काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत सचिवालय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पार्टीभित्रको सङ्कट निवारणका लागि तत्काल बैठक बोलाउनुपरेको बताएका छन् । पार्टी एकताको रक्षा गर्नु र जनताले अहिले भोगिरहेको सङ्कट तथा कष्टको समाधान गर्नु आजको आवश्यकता भएकाले यी विषय बैठकमा छलफल गर्नुपर्ने सचिवालय सदस्यहरूले बताएका छन् ।
बाह्रखरीलाई प्राप्त पत्रमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवासमा पुगेर सचिवालयको बैठक बस्न अनुरोध गर्दा एकाएक ओलीले अब पार्टी एकता समाप्त भयो, आ–आाफ्ना पार्टी चलाउन लागौं भनेर ठाडो जवाफ दिएको आरोप लगाइएको छ । आज (शुक्रबार)बाट सुरु भएको सचिवालय बैठकमा तीनैवटा पत्र प्रस्तुत गरिएको छ ।