Skip Advt.

ह्‌वाइट हर्स, राजा महेन्द्र र नेताहरु

जगत नेपाल

दसैं तिहार रमाइलो गर्ने, मीठो खाने चाड हुन् भन्ने नेपालीको बुझाइ छ । खासगरी चाडपर्वका बेला मिठोमसिनो खाने र आफन्तहरुसँग रमाइलो गर्ने गरिन्छ । माछा, मासु, मिठाइ र रक्सीको अरु बेलाभन्दा बढी नै खपत हुनेगर्छ ।

यो आलेख राजा महेन्द्रको पिउने सोखमा आधारित छ ।  औपचारिक काममा बाहेक छुट्टीको समयमा रमाइलो गर्नुपर्ने । चुरोट तान्ने लत पनि उस्तै । मुटु रोगी राजा महेन्द्र एकपटक बेलायतबाट स्वास्थ्य उपचार गरी भर्खरै फर्किएका थिए । उनकै अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भयो । मन्त्रीहरुले राजाको स्वास्थ्य बारे जिज्ञासा राखे । राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष समेत रहेका तत्कालीन मन्त्री नवराज सुवेदीले त्यो दिनको वार्तालाप यसरी सुनाए । 

मन्त्रीहरु : सरकारको गाथमा कस्तो छ सरकार ?
राजा : एकदमै राम्रो छ । 
मन्त्रीहरु : सरकार मुटुको समस्या देखियो । फेरि यो सरकारहरुको वंशाणुगत रोग पनि हो । त्यसैले अब चुरोट र रक्सीचाहिँ छोड्ने हो कि सरकार ? 
राजा : चुरोट र रक्सी पनि छोड्ने भए किन बाँची रहने त ?

देशभित्र होस् वा बाहिर भ्रमणमा जाँदा पनि उनलाई निकै रमाइलो गर्नुपर्ने । क्याम्प फायर र नाचगान नभएका कार्यक्रम बिरलै हुन्थे ।

पिउनेका लागि पनि आफ्नै प्रिय ब्रान्ड थियो ह्‌वाइट हर्स । मन्त्री सुवेदीले लेखकलाई सुनाए भ्रमणमा जाँदा सरकारलाई त्यही ब्रान्ड नै चाहिन्छ भनेर पहिले नै व्यवस्था मिलाइएको हुन्थ्यो । त्यो थर्ड क्लासको ह्‌विस्की हो । देशबाहिर जाँदा कहीँ त हत्तपत्त नपाइने ! त्यसैले सरकारको सवारी हुने थाहा पाएपछि राजदूतहरु पहिले नै खोजेर ल्याउँथे ।

चुरोटमा चाहिँ  क्य्रानबेरी ब्रान्ड नै चाहिन्थ्यो ।

सन् १९७० ताकाको कुरा हो । राजा महेन्द्र एउटा अन्तर्राष्ट्रिय स्तरको व्यापार प्रदर्शनको उद्घाटन समारोहका लागि जापानको ओसाका पुगेका थिए । विश्वभरका कम्पनीहरुले आफ्ना उत्पादन प्रदर्शन गर्ने कार्यक्रम थियो र मेलामा नेपालले समेत भाग लिएको थियो । नेपाली कक्षको उद्घाटन गर्न राजा आफैं भ्रमण दलको नेतृत्व गरेर जापान पुगेका थिए । टोलीमा रानी रत्न, कान्छा छोरा धीरेन्द्र, सवारी मन्त्री नवराज सुवेदी, निजी चिकित्सक डा. सच्चेकुमार पहाडी र सरदार यदुनाथ खनाल थिए । 

काठमाडौंबाट बैंकक, टोकियो हुँदै भ्रमण टोली ओसाका पुगेको थियो । पाँचदिने कार्यक्रम सकेर फर्किने क्रममा राजाले केही दिन हङकङमा बिताउने कार्यक्रम पहिले नै बनाएका थिए । त्यहीअनुरुपको तयारी थियो ।

राजा महेन्द्रलाई मन पर्ने सहर पनि थियो हङकङ । देशभित्रको समस्या र तनाव उनी त्यहाँ बसेर केही समयका लागि भुल्न चाहन्थे । सुवेदीले सम्झिए पहिलो दिन होटलमा बस्यौँ । राजासँगै खायौं । नाचगान र रमाइलो भयो । 

भोलिपल्ट यदुनाथ खनालले भन्नुभयो- मन्त्रीजी आज चाइनिज खाना खाउँ न ? 
मन्त्री : हवस् गुरु जाऊँ । तर, कहाँ जाने मलाई त्यति आइडिया छैन । 
खनाल : डाक्टर पहाडीलाई पनि लिएर जाऊँ । हामी बसेकै होटलको २९औं तलामा हङकङकै नामुद चाइनिज रेस्टुराँ छ । आज त्यहीँ बस्नुपर्छ ।

तीनजना लिफ्टबाट त्यही रेस्टुराँमा उक्लिए । राजा रानी नभएकाले औपचारिक हुनुपर्ने पनि थिएन । सुवेदीले लेखकलाई सुनाए- मज्जाले ड्रिङ्‍क गर्‍यौं । चाइनिज खाना मगायौँ । खायौँ । अनि ब्रान्डी खाँदै थियौं । राजा महेन्द्र, रानी रत्न, शेरबहादुर जर्नेलका साथ त्यहीँ सवारी भयो । राजालाई देखेपछि हामीले सुत्त भागौं भन्ने सल्लाह गर्‍यौँ । नदेखेजस्तो गरेर लुरुक्क हिड्यौँ ।
 
मन्त्रीको टोली लिफ्ट चढ्ने तरखरमा थियो । राजाका एडीसी शेरबहादुर जर्नेल दौडिँदै आएर भन्न थाले- सरकारबाट हुकुम भएको छ मन्त्रीज्यू ! 

अब जान कर लागिहाल्यो । तीनैजना राजारानीको टेबलनजिक पुगे । टन्न खाई सकेकाले अलि असहज महसुस भइरहेको थियो ।

राजा : ल ह्‌विस्की खाऊ नवराज ।
मन्त्री : सरकार हामीले टन्न खाई सक्यौं । मैले पनि ह्‌विस्की खाइसकें । डिनर पनि भइसक्यो । 
राजा : अलिकति त लेऊ न
राजा आज्ञाको अवज्ञा गर्ने कुरा भएन । मन्त्री सुवेदीले ह्‌विस्की थपे । राजारानीको डिनर सकिएपछि सबै आ-आफ्ना कोठामा फर्किए । 

सामान्य अवस्थाभन्दा बढी लागेको महसुस भइरहेको थियो मन्त्री सुवेदीलाई । कपडा खोलेर डङ्रङ्‍ग बेडमा पल्टिए । मस्त निद्रामा रहेका बेला कसैले ढोका ढकढक गरेजस्तो लाग्यो उनलाई । सवारी मन्त्री । केही जरुरी परेछ कि भनेर निद्रामै उठे ।

अनि जसोतसो उठेर ढोकामा पुगे । नशाका कारण हिँड्न सहज थिएन । ढोका उघारेपछि चाही छक्क परे । सपना हो वा विपना ठम्याउन कठिन भयो । एकपटक आँखा बन्द गरे । फेरि खोले । एकैपटक राजाको आवाज सुनियो- नवराज !  

सुवेदीले लेखकलाई सुनाए राजा होइबक्सँदो रहेछ । ढोका खोलें । सरकार आफैँ ढोका धकलेर भित्र सवारी भयो । राजाको र मेरो कोठा आमनेसामने थियो । 

त्यसपछिको वार्तालाप यस्तो थियो ।
राजा : नवराज तिमी कहाँ रक्सी छ ?
मन्त्री : निगाहले छ नि सरकार, फ्रिजमा टन्न छ म लिएर आउँछु सरकार । 

मन्त्री सुवेदी बाथरुम छिरे । आँखा धोए । अनि फ्रिजबाट एक बोतल ह्‌वाइट हर्स ह्‌विस्की निकाले । 

सुवदीले सम्झिए दुईजनाले एक बोतल सक्यौँ । फेरि अर्को बोतल ल्याए । हाल्नेले त आफूलाई कम अरुलाई बढी हाल्छ । 
मैले पनि त्यही गरें । डेढ बोतल सकियो । 

बाह्र बजेदेखि खान सुरु गरेको रातको  २ बज्यो । 

त्यत्तिकैमा कसैले ढोका ढकढक गरेको सुनियो । सुवेदीले ढोका खोले । राजाका एडीसी शेरबहादुर जर्नेल रहेछन् । उनी भन्न थाले- के गर्‍या’ मन्त्रीज्यू, रातभर यसरी रक्सी खाएर हुन्छ ? मल्लले राजालाई सुनाएर मन्त्रीलाई गाली गर्न थाले । राजा भन्न थाले- ल ल पर्ख, तिमी जाऊ । म आउँछु ।

अनि राजा र मन्त्रीबीच राजनीतिक वार्तालाप सुरु भयो । सुवेदीले भनेअनुसार २०१७ साल पुस १ मा जननिर्वाचित सरकार र संसद् भंग गरी सुरु गरेको पञ्चायती व्यवस्थालाई अब धेरै टिकाउन सकिँदैन भन्ने आशय राजाले सुनाए । उनको बुझाइ थियो न चाहेजस्तो काम गर्न सकियो न त पञ्चायत प्रजातन्त्रको विकल्प हुने नै देखियो । त्यसैले पनि आफ्नो जीवनकालमै प्रजातन्त्र दिने चाहना राजाले सुनाए । मुटुको व्यथाका कारण कुन बेला मरिने हो र प्रजातन्त्र खाएको आरोप खेप्नुपर्ने हो भन्ने त्रासमा उनी रहेको बुझिन्थ्यो । 

त्यो दिन सवारी मन्त्री सुवेदीसँग उनले मन खोलेर कुरा गरेका थिए । राजाले भने- जीवनकालमा धेरै प्रधानमन्त्रीसँग काम गरें । तर, दुनियाँलाई देखाउनलायक एउटा बीपीमात्र पाएँ । अब म मेरो जीवनकालमा बीपीजस्तो अर्को योग्य प्रधानमन्त्री पाउनेछैन । अलिकति क्षमता भएको एउटा यही डा. तुलसी गिरी हो । तर, उ चरम महत्त्वाकांक्षी छ । सधैँ आफूलाई केन्द्रमा राखेरमात्र अघि बढ्न खोज्छ । उसमा विश्वास गर्न सकिँदैन ।  गिरीलाई कन्ट्रोलै गर्न सकिन्न । सूर्यबहादुर थापालाई मैले प्रधानमन्त्री बनाएँ । उसलाई प्रजातन्त्रको भूतले समाएको छ । जति बेला पनि सरकार अलि खुकुलो बनाउनुपर्छ मात्र भन्छ । त्यो रकमी टाइपको मानिस हो । तर, मेरो भक्त हो । कीर्तिनिधि विष्ट राजभक्त र राष्ट्रवादी हो । लाए अह्राएको काम गर्छ । इमानदार छ । राजनीति यस्तो व्यक्तिबाट पनि चल्दैन । साँच्चै भन्ने हो भने म नि:तान्त एक्लो छु । मनमा लागेका कुरासमेत खुलेर गर्न पाउँदिनँ ।

प्रतिकृया दिनुहोस
ad