बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग जैसी बाहुनको विज्ञप्ति ! मुक्ति गौतम
NMB Bank
NMB Bank
बाह्रखरी - बुधबार, मंसिर १०, २०७७
Laxmi Bank
Laxmi Bank

म सानो बेलाका धेरै कुराहरू सम्झिन्न । कहिले दिक्क लाग्छ यिनै कुराले । आफ्नो घर, कोठा, बारी, भान्छा, अथवा घर वरिपरिको सबै परिवेश अहिले सम्झिन मन लाग्छ । साथीहरू, आफ्नो गाउँ, बच्चा बेलाको आफ्नो लजाउने स्वभाव, दौडेको बाटो, उक्लिएका रमाइला डाँडाहरू, सबै सबै फेरि अनुभूत गर्न मन लाग्छ । आमाको काख र पिठ्यूँ, बामे सरेको आँगन, बाको काँध, दिदीको माया, पढ्न गएका दाइ फर्किदा आमासँगैको प्रतीक्षा, अरू कति कति । सायद कोही भाग्यमानीले सम्झिँदा हुन् सबै घटना र रमाउँदा हुन् विगतका मीठा सम्झनामा । 

तर केही कुराहरू भने म सम्झिन्छु प्रस्टसँग । मलाई आफूभन्दा ठूलाहरुले ‘काले’ भनेर बोलाउने कुरा र मलाई मन नपर्ने त्यो शब्द मेरो कानमै झुन्डिएको छ । म काले भएको हीनभावना मसँग पछिसम्म थियो । र, अर्को त्यत्तिकै मन नपर्ने या मलाई चित्त दुखाउने विषय चाहिँ आफू जैसी हुनुको थियो । हाम्रा बाजेहरूमा मेरा बाजे जेठा हुनुहुन्थ्यो र उहाँले जैसीको छोरी बिहे गरेका कारणले हामीमात्र जैसी थियौँ । बाजेका अरू भाइका सन्तान उपाध्याय र आफू जैसी भएकोमा कता कता नमज्जा लाग्थ्यो मलाई । मैले वास्तविक अर्थ नबुझेरै पनि त्यो नमज्जा मान्नको कारण के थियो होला ? मैले बुझ्न थालेदेखि जातभातको कुरामा विश्वास त गरिन तर त्यसको असर भने विभिन्नरूपमा अझै महसुस हुन्छ मलाई । 
विभेद, घृणा, पूर्वाग्रह, हतोत्साहन र यस्तै कुराहरूले मान्छेमा लामो समयसम्म नकारात्मक असर गरिरहेको हुन्छ । मान्छेको व्यक्तिगत विकासमा यस्ता कुराले अत्यन्त प्रभाव पार्छन् । 

हामी कहिले कहीँ थाहा नै नपाएर पक्षपाती भइरहेका हुन्छौँ । परिवार, समाज र सङ्गतले हामीलाई धेरै कुरा सिकाइरहेको हुन्छ । रीति, संस्कृति, चलन र परम्पराबाट पनि हामीले सिकिरहेका हुन्छौँ । पढेर, देखेर, सुनेर वा अन्य यस्तै प्रक्रियाबाट पनि हाम्रो सिक्ने काम भइरहेको हुन्छ । अहिले त झन् प्रविधिले सिक्न कति सहज बनाइदिएको छ भने फोनमै धेरै कुरा भेटिन्छन् । हामीले सिक्ने ती कतिपय सिकाइहरू पक्षपाती छन् । हामीले थाहा नै नपाएर त्यस्ता सिकाइ आफूभित्र पालिरहेका हुन्छौँ । कुनै वस्तु, व्यक्ति, जात, समुदाय या घटनाप्रति धारणा बनाउन त्यस्ता सिकाइले महत्त्वपूर्ण भूमिका खेल्छन् । त्यसरी बनेका धारणाले अरूलाई हानि गर्न सक्छन् भन्ने हेक्का नै राख्दैनौ हामी । त्यस्ता पक्षपाती धारणामा अन्तर्निहित पूर्वाग्रहका कारण जन्मिन्छन् ।

Global bank

Agani Group

हाम्रो समाजमा प्रचलित केही उखान, कतिपय भनाइ, कति सामाजिक सोच यस्तै पूर्वाग्रहपूर्ण छन् । दलित, पिछडिएका जाति, महिला रूपमा या स्वरूपमा समाजले बनाएको मानकभन्दा अलि फरक (होचा, काला, नराम्रा(?) वा यस्तै अन्य) गरिब या कुनै निश्चित समुदाय, वर्गलाई लक्षित गरेर बनाइएका यस्ता विभेदकारी, पूर्वाग्रही सोचलाई हामी जानी नजानी बढावा दिइरहेका हुन्छौँ । कतिपय बेला त आफूलाई ठूलो देखाउन र अरूलाई होच्याउन पनि यस्ता भनाइहरू प्रयोग नगर्ने सायद हामी कमै छौँ होला । 

महिलाहरूलाई लक्षित गरेर बनाइएका जस्तै ‘उसै त सासु सुन लगाएकी’, ‘दुःखीलाई दिन्छु नभन्नू विधवालाई लान्छु नभन्नू’, ‘घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी’, ‘आफैँ राँड देशै भाँड’, ‘उसै त बुहारी भटमास खाकी’, ‘के गर्छे बुहारी पोख्दै उठाउँदै’, ‘गुन्द्रुकलाई पकाउनु पर्दैन सालीलाई फकाउनु पर्दैन’, ‘छोरीका बाबुले मुख थाम्नु पर्छ’, ‘तोरीको चामल र छोरीको जात हुँदैन’, ‘भात बिगार्ने माड घर बिगार्ने राँड’ आदि नारी जातिलाई होच्याउन प्रयोग गरिने उखान हुन् । लैङ्गिक विभेद प्रस्ट देखिने यी उखान अरूलाई प्रयोग गर्दा हामी आफ्ना आमा, दिदी बहिनीहरू र छोरीहरूलाई समेत बिर्सन्छौँ । यस्ता पूर्वाग्रही सोचले महिलाहरूमा पर्ने असरको हामी वास्ता पनि गर्दैनौ ।  

sarbottam cement

जात र समुदाय लक्षित उखानहरू पनि त्यति नै धेरै छन् चलन चल्तीमा । ‘जोगीको घर सन्यासी पाहुना’, ‘ताक परे तिवारी नत्र गोतामे’, ‘बाबु दुष्ट हुँदैन नेवार इष्ट हुँदैन’, ‘भोटेको बुद्धि भेडाको जस्तो’, ‘सराएकी बुहारी डुम घर गई’, ‘कामी ढर्रा दमाई स्वाङ’, ‘बाहुन क्षेत्रीको कोखामा दाँत’, ‘मरेपछि डुमै राजा’, ‘मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ’, ‘लिम्बुको बुद्धि घुँडामा’, ‘कुमाइँको घुमाई जैसीको जाल बाठालाई आपत लाटालाई काल’जस्ता उखान सधैँ रमाइलो या ठट्टाको विषयमात्र हुँदैनन् । कहिले कहीँ मान्छेलाई ठूलो मानसिक पीडाको विषयसमेत बन्न सक्छन् ।

उमेरको आधारमा, रूप या आकार अथवा रङ्गको आधारमा लक्षित नकारात्मक उखान पनि त्यति नै छन् । कालो, होचो, पुड्को या अरू कुनै आधारमा आधारित उखानहरूजस्तै – ‘अनुहार न भाँती उसै मेरो नाति’, ‘अनुहार हेर्यो दनुवारजस्तो बानी हेर्यो चोरजस्तो’, ‘कालो गए गोरो आउँछ’, ‘कहाँ राजाराम कहाँ गने भँडारी’, ‘मान्छेजस्तै कालो मन’ आदि उखानहरू खुब प्रचलित छन् ।

वृद्धवृद्धालाई वा अपाङ्गता भएकाहरूलाई हेपेर बनाइएका उखान पनि छन् हाम्रो समाजमा । ‘बूढो गोरुले भिर खोज्छ बूढो मान्छेले निहुँ खोज्छ’, ‘बाठो ठग्छ अरूलाई लाटो ठग्छ बाबुलाई’, ‘लाटो देशमा गाँडो तन्नेरी’ जस्ता उखानलाई लिन सकिन्छ । जसलाई समाजमा धेरै माया र सद्भावको खाँचो छ तिनैमाथि घोचपेच गर्नुलाई उचित मान्न सकिँदैन ।

मैले यहाँ उखान टुक्काहरूको विरोध गरेको हैन, उखान टुक्काहरूले त नेपाली भाषा साहित्यलाई समृद्ध बनाएका छन् । मैले त पिछडिएका वर्ग, जातजाति, अपाङ्गता भएका, बूढापाका या समाजले बनाएको मानक नभेट्ने केही व्यक्ति, समुदायप्रति लक्षित नकारात्मक सोचका उखान टुक्का, भनाइ, या पूर्वाग्रहपूर्ण सोचमा परिवर्तनको खाँचो औँल्याउनमात्र खोजेको हो । राम्रा र नराम्रा सबैतिर हुन्छन् । जात, रङ्ग, लिङ्ग, पेसा, ठाउँ या अन्य कुनै आधारमा सगोलमा गरिने टिप्पणी, बनाइने धारणा या सोच सर्वथा गलत र दण्डनीय हुन् । दुई चार मान्छेले गरेको गल्तीको भागीदार समग्र समुदाय कसरी हुनसक्छ ?

कोही लोग्ने मान्छेले भनेको काम गर्न नसक्दा चुरा, पोते लाउने या सारी, पेटीकोट दिने चर्चा हामी महिला दिदीबहिनीहरूकै अघि पनि निसंकोच गर्छौँँ । महिलाहरू निकम्मा, डरपोक, लाचार, अबला, अर्थहीन भनेर कसरी भन्न सकेको होला ? आफूले नखाएर खुवाउने आमा, आफूले भारी बोकेर हामीलाई शिक्षा आर्जन गर्न पठाउने दिदीबहिनी, हामी लड्दा उठाउने पत्नी र हामीलाई कतै ठाउँ नमिल्दा माया गरेर राख्ने छोरीहरू के यस्तै हेपाइका भागिदार हुन् त ? आमाको संघर्ष, हामीलाई हुर्काउन गरेको लडाइँ, हामीलाई योग्य बनाउन आफ्ना सबै रहरहरू मारेर गरेको त्यागको सम्मान यही हो त ? हाम्रो सोच परिवर्तन गर्न एकदम आवश्यक भइसकेको छ ।

समूहमा बसेर कुरा गर्दा निस्कने ‘स्याङ्जा जाँदा औँला जोगाउनु पर्छ’भन्ने प्रसङ्ग होस् या ‘झापालीको धूर्तता’ को कुरा तथा ‘गयो डोटी, खायो रोटी  आउँदाखेरी धोती न टोपी’ सबै पूर्वाग्रह र हेपाइको परिणाम नै हो । सुन्दासुन्दा मान्छेहरूलाई स्याङ्जालीहरूसँग साँच्चिकै जोगिनु पो पर्ने हो कि झापालीसँग तर्किनुपर्ने र डोटी जाँदा विचार नै पुर्याउनुपर्ने होला भन्ने छाप पर्छ । त्यहाँका मान्छेहरू भेट्दा पहिले नै हामी झ्वाट्ट धारणा बनाई हाल्छौँ जुन अत्यन्त नराम्रो कुरा हो । मैले कतिपय बेला आफँै सहभागी भेलामा स्याङ्जाका साथीहरू भएकै ठाउँमा यस्तो प्रसङ्ग निस्किएको देखेको छु । उहाँहरूको असहजता प्रस्ट महसुस पनि गरेको छु । हाँसेर उडाउनेहरुको सोचले यसको असरको धरातल त नाँप्न सक्तैन गहिराइको त के कुरा भयो र !

एउटा सानो कुरा गरौँ नेपाली फिल्मको । हामीलाई फिल्मका नायक नायिका गोरा चाहिन्छन् । निर्माता, निर्देशकलाई मात्र हैन हामी दर्शकहरूको चाहना पनि त्यही हुन्छ । हुनुपर्ने त औसत नेपाली अनुहार, रङ्ग, उचाइ या भौतिक स्वरूप पनि नेपाली नै सुहाउँदो राम्रो हो । तर, हाम्रो माग त्यस्तो हुँदैहुँदैन । त्यसको पछाडिको मुख्य कारण त निहित पूर्वाग्रह नै हो । कालो रङ्गको आफ्नै महत्त्व, आफ्नै सौन्दर्य हुन्छ – त्यो हामी बुझ्दै बुझ्दैनौं । वस्तु, व्यक्ति वा समाज वा अरू केही जुनरूपमा छ त्यही रूपमा त्यसको सुन्दरता प्रकट हुन्छ । त्यो पहिचान गर्न नसक्नु हाम्रो कमजोरी हो । 

नबुझ्नेहरुको कुरा बेग्लै हो । बुझ्नेहरु झन् खतरनाक लाग्छ मलाई । आफूलाई मानुन्जेल दलित, जनजाति, महिला या अपाङ्गता भएका सबै समान भनेर कुर्लिन्छन् । नेताहरू भोट माग्दा होस् या बुद्धिजीवीहरू विद्वत्व छाँट्दा समानताको कुरा गरेर थाक्दैनन् । अलिकति आफू समान आउन खोज्दा ‘डुमको फुर्ती’, ‘पोथी बासेको’, ‘भोटे’, ‘लङ्गडो’ या गाली गर्दा ‘काठो’, ‘धोती’ सबै निस्कन्छ एकैचोटि । मान्छेको नाटक, सोच, विचार, दर्शन सबै छताछुल्ल हुन्छ भुइँभरि ।

गत साता मलाई मनपर्ने एक कविले नेताहरूलाई गाली गर्ने नाममा समग्र जैसी बाहुन खराब भन्ने मनसायको फेसबुक पोस्ट गरे । उहाँको कवि भावना त पटक्कै थिएन । त्यो बरु उनको राजनीतिक झुकावले उनलाई यो काम गर्न अग्रसर पो बनायो कि भन्ने मेरो अनुमानमात्र हो । मैले कमेन्ट गरेर आफ्नो असहमति शालीनतापूर्वक जनाएँ नै तर धेरै कवि र साहित्यकारहरूका हल्का, पूर्वाग्रही टिप्पणीले अलि दुःखित पनि भएँ म । केही राजनीतिक साहित्यकारबाहेक मलाई धेरै साहित्यकार इमानदार लाग्छन् । हुन त हाम्रो साहित्यमा पनि सामाजिक जीवनका अरू क्षेत्रमा झैँ नेता बन्ने रोग लागेको छ । साहित्यकारको धर्म लेखन नै हुनुपर्ने हो नेतागिरी भन्दा । मेरा प्रिय कविले त्यो पोस्ट हटाए, म खुसी भएँ । उनको कवि भावनाले जितेको महसुस भयो मलाई ।

मेरो सानोको जैसी हुनुको नराम्रो अनुभव अर्कै रूपमा प्रकट भयो । मैले केही आफ्ना भावना थुप्रै जैसी बाहुनहरूका तर्फबाट राख्ने विचार गरेँ । ब्राह्मणहरूमा विधवाहरू बिहे गरेर सामाजिक परिवर्तनको खाँचो उहिल्यै औँल्याएका, आफूले मन पराएको प्रेमिका बिहे गर्दा आफ्नोपरिवारबाट अलग गरिएका, आफ्नोकर्ममा इमानपूर्वक खटिरहेका र मेरो आवाजसमेत नपुग्ने दूरदराजका टोपी फाटेका, भोटो च्यातिएका, हात र खुट्टामा खिल परेका समस्त जैसी बाहुनहरूको तर्फबाट हामी जैसी बाहुनहरू जाली नभएको सत्य यसै लेखमार्फत जानकारी गराउन चाहन्छु ।

केही लुटेरा, जाली, ढँटुवा, फटाहाका कुकर्महरूको भागीदार समस्त जात विशेषका व्यक्ति, ठाउँ या समुदायलाई बनाउनु न्याय सङ्गत हैन । जो(जसले अपराध गरेका छन् उनीहरूलाई कारबाही हुनुपर्छ । म समस्त काला, पुड्का, दलित, जैसी, बाहुन, महिला, अपाङ्गता भएका, मधेसी, पाखे, भोटे, नेवार, झापाली, स्याङ्जाली, डोटेली, विधवा या अन्य यस्तै धेरै पीडितहरूको तर्फबाट यी समुदाय र वर्गमा लागेका सम्पूर्ण आरोप अथवा लगाइएका लाञ्छनाको खारेजीको माग गर्छु । 

मैले आजैका मितिदेखि म भित्रका पूर्वाग्रह पनि हटाउँदै जाने निधो गरेँको छु !

(टिमिन्स, क्यानडा)
    

Nepal Investment bank
Nepal Investment bank
बुधबार, मंसिर १०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्