site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले राम्रो गर्‍यो भनेर जनताले भनेनन्, महाधिवेशनमा गगन थापा पुस्ता आउनैपर्छ 
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रष्ट वक्ता र वैचारिक क्षमता भएका नेताका रुपमा परिचित छन् । भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका घिमिरे पार्टीको आशन्न १४ औं महाधिवेशनमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने धारणा राख्दै आएका छन् ।  

आफ्नो पुस्ताबाट अब्बल व्यक्ति आए स्वीकार्ने अन्यथा पार्टी पदाधिकारीमा आफ्नो उमेदवारी रहने उनको भनाइ छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने दायित्व सभापति शेरबहादुर देउवाको भएको बताउने घिमिरे पार्टी विधान र विधिअनुसार चल्नुपर्ने बताउँछन् । 

करिब दुईतिहाइ नजिकको सरकार पूर्णरुपमा असफल भएको बताउने उनै कांग्रेस केन्द्रीय सदस्य घिमिरेसँग कांग्रेसमा जारी आन्तरिक विवाद, महाधिवेशनको अन्योल र राष्ट्रिय राजनीतिका बारेमा केन्द्रित रहेर बाह्रखरीका केशव सावदजगन्नाथ दुलालले गरेको कुराकानी : 

Agni Group

नेपाली कांग्रेस अहिले आन्तरिक विवादमै रुमल्लिएको देखिन्छ । सभापति शेरबहादुर देउवाले विधानअनुसार पार्टी चलाउनुभएन भनेर संस्थापनइतर समूह विरोधपत्र नै दिने अवस्थामा पुग्यो । खास कांग्रेसभित्रको अहिलेको विवादको चुरो के हो ? 

संसारभरिका लोकतन्त्रवादी राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्य–मान्यताहरुमा विश्वास गर्दछन् । उनीहरुले पार्टी चलाउँदा विधिसम्मत तरिकाले सञ्चालन गर्नुपर्दछ, चलाउनुपर्दछ । र, विधि र प्रक्रियासम्मत तरिकाबाट पार्टी सञ्चालन गर्‍यो भने कुनै पनि प्रश्न उठ्दैन । कुनै पनि समस्याहरु आउँदैन । समस्या आयो भने भने विधिकै एउटा दायराभित्र रहेर समाधान गर्न सकिन्छ । 

Global Ime bank

विधि र प्रक्रिया मिचेर अगाडि जाने अधिकार कसैलाई पनि छैन । पार्टी कुनै पनि तहको नेतालाई विधि उल्लंघन गर्ने, पार्टीको विधानभन्दा बाहिर जाने अधिकार हुँदैन । यो संसारभरिकै  लोकतन्त्रको आधारभूत सर्त हो । 

तर, हाम्रो जस्तो देश र खासगरी दक्षिण एसियाका कतिपय देशहरुमा विधि केवल फगत देखाउनका लागिमात्रै भएको छ । धेरै देशहरुमा धेरैजसो पार्टीका नेताहरुले यसलाई इमान्दारीपूर्वक यसलाई पालना गर्दैनन् । यसको अभ्यास पनि गर्दैनन् । 

त्यसको अपवाद नेपाली कांग्रेस पनि छैन । हाम्रो पार्टीमा विधिको अभ्यास गर्ने परम्परामा कहिलेकाहीँ प्रश्न उठेको छ । र, यसपल्ट पनि प्रश्न उठ्यो । जस्तो कि पार्टीका विभाग गठन गर्ने भन्दा साविकको विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र र अहिले संशोधित विधानले महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गर्ने भनेर समय सीमा नै तोकेको छ । 

समय सीमा तोक्नुको अर्थ भनेको त्यही समय सीमाभित्र हुनुपर्छ । हामीले बनाएको विधिलाई हामीले अक्षरशः पालना गर्नुपर्दछ । त्यो गर्न सकिएन, भएन, चल्दैगर्छ, यसपटक भैयो, अर्को पटक गरौंला भन्ने छुट हुँदैन । त्यो सुविधा हुँदैन । सच्चा लोकतन्त्रवादीलाई सच्चा लोकतन्त्रिक पार्टीलाई त्यो गर्ने छुट हुँदैन । 

फेरि नेपाली कांग्रेस भनेको लोकतन्त्रको पाठशाला हो । यो एकप्रकारले गुरुकूल हो । अरुलाई यसले लोकतन्त्र सिकाएको, यसले अरुलाई लोकतान्त्रिक बाटोमा हिँडाएको इतिहास छ । यसो भएको हुनाले हामीले विधिको इमान्दारिपूर्वक अभ्यास गर्नुपर्ने कुरामा हामी चुक्यौं । 

सभापति पक्षधरहरु पार्टीलाई क्रियाशील बनाउन विभागहरु गठन गरिएको दाबी गर्छन् । अरु पार्टीबाट नेता, कार्यकर्ता भित्र्याएर सभापतिले संगठन बलियो बनाउँदै हनुहुन्छ भनिरहेका छन् । तर, तपाईंहरु त्यसको पनि विरोधमा किन ?  

हामीले विभाग बनाउन थाल्यौं–महाधिवेशनको मिति तय भइसकेपछि । हामीले अर्को पार्टीबाट आएका राजनीतिक दलका कार्यकर्ताहरुलाई केन्द्रीय समितिले निर्णयनै नगरी केन्द्रमा ल्याउन थाल्यौं । 

जुन तहको कार्यकर्ता आएको हो, त्यही तहले निर्णय गरेर केन्द्रसँग अनुमति माग्नुपर्छ । जुन तहको कार्यकर्ता आएको उसलाई केन्द्रको अनुमतिमा त्यही तहमा समायोजन गर्नुपर्दछ । अर्थात त्यही तहको जिम्मेवारी दिइनुपर्दछ । र, त्यसका निम्ति केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्दछ । 
लोकतान्त्रिक फोरम जुन समायोजन भयो त्यसलाई समायोजन गर्न एउटा समिति बन्यो विमल दाइ (उपसभापति विमलेन्द्र निधि) को अध्यक्षतामा । 

त्यो समितिले लोकतान्त्रिक फोरमको संगठन समायोजनको काम गर्ने हो । 

त्यसलाई केन्द्रीय कार्यसमितिले निर्णय नगरी ल तपाईंहरुनै हेर्नुस् भनेर हुकुम प्रमाङ्गीको आधारमा भनियो । त्यसरी गर्न मिल्दैन । 

व्यक्ति आएका छन् । एउटा नेता आएको छ । यसले मुख मागी क्रियाशील सदस्यता लिएर गएको छ । कति सदस्य उसले प्रवेश गरायो भन्ने कुराको कुनै आँकडा छैन । तथ्यांक छैन उसँग, यसले भन्न सक्दैन । 

अनुमानित आधारमा उसले मैले १५ सय छन् मसँग, दुई हजार छन् मसँग, पाँच हजार छन् भनेर बिना आँकडा क्रियाशील सदस्यताको फारम दिएर पठाइएको छ । ती मान्छे कहाँ छन्, त्यो संख्या कहाँ छ थाहा छैन ।  त्यसैले यो पार्टी विधानको मर्म होइन । पार्टी विधानको मर्म बाहिर गएर उहाँहरु (संस्थापन पक्ष) ले काम गर्नुभएको छ । र, विधानले तोकेको समय सीमाभन्दा एकदमै ढिलो महाधिवेशन घोषणा गरिएको वर्ष उहाँहरु विभाग बनाउँदै हुनुहुन्छ । 

त्यस्तै पार्टीका भ्रातृ संस्थाहरुको म्याद छ महिना थप्न मिल्ने भन्ने किटानी व्यवस्था छ । त्यो पटक–पटक छ महिना थपिराख्ने होइन । त्यो विधानको मर्म होइन । विधानको भावना होइन । पटक–पटक छ महिना सिद्धियो फेरि थप्ने ? भ्रातृ संस्थामा रहेका साथीहरुले पनि आफ्नो संस्थाको महाधिवशेन गर्नेतिर अग्रसरता नदेखाउने । क्रियाशीलता नदेखाउने । काम नगरी बस्ने । पार्टीलाई लेखेर दिने र आफ्नो अनुकूलको भ्रातृ संस्था छ, भोलि आफ्नो सहयोगी हुन सक्छ भन्ने आधारमा म्याद तन्काउँदै लैजाने पनि विधानको मर्म होइन । 

यस्ता धेरै कुराहरु उहाँ (संस्थापन समूह) ले पालना गर्नुभएन । विधानको पालना गर्नुभएन । त्यसैले हाम्रा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत २७ जना केन्द्रीय कार्यसमतिका सदस्यहरुले लेखेर दिएको हो । 

सभापति देउवाले पार्टीभित्र आन्तरिक समस्या आउनुको जिम्मेवारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि लिनुपर्छ भन्नुभएको छ । तपाईंहरु जिम्मेवार हो कि होइन ? 

पार्टीको मूल नेता भनेको पार्टीको अभिभावक हो । शेरबहादुर देउवा हामी सबैको अभिभावक हो । उहाँले नै पार्टीलाई कून बाटो हिँडाउने निर्णय गर्ने हो । महामन्त्री, कोषाध्यक्ष निर्वाचनबाट नै ल्याएका छौं । केन्द्रीय समितिमा निर्वाचितहरुको सँख्या धेरै छ । त्यसैले एकप्रकारले पार्टी सामूहिक नेतृत्व प्रणालीमा पनि गएको छ । तर, मूल अभिभावक पार्टी सभापति नै हो । विधानको पालना गर्ने, संरक्षण गर्ने, विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्ने, भातृ संस्थाहरुलाई लोकतान्त्रिक मूल्यमान्यताअनुसार चल्न अभ्यस्त पार्ने काम मुख्यगरि पार्टी सभापतिको हो । त्यसैले मेरो प्रतिस्पर्धी समूहले काम गर्न दिएन भनेर पार्टी सभापतिलाई उम्कने सुविधा हुँदैन । लोकतन्त्रवादी नेताले आफ्नो साथीको थाप्लोमा दोष थोपरेर आफू चोखो बसेको संसारभर मलाई थाहा छैन । 

आफूअनुकुलका निर्णय हुँदा विधानको मतलव नगर्ने तर, आफु प्रतिकूल भएपछि विधानको कुरा गर्ने गरेको आरोप संस्थापनसमूले तपाईँहरुमाथि लगाउने गरेको छ नि ? 

विधानको प्रतिकूल गएर काम गर्ने सुविधा सभापतिलाई हुँदैन । भागवण्डा मिल्यो भने विधान नचाहिने, मिलेन भने विधानको कुरा उठाउने भन्नुभएको छ । तर, विधान बाहिर गएर भागवण्डा दिने अधिकार पनि सभापतिलाई हुँदैन । मानौं, संस्थापनइतर समूह गैरजिम्मेवार भएर भागवण्डा माग्यो रे । माग्दैमा सभापतिले विधानभन्दा बाहिर गएर भागवण्डा दिन मिल्दैन । यदि विधान विपरीत लिन माग्ने पक्ष तयार भयो भने पनि विधानको संरक्षक र पालनाकर्ता भएकाले सभापतिले त्यसलाई रोक्नुपर्छ । त्यसैले संस्थापनइतर समूहले भाग माग्यो, भाग पाउँदा विधान उल्लंघन गर्न तयार भयो भन्नुको कुनै तर्क र आधार छैन । 

भनेपछि तपाईंहरु पार्टीभित्र अहिले देखिएको समस्यामा आफुहरुलाई जिम्मेवार मान्न तयार हुनुहुन्न ? 

दायित्व हामी सबैको हो । उपसभापति, महामन्त्रीको पनि दायित्व हो । हामी एकजना व्यक्तिलाई मात्र दोष थोपर्न चाहँदैनौं । तर, पार्टीभित्र उठाइएको प्रश्नको जवाफ दिने, समाधान खोज्ने काम सभापतिकै हो । पार्टी सभापति गुटको नेता होइन । उहाँले गुटबन्दी सोच्नुहुँदैन । गुटको चश्माले हेर्नुहुँदैन । हिजो सुशील कोइरालाले गुटबन्दी गर्नुभयो, गुटलाई प्रवर्द्धन गर्नुभयो र मलाई पक्षपाति भयो भनेर शेरबहादुर देउवानै भन्नुहुन्थ्यो । तर, आज उहाँले त्यसै गर्नुहुन्छ त ? हुँदैन । १३ औं महाधिवेशनमा विगतका सबै कमीकमजोरी सच्याएर अघि बढ्छु भन्नुभएको थियो । विगतका भन्दा सच्चिए कि कमजोरी बढेर गए ? बढेर गएको छ । त्यसो भएको हुनाले पार्टीमा देखिएका समस्या समाधान गर्ने दायित्व सभापतिको हो । उहाँले लचकता देखाउभयो, अग्रसरता देखाउनुभयो भने त्यसलाई अर्को समूहले पनि समाधानका लागि सघाउनुपर्छ । 

कांग्रेसमा अहिले देखिएको आन्तरिक विवादले १४ औं महाधिवेशन नै प्रभावित हुने भयो होइन ? महाधिवेशनको तयारी कहाँ पुग्यो ? 

खास हाम्रो कार्यकाल चारवर्ष हो । विशेष परिस्थिति, असाधारण अवस्थामा थप्न मिल्ने समय थपेर अहिले हामी पाँचौँ वर्षमा छौं । तै पनि महाधिवेशन एकदमै अन्योलमा छ । लोकलाजलाई परित्याग गरेर हामी अघि बढ्न कोशिश गरिरहेका छौं । 

महाधिवेशनको तयारी केही भएकै छैन । सबभन्दा पहिलो कुरा त हाम्रो मतदाता (क्रियाशील सदस्य) हुन् । शतप्रतिशत थप्ने भनेका छौं । करिब ४ लाख ७० हजार क्रियाशीलमा अब विजय गच्छदार र सुनिल थापालगायतको थपेर समायोजन भएपछि त्यसैले सय प्रतिशत क्रियाशील सदस्यता हामी बाँड्छौं । त्यसो गर्दा झण्डै १० लाखको सँख्यामा हाम्रो क्रियाशील सदस्यता पुग्छ ।  क्रियाशील सदस्यको नाम अन्तिम भएपछि बल्ल हाम्रो निर्वाचनको प्रक्रिया शुरु हुन्छ । पुसबाट शुरु गर्ने भनेका छौं । कात्तिकको मध्य नाघिसक्यो ।

कात्तिक २१ को केन्द्रीय समिति बैठक छ । बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न गर्‍यौं भने मात्रै प्रक्रियामा प्रवेश गर्छ । 

२ महिनायता अवरुद्ध प्रक्रियाले फेरि गति प्राप्त गर्छ । फागुनको ७ मा हुने महाधिवेशनलाई ०७७ सालभित्रै गर्न सक्यौं भने हामी माथि उठेको प्रश्नको काम चलाउ जवाफ दिन सक्छौं ।  चित्त बुझ्दो होइन । यदि यो वर्षभित्र महाधिवेशन गर्न सकेनौं र संविधानको समयसिमासम्म लिएर गयौं भने भोलिको पुस्तालाई जवाफै दिननसक्ने अवस्थामा हामी पुग्छौं । 

महाधिवेशनको नेतृत्वको चर्चा गर्दा तपाईंले युवा नेतृत्वको कुरा गर्नुभएको छ । आउँदो महाधिवशेनमा कांग्रेसको मूल नेतृत्वमा युवाहरुले दाबेदारी प्रस्तुत गर्ने सम्भावना छ ? 

०४६ सालपछि कांग्रेसले सरकार पनि चलायोे । दुईपटक बहुमत पनि पायौं । तर, ०७४ को निर्वाचनमा आइपुग्दा पार्टी नराम्ररी पराजित भयो । ०४६ पछि ३० वर्ष पार्टी चलाउने र सरकार चलाउने भूमिकामा अहिलेकै नेताहरु हुनुहुन्थ्यो ।  वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला मूल नेतृत्वमा हुँदा पनि उहाँहरु सँगसँगै हुनुहुन्थ्यो । शेरबहादुर दाई, रामचन्द्र दाई, डा. रामशरण महत दाईदेखि अहिले जो जो नेता हुनुहुन्छ, उहाँहरु निर्णायक ठाउँमा हुनुहुन्थ्यो । पछिल्लो ३ दशकमा पार्टी बलियो भएन । सरकारमा गएर गरेका कामहरु पनि चित्तबुझ्दो भएन । कांग्रेसले असाध्यै राम्रो गर्‍यो भनेर जनताको प्रतिक्रिया प्राप्त भएन । अन्ततः हामीले निर्वाचनमा पराजय भोग्नुपर्‍यो । 

त्यसैले, अहिले देशभरिका साथीहरुमा नेतृत्व परिवर्तनको असाध्यै ठृुलो चाहना छ । अहिले नेतृत्व गरिरहेकाले होइन नयाँ पुस्ताले पार्टी चलाउनुपर्छ भन्ने माग छ । त्यो सन्दर्भमा हामीले छलफल पनि गरेका छौं । पार्टी सुधारका उपाय के हुन सक्छ ?  कमजोरी के के छन् ? पार्टीमा भएको समस्याको समाधान के हुनसक्छ ? भन्ने बारेमा हामीले लिखित रुपमै पार्टीमा दस्तावेज पेश गरेका छौं । अर्को दस्तावेजको तयारीमा पनि छौं । त्यसैले युवानै नेतृत्वमा आउनुपर्छ भन्ने माग छ । 

धेरैले अहिले धमाधम उमेदवारी घोषणा पनि गरिरहेका छन् । तपाईंको आकांक्षा के मा रहन्छ ? 

म पुस्तामा विश्वास गर्छु । पार्टीको राजनीतिमा मेरो आवश्यकता, सान्दर्भिकता र औचित्यता साथीहरुले कहाँ देख्नुहुन्छ । भोलि मूल नेतृत्वमा आउनेले कहाँ देख्नुहुन्छ । तर, मैले आफूले भन्नुपर्दा पदाधिकारीमा उमेदवार हुने सोचाई बनाएको छु । तर, पार्टीको भविष्य राम्रो बनाउन सक्ने कोही आउँछ र मैले भूमिका नलिँदा पार्टी बन्छ भने म त्याग गर्न पनि तयार छु । तर्कपूर्ण, न्यायसँगत कुरा आयो भने म त्याग गर्न पनि तयार छु । तर, परम्परागत रुपमा जबर्जस्त रुपमा धकेल्ने कुरा आयो भने म पदाधिकारीमा उमेदवार बन्छु । 

तपाईंले युवा नेता गगन थापाको नेतृत्वमा युवाहरुको टिम बन्न सक्ने संकेत गर्नुभएको छ । के त्यस्तो सम्भावना छ ?

कांग्रेसको नेतृत्व युवा पुस्तामा आउनुपर्छ भन्ने ठुलो माग छ । त्यसमा गगन थापाको नाम मैले प्रतिकात्मक रुपमा लिएको हुँ । किनभने गगन थापा चलनचल्तीको नाम भइसक्यो । जसले पनि गगनजीको नाम लिने भइसक्यो । उहाँ पनि हुन सक्नुहुन्छ ।  युवाहरुमा जो पनि हुन सक्छन् । उहाँ भन्दा सिनियर नेता पनि हुनुहुन्छ । नेतृत्व निर्माण गर्ने धेरै विकल्प छन् । कुन पुस्तामा नेतृत्व आउनुपर्छ भन्दा युवा पुस्ता पनि एउटा विकल्प छ । त्यसैले मैले प्रतिकात्मक रुपमा गगन थापाको नाम लिएको हुँ । 

पार्टीमा प्ुस्तान्तर हुनुपर्छ । पार्टी केन्द्रीय समिति र पदाधिकारीको अधिकांस हिस्सा युवाहरुले पाउनुपर्छ । यदि त्यो कुरामा कञ्जुस्याई हुन्छ र युवाहरुलाई किनारामा धकेल्न खोजिन्छ भने युवाहरुको टिम बन्न सक्छ । त्यसैमा मैले उहाँको नाम लिएको हुँ । 

अहिले १२ जना युवाहरुको एउटा समूह छ । त्यहाँ कृष्ण सिटौला समूहको पनि हुनुहन्छ । शेरबहादुर देउवालाई मत दिएकाहरु पनि हुनुहुन्छ ।  पुरानो समूहको आधारमा हेर्दा सबै छौं । शेरबहादुर देउवासँग भएका युवाहरुसँग पनि अनौपचारिक छलफल गरिरहेका छौं । सबै युवाहरुकाबीचमा संवाद गरेर अघि बढ्छौं । 

तपाईं ०६२–६३ को जनआन्दोलनमा नेविसंघको अध्यक्षका रुपमा नेतृत्व गर्नुभयो । सोही आन्दोलनको उपलब्धिका रुपमा संघीयता र गणतन्त्र मानिन्छ । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ठाउँमा नेपाल मात्र लेख्न परिपत्र गरेको विषयलाई कसरी हेर्नुभएको छ ? 

सरकारको सर्कुलर सरासर गलत हो । सरकारले संविधानको मर्मको खिलापमा गएर कुनै पनि सर्कुलर गर्न सक्दैन । संविधानभन्दा माथि सरकारको सर्कुलर हुन सक्दैन ।  हामीले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालनै हो । बोलीचालीको हिसाबमा नेपाल देश, नेपाल नै भन्न सकिन्छ । कुनै विशेषण लगाइरहनुपर्छ भन्ने छैन ।  तर, लिखित व्यवहार गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालनै लेख्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC