बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार नेकपा ‘स्वार्थजोड’ छुट्टिनु बेस कुलचन्द्र वाग्ले 
बाह्रखरी - बिहीबार, कात्तिक २०, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

सरकारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको चुलीमा छ । विवादले कहिले भुसको आगोजस्तो र कहिले छेस्काहरु दन्किएको मुस्लो धुँवाले झैँ राजनीतिलाई प्रदूिषत पार्ने गरेको छ । नेकपामा प्रकट वा सुषुप्त विवाद निरन्तर छ । यो अनौठो होइन, स्वाभाविक हो । दलहरुमा आन्तरिक विवाद नौलो होइन । सँगै बस्नै नसक्ने तर सँगै बस्ने लोभ उत्पादन नेकपाको विवाद चाहिँ अनौठो हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीचको गठजोड सिद्धान्तहीन सत्ता लालसाको उपज थियो । सिद्धान्तहीनहरुको गठजोड विवादको घेरामा परिरहनु अनौठो हुने भएन  । सिद्धान्त त्यक्तहरुको नेकपाका नेता, कार्यकर्ताले खोज्ने विकल्प राज्य स्रोत र शक्ति दोहनमा हिस्सा हो । हिस्साको हाँडीघोप्टे मनसुवा पूरा नहुँदा झगडा हुने नै भयो । 

कम्युनिस्ट शब्द जोडिए पनि फरक धरातल र प्रशिक्षणबाट आएका हुन् एमाले र माओवादी । त्यसो त दुवैको उद्भव निहत्थाको हिंसाबाट गराइएको हो । दुवैले अंगिकार गरेको ध्वंश र हिंसालाई भित्री र बाहिरी मलजल प्राप्त भएको थियो ।  कमजोर नै भए पनि सिद्धान्तको निरन्तरता मनमोहन अधिकारीजस्ता नेताको प्रभावले एमाले लोकतान्त्रिक हुन प्रेरित भएको थियो । 

Agani Group

उद्भव हिंसा नै भए पनि एमालेले गरेको अभ्यासले बनेको प्रजातान्त्रिक छवि सत्ता स्वार्थमा यति सजिलै तीलाञ्जली दिन्छ भन्ने विश्वास कमैलाई थियो । नाममा कम्युनिस्ट झुन्ड्याएको भए पनि एमाले प्रजातन्त्रको पहरेदार हुने धेरैको विश्वास सुनिन्थ्यो । नेपालको राजनीतिक सन्दर्भमा कम्युनिस्ट लोगो अवसरवादको चिनारी भन्नेहरुलाई त्यतिबेला ओठे जबाफ दिइन्थ्यो र एमालेलाई चौबीस क्यारेटको प्रजातन्त्रवादी भनिन्थ्यो  । आखिर एमाले सिद्धान्त त्यागेको कम्युनिस्ट नै  भयो । जहाँ ढुङ्गो त्यहीँ टुङ्गो भने जसरी एमालेको पानीघाट कम्युनिस्ट नै रह्यो । 

घटना क्रमले नेकपा माओवादी केन्द्र अवसरवादको पहिलो उदाहरण पुष्टि भएको छ । माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रचण्ड अवसरवादले देशले भोगेको क्षति कहाली लाग्दो छ । राजतन्त्रलाई अजरामर बनाउने धोको ‘कम्युनिस्ट’ प्रचण्डलाई सुम्पिएका राजालाई प्रचण्ड अवसरवादको घात याद होला । सधैँ कम्युनिस्टलाई काखी च्याप्ने र प्रजातन्त्रवादीलाई काखीठोक्ने राजसंस्थाले भोगेको घात अब नेपाली नागरिकको हिस्सा भएको छ । 

sarbottam cement

राजनीतिक सुरक्षा छाता ओढाउने नेता गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले दिएको धोका र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाएको खोटो मोहोरको दक्षिणा अवसरवादका नमुना हुन् । फेहरिस्त प्रचण्डै लामो छ । सम्झनाका केही उदाहरण मात्र यी । अचम्म त त्यतिबेला लाग्छ जब पुष्पकमल दाहालको ‘राजनीति ?’ मा अवसरवादबाहेक केही भेटिँदैन ।

नेकपाको एकता ‘घिउ बेचुवा र तरबार बेचुवा’ बीचको  दोस्ती जस्तो भएको हो । पुष्पकमल दाहालको अवसरवादले भोग्नुपर्ने नियति यस्तै हो । उनले धेरैलाई झुक्याए तर यतिबेला जब्बर कम्युनिस्टसँग जुझ्नु परेको छ र सिद्धिने कि कसरी जोगिने ? चुनौती सामु उनी छन् । राजनीतिक सुरक्षा र सत्ता सुविधामा निरन्तर रहन दाहाल एमालेमा विलय भएका हुन् । निश्चय नै दाहाल अर्का अध्यक्ष, प्रधानमन्त्री केपी ओली जति कुटील छैनन्, निर्दयी चाहिँ समान होलान् । 

अहिलेको नेकपामा भन्दा सानो नै सही नेकपा माओवादी केन्द्रका दाहालको राजनीतिक गुरुत्व र प्रभाव हिसाब लायक थियो । कार्यकारी पाएका अध्यक्ष दाहालले अहिले नै पार्टी एकता र महाधिवेशनको काम छोडेर पदीय भागबन्डाको झगडा झिकेको आरोप खेपी रहेका छन् । उनको कार्यकारी असफल साबित गरिँदैछ । दसपत्रे टालो हालेर नेकपा महाधिवेशनसम्म पुगे पनि त्यसपछि फालिने पुष्पकमल नै हुन् ।        

नेकपाको विवाद ‘वर्ग संघर्ष’को नमुना हो । वर्ग संघर्षमा कुनै वर्ग पराजित हुन्छ, गर्नुपर्छ भन्छन् कम्युनिस्टहरु । दाहाल धेरैपटक पराजित पनि भए तर अवसरवादिताले जोगिए पनि । अहिलेको कम्युनिस्ट वर्ग संघर्षमा उनी जोगिन सहज छैन । उछिट्टिए भने भन्न सकिँदैन । सत्ता, स्रोत, सुविधामा रजगज गर्ने कम्युनिस्ट र त्यसको लागि झगडा गर्ने कम्युनिस्टबीचको वर्गसंघर्ष हो नेकपाको विवाद । अर्थात् सत्ता हुने र नहुने वा पाउन खोज्ने वर्ग झगडा । 

कम्युनिस्टहरु वर्ग समन्वय र उत्थानको कुरा गर्दैनन् । उनीहरु वर्ग विभेद, संघर्ष वा अधिनायकवादी मान्यता राख्छन् । विभेद वा अधिनायक रुपमा फरक तर सारमा एकले अर्कोलाई थिचोमिचो गर्ने निरन्तरता नै हो । यही वर्गीय थिचोमिचो प्रवृत्तिको स्वाभाविक परिणामबाट नेकपा गुज्रिँदै छ । नेकपाको वर्गीय सत्ता लुछाचुँडीको संघर्षमा देश र जनता प्रताडित भएका छन् ।      

विश्व कोरोना महामारीले आक्रान्त छ । नेपाल चाहिँ कोरानासँगै कम्युनिस्ट झगडाको दाहोरो महामारीमा फसेको छ । नौ दस महिना भयो कोरोनाले यहाँ फणा उठाएको । अहिलेसम्म भरपर्दो उपचार प्रणाली स्थापित गर्न कम्युनिस्ट सरकार असफल भएको छ । नागरिकले उपचारविहीन मृत्युवरण गर्ने दुःखद अवस्था सुनिदैछ ।  सरकारधारीहरुको घरेलु अंश झगडा देशले थेग्नै नसक्ने कोरोनाको हदमा पुगेको छ ।  

नेकपामा पटकपटकको विवाद चीनको सहयोगमा थन्क्याइएको हो । उसको सदाशय भलै होस् तर यसको मूल्य चाहिँ नेपाली जनताले चुकाउनु परेको अब मित्र चीनले पनि प्रत्यक्ष अनुभूत गर्यो होला । उत्तरी हिमाली पानी जति खन्याए पनि ननिभ्ने नेकपाको झगडाको राँकोले चीनलाई पनि डामी सकेको छ । अब के ? भुंग्रोमा कति हात हाल्छ ऊ ? 

अर्कोतिर नेकपामा जब विवादको राप बाहिरिन्छ, शीतलनिवासमा गर्मी चढ्छ । बिचरा राष्ट्रपति विद्यादेवी भण्डारी सबै लोकलज्जा वा पदीय मर्यादा त्यागेर पूर्व एमाले उपाध्यक्षको हैसियतमा ओर्लनु परेको हरिबिजोग सुनिन्छ । यसपटक पनि वर्तमान उपाध्यक्ष वामदेव गौतमलाई झगडा मिलाउन ‘पूर्व उपाध्यक्ष’ले अह्राएको दलीय प्रयत्न नेपालीले अनिच्छावश पनि सुन्नुपरेको छ । सुन्नेलाई नै लाज लागिसक्यो, नेकपाका झगडालु नेताहरुलाई शीतलनिवासमा भोजभण्डारा खुला गरिन्छ । 

सिंगो राष्ट्रको पति (मालिक),संविधानको रक्षकलाई नेपाली जनताले दिने सम्मान खुलेआम कुनै दलको रक्षाकवच बन्न होइन । जनताको विश्वास, भरोसा र सम्मान बचाइ राख्न नसक्दा आउने दुष्परिणाम राष्ट्रपतिको स्थान, मान र सानमाथि नै हो । सान भत्काइँदा गणतन्त्रमाथि प्रश्न त उठ्छ नै लोकतन्त्र पनि खुम्चिनेछ । जुन प्रणालीको लागि दलहरुले आन्दोलनको नेतृत्व गरे त्यही प्रणाली हातबाट फुत्किनेछ । 

जतिसुकै प्रयत्न गरे पनि नेकपाको विवाद सुल्झिनेछैन । आन्तरिक र बाह्य टेकोले केही दिन थाती राख्न सकिएला तर अहिलेको नेकपाको जीवन विवादमुक्त हुन सम्भव छैन । सिद्धान्तहीन गठजोडको परिणाम हुने नै यस्तै हो  । लोभको स्वार्थजोड धानिन्छ कहिलेसम्म ? 

देश, जनता र स्वयं दलसमेत अटुट झगडाको भुमरीमा फसाइनुभन्दा आआफ्नो बाटो हिँड्न नेकपा विभाजित हुनु श्रेयस्कर हुनेछ । विभाजन क्षयको कारणमात्र हुँदैन, शक्ति प्रर्बद्धन पनि हुनसक्छ, बनाइनुपर्छ । छुट्टिने दुवैथरी गरी खानै नसक्ने पक्कै नहोलान् । धन, जन कमाएकै छन्, कजाएकै छन् । पाखुरा सुर्किँदै गरेका नेकपाका नेता, कार्यकर्ताहरुले गम्भीर भएर सोच्ने बेला आएको छ, नेकपा ‘नमच्चिने पीङको सय झड्का’ जस्तै हो, कति झड्का दिने ?      


 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, कात्तिक २०, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्