वाशिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आइसकेको छ । अमेरिकी जनताले जो बाइडनलाई आफ्नो राष्ट्रपति चुनिसकेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा दोहोरिन सकेनन् । यो उनको चुनावी हारमात्रै नभएर आगामी दिनमा अनेक कठिनाइ भोग्नुपर्ने देखिएको छ ।
विज्ञहरुकाअनुसार उनको कार्यकालमा भएका कथित घोटालहरुको जाँचबाट राष्ट्रपति पदबाट हटेपछि आपराधिक कारबाहीका साथै अप्ठ्यारो वित्तीय स्थितिको पनि सामना गर्नुपर्ने हुन सक्छ । राष्ट्रपति पदमा बहाल रहँदा उनीविरुद्ध आधिकारिक कार्यहरुका लागि मुद्दा चलाउन सकिँदैन ।
पेस युनिभर्सिटीमा कनस्टिच्युसनल लका प्रोफेसर बेनेट गर्शमेनले बीबीसीसँग भनेका छन्, “डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक मामिल चलाइने सम्भावना छ ।”
प्रोफेसर बेनेट गर्शमेनले न्युयोर्कमा एक दशकसम्म अभियोक्ताका रुपमा सेवा गरेका थिए । उनी भन्छन्, “राष्ट्रपति ट्रम्पविरुद्ध बैंक धोखाधडी, कर धोखाधडी, मनी लन्ड्रिङ, चुनावी धाँधली जस्ता मामलाहरुमा आरोप लाग्न सक्छ । उनका कामहरुसँग सम्बन्धित जे जति जानकारी मिडियामा आइरहेका छन् ती वित्तीय हुन् ।”
यद्यपि, मामिला यतिमा मात्रै सीमित छैन । अमेरिकी मिडिया रिपोर्टहरुका अनुसार ट्रम्पले ठूलो वित्तीय घाटाको सामना पनि गर्नुपर्ने हुन सक्छ । जसमा ठूलो परिमाणमा निजी ऋण र उनका कारोबारका मुस्किलहरु पनि समावेश छन् ।
न्युयोर्क टाइम्सका अनुसार निजी लगानी राम्रो स्थितिमा नभएका बेला आगामी चार वर्षमा ट्रम्पले ३० करोड डलरभन्दा बढी ऋण चुक्ता गर्नुपर्ने छ ।
तर, राष्ट्रपति ट्रम्प भने आफूमाथि झुठो आरोप लगाइएको दाबी गरेका छन् । “म शत्रुहरुको षड्यन्त्रको सिकार भएँ । राष्ट्रपति बन्नु अघि र पदमा रहँदा अपराध गरेको भनेर ममाथि झुठो आरोप लगाइयो,” उनले भनेका छन् । - बीबीसी