site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तिम्रो ‘वाद’ के हो ?

मानिस सामाजिक प्राणी त हुँदै हो, राजनीतिक प्राणी पनि हो । त्यसैले त मानिसले राजनीतिमा चाख राख्छ वा राजनीतिक चिन्तन गर्छ । चाख र चिन्तनमात्र नभई कतिपयले राजनीतिलाई मुख्य ‘पेसा’ वा कर्म बनाएका हुन्छन् । अझ भनौ राजनीति गर्छन् । केहीले सिद्धान्त अथवा सोखका लागि पनि राजनीति गरिरहेका हुन्छन् । कैयौंले राजनीतिबाटै समाज सेवा गरिरहेको महसुस गरेको पनि भेटिन्छ । 

राजनीतिको चर्चा हुँदा विभिन्न वाद तथा प्रतिवादका सबालहरु पनि आउँछन् र ती वादप्रतिवादका समर्थन र विरोधका कुराहरु पनि हुन्छन् । वादसँगै राजनीतिक पार्टी र तिनका गुट र उपगुटका कुरा पनि आउने नै भए । अहिले विश्व यिनै वाद, दल, गुट आदिबाट गुज्रिरहेको छ । हाम्रो देश पनि यसबाट अछुतो छैन । अझ हेर्दा यस्तो लाग्छ अन्यत्रभन्दा नेपालमा राजनीतिक चेतना केही बढी नै छ । त्यसैले त यहाँ मानिसहरुलाई प्रायशः वाद, दल अथवा गुट आदिको दृष्टिकोणबाट हेर्ने यत्न हुन्छ ।

मलाई हालसालै कसैले मेरो राजनीतिक आस्थाका बारेमा कताकता प्रश्न गरेजस्तो लाग्छ – चाहे त्यो सामाजिक संजालमा अन्तरक्रिया गर्दा होस् या अन्य कुनै रुपमा । मानौ कसैले औंला ठड्याएर सबाल गरिरहेछ – “तिम्रो वाद के हो?” अनि म आफैँलाई सोध्छु — “मेरो वाद के हो?” तर मनको अन्तरकुन्तरबाट कुनै ठोस जबाफ आउँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

अनि म पुनः आफैँलाई सोध्छु के मेरो वाद हुन जरुरी छ? के म कुनै वाद वा दलप्रतिको आस्थाविना एक सच्चा देशभक्त हुन सक्तिन? के हरेक व्यक्तिले कुनै वाद या दलमा समाहित हुनै पर्छ ? के कुनै एउटा वादको पछि नलागी मेरो राजनीतिक चिन्तन अपूरो हुन्छ? अथवा भनौ, के म सबै वादको राम्रो पक्षलाई अङ्गीकार तथा नराम्रा पक्षलाई त्याग गर्न सक्दिन? के मेरो राष्ट्रियता र देशभक्ति वाद र दलका समर्थन र विरोधको माध्यमबाट प्रकट नगर्दा कमजोर हुन्छ? मूल प्रश्नको प्रतिउत्तरमा म यी यावत् प्रश्नको जबाफ खोज्न प्रयत्नरत हुन्छु ।

राजनीतिक दलहरुलाई वर्गीकरण गर्ने कुनै सर्वमान्य सिद्धान्त नभए पनि सामाजिक परिवर्तनप्रति तिनका धारणाको आधारमा वामपन्थी, दक्षिणपन्थी र मध्यमार्गी भनी विभाजन गरिन्छ । सामाजिक परिवर्तन, स्वतन्त्रता र प्रगतिका पक्षपाती दल वामपन्थी मानिन्छ भने यथास्थितिवादमा विश्वास गर्ने दल दक्षिणपन्थी ठानिन्छ ।

Global Ime bank

यी दुवै विचारधाराको मध्यमार्गलाई अवलम्बन गर्ने दल मध्यमार्गी दल भन्ने बुझिन्छ । तर, यो दलहरुलाई हेर्ने एकदमै सतही दृष्टिकोण हो । यी दुई ध्रुबबीच अनेक प्रकारका वाद तथा तिनका हाँगाबिँगा भेटिन्छन् । राजनीतिक विचारधारा ध्रुवीयमात्र नभई कुनै विषयप्रतिको अडान, आस्था, रणनीतिजस्ता विविध धरातलमा समेत अडेको हुन्छ । लोकतन्त्रवादी, समाजवादी, साम्यवादी, प्रगतिशील, राजतन्त्रवादी, गणतन्त्रवादी, राष्ट्रवादी, धार्मीक, उदारवादी, लोकप्रियवादी, अन्तर्राष्ट्रियवादी, वातावरणवादी आदि तथा तिनका संयोजनबाट निःसृत सयौं प्रकारका दलहरुको अस्तित्व विश्वमा छ । हाम्रै देशमा समेत राष्ट्रिय तहमा रहेका पार्र्टीहरु सहित १३२ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

यी सबै राजनीतिक दलहरु सिद्धान्त, संगठन, सक्रियता आदि सम्पूर्ण पक्षबाट परिपूर्ण छैनन् । राम्रा नराम्रा पक्ष सबैमा छन् तर के कति छन् भन्ने व्यक्तिविशेषको हेर्ने दृष्टिकोणमा पनि धेरै हदसम्म भर पर्छ । जुन राजनीतिक पार्र्र्टी समाजमा लोकप्रिय हुन्छ त्यसैको विचारधारालाई बहुसंख्यक समाजले स्वीकारेको मान्नुपर्ने हुन्छ । राजनीतिक दलहरुको लोकप्रियता पनि सधैँ एकनास नरहन सक्छ । दलको कृत्य तथा समाजको धारणामा आएको चेतना वा चाहनाको बदलावसँगै जनमानसले तिनलाई स्वीकृत वा अस्वीकृत गर्ने हुन्छ ।

अपितु, केही व्यक्तिमा कुनै निश्चित् राजनीतिक दलप्रति आबद्धता भएकै कारणले उक्त दलविना देश खत्तम् हुन्छ भन्ने सोच बनेको देखिन्छ । मानौ उक्त दल सर्वगुण सम्पन्न छ र अन्य राजनीतिक पार्टीहरू पूर्णरुपमा खराब छन् । आफ्नो पार्र्टीलाई राष्ट्रवादी देख्नेले अर्को दललाई अराष्ट्रिय देख्छ ।

उनीहरुको जिकिर सुन्दा यस्तो लाग्छ त्यो दल भएन भने देश नै रहँदैन । मानौ राजनीति भनेको ‘जिरो सम गेम’ हो जहाँ एउटाको वर्चस्वमा अर्काको अस्तित्व रहँदैन र सहकार्यका सम्भावना हुँदैन । अझ कतिपयमा त उग्रवाद तथा हिंसाविना देशभक्ति नै हुँदैन भन्ने सोचसमेत रहेको हुन्छ ।

हतियार उठाउन तयार नहुने र उग्र राष्ट्रवादलाई स्वीकार नगर्नेलाई राष्ट्रद्रोहीको बिल्ला भिराउनसमेत किञ्चित पछि नपर्ने उदाहरणहरु पनि भेटिन्छन् । जनसञ्चारका माध्यम, सामाजिक संजाल तथा विभिन्न भेलाहरुमा यस्ता आक्रामक आरोपप्रत्यारोप सुन्न र देख्न पाइन्छ ।

कुनै पनि लक्ष्यमा पुग्न एउटै बाटोमात्र हुन्छ भन्ने मान्यता सर्वथा गलत छ चाहे त्यो राजनीतिबाट राष्ट्रिय लक्ष्य प्राप्तिको प्रसंग नै किन नहोस् । वास्तवमा भन्ने हो भने कुनै पनि राष्ट्रको उद्देश्य प्राप्ति गर्न विभिन्न राजनीतिक मार्गहरु हुन सक्छन् । कुनै मार्ग सिधा तर कठिन हुनसक्छ भने कुनै घुमाउरो भए पनि सहज होला, कुनै छिटै पुगिने हुन्छ भने कुनै ढिलो भए पनि हिंसाविनै पुगिने होला ।

एउटै भूगोलभित्र रहने जनमानसमा पनि कस्तो राजनीतिक उपागम(एप्रोच) चुन्ने भन्ने पृथकपृथक धारणा हुन सक्छ । त्यो व्यक्तिगत इच्छा तथा चाहनामा समेत भर पर्छ । लक्ष्य एउटै भए पनि बाटाहरु फरक छनोट हुन सक्छन् । यस्तोमा कसको मार्ग सही र कसको गलत भनी छुट्याउने कसरी भन्ने अहम् प्रश्न बनेर हाम्रो सामु तेर्सिन्छ ।

जब हामी कुन बाटो सही हो कुन बाटो गलत हो भनी केलाउन प्रयत्न गछौँ हामीलाई लाग्न सक्छ जबसम्म लक्ष्यमा पुगिँदैन कसको बाटो सही हो भनी छुट्याउन सकिँदैन । अर्थात्, लक्ष्यमा पुग्नेको पथ सही तर नपुग्नेको गलत तर मूल्याङ्कनको यो उपाय कम वस्तुगत र बढी मनोगत हुन्छ । किनभने राजनीतिक पार्र्टीका दर्शन तथा दूरदृष्टि सामान्यतः विहङ्गम तथा अमूर्त हुन्छन् ।

तर, विचारणीय कुरा के छ भने जसरी व्यक्तिको जीवनमा मूल लक्ष्य निश्चित भए पनि जीवन जीउने क्रममा अन्य सहायक लक्ष्यहरु परिवर्तनशील हुन्छन् । त्यस्तै राष्ट्रको दीर्घकालीन लक्ष्य अपरिवर्तनीय भए पनि त्यहाँ पुग्नुअघि कैयौं महत्त्वपूर्ण सहायक लक्ष्यहरु पार गर्दै जानुपर्ने हुन्छ जुन समय र परिस्थिति अनुरुप हेरफेर गर्नुपर्ने हुनसक्छ । तसर्थ, लक्ष्यको आधारमा कुनै दलको मूल्याङ्कन गर्नु असम्भव नै नभए पनि कठिन कार्य अवश्य हो ।

खासमा, अन्तिम लक्ष्यमात्र नभई त्यहाँ पुग्नुअघिका गतिविधिहरु पनि महत्त्वपूर्ण हुन्छन् । अर्थात्, जसरी व्यक्तिगत जीवनमा अन्तिम गन्तव्यमात्र नभई जीवनको यात्रा पनि महत्वपूर्ण हुन्छ त्यसरी नै राष्ट्रको आखिरी लक्ष्यमात्र नभई त्यहाँ पुग्ने बाटाहरु पनि महत्त्वपूर्ण हुन्छन् । जीवनको सम्पूर्ण यात्रा दुःखमय छ भने अन्तिम लक्ष्य प्राप्त गरेरमात्र के गर्ने भन्ने यक्षप्रश्न हाम्रो सामु प्रकट हुन्छ ।

त्यसैले एउटा व्यक्तिको जीवनमा जसरी ‘यात्रा’ र ‘गन्तव्य’ दुवै महत्त्वपूर्ण हुने देखिन्छ त्यसरी राजनीतिक तथा राष्ट्रिय जीवनमा पनि दुवै उत्तिकै मूल्यवान छन् । दुई तीन पिँढीपछि मात्र पुगिने दीर्घकालीन गन्तव्यको लागि त्यहाँ पुग्नु अगाडिको यात्रा अत्यन्तै सहज नभए पनि उपयुक्त हुनु भने आवश्यक छ । नत्र जसरी जर्मनीमा हिटलरले र कम्पुचिया (हाल कम्बोडिया)मा पोलपोटले नरसंहारको बाटो अवलम्बन गरे त्यस्तो बाटोबाट राष्ट्रिय लक्ष्य प्राप्तिको जतिसुकै तर्क प्रस्तुत गरे पनि औचित्यहीन हुन्छ । 

तसर्थ, कुनै पनि राष्ट्रको दीर्घकालीन लक्ष्य प्राप्तिको लागि प्रयत्नरत रहँदा यात्रा र गन्तव्य दुवै महत्त्वपूर्ण हुन्छन् । प्रायशः सबै राजनीतिक पार्र्टीको मूल दर्शन असल नै हुन्छ । त्यसैले, गन्तव्यलाई थाती राखी राजनीतिक दलले तय गरेको बाटो र यात्राको कुरा गर्नुपर्दा कुन असल र कुन खराब भनी निक्र्योल गर्न गुण र दोषको आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । कुनै पनि राजनीतिक पार्र्टी सर्वगुण सम्पन्न हुँदैन । अनि, सामान्यतया सबै राजनीतिक पार्र्टीको कार्यान्वयन तहमा केही न केही कमजोरी हुन्छन् नै । त्यसैले कुनै एक राजनीतिक पार्टीमा लगाव वा झुकाव भएकै कारणले सो पार्टीप्रति आबद्ध नभएका व्यक्ति विशेषलाई तिरस्कार गर्नु अथवा हुर्मत लिनु कुनै पनि हिसाबले मनासिब देखिँदैन । कुनै अमुक राजनीतिक दर्शनमा त्यति धेरै आस्था एवम् विश्वास छ भने जनमानसको मन जितेर अगाडि बढ्ने कोसिस गर्नु उपयुक्त हुन्छ जबरजस्ती वा कटु वचन गरेर होइन ।

बुझ्नुपर्ने कुरा, राष्ट्रिय लक्ष्य प्राप्तिको खातिर गन्तव्यतर्फ अघि बढ्ने क्रममा कुन बाटो मूल बाटो हो वा कुन सहायक भन्ने परख गर्ने र खुट्याउने काम नितान्त व्यक्तिगत हो ।

राष्ट्रिय लक्ष्यको बहस चलिरहँदा राष्ट्रियताका प्रसंग उठ्नु पनि स्वाभाविकै हो । तर मनन गर्नु पर्ने कुरा के छ भने राजनीतिक वाद जस्तै प्रतीकात्मक राष्ट्रियता भनेको साध्य होइन साधन हो । साध्य भनेको राष्ट्रिय लक्ष्य हो । कसैले कुनै अमुक पोसाक लगाउँदैमा, अमुक भाषा बोल्दैमा वा अमुक धर्म ग्रहण गर्दैमा राष्ट्रियता झल्कने अन्यथा नझल्कने भनी बुझ्नु अहिलेको एक्काईसौं शताब्दीमा संकीर्ण बुझाइ हो ।

नेपाली राष्ट्रियताको मर्म भनेको नेपाल भनिने भूगोलभित्र बसोवास गर्ने सम्पूर्ण नेपालीजनको उन्नति, प्रगति, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मान सुनिश्चित गरिनु हो । अनि, उनीहरुको सन्तान र दरसन्तानको सुखद् भविष्यको सुनिश्चितता गरिनु पनि हो । यसलाई सामान्यतया राष्ट्रिय हित (नेसनल इन्ट्रेस्ट)का रुपमा बुझ्ने गरिन्छ ।

कुनै तोकिएको पहिरन, भाषा, धर्म वा त्यस्तै अन्य राष्ट्रियताको मापदण्डमार्फत समग्र नेपालीको हित हुँदैन भने त्यस्तो राष्ट्रवाद खोक्रो हुन्छ । तर राष्ट्रियताका कुनै निश्चित् ‘सिम्बोलिज्म’ बिना पनि समग्र नेपालीले अन्तिम उद्देश्य प्राप्त गर्ने कुनै मार्ग छ र त्यसले जनभावनाको कदर गर्छ भने त्यो मार्ग जुनसुकै वादमा रङ्ंगिएको वा नरङ्गिएको भए पनि सही ठहर्छ ।

तसर्थ, यहाँ कसैले कसैको राष्ट्रवादका बारेमा सवाल वा शंका गर्नुअघि राष्ट्रियताका नाममा गरिने खोक्रो आडम्बरहरुलाई आधार मानेर मूल्याङ्कन नगरी राष्ट्रियता र राष्ट्रिय लक्ष्यको सन्दर्भमा उसको धारणा के छ भन्ने बुझ्नु महत्त्वपूर्ण हुन्छ । कसैले भावनामा बगेर चर्का विरोधका कुरा गर्दा उसका राष्ट्रवाद महान् हुने अथवा शालीन एवम् वस्तुपरक चिन्तन गर्दा राष्ट्रवाद तुच्छ हुने होइन ।

हेक्का रहोस्, कुनै वाद वा विरोधमा नलागी पनि मानिसले राजनीतिक चिन्तन गर्न सक्छ भनी बुझ्नु र कसैले पनि अरुको राष्ट्रियताको मूल्याङ्कन कुनै वादको कसीमा गर्नु हुंदैन भनी मनन गर्नु जरुरी छ । र साथै, के पनि बुझ्नु जरुरी छ भने एउटा नागरिकले कुनै दलगत राजनीतिमा संलग्न नभईकन स्वतन्त्र चिन्तन या अन्य कुनै माध्यमबाट पनि राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान दिन सक्छ र सच्चा देशभक्त हुन सक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC