेल्छौं पनि भन्नुभएको थियो । 

अहिले वर्तमान अध्यक्ष खरो रुपमा मेरो पक्षमा हुनुहुन्छ । तर, त्यसबेलाका विशिष्ट सदस्यले आफ्नो बाचा तोड्नुभयो । महासंघमा मेरो आवश्यकता छ भन्ने महसुस गरेर नै साथीहरुको मन जित्ने प्रयास गरेको हुँ । वरिष्ठ उपाध्यक्षको म कडा दाबेदार हुँ र जीत पनि मेरो निश्चित हुन्छ भन्ने विश्वास छ । 

साधारणसभामा आउने देशभरका उद्योगी व्यवसायीलाई तपाईँ के भन्न चाहनुुहुन्छ ?

तपाईँमार्फत मेरा सबै मतदातालाई एउटै कुरा भन्न चाहन्छु । यो साना तथा मझौला उद्योगी व्यवसायीका लागि ठूलो अवसर हो । जसले आफ्नो लेबलको व्यक्तित्वलाई नेतृत्वमा पुर्‍याउने अवसर कुनै पनि हालतमा नगुमाउनुहोस् । आज पनि त्यहाँ गएँ भनेँ तपाईँहरुका लागि पनि ढोका खुल्छ । 

अहिले आफ्नो मनको कुरा सुन्नुभएन, आफ्नो आत्माको कुरा सन्नुभएन र गलत निर्णय गर्नुभयो भने त्यसको परिणाम आउने पुस्ताले बेहोर्नुपर्छ । जिल्लाको अध्यक्ष भएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुने इच्छामा अरुको कब्जा छ । 

५४ वर्षको इतिहासमा एक जनालेबाहेक अरुले कब्जा गरेको छ । त्यसैले अहिले आएको मौकालाई छोड्यो भने जिल्ला तथा नगरका साथीहरुले फेरि ५४ वर्षसम्म कुर्नुपर्छ । त्यसैले आफ्नो बाटो खोल्नुहोस् । जिल्ला, वस्तुगत, एसोसिएटले मिलिजुली काम गरौं । र, आर्थिक विकासका लागि सबै लागौं भन्ने मेरा साथीहरुलाई मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC