site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाल क्रूद्ध !
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही महिनाअघि माधव नेपालको कोटेश्वरस्थित निवासमा पुग्दा नेकपाभित्रको विवाद सदाबहार थियो ।  दुईतिहाइ जनताको मतको प्रतिनिधित्व गरेको छ, सरकारको नेतृत्व गरेको छ, तर पार्टी विवादबाट बाहिर निस्कन सकेको छैन ।

नेकपा बनेर धुम्बाराही र पेरिसडाँडामा पसेदेखि विवादको धुवाँ पुतपुताएको पुतपुतायै छ । नागरिकहरू कोभिड–१९ को कहरबाट ताडित–प्रताडित छन् । त्यसले सिर्जना गरेको त्रासदीमा छन् । तर, पार्टी सदस्यहरू कहाँ छन्, उनीहरूलाई परिचालन गर्ने योजनाबारे नेकपाले सोच्न सकेन । यसबीचमा पार्टीका सङ्गठित सदस्यहरूमात्र होइन केन्द्रीय नेताहरू नै बेरोजगार भए । पार्टी विधान, नियमावली, कमिटीका निर्णयहरू बेवारिसे बन्न पुगे ।

यी सबैको पीडा–आक्रोश नेता नेपालको अनुहारमा प्रस्ट देखिन्थ्यो । उनी भन्दै थिए, “पार्टी कार्यालयमा, कमिटीमा मात्र होइन कागजमा पनि भएन । पार्टी चल्दै चलेन । नेकपा बनाउनै सकिएन ।”

Prabhu Bank
Agni Group
NIC Asia

पार्टीको पहिलो वरीयताका अध्यक्षमुनि तीन–तीनजना पूर्वप्रधानमन्त्री छन् । झण्डै आधा दर्जन उपप्रधानमन्त्री छन् । एक निर्देशनमा देशभरि परिचालित हुनसक्ने सङ्गठित जमात– शक्ति छ । प्रशिक्षित पंक्ति छ ।  तर, पनि नेकपा पार्टी, कमिटीविहीनजस्तो बन्न पुग्यो । पक्षघात भएर थलिएको बिरामीजस्तो भयो ।

पार्टी, सरकार सम्हालिसकेकाहरूसँग ओलीले सल्लाह लिन अनुचित ठाने । 

Global Ime bank

पार्टी कमिटीको निर्णयको अवमूल्यन–अवज्ञा भयो, भयो । प्रधानमन्त्रीको नजरमा वरिष्ठ नेताहरू पनि मूल्यविहीन भए । नेपाल सुनाउँदै थिए, “हामी (झलनाथ खनाल र माधव नेपाल) केपी ओलीका नेता हौं । कार्यकर्ताजस्तो व्यवहार भयो । बैठक डाक्न सहमति दिनूस् भन्दा तोक लगाइदिन्छु भनेर अपमानित गर्नुभयो । अहिले पार्टीमा अराजकता बढिरहेको छ । जे मन लाग्यो त्यही बोल्ने, गर्ने प्रवृत्ति बढेको छ । तर, हामीजस्ता नेताहरू गुनासो गरेर बसिरहेका छौं । गतिहीन पार्टीले मुलुक र आन्दोलनको नेतृत्व गर्न सक्छ ? गतिहीन भएपछि त ओह्रालो लाग्न सुरु भइहाल्छ नि !”

२०७४ को निर्वाचनलगत्तै भेट्दा माधव नेपालको अनुहारमा भेट्दा विछट्टै ऊर्जा थियो । जस्तोसुकै सम्झौता गरेर, मूल्य चुकाएर भए पनि माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा उनी थिए । “पार्टी एकता हुन्छ भन्ने विश्वासमा जनता छन् । प्रचण्डलाई जसरी हुन्छ मनाउनुपर्‍यो नि !,” बाह्रखरीसँगको कुराकानीमा यही भनेका थिए ।

अहिले त्यो ऊर्जा शून्यमा झरेको छ । “कम्युनिस्ट आन्दोलन झन् बलशाली बन्ला, सरकारले चित्तबुझ्दो ढङ्गले काम गर्ला भन्ठान्यो पार्टी फुट्ला भनेर थर्कमान हुनुपरेको छ, यस्तो अवस्थामा हामी पुग्यौं,” उनी पीडा पोख्दै थिए ।

मदन भण्डारीको देहावसानपछि नेपाल–ओली सम्बन्धको बेग्लै उचाइ थियो । मदनकै नियति बेहोर्नुपर्ला र पार्टी नेतृत्व रिक्त होला भनेर एउटै गाडी, जहाजमा चढ्दैनथे । अहिले मुस्किलले बोलचाल हुन्छ ।  पार्टी, आन्दोलनमा गम्भीर समस्या देखा परेका छन् । पार्टीभित्र सन्तुलनकारी छवि बनाएका नेता नेपालसँग समाधानका उपाय हुनसक्छन् । ओलीलाई सुझाव दिँदै आएका पनि छन् ।

तर, अहिले नेपालको मन मुर्झाएको छ । 

ओली–प्रचण्ड मिल्दा पार्टी गतिशील हुन्छ, चलायमान हुन्छ र एकता बँच्छ भन्ने भ्रम टुटिसकेको छ । र, समाधानको विधि यो होइन भन्नेमा सदाझैं निर्भीक छन् ।

बाह्रखरीसँगकै कुराकानीमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले भनेका थिए । सङ्कटका बेला नेता नेपालको सन्तुलनकारी, समन्वयकारी छवि मुखर हुन्थ्यो । उद्घाटित हुन्थ्यो । यसपटक त्यो देखिन पाएको छैन । बरु उहाँलाई प्रचण्डकै कार्यकर्ता बन्न रहर देखिन्छ ।

ओलीनिकट अरू नेताहरू पनि माधव नेपालसँग क्रूद्ध छन् । “प्रचण्डरूपी मुङ्ग्रोले ओलीलाई ठेगान लगाउन पाए, पार्टी सत्ता आफ्नो हातमा लिन पाइन्थ्यो भन्ने अभिप्सा जागेको छ । त्यसले नेता नेपालको सन्तुलनकारी छवि निलिदिएको छ,” ओलीनिकट नेता भन्छन् ।

तर, नेता नेपाल ओलीसँग यसै क्रूद्ध भएका होइनन् । ओलीले अविच्छिन्नरूपमा किनारमा धकेलेकाले नेपालको मन मर्दै गएको उनीपक्षको बुझाइ छ । “पार्टीभित्र उहाँले अपमानको विष धेरै पिउनुभयो । केपी ओलीका सय दुर्वचन, गालीलाई माफ दिएकै हो । एक सय एक अपमान त कृष्णले पनि सहेका थिएनन्,” नेता नेपालनिकट एक नेता भन्छन् ।

ओलीप्रति नेपालको आक्रोश एकतालगत्तै झाँगिन थालेको देखिन्छ । पार्टी एकताका बेला बसेको बैठकले केन्द्रीय सदस्यमा सोभियत ढकालको नाम सर्वसम्मत स्वीकृत गरेको थियो । अनेरास्ववियुको जनकपुर महाधिवेशनमा अध्यक्षमा पराजित ढकाल एमालेको नवौं महाधिवेशनका बेला झिनो मतले केन्द्रीय सदस्य बन्नबाट रोकिएका थिए । नेपाल पक्षले त्यसलाई हार मानेको छैन । बरु ‘हराइएको’ बताउँदै आएको छ ।

एकताका बेला नेपाल गुटको भएकै कारण बैठकले सर्वसम्मत निर्णय गरेको ढकालको नाम केन्द्रीय सदस्यबाट काटिदिएको उनीहरूको आरोप छ । यतिले मात्रै ओली–नेपालबीच कटुता बढेको होइन । चुनावपछि गठबन्धनले प्रदेशका मुख्यमन्त्री बाँडे । एमालेको भागमा ४ वटा र माओवादी केन्द्रका भागमा २ वटा पर्‍यो ।

ओलीले एमालेको भागमा परेको मुख्यमन्त्री एकलौटी लिए ।  वरीयतालाई आधार बनाएको भए एक र तीन निःसन्देश नेपालको भागमा पर्थ्यो । तीनमा अष्टलक्ष्मी शाक्यलाई अपमानजनक तरिकाले हराइयो । एकमा पनि बन्न दिइएन । यसको तुष नेपालमा बाक्लै देखिन्छ । गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्रीलाई इन्चार्जको पनि जिम्मेवारी दिएपछि नेपाल थप क्रूद्ध हुन पुगे । स्थायी कमिटी सदस्यहरूलाई अनौपचारिकरूपमा बोलाएर असन्तुष्टि राखे ।

जिल्ला तहको कमिटी एकीकरणमा पनि वरीयतालाई, वरिष्ठतालाई मापदण्ड बनाएको भए नेपाल पक्षले उल्लेख्य सङ्ख्या पाउँथ्यो । तर, ओलीले नियतवश नाम काटेको नेपाल पक्षको दुःखेसो छ ।

कमिटीमा विधि–पद्धतिको बारम्बार उल्लङ्घन भएपछि तीनपटक नेता नेपालले ‘नोट अफ् डिसेन्ट’ लेखे ।

“सहमतिका नाममा निरन्तर पेलानमा परेपछि उहाँसँग यसबाहेक कुनै विकल्प थिएन । सहमतिमा निर्णय गर्ने भनेपछि नेता नेपालको विमतिमा पनि निर्णय हुन सक्दैनथ्यो । सचिवालयमा त्यस्तो भएन, बहुमतको बलमा धेरैपटक निर्णय भएको छ । तर, नेपालले असहमतिका बुँदा लेखेर त्यसमै चित्त बुझाउँदै आउनुभएको छ,” नेपालनिकट नेता भन्छन् ।

यसपटक के गर्लान् नेता नेपाल ?

२०७६ पुस २३ गते भैंसेपाटी गठबन्धनको उदय हुनुअघिदेखि नै नेता नेपालले प्रचण्डलाई दर्बिलो साथ दिँदै आएका छन् । २०७५ मङ्सिर २९ गतेबाट सुरु भएर पुस १३ गते सकिएको तेस्रो स्थायी कमिटी बैठकमै उपाध्यक्ष वामदेव गौतमले ओलीलाई एक पद छाड्न दबाब दिएका थिए । त्यतिवेला उपाध्यक्ष गौतम एक्लो भए । 
अन्ततः माधव नेपाल पनि एक व्यक्ति एक मुख्य जिम्मेवारीको वैधानिक मान्यतामा दह्रो अडान लिएपछि गएको मङ्सिर ४ (२०७६) गते प्रचण्डले कार्यकारी अध्यक्षको अख्तियारी पाए ।

बरु प्रचण्डले बेलाबखत नेता नेपाललाई धोका दिँदै आएका छन् । ओलीले पनि प्रचण्डसँग सहमति भए पुग्ने ठान्ने, प्रचण्डले पनि त्यसमा मुन्टो हल्लाउँदा नेपाल कर्नरमा पर्दै आएका छन् । यसपटक प्रचण्डले धोका नदिऊन् भन्नेमा नेपालसहित बहुमत सचिवालय सदस्य सचेत देखिन्छन् । पार्टी, सरकार सञ्चालनका असहमतिहरू लिखित रूपमा सचिवालयमा पेश गर्न र तल्ला कमिटीमा पठाउन सके ओली–प्रचण्ड मिल्ने अवस्थाको अन्त्य हुन्छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।

“माधव नेपाल यो बीचमा ओलीबाट सबै पीडित, प्रताडित बन्नुभयो, अपमानित हुनुभयो । तर, उहाँ कहिल्यै पनि पार्टी विधिको दायरा नाघ्नु भएन,” नेपाल निकट स्रोत भन्छन्, “त्यो कुरा अरूले मान्नुपर्‍यो नि । सहमतिबाटै निर्णय हुन्छ भन्ने मान्यता ओली–प्रचण्डले नै खारेज गरिसक्नुभएको छ । बहुमतबाटै निर्णय हुँदै आएका छन् ।”
पार्टी एकताका लागि प्रचण्ड र माधव नेपालले आवश्यक त्याग गर्दै आएका छन् । पार्टी एकताका बेला ओली–प्रचण्डबीच आलापालोरूपमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । पार्टी कमिटीका बैठकको अध्यक्षता पनि आलोपालो नै गर्ने सहमति थियो ।

बीचमा सरकार फेर्दा अस्थिरतालाई प्रश्रय दिएजस्तो हुने ठानेर प्रचण्डले छाडे । नेपालले पनि आफ्नो मत असहमतिकारूपमा दर्ज गरेर पार्टी निर्णय कार्यान्वयनमा साथ दिँदै आएका छन् ।

यसपटक त्यागको पालो केपी ओलीको रहेको उनीहरूको बुझाइ छ । र, त्यो दस्तावेजमै उल्लेख गरेर बहसमा पठाइसकेका छन् ।

“गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पनि ओली सुध्रने अपेक्षा गरेको थियो । सहमतिका आधारमा केपी ओली नसच्चिने भएपछि अब प्रक्रियतागत (बहुमतीय विधि)बाट केपी ओलीलाई सुधार्ने अभियानमा प्रचण्ड–माधव नेपालहरू हुनुहुन्छ ।”

यसो गर्दा पार्टी टुक्रिँदैन ? एकता भत्कँदैन ?

यो प्रश्न माधव नेपालले गत साउन ९ गते नै प्रस्ट पारिसकेका छन् ।

साउन ९ गते पुष्पलाल मित्रता केन्द्रले तुलशीलाल स्मृति भवनमा आयोजना गरेको कार्यक्रममै नेता नेपालले ‘कोही चोइटिएर जान सक्ने तर कम्युनिस्ट पार्टी नफुट्ने’ बताइसकेका छन् । नेता नेपाल अहिले पनि यस मान्यतामा अडिग छन् । कहिलेकाहीँ नेपाल पक्षका नेताहरू २०५७ सालको एउटा घटना सुनाउँछन् ।

“त्यतिबेला पार्टी स्थायी कमिटीको बैठक चल्दै थियो । केपी ओली कड्किएछन्– विधानबाट ‘साम्यवाद’ किन हटाइयो ? महासचिवले राजीनामा दिनुपर्छ । विधानलाई अन्तिमरूप दिएर छाप्ने जिम्मा विष्णु पौडेलले पाएका रहेछन् । प्रकाशित भएर आउँदा ‘साम्यवाद’ शब्द मेटिएछ,” नेपालनिकट एकजना नेता २०५७ सालतिर फर्कन्छन्, “बैठकमा राजीनामाको कुरा आएपछि नेपाल सामु नैतिकताको प्रश्न खडा भयो । हतारहतार राजीनामा लेखेर बैठकमा पेश गरे । स्थायी कमिटी सदस्यहरूले हैन, हैन भैगो भनेपछि थामिए । नेता नेपालले अहिले त्यो राजीनामा पत्र सुरक्षित राखेका छन् ।”
ओलीले अहिले यस्तै नैतिकता देखाउनुपर्ने नेपाल पक्षको बुझाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC