काठमाडौं । विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । अहिले केहीबेरमा मतगणना सुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीन चरणमा मतदान सम्पन्न भएको थियो । कोरोना महामारीका बीचमा भारतको विहारमा भएको निर्वाचन पहिलो हो ।
त्यहाँको निर्वाचन आयोगकाअनुसार करिब ५८ प्रतशित मत खसेको छ जुन २०१५ मा भएको मतदानभन्दा बढी हो । नोभेम्बर २९ मा त्यहाँको विधानसभाको कार्यकाल समाप्त हुनेछ ।
पहिलो चरणको मतदान २८ अक्टोबरमा भएको थियो भने दोस्रो चरणको मतदान नोभेम्बर ३ मा ९४ सिटका लागि भएको थियो भने अन्तिम मतदान नोभेम्बर ७ मा भएको थियो । २४३ सिटमा भएको मतदानमा जितका लागि कुनै पनि पार्टी या गठबन्धनका लागि कम्तिमा १२२ सिट आवश्यक पर्छ ।
नीतिशकुमार पछिल्लो १५ वर्षदेखि त्यहाँ मुख्यमन्त्री छन् । उनी लगातार चौथो कार्यकालका लागि चुनावी मैदानमा छन् । बीबीसीका अनुसार त्यहाँ मुख्य प्रतिष्पर्धा नितीश कुमार नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीए र तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धनबीच हुँदैछ ।
एनडीएमा जनता दल युनाइटेड (जेडीयू), भारतीय जनता पार्टी (बीजेपी), हिन्दुस्तानी अवाम मोर्चा (हम), विकाससिल इन्सान पार्टी (वीआईपी) रहेका छन् ।
महागठबन्धनमा राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेससहित तीन वामपन्थी पार्टी कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई), कम्युनिष्ट पार्टी अफ इन्डिया (माक्र्सवादी) सीपीएम र कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सवादी लेनिनवादी (लिबरेशन) छन् ।
एनडीएको तर्फबाट नितीश कुमार रहेका छन् भने महागठबन्धनका तर्फबाट ३१ वर्षका तेजस्वी यादव रहेका छन् ।
२०१५ मा नितीश कुमार आरजेडीसँग मिलेर चुनाव लगेका थिए भने तेजस्वी यादव उपमुख्यमन्त्री बनेका थिए । तेजस्वी पूर्वमुख्यमन्त्री लालु यादवका छोरा हुन् । उनलाई चुनावदेखि नै बधाई तथा शुभकामना आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २०१७ मा नितीश कुमार एनडीएमा आएका थिए । २०१५ को विधानसभा चुनावमा नितीशकुमार, आरजेडी अथवा कांग्रेस गठबन्धनले शानदार जित निकालेको थियो ।
बीबीसीका अनुसार नितीशकुमार पछिल्लो १५ वर्षदेखि विहारमा मुख्यमन्त्री छन् । त्यहाँ अहिले उनको विरुद्धमा जबर्जस्त सत्ता विराधी माहोल बनेको छ । तर यसपल्ट विहारमा मदिरामा लगाइएको रोकले त्यहाँ धेरै महिला खुसी भएको र यसपल्ट मतदानमा सहभागी भएको बताइएको छ । त्यसको फाइदा नितीशकुमारले उठाउन सक्नेछन् ।
एग्जिट पोलका अनुसार बिहारमा नितिश कुमारविरुद्ध सत्ता विरोधी लहर अत्यन्तै धेरै छ ।
नितिश कुमार विगत १५ वर्षदेखि बिहारका मुख्यमन्त्री छन् । यदि, एग्जिट पोलको अनुमान सही साबित भए के सत्ता विरोधी लहरको सिकार केवल जेडीयू मात्रै नभएर बीजेपी पनि होला ? यस पटक जेडीयू एक सय २२ र बीजेपी एक सय २१ सिटमा चुनाव लडिरहेको छ ।
यी दुबै पार्टीले आ–आप्mनो भागबाट जीतन राम माझी र मुकेश सहनीलाई केही सिट दिएका छन् । एलजेपीले एक सय ३५ उमेदवार बिहारमा उतारेको छ । २००५ पछि पहिलो पटक एलजेपी बिहारमा यति धेरै सीटमा चुनाव लडिरहेको छ । एलजेपीका ८४ प्रतिशत उमेदवार जेडीयूविरुद्ध चुनावी मैदानमा छन् ।