site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले पार्टी फुट्छ भनेपछि हच्कियो बहुमत समूह, सहमतिमा बैठक डाक्न सामूहिक आग्रह गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू हच्चिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले सहमतिमा बैठक डाक्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने निर्णय गरेका हुन् । 

पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठक बसेको थियो । केन्द्रीय कमिटी र भदौ २६ गतेको पाँचौं स्थायी कमिटीको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हिसाबले बैठक राख्न सक्ने भए पनि पार्टी एकतालाई जोगाउन अनौपचारिक बैठक गर्नुपरेको नेताहरूले बताएका छन् ।

“पार्टीमा जतिसुकै प्रकारको, जुनसुकै प्रकारको समस्या, गत्यावरोध र सङ्कटको स्थिति देखापरेको भए पनि पार्टीमा फेरि एकपटक सहमतिका आधारमा बैठक बस्ने, बैठकमा सबै पाटा पक्षहरूका बारेमा गम्भीरतापूर्वक छलफल गर्ने, एकतालाई बचाउँदै पार्टीलाई विधि–पद्धतिमा सञ्चालन गर्ने, सरकारलाई पार्टीको मार्गनिर्देशनमा जनमुखी, प्रभावकारी ढङ्गले सफल पार्न अगाडि बढ्नका निम्ति बैठक बसौं भनेर बारम्बार प्रस्ताव राखियो,” प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूलाई बैठकबारे जानकारी गराउँदै भने, “प्रधानमन्त्रीले बैठक राख्न सहमति दिनुभएन । र, बैठक बस्न सहमति नदिएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ भनेर समेत भन्नुभएको कुरा आज अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी गराउनुभयो ।”

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठक प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसमेतको समझदारीमा अनौपचारिक ढङ्गले राखिएको उनको भनाइ थियो । सबै सचिवालय सदस्यहरूलाई बैठकको जानकारी गराइएको उनको भनाइ थियो । केही नेताहरूले व्यस्ताले आउन नसकेको जानकारी गराएको उनको भनाइ थियो ।

“बैठकका आउन भनेर प्रधानमन्त्रीलाई पनि खबर गरिएको थियो,” प्रवक्ता श्रेष्ठले प्रेस ब्रिफिङमा भने, “तर, प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको पनि प्रचण्डले बताउनुभयो ।”

Global Ime bank

अहिलेको विद्यमान परिस्थिति हेर्दा सहमतिमै बैठक राख्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै अध्यक्ष प्रचण्डसहित पाँचजना नेताले पुनः आग्रह गर्ने श्रेष्ठले बताए । 

“प्रचण्डसहित सचिवालयका हामी पाँचजना नेताहरूले भोलि नै केपी शर्मा ओलीलाई सहमतिका आधारमा बैठक छिटोभन्दा छिटो बस्न अनुरोध गर्ने निर्णय गरेका छौं,” बैठकको निष्कर्ष सुनाउँदै उनले भने, “त्यसका लागि हामीले सामूहिक ढङ्गले नै प्रधानमन्त्री ओलीलाई अहिलेको विद्यमान सङ्कटको समाधान गर्न, सकारात्मक ढङ्गले कामहरूको समीक्षा गर्ने, अहिलेसम्मको पार्टीका निर्णयहरूको कार्यान्वयन गर्ने, पार्टीलाई एकताबद्ध बनाउन आवश्यक कदम चाल्नका लागि बैठक डाक्न अनुरोध गर्ने पनि निर्णय भएको छ ।”

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि ओलीलाई बैठक राख्न आग्रह गर्ने बाहेक बैठकका ठोस कुरा नभएको उनले बताए । “आज हामी अनौपचारिक हिसाबले बैठक बस्यौं । पार्टी कमिटीको औपचारिक बैठक राख्न ओलीलाई आग्रह गर्नेबाहेक अरू विषयमा मूर्त कुराकानी, छलफल भएन,” उनले भने ।

नेकपालाई कसैले फुटाउन सक्दैन

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपालाई कसैले विभाजन गर्न नसक्ने बताएका छन् । बैठकपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले नेकपाको एकताको जग कमजोर नरहेकाले फुटको सम्भावना नरहेको जिकिर गरेका हुन् ।

“नेकपालाई कसैले फुटाउन सक्दैन किनभने पार्टी एकता कमजोर जगमा उभिएको छैन । कमजोर जगमा सुरु भएको पार्टी पनि होइन ।”

पार्टी जीवनमा अनेकौं उतारचढाव आएकाले अहिलेको समस्या पनि त्यसैको निरन्तरता भएको उनको निचोड थियो । नेता नेपालले कुनै एउटा व्यक्तिको चाहनामा पार्टी विभाजन हुन नसक्ने पनि बताए । “कुनै एक व्यक्तिले चाहेर यो पार्टी फुट्न सक्दैन । सबैले अत्यन्त ठूलो त्याग, तपस्या, बलिदान गरेर यो पार्टी निर्माण गर्नुभएको छ,” उनले भने ।

वामदेव आए, बादल आएनन्

यसअघि वामदेव गौतमनिवास भैंसेपाटी, पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक छलफल हुँदै आएको थियो ।

यसपटक प्रचण्ड–नेपाल समूहले पार्टी मुख्यालयमै बैठक राखेर ओलीलाई चुनौती दिएका छन् । नेकपा सचिवालयका ९ मध्ये पाँचजना नेता स्पष्टरूपमा ओलीको विपक्षमा उभिएका छन् । र, पार्टी सत्तामा ओली कमजोर बनेको सन्देश प्रवाह गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमै बोलाएर विगतमाजस्तै ओलीको पक्षमा उभिन आग्रह गरे पनि उपाध्यक्ष गौतम गठबन्धनमै सामेल भएका छन् । यसअघि वैशाख १७ गते र असार १६ गते गौतमले गठबन्धनको पक्षमा खुट्टा नटेक्दा ओलीको प्रधानमन्त्री पद जोगिएको थियो । साउन १३ गते बहुमत स्थायी कमिटी सदस्यहरू बालुवाटारमै भेला भएर ओलीविरुद्ध प्रस्ताव पारित गरिरहँदा गौतम ६ बुँदे सहमतिको प्रस्ताव अघि सार्दै उनको सत्ता जोगाउन लागि परेका थिए ।

तर, राष्ट्रियभा सदस्यमा करबलले लगिए पनि सरकारमा जाने बाटो थुन्न खोजेको भन्दै उनी ओलीदेखि रुष्ट छन् । ओलीकै उक्साहटमा अदालतमा मुद्दा दर्ता गरेर बाटो रोकिएको उनको आशङ्का पनि छ । गठबन्धनको पक्षमा उभिएर त्यसैको रिस साँधेको नेकपाका नेताहरू बताउँछन् ।

सचिवालयका एक नेताकाअनुसार शुक्रबारको अनौपचारिक बैठकमा उपाध्यक्ष गौतमको धारणा तुलनात्मकरूपमा नरम थियो । उनले बैठकमा ओलीलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका ती नेता बताउँछन् ।

“बैठक जसरी पनि राख्नुपर्छ । सकेसम्म केपी ओलीसमेतको सहमतिमा राख्नुपर्छ,” उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै एक नेताले भने, “कार्यकारी अध्यक्षलाई त्यो अधिकार त छ । तर, पार्टी एकतालाई जोगाउनका लागि सकेसम्म केपीसँग नै सहमति गर्नुपर्छ । हामी सबैले सामूहिकरूपमा आग्रह गर्नुपर्छ ।”

अघिल्लो आइतबार खुमलटार भेलामा सहभागी भए पनि गृहमन्त्री रामबहादुर थापा बादल भने आजको अनौपचारिक बैठकका सहभागी थिएनन् । उनी मन्त्रालयको काम छ भन्दै बैठकमा आउन आनाकानी गरेको नेकपाका नेताहरू बताउँछन् । उनी पार्टीको पछिल्लो विवादमा कतै खुल्न चाहेका छैनन् । “उहाँ कतै खुल्न चाहनुभएको छैन । सरकारमा रहेकाले प्रधानमन्त्रीको विपक्षमा उभिन नैतिकताले पनि दिएन, त्यसैले उहाँ आजको भेलामा अनुपस्थित रहनुभएको हो,” उनीनिकट स्रोतले भन्यो ।
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC