site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उनले थाहा नपाएको त्यो विभेद !

उनलाई मैले भेटेको धेरै भएको छैन । विस्मयकारी चम्किला आँखा छन् उनका । अदम्य साहस र आत्मविश्वास भरिएको छ उनमा । भर्खर चन्द्रमालाई टपक्क हातले टिपेर ल्याउँछु झैँ गर्छिन् उनी । उनको यही आत्मविश्वास देखेर उनीबाट उत्कृष्टताको अपेक्षा गर्नेहरुको लामै सूची छ मसँग ।

भर्खर विद्यालयको पढाइ सकेर भविष्यका अनगिन्ती सुनौला सपना बोक्तै उनी कलेज जान थालिन् । पढाइमा सधैँ अब्बल उनी कलेजमा पनि त्यही रफ्तारमा बढ्दै गइन् । उनी जहाँ जान्थिन् त्यहीँ सफल हुन्थिन् । लाग्थ्यो, उनी सफलताकी पर्याय हुन् । धेरै आमाहरुले उदाहरण दिने पात्र बनेकी थिइन् उनी । उत्कृष्टताका साथ कलेजको पढाइ सकेपछि सुनौला सपनाहरु मनभरी सजाएर काठमाडाैं उपत्यका प्रवेश गरिन् ।

सपनाको नगरीमा उनका सपनाहरु भर्खर फस्टाउन लागेका थिए । आफ्ना जीवनका उद्देश्यहरु पूरा हुँदाका दिन कल्पेर पनि खुशी हुन्थिन् उनी र मलाई सुनाउने गर्थिन् — “हेर ! एकदिन म यो सहरमा आफ्नो छुट्टै पहिचान बनाउने छु ।  आफ्नै अस्तित्वमा बाँच्नेछु । म आमाबुबालाई आफैँसँग राखेर पाल्नेछु । उहाँहरुलाई कुनै दुख कष्ट हुन दिनेछैन ।”  लाग्थ्यो उनले आफ्ना सपनाहरु सबै बाँच्नेछिन् र एउटा सुन्दर संसार बसाउनेछिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी भन्ने गर्थिन् — छोरा र छोरीबीच विभेद हुन्छ भन्छन् तर आजसम्म मैले त्यो विभेद कस्तो हुन्छ थाहा पाएको छैन । म पनि छोरी हो तर छोरा समान छु । हुनपनि आजसम्म उनलाई पारिवारिक रोकटोक थिएन पनि । उनले अवश्य एकदिन खुसीको बहार ल्याउनेछिन् भन्ने लाग्थ्यो मलाई । 

उनका कलिला सपनाहरुले एक दुइ पाइला सार्दैथिए अचानक उनी विवाहको पारिवारिक दबाबमा परिन् । उनले विवाह अहिले चाहेकै थिइनन् । उनले धेरै काम गर्न बाँकी थियो । उनका सारा सपना अधुरा थिए । तर, पनि समाजमा सानैदेखि अनुशासित हुनुपर्छ, आफूभन्दा ठूलाले सधैँ भलो सोच्छन् भन्ने सुनेर हुर्केकी उनले विद्रोह गर्न सकिनन् । समाजले जे सोचिरहेको थियो त्यसभन्दा चार कदम अगाडि थियो उनको सोच तर परिवारले उनको सोच बुझ्ने चेष्टा नै नगरी उनलाई पराई घर पठाइदियो ।

Global Ime bank

केही वर्षपछि मेरो उनीसँग सम्पर्क भयो । उनको त्यो मलिन अनुहार र सपना विहीन आँखाहरुलाई केहीबेर नियाली रहेँ मैले । उनका आँखाबाट अहिले सुन्दर सपना बिलाएछन् । त्यहाँ छन् त केही बोझिला व्यावहारिक झन्झटहरु । मैले उनको हालचाल सोध्दै गएँ — के गर्दैछयौ अहिले । भनिन् केही गर्दिन । पतिले तिमीले किन काम गरेर दु:ख गनुपर्यो म छँदैछु नि भन्नुहुन्छ । त्यही भएर म घरै बसेर बालबच्चा हुर्काउँदैछु । त्यो पनि एउटा ठूलो काम नै हो । म उनको कुराले एकछिन अवाक भए । के भन्ने उनलाई, कति परिवर्तन भइछन् उनी, आफूलाई यति चाँडै उनले कसरी बिर्सन सकिन्, उनका प्रतिभा, उनका चाहना, उनका सपना कहाँ गए ? उनले आफूलाई पूर्णरुपमा घरपरिवारमा समर्पित गरिछन् । तर पनि मैले उनलाई तिमीले काम गर्नुपर्छ भन्न छोडिन । तिमीले आफ्नो प्रतिभालाई यसरी खेर जान दिनुहुँदैन । तिमी केही गर यसरी नबस भनी मैले भनिरहँदा उनले एउटा कानले सुनेर अर्कोले उँडाइरहिन् ।

आफ्नै व्यस्तताले म फेरि केही समय उनीसँग सम्पर्कविहीन भएँ । निकै समय बितिसकेको थियो । उनी कता हराइन् मैले भेट्न सकिरहेकी थिइन तर भेट्ने तीव्र चाहना थियो । एकदिन फेसबुकमा उनलाई भेटेँ र कुनै रेस्टुराँमा चिया कफीको निम्तो गरँे । तर, उनले घरमै भेट्ने जिद्दी गरिन् र उनलाई भेट्न पुगेँ म ।

उनका सन्तान पनि ठूला भइसकेछन् । सबै आआफ्नै व्यस्ततामा रहन थालेछन् उनी सिँगो एक्लो घरमा टुक्रुक्क रहिछन् । कहीँ कतै एक्लै जानसक्ने हिक्मत रहेनछ उनमा । अब केही गराैँ कतै व्यस्त हौँ भन्दा सबै आत्मविश्वास हराइसकेछन् उनमा । घरभित्रको चौघेरामा कैद उनको जीवन अति निरस  भैसकेछ । के गर्ने म उनको समय फर्काउन सक्दिनथे अन्यथा म उनलाई फेरि तिनै पुराना दिनमा पुरयाएर ‘रिस्टार्ट’को स्वीच अन गर्थे ।

उनले कफी बनाएर ल्याइन् । उनको घरको कौसीमा मीठो कफीको चुस्कीसँगै हामीले विगत सम्झ्यौँ । उनका सफलताका दिनहरु सम्झ्यौँ । उनको आत्मविश्वास र सपनाका कुरा सम्झेर बररर् आँखाबाट आसु खसाल्यौँ । यसपटक उनको सपनाविहीन आँखाले रसिलो हुनुबाहेक अरु केही देखाएन मलाई । म उनको रसिलो आँखालाई मेरो आँसुले धमिलो भएको आँखाले हेरिरहेँ र उनले भनिन् जुन दिन मेरो पतिले —  “तिमीले काम गर्नुपर्दैन म छु नि  म गरिहाल्छु तिमी घर सम्हाल” भन्नुभयो तेही दिनदेखि छोरा र छोरीको विभेद सुरु भएछ तर मैले पत्तै पाइन ।

छोरालाईजस्तै उनलाई पनि उनको भाग्य निर्माता उनी आफैँ हुन छोडिदिएको भए, अर्काको भाग्यमा खाने जात नसोचिदिएको भए , सायद उनी आफ्नो सपना बाँचेर खुसी हुन्थिन् होला, गर्विलो जिन्दगी बाँच्थिन् होला । तर, छोरीलाई उमेरले बीस काटेपछि अवसर दिनुभन्दा विवाह गरेर पराइघर पठाउनको हतार गर्ने हाम्रो समाजको चेत कहिले खुल्ने ? समानताको खोक्रो गफ गर्ने, ऐन बनाउने तर व्यवहारमा रत्तिभर परिवर्तन हुन नखोज्ने हाम्रो समाज कहिले सुध्रिने ?

घरको छोराले लुगा धोएर सुकाएको देख्दा जिब्रो काढ्ने हाम्रा समाजका भद्रभलादमीमा कहिले परिवर्तन आउने ? छोराले घर सफा गरे, कुचो लगाए छोराको आयु नै घटिहाल्छ  भनी सोच्नेहरुको मगज कहिले पखाल्ने ? जबसम्म यस्ता ससाना तर समानताका खुट्किलाहरु दरा टेकिन्नन् तबसम्म समानताका हजारौं प्रतिवेदन बनाए पनि, कडा कानुन बनाए पनि ती कागजमा सीमित हुनेछन् । अतः समान र सभ्य समाज निर्माणका लागि छोरीलाई हरेक क्षेत्रमा उनको योग्यताअनुसारको समान अवसर दिनु अपरिहार्य  छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC