वाशिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक उमेदवारले जो बाइडेनले आफू जित्नेमा विश्वस्त भएको दोहोर्याएका छन् ।
अमेरिकी समय अनुसार शुक्रबार साँझ सम्बोधन गर्दै बाइडेनले आफूले मुलकलाई संकटको समयमा नेतृत्व प्रदान गर्न लागेको समेत बताएका छन् । उनले आफूले कोरोना भाइरसको महामारी नियन्त्रण र अर्थतन्त्रको सुधारका लागि काम गर्न सुरु गरिसकेो बताएका छन् ।
उनले भने, "मतदाताहरुले मलाई र मेरो रनिङ मेटसमेत रहेकी क्यालिफोर्निया सिनेटर कमला ह्यारिसलाई अधिक मत दिएर काम गर्नका लागि जनादेश प्रदान गर्नुभएको छ ।"
ब्याटलग्राउन्ड स्टेट जर्जिया, नेवाडा र पेन्सलभानियामा अग्रता कायम गरेपछि जित्ने सुनिश्चित देखेपछि मुलुकलाई सम्बोधन गर्दै बाइडेनले आफू 'राष्ट्रपतिको प्रतिष्पर्धामा विजयी' हुने बताएका हुन् ।
बाइडेनले अग्रता कायम गरेका पेन्सलभानिया, जर्जिया, नेवाडा र एरिजोना गरी चारवटै राज्यमा जित हात पारेमा उनले ३०६ इलेक्टोरल कलेज मत प्राप्त गर्नेछन् ।
अमेरिकामा २७० इलेक्टोरल कलेज मत ल्याउने उमेदवार विजयी हुन्छ । हाल उनको २५३ इलेक्टोलरल कलेज मत प्राप्त गरेका छन् । उनलाई जितका लागि १७ इलेक्टोरल कलेज मत आवश्यक छ । - सीएनएन