site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संवादले समझदारी बढाउँछ । असमझदारी हटाउने उपाय त झन् संवादमात्र हो । यसैले अहिले नेपाल र भारतका बीचमा उच्चस्तरमा सघन संवादको खाँचो देखिएको छ । सम्भवतः यही कारणले भारतीय अधिकारीहरूको नेपाल आउने क्रम बढेको हो । केही पहिले भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्केका थिए । त्यसपछि भारतका सेनापति मुकुन्द नरबणे नेपाल आए । यही बिहीवार भारतीय विदेश सचिव हर्षवर्धन शृंगला औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । सन् २०१५ को नाकाबन्दीपछि नेपाल भारत सम्बन्ध सहज हुनसकेको छैन । कालापानी प्रकरणले दुई देशको सम्बन्धलाई थप कटु बनाएको छ । यसैले औपचारिकतामा सीमित भए पनि विदेश सचिव शृंगलाको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध सुधार गर्न कोसेढुंगा हुनसक्छ ।

भारतले कालापानी क्षेत्रको नेपाली भूभागमा नेपालको सहमतिविना भौतिक संरचना निर्माण गरेको विषयमा नेपालले आपत्ति प्रकट गरेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै भारतले ती भूभाग नै आफ्नो नक्सामा समावेश गरेर नयाँ नक्सा जारी गर्यो । त्यसपछि नेपालले पनि आफ्नो भूभाग समेटिएको नक्सा संविधानको अंगका रूपमा समावेश गर्यो । भारतले नेपालको संसद्ले स्वीकार गरेको नक्सालाई मान्यता नदिने घोषणा गरेपछि दुई देशबीचको सम्बन्धमा थप चिसो भएको थियो । आफ्नो असन्तुष्टि व्यक्त गर्न करिब एक वर्षदेखि पारस्परिक भेटघाट र संवाद स्थगित गर्दैआएका दुवै देशले बल्ल आपसी सम्बन्ध र वार्ताको महत्त्व स्वीकार गरेको देखियो । नेपालका परराष्ट्र सचिवको निमन्त्रणमा आउन लागेका भारतीय विदेश सचिवको भ्रमण औपचारिकतामा सीमित भए पनि यसबाट उच्च कूटनीतिक स्तरको संवाद पुनः थालनी भएको छ । सम्बन्ध चिसिएर राजनीतिक र कूटनीतिक संवादहीनताको तहमा पुगेका अवस्थामा वार्ताको थालनीमात्र पनि महत्त्वपूर्ण हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल—भारत सम्बन्धको बहुपक्षीय र सम्पूर्ण मूल्यांकन आवश्यक देखिएको छ । अब दुई देशबीचको सम्बन्धलाई पुराण, इतिहास, धर्म, संस्कृति, भौगोलिक निकटता र जनस्तरको अन्तर्निभरताका आधारमा व्याख्या गरेरमात्र अगाडि बढाउन सकिँदैन । यसक्रममा सबैभन्दा पहिले दुई देशको उच्च राजनीतिक स्तरमा वार्ता हुनु आवश्यक देखिएको छ । नेपाल—भारत सम्बन्धमा चिसोपन आएको स्वीकार गरेरमात्र त्यसलाई न्यानो बनाउन सकिन्छ । यतिमात्र हैन यी दुई देशबीच सम्बन्धमा सुधार गर्नुको विकल्प छैन भन्ने पनि दुवै देशको उच्च राजनीतिक तहले स्वीकार गर्नु आवश्यक देखिन्छ । यस्तै सम्बन्ध सुधारका लागि संवादबाहेक अरू उपाय नभएको पनि मान्नु आवश्यक छ । लामो समयसम्म भारतको नेपाल नीति र सम्बन्ध गुप्तचर निकाय र कूटनीतिक कर्मचारीको जिम्मामा छाडिएको छ । अब त्यसमा भारतले पुनःविचार गर्नु आवश्यक देखिन्छ । यसपटक पनि भारतीय ग्ुप्तचर निकाय ‘रअ’का प्रमुखको भ्रमणबाट कूटनीतिक गतिविधि र संवाद थालियो ।

भारतका स्थल सेनाध्यक्ष मुकुन्द नरवणेको भ्रमण बढी औपचारिक थियो र हुनु पनि त्यस्तै पथ्र्यो । विदेश सचिवको भ्रमण संवादको ढोका खोलिएको संकेतमात्र नभएर कूटनीतिक अग्रसरताको रूपमा पनि हेरिनुपर्छ । भारतीय सहयोगका परियोजनामा हुने अलमलले पनि सम्बन्धमा चिसोपन ल्याउने गरेको छ । यसैले कूटनीतिक तहको भ्रमणमा विकास सहयोगका परियोजना कार्यान्वयनका सम्बन्धमा पनि छलफल हुनु वाञ्छनीय हुनेछ । भारतले नेपालसँगको सम्बन्धमा हृदय उदार बनाउनुपर्छ । भारतका पूर्वप्रधानमन्त्री डा. इन्दरकुमार गुजरालको ‘नन्रेसिप्रोसिटी’को अवधारणा नेपालका सन्दर्भमा अझै पनि सान्दर्भिक छ । नाकाबन्दीले गरेको पारस्परिक क्षतिको मूल्यांकन गरेर भारतले सांकेतिकरूपमै भए पनि गल्ती स्वीकार गरे नेपालमा अत्यन्त सकारात्मक प्रभाव पर्नेछ । विदेश सचिव शृंगलाको भ्रमणले राजनीतिक तहमा संवादको आरम्भ गराउन सक्यो भने पारस्परिक सम्बन्ध पुनः पूर्ववत् न्यान्यो, निकट र सुमधुर हुनेछ । आशा गरौं, विदेश सचिव शृंगलाको भ्रमण उच्च राजनीतिक तहमा संवाद सुरु गराउन सफल हुनेछ ।   
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC