site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 शासक फेर्ने कि शासन पद्धति ?

बहुमत प्राप्त सरकारका पछिल्ला गतिविधि तथा बेलाबखत देखिने अकर्मण्यताले जनमानसमा नैराश्य बढ्नुका साथै शासकीय स्वरूप परिवर्तनसम्बन्धी बहस फेरि सुरु भएको छ । हामीकहाँ प्रत्येक दस वर्षमा शासन व्यवस्थामाथि नै प्रश्न उठ्नु र छोटो छोटो समयमा शासन प्रणाली परिवर्तन हुनु नियमित प्रक्रियाजस्तै भइसकेको छ । व्यवस्था जुनसुकै आए पनि नेतृत्वमा भने एउटै व्यक्ति आजीवन रहिरहने, ऊ कहिलै अयोग्य र अप्रासङ्गिक नहुने तर व्यवस्था भने छोटो समयमा पटकपटक फेरिइरहने अवस्थाले अहिले केही प्रश्न पनि उब्जाएको छ —  के साँच्चीकै नेपालमा प्रजातान्त्रिक व्यवस्था सफल नहुने नै हो ?

अथवा विगतमा प्रयोग गरिएका शासकीय स्वरूप अनुपयुक्त नै थिए त ? वास्तवमा प्रजातान्त्रिक व्यवस्था आफैँमा खराब हुँदैन । यसलाई शासकवर्गको सापेक्षतामा मूल्यांकन गरिनु उपयुक्त हुन्छ । व्यवस्थाका सञ्चालकहरूको नियत, व्यवहार र व्यवस्थाप्रतिको प्रतिबद्धताले यसलाई निरन्तर प्रभावित पारिरहेको हुन्छ । हाम्रो देशमा नेतृत्व कहिलै असान्दर्भिक नहुने तर व्यवस्था जति नै असल भए पनि लामो समय टिक्न नसक्नु आफैँमा आश्चर्यजनक देखिन्छ । 

विश्वमा प्रजातान्त्रिक शासन व्यवस्था भएका मुलुकहरूमा व्यवस्था नेतामुखी नभएर नीतिमुखी भएको पाइन्छ । जनताका आवश्यकता र चाहनालाई स्थानीय नीतिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका लागि बनाइने नीतिहरूमा प्रतिविम्बित गराउन सक्नु नै जनप्रतिनिधिहरूको सफलता मानिन्छ । नीति निर्माणमा जनताको नियन्त्रण हुनु नै प्रजातन्त्रको अनुभूति हुनु हो ।

Agni Group

तर, हाम्रो देशमा पञ्चायती व्यवस्थादेखि नै स्थापित नेतामुखी अभ्यासले प्रजातन्त्रको स्थापना पश्चात् पनि प्रत्यक्षपरोक्ष रूपमा निरन्तरता पाइरहेको देखिन्छ । हरेक शासकहरूलाई असल एवम जनमुखी नीति तथा स्वतन्त्र, निष्पक्ष र पारदर्शी प्रणालीहरूको स्थापना भयो भने आफ्नो भूमिका घट्छ कि भन्ने त्रास भएको यथार्थ उनीहरूका क्रियाकलापबाट नै झल्किन्छ ।

निर्वाचित जनप्रतिनिधि राज्यशक्ति आफूमा केन्द्रित भएको देख्न चाहन्छन् । हरेक कुराका लागि जनताले उनीहरूकहाँ निरन्तर धाइराख्न परोस् र हरेक सकारात्मक परिणामको जस लिन पाइयोस् भन्ने तिनको चाहना देखिन्छ । अझै अचम्म त के छ भने प्रजातान्त्रिक व्यवस्था स्वीकार गरेर निर्वाचित जनप्रतिनिधिहरू एकपटक निर्वाचन जितेपछि पाँच वर्षका लागि आफू शासक  र जनता शासित भएको जस्तो व्यवहार देखाउन थाल्छन् । प्रजातन्त्रको अभ्यास केही विकसित भएका विश्वका अधिकांश मुलुकहरूमा असली शासक जनता नै हुन्छन् । जनप्रतिनिधिहरू त राज्य र जनताका बीचमा समन्वयकर्ता अर्थात् जनताका चाहनालाई राज्यको माथिल्लो निकायसम्म पुर्‍याउने संवाहक र जनतालाई हरेक निर्णय प्रक्रियामा सहभागी गराउने अभिकर्ताको भूमिकामा देखिन्छन् । 

Global Ime bank

यसविपरीत हामीकहाँ जनप्रतिनिधिहरू उत्कृष्ट नीति निर्माण गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउनुको साँटो सबैलाई आफ्ना वरिपरि कसरी केन्द्रित गर्ने र नीतिविहीन अवस्थाको फाइदा उठाउँदै आफू कसरी शक्तिशाली बन्ने भन्ने दाउमा भएको देख्न सकिन्छ । एउटा नेता आफूलाई शक्तिशाली देखाउन योग्य उमेदवारलाई पाखा लगाउँदै निम्न श्रेणीमा पास गरेको व्यक्तिलाई जागिर खुवाउन आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको हुन्छ ।

त्यसैगरी आफन्त आसेपासे सहयोगीलाई नियुक्ति, बढुवा तथा आकर्षक स्थानमा सरुवा गर्न लागिरहेको हुन्छ जसबाट उसको शक्तिको ओजका अगाडि सबै झुकुन् र ऊ निर्विकल्प नेता भइराखोस् । बजेटको सन्तुलित तथा निष्पक्ष वितरण गर्दै मुलुकको सर्वाङ्गीण विकासलाई टेवा पुर्‍याउनुको साँटो आफ्नो शक्ति र पहुँचको प्रयोगद्वारा आफ्नै क्षेत्रमा मात्र बजेटको ठूलो हिस्सा पार्न चाहन्छ ।

यसले गर्दा सन्तुलित विकासको अवधारणा कमजोर हुँदै गइरहेको छ । सम्पूर्ण राज्य संयन्त्रहरू नै उपयुक्त प्रणालीको माध्यमबाट नभई शक्ति र पहुँचको आड र निर्देशनमा चल्ने हुँदा न देशले कहिल्यै असल विदेश नीति पाएको छ, न शैक्षिक तथा आर्थिक नीति पाएको छ, न त राष्ट्रिय तथा व्यक्तिगत सुरक्षा नीतिहरू नै पाएको छ । सानो उदाहरण, एउटा विद्यार्थी आफ्नो सम्पूर्ण क्षमता लगाएर अध्ययन गर्छ  ।

जब ऊ परीक्षामा सामेल हुन्छ तब मूल्यांकन प्रणाली सही नभएका कारण अपेक्षित स्थान प्राप्त गर्न नसक्दा पुनर्मूल्यांकनका लागि ऊ विभाग तथा कक्षाकोठामा आगजनी गर्ने अवस्थासम्म पुग्छ । एउटा प्राध्यापक नियुक्ति तथा बढुवाका लागि प्राज्ञिक कार्य गर्नुको साँटो नेताको घरदैलो चहार्दै हिँडिरहेको देखिन्छ ।

इमानदारीपूर्वक सरकारलाई कर तिर्दै कानुनको परिधिभित्रै रहेर व्यापार गर्ने व्यापारीले कहिल्यै उन्नति गर्न सक्दैन भने कालोबजारी गर्दै कर छल्नेहरू रातारात मालामाल भइरहेका हुन्छन् । लोकसेवा पास गरेर स्वतन्त्र र असल प्रशासक बन्न चाहेको व्यक्ति कर्मथलोमा पुगिसकेपछि निराश हुँदै कुनै न कुनै पार्टीको कार्यकर्ता बन्न बाध्य हुन्छ । विदेश नीतिमा सन्तुलन तथा एकरूपता पाइँदैन । नेतृत्वपिच्छे फरक फरक नीति र अभ्यास देखिन्छ । छिमेकी तथा अन्य मित्र राष्ट्रहरूसँगको सम्बन्ध राष्ट्रिय स्तरमा भन्दा व्यक्तिगत तहमा स्थापित भएको देखिन्छ ।

राज्य संयन्त्रभित्र देखिएका कुशासनका यस्ता उदाहरणहरू हामीकहाँ अस्वस्थ र गैरजिम्मेवार पार्टी राजनीतिको उपजका रूपमा विकसित भइरहेका छन् । यसको बीजारोपण र संरक्षण पनि पार्टीहरूले नै गरिरहेको देखिन्छ । जनताको स्वार्थलाई शिरोधार्य गर्दै पार्टी निर्माण, गठन र सञ्चालन भएको उदाहरण पाउन गाह्रो भइसकेको छ ।

पार्टी राष्ट्र र जनताका लागि समर्पित संस्था हुनुको साँटो केही शक्तिशाली नेताहरूको व्यक्तिगत स्वार्थलाई टेवा पुर्‍याउने र उनीहरूलाई सत्तासम्म पुर्‍याउने भर्‍याङका रूपमा प्रयोग भइरहेको देख्न सकिन्छ । दलहरूले उमेदवार छनोट गर्दा पनि जनताले रुचाएको व्यक्तिभन्दा आफ्नो स्वार्थलाई टेवा पुर्‍याउने र उनीहरूका विविध आकांक्षालाई परिपूर्ति गर्नसक्ने व्यक्तिलाई नै छनोटको पहिलो प्राथमिकतामा राखेको देखिन्छ । यसरी उमेदवार बनेको व्यक्ति निर्वाचित भएपछि जनताप्रति जबाफदेही हुनुभन्दा आपूmलाई सो स्थानमा आसीन गराउने पक्षप्रति बफादार हुने गर्छ । 

उपर्युक्त परिवेशका कारण अहिले हाम्रो राजनीतिक परिदृश्यमा केही प्रश्नहरू उठ्नु स्वाभाविक भएको छ—  हामीले अवलम्बन गरेको व्यवस्था नै उपयुक्त नभएका कारण सुशासन दिन नसकिएको  हो भने संविधानको कुन धारा अथवा कुन कानुनी प्रावधानले सुशासन दिन रोकेको छ ? के राज्य सञ्चालकहरूले संविधानको मूल मर्म र भावनाअनुसार राज्य सञ्चालन गरेका छन् त ? सुशासन नहुनुको कारण शासन व्यवस्थामात्र हो कि शासकवर्ग पनि ? एउटै व्यक्ति पटकपटक नेतृत्वमा पुगेर पनि देश र जनताका लागि ठोस उपलब्धि दिन नसकेका कारण यो अवस्था सिर्जना भएको हो भने व्यवस्था कसरी दोषी हुन्छ ? नेतृत्व दोषमुक्त हुने आधार खै ? आफ्नो कमजोरी कहिल्यै नदेख्ने शासकवर्गले यसको चित्तबुभ्mदो जबाफ जनतालाई दिनुपर्छ कि पर्दैन ? 

शासन प्रणालीहरू साध्य नभएर साधनमात्र हुन् । साधनमा केही प्राविधिक त्रुटि देखिएमा साधन नै फेर्नुको साँटो त्यसमा आवश्यक परिमार्जन गर्नु उपयुक्त एवं मितव्ययी पनि हुन्छ । पटकपटकका नयाँ नयाँ प्रयोग र त्यसलाई संस्थागत गर्न गरिने संरचनागत आमूल परिवर्तनले मुलुकमा एकातिर ठूलो आर्थिक भार थपिरहेको हुन्छ भने अर्कोतिर राजनीतिक अस्थिरतालाई पनि निम्त्याइरहेको हुन्छ । निश्चित अवधिपछि राज्यले यति ठूलो आर्थिक भार र यसबाट उत्पन्न राजनीतिक संकटको मूल्य पनि चुकाउन सक्दैन । त्यसैले शासकीय प्रणालीमा देखिएका सानातिना कमीकमजोरीलाई व्यवस्थित गर्दै जानु नै उपयुक्त हुन्छ । 

कुनै पनि राजनीतिक प्रणाली प्रकृतिप्रदत्त होइनन् । ती त विभिन्न कालखण्डमा जनचाहना र राष्ट्रिय आवश्यकताअनुसार निर्माण र परिमार्जन हँुदै आइरहेका छन् । हाम्रो देशमा भने एउटै नेता पञ्चायती व्यवस्थादेखि संसदीय प्रणाली हुँदै गणतन्त्रसम्मका सबै शासकीय स्वरूपका लागि योग्य र उपयुक्त देखिने तर त्यही नेतृत्वले कुशलतापूर्वक सञ्चालन गर्न नसकेको शासकीय प्रणाली अनुपयुक्त मानिने परिपाटी प्रजातान्त्रिक व्यवस्थाका लागि घातक छ । यसले ‘जुन राजनीतिक विचारलाई राज्यले आत्मसात गरेको हुन्छ त्यही विचार भएको व्यक्तिको नेतृत्व उपयुक्त हुन्छ’ भन्ने सामान्य राजनीतिक मान्यतालाई पनि स्वीकार गरेको देखिँदैन । कसैले पनि आफ्नो अक्षमता लुकाउन तथा व्यवस्थालाई दोषी देखाएर व्यवस्था परिवर्तन गर्दै पुनः पुनः शासनसत्तामा पुग्न खोज्नु गैरराजनीतिक चरित्रको उदाहरण हो । 

बेलायत, अमेरिका, अस्ट्रेलियालगायत विश्वका विभिन्न देशमा शताब्दीयांँदेखि एउटै संविधान र एउटै व्यवस्था निरन्तर चलिरहेको छ । बरु, नेतृत्व भने छोटो समयमा नै विस्थापित भएको देखिन्छ । शासन व्यवस्थामा कुनै प्राविधिक कठिनाइ अथवा बाधा अड्चन देखिएमा आवश्यक परिमार्जन गरिन्छ तर नेतृत्व निश्चित अवधि र लक्ष्य प्राप्तिपछि स्वतः निवृत्त हुने प्रचलन हुन्छ । विकसित मुलुकहरूमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका सार्वजनिक पदहरूका लागि निश्चित समयावधिसम्म मात्र प्रत्याशी बन्न पाइन्छ तर हामीकहाँ भने नेतृत्व पदसँगै आर्यघाटसम्म पुग्ने परम्परा अभैm कायम रहेको छ । नेतृत्ववर्गमा कुर्सीमोह यति धेरै देखिन्छ कि अघिल्लो पुस्ताका नेतृत्वकर्ताको जीवन समाप्त नभई पछिल्लो पुस्तामा नेतृत्व हस्तान्तरण सम्भव नै हुँदैन । त्यसैले पद्धतिलाई दोष दिनुभन्दा पहिला नेतृत्वको आचरण, व्यवहार, जनताप्रतिको जबाफदेही भए नभएको निष्पक्ष मूल्यांकन गरिनुपर्छ । अनिमात्र शासक फेर्ने कि शासन पद्धति फेर्ने भन्ने निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।  

( समाजशास्त्र विषयअन्तर्गत ‘प्रजातन्त्र र सुशासन’ शीर्षकमा विद्यावारिधि शोधार्थी) 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC