site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सचिवालयमा केपी ओलीका सात निष्कर्ष 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको लडाइँ विधिसम्मतरूपमा अघि बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको दस्तावेजविरूद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को दस्तावेज अघि सार्ने भएपछि नेकपाको लडाइँ संस्थागत हुन पुगेको हो । पार्टीको प्रस्तावका रूपमा तलैसम्म बहस र छलफल हुने भएको छ ।

मङ्सिर १३ गतेसम्म सचिवालयको बैठक स्थगनसँगै नेकपाको विवाद १० दिन पर त धकेलिएको छ, तर, नेकपा सर्वाधिक जोखिमको अवस्थाबाट गुज्रिइरहेको छ । नेकपाको आगामी भाग्य र भविष्य प्रचण्डले पेश गरेको दस्तावेज र ओलीले ल्याउने प्रस्तावले नै तय गर्नेछ । त्यसआधारमा हुने बहस र छलफलले दोभानमा मिसिएर एउटै शिरामा बगेको नेकपा दोबाटोमा पुगेर छुट्टिन्छ कि छुट्टिँदैन भनेर तय गर्नेछ । मूलतः पार्टीभित्र उत्पन्न अहिलेको विवाद र त्यसको निकासको दिशा देखाउनेछ ।

बुधबारको सचिवालय बैठकमा ओलीले करिब ३० मिनेट सम्बोधन गरे । सचिवालयमा अल्पमतमा परिसकेका पार्टी अध्यक्ष ओलीको मन्तव्य एकदमै रक्षात्मक थियो । प्राविधिकरूपमा मात्रै एक रहेको र भावनात्मकरूपमा अलग्गिइसकेको मनोदशायुक्त थियो ।
बुधबार सचिवालय बैठकमा बोल्दै ओलीले सातवटा निष्कर्ष सुनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डको दस्तावेज प्रस्तुत होइन बाँडिएको हो

कात्तिक २८ गतेको ७० औं सचिवालय बैठक (यद्यपि बुधबारको बैठक पनि त्यसैको निरन्तरता हो)मा पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या, पूर्वसहमति, निर्णयको कार्यान्वयनको अवस्था र ओली प्रवृत्तिसँग गाँसिएका विषयहरू समेटेर प्रचण्डले १९ पृष्ठ लामो दस्तावेज पेश गरे, प्रस्तावका रूपमा ।

Global Ime bank

तर, ओली त्यसलाई बैठकमा पेश हुनेजस्तो ‘राजनीतिक प्रतिवेदन’ मान्न तयार छैनन् । उनले त्यसलाई सचिवालय बैठकमा वितरीत अभियोग र लाञ्छनापत्रको रूपमा अर्थ्याउँदै लामो व्याख्या–उपव्याख्या गरेका छन् ।

“सचिवालय बैठकका दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरुलाई पनि बाँड्नुभयो । त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ,” उनले पार्टी एकताताकको सहमति, अन्तरिम विधान र पाँचौं स्थायी कमिटी बैठकको निर्णयमा टेक्दै भनेका छन्, “एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो । अरू साथीहरूलाई पनि वितरण गर्नुभयो । तर, त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन ।”

उनले प्रस्ताव भन्न नमिले पनि कमिटीमा छलफलको आवश्यकता भने महसुस गरेका छन् ।  उनी थप भन्छन्– “त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखबारबाजी गरियो । यसो गर्नु उचित भयो कि भएन ? केही मतलबको कुरा भएन । अखबारबाजी गर्नका लागि समेत त्यसो गरिएको थियो र त्यसमा केही साथीहरूको संलग्नता र सहमति भएको पनि जानकारी भयो । त्यसो भएर यो विषय धेरै गम्भीर छ ।”

दस्तावेज नै अघि सारेर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन खोजियो

प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट हटाउन खोजिएको यसपटक मात्र होइन । वैशाख १७ गतेको सचिवालय बैठक र असार १६ गतेको स्थायी कमिटी बैठकमै उनको राजीनामा माग गरिएको थियो । वैशाख १७ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा माग गरेका थिए । असार १६ गतेसम्म आइपुग्दा स्थायी कमिटी बैठकमा ओलीको राजीनामा माग्नेको सङ्ख्या सचिवालयका मात्रै पाँचजना पुग्यो । वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रचण्डको पंक्तिमा थपिए । नौ सदस्यीय सचिवालयमा यो स्पष्ट बहुमत हो । 

तथापि, राजीनामाको विषय कार्यसूचीका रूपमा आइसकेको थिएन । प्रस्तावका रूपमा पनि आएको थिएन । नेताहरूको मौखिक अभिव्यक्ति र तत्कालीन धारणा थियो ।

अहिले दस्तावेज नै अघि सारेर मुद्दा संस्थागत गर्न खोजिएको प्रधानमन्त्री ओलीको निष्कर्ष छ ।

प्रधानमन्त्री भन्छन्, “यो हटाउने माग त पहिलेदेखि आएकै थियो । तर, यसपटक हट्ने आधारहरु यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ । पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन । तर त्याग गर्नुपर्छ भन्ने ‘कोटेड’ भाषा रहेको छ । त्याग भन्ने शब्द त्यहाँ राखिएको छ । यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ ।”

आरोप बोकेर प्रधानमन्त्रीमा बस्न मिल्दैन, बदर भए प्रचण्ड हट्नुपर्छ, सदर भए म हट्छु

प्रधानमन्त्री ओलीले आरोपको भारी बोकेर जिम्मेवारीमा बस्न नमिल्ने पनि निष्कर्ष निकालेका छन् । प्रचण्डले अघि सारेको र आफूले पेश गर्ने दस्तावेज पार्टीमा छलफल गर्ने र त्यसआधारमा निचोडमा पुग्नुपर्ने तर्क उनले राखेका छन् ।  “यो आरोप या त सदर ठहरिनुपर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो,” उनको प्रष्ट सन्देश छ ।

बैठक नै फेस गर्छु

सचिवालय बैठक बस्न हम्मेहम्मे भयो । कोरोना त्रासदी, कहर, पार्टी र सरकार सञ्चालनमा यावत् प्रश्न उठिरहँदा प्रधानमन्त्री ती प्रश्नहरूबाट पर रहे । छलफलको आवश्यकता महसुस गरेनन् । त्यसले अरू सचिवालय सदस्यलाई थप रुष्ट बनायो । प्रवक्ता नारायणकाजी श्रेष्ठले त कात्तिक १ र ९ गते दुईपटक बैठक माग गर्दै दुवै अध्यक्षलाई पत्र लेखे ।

आखिरी परेपछि प्रचण्ड बहुमत सदस्यहरूको समर्थन बोकेर सहमति माग्न बालुवाटार पुगेका हुन् । तर, सचिवालय बैठकमा प्रधानमन्त्रीले आफू बैठकबाट नभागेको निष्कर्ष सुनाए । बैठकमा उठेका, लिखितरूपमा आएका सबै प्रश्नहरूको जवाफ दिने उनको मनशाय छ । भन्छन्– “अब बाहिर बजारमा त हल्ला सुन्छु– बहुमत छ, अल्ममत छ, के छ, कसको कस्तो छ भन्ने कुराहरु खुबै सुन्छु । मैले त्यस्तो फर्मल्ली देखेको छैन । फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन ।”

प्रधानमन्त्रीले सबै कमिटी र आवश्यक परे संसदीय दलसम्म फेस गर्ने मानसिक तयारीमा देखिन्छन् । प्रधानमन्त्री अल्पमतमा छन् भन्नेप्रति उनलाई चिढ देखिन्छ ।  त्यसो भन्नेहरूले स्थायी कमिटीमा ओलीले बहुमत जुटाइसकेको पनि बताएका छन् । मन्तव्यमा प्रधानमन्त्री ओलीको यही विश्वास प्रतिविम्बित भएको हुनसक्छ ।

“अब यस (बहुमत–अल्पमत)मा जानुपर्ने हुन्छ । यसको मैले एउटा जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्नका लागि मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ,” प्रधानमन्त्री ओली भन्छन् ।

आरोपपत्रले पूर्वसहमति खारेज गर्‍यो, नयाँ निकास पार्टीले खोज्यो

प्रधानमन्त्री ओलीले प्रचण्डको पत्र–प्रस्तावले पूर्वसहमति खारेज गरेको निचोड सुनाएका छन् । विशेषतः प्रस्तावले पार्टी एकताको आधारशिला उक्काएको उनको निष्कर्ष छ । “अस्तिको प्रस्ताव नामक अभियोगपत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, सम्झदारीहरुको त त्यसैले अन्त्यको घोषणा गर्‍यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो,” प्रधानमन्त्री ओलीले भनेका छन् ।

म चाहन्छु– मिलेर जाऔं, नसके विकल्प खोजौं

ओलीले सीधासीधा दुई अध्यक्षको संवादमा जस्तो ‘उसो भए आ–आफ्नो बाटो हिँडाैं न त’ भनेर भनिहालेका छैनन् । तर, भाषाको उस्तै आशय छ । उनले पूर्वसहमति भत्किइसकेकाले नयाँ सहमति निर्माण गर्नुपर्ने र कदाचित नसकिए विकल्प सोच्नुपर्ने प्रष्ट भनेका छन् । “अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो । हामीले एउटा नयाँ निकास खोज्नैपर्छ । म चाहन्छु मिलेर जाऔं, मिलेर जान सकियोस्, पार्टी बचाउन सकियोस् र पार्टीलाई एकताबद्ध राख्न सकियोस् । म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिकड्म गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन । सबै कुराहरूमा पछि छलफल गरौंँला,” उनको भनाइ छ ।

प्रस्तावमार्फत् मेरो राजनीतिक करिअर सिध्याउन खोजियो

अन्त्यमा प्रधानमन्त्री ओलीले प्रचण्डले राजनीतिक प्रस्तावमार्फत् आफ्नो राजनीतिक करिअर सिध्याउन खोजेको दुःखमनाउ गरेका छन् । सदाझैं उनले आफ्नो १४ वर्षे जेलनेल, यातना, प्रताडना सम्झिएका छन् । र, कमिटीमा पहिलोपल्ट यसप्रकारको लाञ्छनायुक्त दस्तावेज झेल्नुपरेको स्मरण गरेका छन् । माले, एमाले र नेकपा आन्दोलनको इतिहासमा आफूमात्रै त्यस्तो अपवादको पात्र हुनुपरेकोमा चित्त दुखाएका छन् ।

“म त्यो लाञ्छनापत्र, जो मलाई दिइएको थियो, त्यसपत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरू, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु । र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्णरूपमा अस्वीकार गर्छु । त्यसको यथोचित जवाफ म लिखित रूपमा नै प्रस्तुत गर्नेछु । मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ । उहाँले ‘अँ धम्काउने ?’ ‘धम्काएर कोही डराउँदैन’ भन्नु भयो,” उनी भन्छन्, “अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन । माधव कमरेडमात्रै नडराउने होइन, अरु पनि कोही डराउलानजस्तो लाग्दैन । कोही पनि डराउँदैनन् । यस्तै राजनीति गरेर आएका मान्छेहरू कोही डराउलानजस्तो लाग्दैन । तर सबै सुरैसुरा हुँदाखेरि सुरैचाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ र कति हुँदैन ?”

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC