site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
शशांक कोइराला : ‘असल (अ)राजनीतिक व्यक्तित्व’

नेपालका राजनीतिक पार्टीका नेता अमेरिका आउँदा पार्टी कार्यकर्ताले तिनको बसाइ सहज बनाउने प्रयास गर्छन् । जानुपर्ने ठाउँमा पुर्याइदिन्छन् । कार्यक्रम राख्छन् । जान पहिचान बढाउँछन् । 

केही अघि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अमेरिका आएका थिए । दुई साता जति बसे । उनी फर्किएपछि करिब एक साता उनीसँगै रहेका कांग्रेस कार्यकर्तालाई सोधेँ–  शशांक कस्ता लागे ? उनले उत्तर दिए– मैले कांग्रेसका धेरै नेतालाई अमेरिकामा सँगै लिएर हिँडे । तर, शशांक दाइ अरु नेताभन्दा धेरै फरक, धेरै असल । कति जना त लोभी पनि थिए । उनमा भने मैले कत्ति पनि लोभ देखिन ।  

भ्रमणका बेला मेरा एक जना मित्रकहाँ शशांक एक साँझ पाहुना भए । मैले ती मित्रलाई सोधेँ–  शशांकले के पिए ? उनले भने–  मैले महँगो मदिरा पनि घरमा ल्याएको थिएँ तर शशांक दाइले सानो ब्लुमुन बियरको पनि आधाभन्दा कममात्र लिनुभयो ।

Agni Group

अमेरिकामा शशांकले रजहाँसको बथान कसरी उँड्छ भन्ने उदाहरण दिएका थिए । रजहाँस मौसमी बसाइँसराइका लागि लामो उडान गर्दा अंग्रेजी अक्षर ‘भी’ आकारमा उँड्छन । त्यसले गर्दा पछाडि उड्नेले हावाको वेग कम सहनुपर्छ र कम थाक्छ । नेताले कार्यकर्तालाई पनि त्यसरीनै मौका दिनुपर्ने उनले बताएका थिए । 
अमेरिका भ्रमणका क्रममा शशांक जहाँ जहाँ गएर बोले त्यहाँ नेपाली समुदायको मन जितेका थिए । कांग्रेस समर्थकबाट मात्र होइन विरोधीले समेत शशांकको प्रशंसा गरे । 

करिब २०५० सालतिरको कुरा हो । हजुरआमालाई आँखाको समस्या देखियो । पोखरामा डाक्टरकहाँ पटक पटक लैजाँदा पनि ठीक भएन । त्यसबेला शशांक महाराजगंज आँखा अस्पतालमा कार्यरत थिए । उनैकहाँ पुगियो । पहिलो दिन उनीसँग जचाएर फर्किएपछि हजुरआमाले भन्नुभयो– म धेरै डाक्टरकहाँ गए तर यति राम्रोसँग मैले पनि बुझ्ने गरी कुरा गर्ने डाक्टर अहिलेसम्म भेटेको थिइन । हजुरआमाको ठम्याइ सही थियो । उनको व्यवहार निकै शीतल थियो । मैले भने उनी त २०१५ सालमा प्रधानमन्त्री हुने बीपी कोइरालाका छोरा हुन् । राम्रा हुँदैनन् त ?

Global Ime bank

अस्पतालमा जाँदा उनको कोठामा मधेसबाट आएकाहरूको एउटा हुल भित्र आयो । सबैले बीपी र शशांकका पुराना प्रसंग सुनाए । कतिलाई त शशांकले व्यक्तिगतरुपमै चिने । कैयौंका बारेमा सोधखोज गरे । कतिले शशांकको हात तानेर निधारमा समेत लगिरहेका थिए । निकै हार्दिक व्यवहार देखिएको थियो । 

कांग्रेसको गत महाधिवेशनमा नेतृत्वका लागि चुनाव भइरहेको थियो । महामन्त्रीमा शशांक उमेदवार थिए । मतदान भइरहेका बेला म केहीछिन उनीसँग कुरा गर्न पुगेँ । त्यही बेला एक जना युवा आएर शशांकसँग हात मिलाउँदै सोधे–  दाइ मलाई चिन्नुभयो ? शशांकले ‘चिन्छु’ भने । ‘ल म को हुँ भन्नुहोस् त भनेर ती युवाले अप्ठ्यारोमा पारे । तर, शशांकले म चिन्छु भनिरहे । उनले म को हुं भन्नुस् भनेर जिद्दी नै गरे । शशांकले साच्चै नै उनलाई चिन्दा रहेछन् नामै भनिदिए । ती युवा शशांकको हात टाउकोमा राख्दै बिदा भए । 

विसं २०४६ को परिवर्तनपछि राजनीतिकै सेरोफेरोमा भएर पनि शशांक आँखाको डाक्टरका रुपमै काम गरिरहेका थिए । कोइराला परिवारमा बीपीको एउटा छोरा राजनीतिमा जानुपर्छ भन्ने थियो । 

बीपीका जेठा छोरा प्रकाश राजनीतिमा असफल देखिएपछि शशांकलाई राजनीतिमा जान दबाब बढ्दो थियो । त्यसबेलाका कोइराला परिवार निकटहरू भन्छन्–  प्रकाशले नसक्ने देखिएपछि आमा सुशिला कोइराला समेत शशांक राजनीतिमा प्रवेश गरिदिउन् भन्ने चाहन्थिन् । गिरिजाप्रशाद कोइरालाको चाहना पनि यही थियो । 

परन्तु, केही समय शशांक राजनीतिबाट हराए । परिवारमा समस्याका खबर आए । उनको मद्यपानमा लतका कुरा आए । नवलपरासीबाट सांसद र गत महाधिवेशनमा महामन्त्रीको  उम्मेदवार भई शशांक राजनीतिमा प्रवेश गरे । राजनीतिक परिवारमा हुर्के पनि शशांक पूर्ण राजनीतिमा भने केही ढिलो प्रवेश गरे । यो पनि आफूले चाहेरभन्दा परिवारको दबाबमा । 
 
कांग्रेसमा लामो समय काम गरेका एक जना कार्यकर्ता भन्छन्–  इमानदारीमा विरोधीले पनि खोट लगाउन नसक्ने असल व्यक्ति हुन् शशांक । यो सही पनि हो । अहिलेसम्म शशांकको इमानदारीमा प्रश्न उठाउन कसैले पनि सक्दैन । उनी असल व्यक्ति हुन् भन्नेमा पनि दुई मत छैन । 

यही कुरा कोइराला परिवारको राजनीतिलाई नजिकसँग बुझेकालाई मैले प्रश्न गरेँ शशांक असल राजनीतिक व्यक्तित्व हुन् ? उनले उत्तर दिए–  असल अराजनीतिक व्यक्तित्व हुन् ।

किन ? उनले भने– केही पहिले नै पूर्णकालीन राजनीतिमा लागेको भए शशांक अझै परिपक्व हुन्थे । परिवारको दबाबमा अनिच्छापूर्वक राजनीतिमा आउँदा ढिलो भयो । राजनीतिक व्यक्ति हुन अझै परिपक्वता चाहिन्छ । पहिलेदेखि नै पार्टी संगठनमा काम गरेको भए यो परिपक्वता आउँथ्यो ।

अहिले नेपाली राजनीतिमा पुराना पार्टी कांग्रेस र नेकपाप्रति वितृष्णा छ । विशेषगरी अहिलेका नेताहरुप्रति जनता रुष्ट छन् । तैपनि मत कांग्रेस वा नेकपालाई दिइरहेका छन् । वर्तमान नेकपाको बहुमतको सरकारको कामप्रति जनता निराश छन् । तर,  शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसप्रति पनि जनता उसाहित छैनन् ।

यी दुईको विकल्पमा अर्को पार्टी आओस् भन्ने चाहना नेपाली जनतामा देखिन्छ । स्वःस्फूर्तरुपमा देखिने समूहले समेत सडकमा भिड जुटाउनुको कारण यही हो । साझा र विवेकशील पार्टीका उमेदवारले भोट काट्दा काठमाडौको मेयरमा कांग्रेस उम्मेदवार हारे । काठमाडौं क्षेत्र नम्बर एकमा पनि बल्ल बल्ल कांग्रेसले जित्यो । अहिले शेरबहादुर, केपी, पुष्पकमल दाहाललाई हेरेर धेरैले भन्छन्–  राजनीतिक नेता खत्तम भए । जनता हामीले दुःख पायौँ । यो कुरा समाजिक संजालमा पनि देखिने गरेको छ । 

पदबाट बाहिर जाँदा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाभन्दा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ चर्चित भए । कुलमानको वाहवाही भयो । राजनीतिक नेताबाट दिक्क भएर जनताले यस्ता अराजनीतिक व्यक्ति खोजिरहेका हुन् । कुलमानलाई राजनीतिमा आउन जनताले दबाब दिएका छन् । त्यसैले अहिले असल र  इमानदार व्यक्ति जनताले राजनीतिमा आओस् भन्ने चाहिरहेका छन् । खोजिरहेका छन् । 

यस स्थितिमा कांग्रेसप्रति जनलहर ल्याउन शशांकको असल र इमानदार व्यक्तित्व नेतृत्वका लागि उपयोगी हुन सक्छ । शशांक अराजनीतिक व्यक्तित्व हुन् । यसैले शशांक कांग्रेस समर्थक र कार्यकर्ताका लागि मात्र होइन विकल्प खोज्ने सबैका लागि स्वीकार्य व्यक्ति हुन सक्छन् । 

नेपाली समाजले अहिले राजनीतिमा इमानदार र असल व्यक्ति नै खोजेको छ । तर, असर र इमानदार हुँदैमा राजनीतिमा पुग्दैन । दूरदृष्टि चाहिन्छ । जनपक्षीय सोच हुनुपर्छ । बीपी कोइरालाले २०१५ सालमा एक हल गोरु, दूध दिने गाई, काम गरेर खानपुग्ने जमिनसहित सबै नेपालीलाई आर्थिकरुपमा मध्यमवर्गमा पुर्याउने सपना देखेका थिए । उनको यो ‘भिजन’ पूरा हुन पाएन । अहिले पनि कांग्रेस नेता कार्यकर्ताले पटकपटक बीपीको सपना पूरा गर्ने कुरा गर्छन् । शशांकले बीपीको ‘भिजन’ पक्कै बुझेका छन् । अहिलेको सन्दर्भमा बीपीको कल्पना साकार गर्नसक्ने व्यक्ति उनै हुन सक्छन् । शशांकको ‘भिजन’लाई नेपाली जनताले विश्वास गर्ने आधार पनि छ । अरुले त होइन बीपीकै छोराले बीपीको कल्पना साकार पार्ने विश्वास गर्न सकिन्छ । 

व्यक्तिगत कुराकानीमा शशांक आर्थिक वृद्धि, समृद्धी कसरी आउँछ भन्ने जानकार देखिन्छन् । अर्थ, व्यापार, आर्थिक विकासका बारेमा पनि उदार विचार राख्छन् र प्रष्ट रुपमा व्यक्त पनि गर्छन् । 

एकपटक चिनेको मानिसलाई शशांक हत्तपत्त भुल्दैनन् । सबैले बुझ्ने भाषामा आफ्ना कुरा राख्नसक्ने भएकाले देशभरका कार्यकर्तासँग घुलमिल हुन पनि उनलाई समस्या छैन । बीपीको छोरा र कांग्रेस महामन्त्री भएकाले पनि स्पष्ट दृष्टिकोणसहित कार्यकर्ता तहसम्म जाने सक्ने अवस्था शशांकको छ । 

अबको दुई वर्ष कांग्रेसका लागि आफूलाई प्रभावशाली बनाउने अवसर हो । दोस्रो स्थानमा पुगेको कांग्रेसलाई पहिलो बनाउन काम गर्ने बेला हो । यतिबेला पनि कांग्रेस पार्टी आफ्नै आन्तरिक विवादमा अल्झिरह्यो भने कार्यकर्ताको मनोबल बढ्न सक्दैन । देउवा, रामचन्द्र पौडेल र उनीहरुका निकटबाट यो संभव छैन । जनताले पनि उनीहरुलाई विश्वास गर्दैनन् । यस अवस्थामा आउने संसदीय निर्वाचनमा कांग्रेसले आफूलाई पहिलो स्थानमा ल्याउन कठिन नै हुन्छ । अब आउने महाधिवेशनले कांग्रेसको नेतृत्व कसको हातमा दिन्छ त्यसमा कांग्रेस र नेपालको राजनीतिक भविष्य निर्भर छ । परिवेश शशांकको पक्षमा छ । अहिलेसम्म सभापति देउवाको असल सारथीका रुपमा काम गर्दै आएका शशांकले नेतृत्वका लागि आफूलाई कसरी तयार पार्छन् ? यो नै उनको राजनीति र नेपाली कांग्रेसको भविष्यसँग जोडिएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC