पाठकको पहुँचबाहिर पुस्तकको मूल्य

 पाठकको पहुँचबाहिर पुस्तकको मूल्य

काठमाडौं । साहित्यकारहरूले पछिल्लो समय नेपालमा पुस्तकको मूल्य धेरै भएको बताएका छन् । पुस्तकको पृष्ठ संख्याका आधारमा मूल्य उच्च भएको साहित्यकारहरूको भनाइ छ । सामाजिक सञ्जालको प्रयोग बढ्दै जानु र भिडियो सामग्रीमा पाठक आकर्षित भइरहेका बेला पुस्तकको मूल्य झन् बढ्नु राम्रो संकेत नभएको उनीहरूको भनाइ छ । 

साहित्यकार तथा पत्रकार श्रीओम श्रेष्ठ पठन संस्कृति बढाउन मूल्य निर्धारणले ठूलो भूमिका खेल्ने बताउँछन् । सुरुका वर्षमा वनारसबाट सस्तोमा पुस्तक आउने गरेको स्मरण गर्दै उनी त्यसमा केही रकम जोडेर नेपालमा साझा प्रकाशन र रत्न पुस्तक भण्डारले मूल्य निर्धारण गर्ने गरेको बताउँछन् । सस्तोमा प्रकाशन गरेर नेपालमा पठन संस्कृति बढाउन साझा प्रकाशन र रत्न पुस्तक भण्डारले ठूलो भूमिका खेलेको उनको निष्कर्ष छ । 

“पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेपछि पठन संस्कृति घटेको अवस्थामा पुस्तकको मूल्य बढाएर लेखकको महत्त्व बढ्छ र ठूलो लेखक भइन्छ भनेर भ्रम पाल्नु पठन संस्कृति घटाउनु हो,” श्रीओम भन्छन्, “नेपालमा बिकाऊ लेखकको संख्या दुई हातका औंलामै सीमित छन् । उनीहरूले आफ्नो पुस्तकको मूल्य उच्च राख्नु भनेको आमपाठकका लागि पढ्नमा प्रतिबन्ध लगाउनु जस्तो हो । बिक्ने लेखकहरूको पुस्तकको मूल्य थोरै राखेर धेरै प्रकाशन गर्यो भने धेरै बिक्री हुन्छ । सामान्य पाठकले पनि किनेर पढ्न सक्छ र त्यसले पठन संस्कृति बढाउन मद्दत गर्छ ।” 

मागको सिद्धान्तविरुद्ध मूल्य राख्ने गरेको उनको बुझाइ छ । थोरै प्रकाशन गरेर धेरै मूल्यमा थोरैमा बिक्री गर्छु भन्नुभन्दा थोरै मूल्यमा धेरै प्रकाशन गरेर धेरैलाई बेच्नु आर्थिक र पठन संस्कृति दुवैका हिसाबले फाइदा हुने श्रीओमको भनाइ छ । 

“उपल्लो दर्जाका व्यक्तिले पाठक प्रतिक्रिया र समीक्षा आएपछि मात्रै पढ्ने गरेको पाइन्छ । पहिला त सामान्य पाठकले पुस्तक पढ्छन् भन्ने हो । त्यसैले धेरै मूल्य राख्नु भनेको आफ्नो सतहको पाठकको अवमूल्यन गर्नु हो,” उनी भन्छन्, “बजारमा राम्रो प्रतिक्रिया आइसकेपछि मात्रै सोखिन र धनाढ्य लेखकहरूले पढ्छन् भन्ने चलन छ । धनाढ्य लेखकलाई लक्षित गरेर मूल्य राख्नु भनेको ७५ प्रतिशत लेखकलाई अवमूल्यन गर्नु हो ।”

लेखक तथा प्रकाशकहरूले आफू जुन धरातलबाट माथि उठेको त्यही धरातललाई बिर्सिन थालेको उनको गुनासो छ । ‘मुनामदन’, ‘एक चिहान’, ‘गौरी’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लगायत थुप्रै पुस्तक मास प्रोडक्सन गरेर सस्तो मूल्य राखिएकै कारण पनि अत्यधिक बिक्री भएको तथ्य भुल्न नहुनेमा उनको जोड छ । निश्चित पाठकका लागि मात्रै लेख्छु भन्ने व्यक्ति लेखक हुन्छ कि हुँदैन भन्ने प्रश्न जन्मिएको श्रीओम बताउँछन् । 

“नोबेल पुरस्कार प्राप्त कृतिका प्रकाशकले पनि जति संस्करण पुस्तक प्रकाशन गर्दै जान्छन्, त्यति नै मूल्य घटाएर आम पाठकबीच सर्वसुलभ बनाउँछन् । यसको अर्थ जति कम मूल्य राख्यो त्यति धेरै पाठकले पढ्छन् भन्ने हो,” श्रीओम अगाडि थप्छन्, “तर हाम्रो लेखकलाई ठूलो बनाउने नाममा लेखकको कद घटाउने अभ्यास भइरहेको छ । हाम्रो पठन संस्कृतिको जति कुरा गरे पनि म मधुपर्कमा हुँदा १५ रुपैयाँको मधुपर्क किन्न ३० रुपैयाँ टेम्पो भाडा तिरेर आउने थुप्रै देखेको छु ।” 

साहित्यकार अमर न्यौपाने पुस्तकहरू प्रायः विद्यार्थीले पढ्ने हुँदा सर्वसुलभ भइदिए राम्रो हुने बताउँछन् । लेखकका हिसाबले मूल्य कम भइदिए हुन्थ्यो भन्दै अमर मूल्य कम भए पाठक बढ्ने बताउँछन् । 

लेखकलाई धेरै मूल्यमा थोरै पुस्तक बिक्री हुनुभन्दा थोरै मूल्यमा धेरै संख्यामा बिक्री भए खुसी लाग्ने उनको भनाइ छ । “मेरो व्यक्तिगत विचारमा धेरै मूल्यमा थोरै किताब बेच्नुभन्दा थोरै मूल्यमा धेरै किताब बेच्न जाति लाग्छ,” साहित्यकार अमर भन्छन्, “तर बजार भाऊ आकासिएकाले प्रकाशकहरूमा पनि बाध्यता छ । गत वर्ष दसैँमा घर (चितवन) जाँदा खसीको मासु सात सय रुपैयाँ प्रतिकेजी थियो । यो वर्ष बढेर ११ सय पुगेछ । तर, ०७७ सालमा छापिएको ५०० सय रुपैयाँ रहेको किताबको मूल्य स्टक रह्यो भने ०८० सालमा पनि ५०० नै हुन्छ ।” 

“म आफैंलाई पनि पाठक भएर हेर्दा पक्कै पनि पुस्तक महँगो लाग्छ । महँगो भएको हो पनि । म आफैं पनि पुस्तक मगाउँछु । ओहो ! यत्रो पर्छ र भन्ने लाग्छ,” अमर भन्छन्, “तर अन्य सबै कुराको भाऊ आकासिएकाले पुस्तकको मूल्य पनि बढाउनु परेको पब्लिसरहरू बताउँछन् । पैसाको मूल्य घट्दै जाँदाको परिणाम हो यो ।”

पुस्तक विक्रेतालाई प्रकाशन गृहले दिँदै आएको ‘कमिसन’ कम गर्ने हो भने पुस्तकको मूल्य स्वतः घट्ने उनको भनाइ छ । हाल नेपालमा निजी प्रकाशन गृहले पुस्तक विक्रेतालाई ३५–४० प्रतिशतसम्म ‘कमिसन’ दिँदै आएका छन् । २५–३० प्रतिशत मात्रै कमिसन दिने हो भने केही हदसम्म भए पनि मूल्य कम हुने उनको भनाइ छ । लेखकले १०–२० प्रतिशत रोयल्टी पाउँदै आएका छन् । 

“किताबको मूल्य धेरै हुनुमा ३५–४० प्रतिशत विक्रेतालाई कमिसन दिनु पनि मुख्य कारण हो । हामीले पाउने रोयल्टीको दोब्बरभन्दा धेरै दिइँदै आएको छ । ३० प्रतिशत मात्रै दिने हो भने पनि १० प्रतिशत मूल्य घट्छ,” अमर भन्छन्, “मैले सुनेअनुसार साझा प्रकाशनले २५ प्रतिशत दिन्छ । त्यसैले साझाका पुस्तक सस्ता हुन्छन् । बुक सेलरको मार्जिन घटाएको अवस्थामा पुस्तकको मूल्य हामीले खोजे जस्तै हुन्छ ।”

सानो बजार तर विक्रेताको उच्च कमिसनका कारण प्रकाशन गृह र लेखक दुवैलाई सहज अवस्था नरहेको उनको जिकिर छ । 

नेपालकै बेस्ट सेलरमध्येको एक ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’का लेखक हरिवंश आचार्य विक्रेताको कमिसन कम गर्ने र लेखकको रोयल्टी कम गर्ने हो केही मूल्य घटाउन सकिने बताउँछन् । तर, यसका लागि पुस्तक विक्रेताहरू तयार नहुने उनी बताउँछन् ।

“अर्को मुख्य उपाय भनेको कागजको गुणस्तर घटाएर सस्तोमा किताब प्रकाशन गर्न सकिन्छ । तर यसको गर्दा पनि पुस्तक राम्रो हुँदैन,” हरिवंश भन्छन्, “प्रकाशक, विक्रेता र लेखक बसेर यस विषयमा निष्कर्षमा पुग्न सकिन्छ । तर, कुनै एक पक्षले मात्रै निर्णय गर्न सकिँदैन ।” 

बिक्री भएको पुस्तकको रकम पनि विक्रेताबाट नआउने गरेको प्रकाशकको गुनासो रहेको सुनाउँछन् हरिवंश । “विक्रेता मार्जिन घटाउन चाहँदैनन् । प्रकाशक बैंकको ब्याजको कुरा गर्नुहुन्छ,” उनी भन्छन्, “लेखकले पनि त्यति धेरै रोयल्टी पाउनुभएको छैन । त्यसैले लेखकले मात्रै निर्णय गर्ने अवस्था छैन ।”

सांग्रिला बुक्सका सञ्चालक मणि शर्मा पुस्तकको पेज संख्या, कागजको क्वालिटी, पुस्तकको प्रकृतिलगायतले पुस्तकको मूल्य निर्धारण गर्ने बताउँछन् । रिसर्च बेसमा तयार भएका पुस्तकको मूल्य अन्य पुस्तकको मूल्यमा केही धेरै हुने उनी बताउँछन् । 

“अरू प्रकाशन गृहको कुरा मैले गर्ने कुरा भएन । मेरो प्रकाशन गृहबाट प्रकाशित भएका पुस्तकको कुरा गर्दा त्यस्तो महँगो मूल्य राखेको छैन,” मणि भन्छन् । 

पुस्तकको मूल्य पेज संख्याभन्दा पनि ‘कन्टेन्ट’ कति बलियो छ त्यसमा भर पर्ने उनी बताउँछन् । बलियो विषयवस्तु भएको पुस्तक तुलनात्मक रूपमा केही महँगो भए पनि बिक्री हुने उनको भनाइ छ । “असाध्यै महँगो भयो भने त पक्कै पनि बिक्री हुँदैन । तर, कन्टेन्ट बलियो छ भने केही महँगो भए पनि पाठकले पढ्छन्,” उनी भन्छन् । 

यता, प्रकाशन गृह फाइन प्रिन्टका सञ्चालक नीरज भारी भने पुस्तक महँगो भएको गुनासो बढ्दै गएको भन्दै पाठकको मागको सुनुवाइ गर्नुपर्ने समय आइसकेको बताउँछन् । 

पछिल्लो समय डिजिटल प्लेटफर्ममा आकर्षक सामग्री आइरहेको सन्दर्भमा प्रकाशन गृहले त्यससँग प्रतिस्पर्धा गर्न नसक्दा पुस्तकको बिक्री आरालो लागेको उनको बुझाइ छ । “लकडाउनले पाठक घटेका हुन् अथवा अरू नै कारण छ थाहा छैन । तर डिजिटल प्लेटफर्ममा आएका रुचिकर कन्टेन्टसँग हामीले प्रतिस्पर्धा गर्न नसकेकै हो,” नीरज भन्छन्, “केही हदसम्म पुस्तकको मूल्य बढी भएकै हो । यसलाई हामीले स्वीकार गर्नैपर्छ । तर, यो हाम्रो पनि बाध्यता हो । बजार भाऊ नै आकासिएपछि हामीले सस्टेन हुन पनि मूल्य बढाउनैपर्छ ।”

विक्रेताले ४० प्रतिशत कमिसन लिने गरेको भन्दै यसलाई कम गर्न सके पुस्तकको मूल्य घटाउन सकिने उनको तर्क छ । यद्यपि विक्रेताले पनि पाठकलाई छुट दिने गरेकोभन्दै कमिसन घटाउन नसकिने जिकिर गर्दैै आएको उनी सुनाउँछन् । 

“हाम्रै प्रकाशन गृहबाट आएका पुस्तकको कुरा गर्दा पनि पाँच सयभन्दा कम मूल्य रहेका पुस्तक भेट्न कठिन छ । तर अब सबै पक्ष बसेर विक्रेताको मार्जिनबारे बहस चलाउन आवश्यक भइसकेको छ । बजारलाई पुरानै अवस्थामा फर्काउन पनि यो आवश्यक भइसक्यो,” नीरज भन्छन्, “पाठकले पुस्तक महँगो भयो भनिरहनुभएको छ, यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौैं । गुणस्तरका लागि भारतमा पुस्तक छपाएर ल्याउनुपर्ने अवस्था छ । हामीले बुझेर पनि बाध्तामा छौं ।”

उनका अनुसार पुस्तकको बिक्री ३५ प्रतिशतसम्म घटिसकेको छ । 

नेपालको जनसंख्याको एक प्रतिशतमा पनि पठन संस्कृति नरहेको साहित्यकार अमर बताउँछन् । उनी भन्छन्, “नेपालको जनसंख्याको एक प्रतिशत जनसंख्याले मात्रै पनि पुस्तक किनेर पढ्ने हो भने करिब चार लाख पुस्तक बिक्री हुन्छ । तर, यति पनि हुन नसक्दा नेपालमा साहित्यक प्रकाशन गृह धरासायी भएका छन् भने साहित्यकारको अवस्था सबल हुन सकेको छैन,” उनी भन्छन् । 
 
“सामान्यतः रत्न पुस्तक भण्डार र साझा प्रकाशनले प्रतिपृष्ठ १ रुपैयाँ वा १ रुपैयाँ २५ पैसाका दरले राख्थे । तर दुई रुपैयाँ पुग्दैन थियो,” साहित्यकार तथा पत्रकार श्रीओम भन्छन् । 

अहिले पाठकको पहुँचभन्दा बाहिर मूल्य राख्न थालिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
ad