अहिले नेपाली जनसंचारका माध्यम, सामाजिक संजाल तथा जनमानस भारतीय सेनापति जनरल मनोज मुकुन्द नारभानेको आसन्न नेपाल भ्रमण एवं नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने समाचारले तरङ्गित छन् । विगतका वर्षहरुमा समेत यस्तै प्रकारका भ्रमण हुने र मानार्थ दर्जा प्रदान गरिने चलन भए पनि यसपटक यति धेरै चर्चा हुनुमा नेपाल–भारतबीच उत्पन्न सीमा विवादका कारण लामो समय कायम दुई देशबीचको संवादहीनता तथा जनरल नारभानेले लिपुलेक सीमा विवाद सम्बन्धमा नेपाल बारे दिएको विवादास्पद अभिव्यक्ति प्रमुख कारण हुन् । यो भ्रमण बारे नेपाली सेनाले जारी गरेको विज्ञप्तिले सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रतिक्रियाहरु निम्त्याएको छ । भ्रमणको घोषणाले जनमानसमा आशाका साथै आशंकाका लहर पनि उत्पन्न गरेको देखिन्छ ।
सामाजिक, सांस्कृतिक तथा भौगोलिकरुपमा अत्यन्त निकट दुई छिमेकी राष्ट्रबीच जति समस्या छन् त्यति नै मित्रता र सानिध्य पनि छ । एकअर्काबीचको आर्थिक, सामाजिक एवम् सामरिक अन्तरनिर्भरता पनि त्यत्तिकै गहिरो छ । त्यसैले लामो समयसम्मको कूटनीतिक तथा राजनीतिक मौनले दुवै पक्षमा संशय उत्पन्न भएको कारण पनि यो भ्रमण बढी चर्चा र चासोको विषय बन्यो । त्यसमाथि एसियाका उदीयमान शक्ति तथा नेपालका दुई छिमकी राष्ट्र भारत र चीनबीच विद्यमान गम्भीर सीमा संकट एवं नेपालको भूराजनीतिक अवस्थितिले ती दुई राष्ट्रका सुरक्षा चासोलाई अझ बढाएकोले पनि भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
हुन त दुई राष्ट्रका सरकार प्रमुखबीच सम्बन्ध चिसो रहेको अवस्थामा सेनापतिजस्तो कर्मचारीतन्त्रभित्रको एउटा संगठन प्रमुखको भ्रमणले समस्या समाधानमा खासै प्रभाव पार्ने देखिँदैन । त्यसमाथि पनि भारतजस्तो विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको लोकतन्त्र र सेनामाथि असरदार नागरिक नियन्त्रण भएको देशका सेना प्रमुखको राजनीतिक अधिकार र दायित्व अत्यन्त सीमित हुनेमा कुनै शंका छैन । अनि, भारतमा खारिएको राजनीतिक संस्कार, सशक्त विपक्ष र अतिराष्ट्रवादबाट अभिप्रेरित संचार माध्यम तथा जनता सधैँ जागरुक रहने अवस्था छ । यी यावत् कारणहरुले गर्दा पनि जनरल नारभानेको भ्रमणबाट नेपालमा उल्लेखनीय उपलब्धिको अपेक्षा गर्नु अपेक्षाकृत बढी नै आशावादी हुनु हो भन्न सकिन्छ ।
हाल भारत–नेपाल तथा भारत–चीनबीच भइरहेको सीमा तनाव, यस क्षेत्रको जटिल सामरिक परिप्रेक्ष्य एवं नेपाल र भारतबीच रहेको लामो संवादहीनताको अवस्थामा यस भ्रमणबाट केही आशा राख्नु अस्वाभाविक भने होइन । जनरल नारभानेको राजनीतिक हैसियत सीमित भए पनि यस विशेष परिस्थितिमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको भूमिका निर्वाह गरी व्यक्तिगतरुपमा केही सन्देश पुर्याउने अथवा प्रतीकात्मक जनाउ दिने सम्भावना भने पक्कै छ ।
भर्खरै भएको भारतीय गुप्तचर विभाग(र) का प्रमुख सामन्त गोयलको नेपाल आगमनको सम्बन्ध पनि सेनापति भ्रमणसँग हुने संभावना देखिन्छ । जनरल नारभानेले नेपाल भारतबीच विद्यमान समस्याका बारेमा कुनै विषय प्रवेश नै नगरी सामान्य औपचारिकतामात्र पूरा गरी फर्कँदा पनि अहिलेको अवस्थामा भ्रमणको विशेष महत्त्व रहन्छ । तसर्थ, नेपालले यस भ्रमणलाई अन्य अवस्थामा झैँ एउटा नियमित भेटघाटको रुपमा मात्र लिन कुनै हालतमा पनि मिल्दैन ।
नेपाल र भारतबीच सीमा विवाद चरमचुलीमा पुगेर विभिन्न तहमा आरोपप्रत्यारोप भई संवादहीनताको अवस्था रहेको परिस्थितिमा किन भारतीय सेनापतिले नेपालको भ्रमण गर्ने निधो गरे भन्ने प्रश्न महत्त्वपूर्ण् छ । पक्कै पनि मानार्थ दर्जा लगाउनकै लागि आतुर भएर जनरल नारभाने नेपाल आउन लागेका होइनन् ।
विगत आठ महिनादेखि थाती रहेको यस भ्रमणलाई कार्यान्वयनमा लैजान नेपाली र भारतीय सेनाको भूमिका त छँदैछ तर राजनीतिक नेतृत्वको चाहना र सेनापतिको आग्रह तथा तत्परता कति छ भन्ने कुराले पनि अर्थ राख्छ । कसले भ्रमणको पहल ग¥यो भन्ने कुरा पनि यहाँ महत्त्वपूर्ण हुन्छ । यी अन्तर्निहित पक्ष थाहा नभई भ्रमणको उद्देश्य यही हो भनी खुट्ट्याउन त सकिँदैन तर पनि केही संभाव्य निहित कारणहरुको आंकलन भने गर्न सकिन्छ ।
एउटा अनुमान, भारतीय राजनीतिक नेतृत्वले सीमा विवाद तथा नयाँ नक्साका सम्बन्धमा नेपाली सेना र सरकारको अडान कस्तो छ भनी व्यक्तिगतरुपमा नै नाडी छाम्न यो भ्रमणलाई हरियो बत्ती देखाएको हुनसक्छ । अनि, सीमा विवादका सम्बन्धमा कतै बाहिर अभिव्यक्त अडानभन्दा अन्य विकल्पको बारेमा पनि नेपालले सोचेको छ अथवा सोच्ने सम्भावना छ भनी पहिल्याउने प्रयत्न पनि हुन सक्छ ।
यी दुवै कुरा मौखिकरुपमा प्रकट भएनन् भने पनि नेपाली नेतृत्वका हावभाव (बडी ल्याङ्वेज) ले के संकेत गर्छ भनी पर्गेल्न उद्देश्य हुन सक्छ । उच्च तहको भ्रमणमा सन्देशहरु बोलीबाट व्यक्त नहुने अवस्थामा शारीरिक भावभङ्गीले पनि अर्थ राख्छ । तसर्थ, जनरल नारभानेको भ्रमणलाई एक प्रकारले नेपाली पक्षको ‘बटम लाईन’ पत्ता लगाउने भारतको ‘रेकी’को रुपमा हेर्न सकिन्छ । उनले भ्रमणपश्चात् भारतीय राजनीतिक नेतृत्वलाई सो बारे ‘ब्रिफिङ्ग’ गर्नेछन् ।
अर्को सम्भावना, यो भ्रमण विशुद्ध सैनिक पहलमा राजनीतिक नेतृत्वलाई मनाइ दुई सेनाको मित्रतालाई कायम राख्न मानार्थ दर्जा दिने कार्यको निरन्तरताका लागि मात्रै गरिएको पनि हुन सक्छ । यस्तोमा जनरल नारभाने सीमा विवाद सम्बन्धमा नेपाली पक्षको कुरा त सुन्ने तर चुइ“क्क नबोल्ने हिसाबले आउन सक्छन् ।
परन्तु, उनले केही नबोले पनि यो भ्रमणले प्रतीकात्मक सन्देश भने अवश्य दिन्छ । यसबाट एकातिर सीमा सम्बन्धमा नेपालको अडान पूर्ववत् नभएको भनी भारतीय पक्षले प्रचारवाजी गर्ने अवसर पाउँछ भने राजनीतिक तहमा सम्बन्ध चिसो हुँदाहुँदै पनि सैनिक तहमा भने सम्बन्ध सुमधुर नै रहेको सन्देश दिन पनि मद्दत गर्छ जसका सकारात्मक र नकारात्मक दुवै पाटा हुन सक्छन् । राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोको रुपमा हेरिने यस भ्रमणलाई सैनिक कुटनीतिका रुपमा मात्रै व्याख्या नगरिएला ।
त्यसैगरी, यस भ्रमणबाट भारतीय पक्षले नेपालसँग आफ्नो मित्रवत् सम्बन्धमा कुनै परिवर्तन नआएको देखाई चीनतर्फ साङ्केतिक सन्देश प्रवाह गर्ने मनसुवा राखेको पनि हुन सक्छ । हाल भारत र चीन लद्दाखमा आमनेसामने भई दुई देशको सीमा विवाद ४५ वर्ष यताकै खतरनाक मोडमा पुगेको अवस्थामा यस्ता सानातिना ‘सिम्बोलिज्म’हरुले पनि महत्त्व राख्छन् ।
हुन त यसले भारत र चीनबीच भौतिक शक्ति सन्तुलनमा कुनै फरक त पार्दैन तर पनि यसका साङ्केतिक एवम् मनोवैज्ञानिक प्रभावहरु भने हुन्छन् । कतिपय भारतीयहरुबाट नेपाल चीनतर्फ ढल्किएको आरोप बेलाबेलामा लाग्ने गरेको अवस्थामा यस्ता प्रतीकात्मक सन्देशहरु पनि अर्थपूर्ण हुने देखिन्छ ।
माथि उल्लिखित कुनै एक, दुई अथवा सबै उद्देश्यबाट पे्ररित भई यो भ्रमण तय भएको हुन सक्छ । अथवा, यहाँ अडकल गरिएको भन्दा भिन्नै उद्देश्यले पनि भ्रमण हुनसक्ने कुरालाई नकार्न सकिँदैन । तर, जुनसुकै लक्ष्यका साथ जनरल नारभानेको भ्रमण हुन लागेको भए पनि नेपाली पक्षले भने सबै सम्भावनाहरुलाई उत्तिकै महत्त्व दिई तयारी गर्नुपर्छ ।
मानार्थ दर्जा दिने तथा स्वागत सत्कार गर्ने कार्य त भई नै हाल्छ, त्यो ठूलो कुरा भएन । तर, माथि उल्लेख भए झैँ भारतको अभिप्राय हेरी नेपाली पक्षको प्रतिक्रिया केकस्तो हुनुपर्छ त्यसमा गहन छलफल र समन्वय गरी तयारी गर्ने कार्य महत्त्वपूर्ण हुन्छ । अर्थात्, भारतीय सेनापतिले भ्रमणपश्चात् नयाँ दिल्लीमा राजनीतिक नेतृत्वलाई जे बताउन् भन्ने नेपाली पक्ष चाहन्छ सोहीअनुरुप काठमाडौंमा तयारी हुनु आवश्यक छ ।
नेपालको प्रतिउत्तर पनि मौखिकमात्र नभई, लिखित, साङ्केतिक अथवा हावभावबाट दिनुपर्ने हुनसक्छ । अर्को कुरा, हाल नेपाली संचारमाध्यम तथा जनमानसमा यस भ्रमणका सम्बन्धमा विभिन्न खाले टीकाटिप्पणी भइरहेका तथा केही नेपालीहरुमा पनि उग्र राष्ट्रवाद देखिएको परिस्थितिमा आफ्ना विशिष्ट पाहुनाको उपयुक्त सुरक्षा र आत्मसम्मानको रक्षा गर्नु नेपाली पक्षको कर्तव्य हो । त्यसमा सजग र सर्तक हुन जरुरी छ ।
यस असहज परिस्थितिमा भारतीय सेनापतिको नेपाल भ्रमण तय भइसकेको अवस्थामा उक्त भ्रमणलाई कसरी सफल र नेपालको हित अनुकूल बनाउने भन्नेमा सम्बद्ध सबै पक्षको ध्यान केन्द्रित हुन जरुरी छ । यसमा कुनै व्यक्ति वा संगठनले जस लिन हानथाप गर्नेभन्दा पनि सैनिक कूटनीति पनि राष्ट्रिय कूटनीतिको एउटा अंश भएकाले समग्र कूटनीतिक संयन्त्रको सक्रिय परिचालन हुन आवश्यक छ ।
भ्रमणका क्रममा सीमा विवादका सम्बन्धमा नेपालले भारतलाई दिनुपर्ने सन्देश असरदार ढङ्गले प्रवाह गर्ने कार्यबाट चुक्नु हुँदैन । एक सेनापतिको निमन्त्रणामा अर्को सेनापति आउने भए पनि यस भ्रमणमा राज्यको लगानी र भविष्य गाँसिएको हुन्छ भन्ने बिर्सन मिल्दैन ।
यस्ता गतिविधिहरुले राष्ट्रिय हितमा टेवा पुर्याएनन् भने संगठन विशेषलाई वा व्यक्तिगतरुपमा जतिसुकै लाभ भए पनि त्यसको कुनै औचित्य रहँदैन । साथै, यहाँ व्यक्तिगत स्वार्थभन्दा संगठनको स्वार्थ माथि र संगठनको स्वार्थभन्दा राष्ट्रको स्वार्थ माथि हुन्छ भन्ने कुरा मनन गर्नु जरुरी छ । कुनै पनि हालतमा राष्ट्रिय स्वार्थ (न्यासनल इन्ट्रेस्ट) सर्वोपरि हो भन्ने हेक्का राखी अतिथिको स्वागत गरिनुपर्छ ।