बीबीसी । मृथुलक्ष्मी रेड्डीलाई महिला उन्नतिका क्षेत्रमा धेरै पहल गर्ने समाजसेवीका रुपमा चिनिन्छ । उनी पहिलो सर्जन, भारतकी प्रथम महिला विधायक र मद्रास विधान परिषदकी पहिलो महिला उपाध्यक्ष बनेकी थिइन् ।
मुथुलक्ष्मीको जन्म सन् १८८६ जुलाई ३० मा तमिलनाडुस्थित पुडुकोट्टईमा भएको थियो । उनका बुबा नारायण स्वामी अय्यर महाराजा कलेजका प्राध्यापक थिए । भने उनकी आमा चन्द्रामाई देवदासी समुदायबाट थिइन् ।
उनले मेट्रिकसम्मको पढाइ आफ्नो बुबा र केही शिक्षकहरुबाट घरमै पूरा गरेकी थिइन्, त्यो पनि उत्कृष्ट नम्बर ल्याएर । टपर भएर पनि छोरी भएकै कारण महाराजा हाई स्कुलले उनलाई भर्ना गर्न अस्वीकार गर्यो । समाजको रुढिवादी वर्गले उनको हाईस्कुल भर्नामा धेरै चासो दियो । यद्यपि उनको पढाइमा रुचि देखेर पुडुकोट्टईका मार्तड भैरव थोडामन राजाको सहयोगमा उनी हाईस्कुलमा भर्ना गराए । त्यो समयमा उनी स्कुलमा एक्लै केटी थिइन् ।
मुथुलक्ष्मी मद्रास मेडिकल कलेजको सर्जरी विभागमा पहिलो भारतीय महिला थिइन् । उनले सर्जरीमा टप गरिन् र स्वर्ण पदक जितिन् । किताब ‘मुथुलक्ष्मी रेड्डी-ए लेजेन्ड अन टु योरसेल्फ’ मा भनिएको छ कि उनी धेरै कुरामा पहल गर्ने पहिलो महिला मात्रै नभई महिलाको स्वतन्त्रता र सशक्तीकरणका लागि लड्ने पहिलो महिला पनि थिइन् ।
विवाहमा राखियो सर्त
मुथुलक्ष्मी सन् १९१४ मा डाक्टर टी. सुन्दर रेड्डीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । तर उनले विवाह गर्नुपूर्व एउटा सर्त राखेकी थिइन् । उनको सर्त यो थियो कि उनको सामाजिक गतिविधिहरु र अभावग्रस्तहरुको चिकित्सा सहयोगमा उनका श्रीमानले कुनै हस्तक्षेप गर्न पाउने छैनन् ।
उनलाई इंग्ल्यान्डमा महिला र बच्चाहरुको स्वास्थ्य परीक्षणका लागि चयन गरिएको थियो । तर उनका आमाबुबाले उनलाई त्यहाँ जान रोके । तब तमिलनाडुका स्वास्थ्यमन्त्री पानागल राजाले उनलाई एक वर्षका लागि आर्थिक सहयोग दिन सरकारलाई निर्देशन दियो ।
महिलाहरुको उत्थानका लागि स्वास्थ्यको तहमा मात्र काम गर्नु पर्याप्त नभएको महसुस गरी उनी त्यसपछि एनी बेसेन्टको निर्देशनमा महिला आन्दोलमा प्रवेश गरिन् ।
सन् १९२६ मा उनलाई भारतीय महिला संघ (डब्ल्यूआईए) द्वारा मद्रास विधान परिषद्का लागि मनोनीत गरिएको थियो । उनी १९२६-३० सम्म परिषद्मा रहिन् । सुरुमा उनी परिषद्मा सेवा दिन हिच्किचाएकी थिइन् । किनभने उनलाई आफ्नो मेडिकलसँग सम्बन्धित काममा प्रभाव हुने हो कि भन्ने डर थियो । यद्यपि उनले महसुस गरेकी थिइन् कि महिलाहरुले आफ्नो घर-निर्माणको क्षमतालाई राष्ट्र निर्माणमा पनि प्रयोग गर्नुपर्छ ।
महत्त्वपूर्ण कानुन निर्माणमा योगदान
मुथुलक्ष्मीले बाल विवाह रोकथाम, मन्दिरमा देवदासी प्रथाको अन्त्य, वेश्यालय बन्द गर्ने र महिला र बालबालिकाको बेचबिखन रोक्ने कानुन बनाउन महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् ।
परिषद्मा विवाहका लागि बालिकाहरुको उमेर बढाएर १४ हुनुनपर्ने विधेयक प्रस्तुत गर्दै उनले भनेकी थिइन्, “सती प्रथामा थोरै समयका लागि मात्रै पीडा हुन्छ जबकि बाल विवाह प्रथामा बालिकाको जन्मदेखि मृत्युसम्म एक बाल पत्नी, बाल आमा र बाल विधवाका रुपमा जीवनभर पीडा हुन्छ ।” उनले आफ्नो पुस्तक ‘माई एक्सपिरियन्स एज लेजिस्लेचर’ मा यो कुरा उल्लेख गरेकी छिन् ।
उनले यस पुस्तकमा यो पनि उल्लेख गरेकी छिन्, कि जब उनको बाल विवाह रोकथाम कानुन विधेयक स्थानीय प्रेसमा प्रकाशित भयो तब कट्टरपन्थीहरुले खुला बैठक र प्रेसमार्फत आक्रमण गरे । जसमा विश्वविद्यालयका ग्रयाजुएट्स्हरु पनि थिए ।
देवदासी प्राथविरुद्ध कानुन
देवदासी प्रथामा वयस्क केटीहरु र महिलालाई भगवान्को शरणमा दिइन्छ । मुथुलक्ष्मी यो प्रथा अन्त्य गर्न कानुन पारित गराउनेमध्येकी अगुवा थिइन् । उनले यस प्रक्रियामा पनि कट्टर समूहहरुको विरोधको सामना गर्नुपरेको थियो । यद्यपि यो प्रस्तावलाई मद्रास विधान परिषद्ले सर्वसम्मतिले समर्थन गर्यो र केन्द्र सरकारसमक्ष यसको सिफारिस गर्यो । अन्तत: यो विधेयक सन् १९४७ मा कानुन बन्यो ।
मद्रास विधान परिषद्समक्ष प्रस्ताव पेस गर्दा उनले भनेकी थिइन, “देवदासी प्रथा सबैभन्दा खराब रुप हो र यो धार्मिक अपराध हो ।”
मुथुलक्ष्मीमा एनी बेसेन्ट र महात्मा गान्धीको विचारधारको गहिरो प्रभाव थियो । यो कुरालाई प्रस्त पार्दै तिरुच्चिराप्पल्लीमा इतिहास विभागको रिसर्च स्कलर एम. एस. स्नेहलताको रिसर्च पेपर ‘मुथुलक्ष्मी रेड्डी, ए सोसल रेभ्युलिसनरी’ मा लेखिएको छ, “नमक सत्याग्रहको दौरान महात्मा गान्धीलाई पक्राउ गर्दा मुथुलक्ष्मीले मद्रास विधान परिषद्को सदस्यताबाट राजीनामा दिएकी थिइन् ।”
उनले देवदासीहरुको संरक्षणका लागि सन् १९३१ मा आफ्नो घर अड्यारबाट अ ब्वई घरको सुरु गरिन् ।
पद्म भूषणबाट सम्मानित
आफ्नी कान्छी बहिनीको क्यानसरका कारण निधन भएपछि उनले सन् १९५४ मा अड्यार क्यान्सर संस्थानको स्थापना गरिन् । यो संस्थानमा आज पनि भारतभरिका क्यान्सर बिरामीहरु उपचारका लागि आउने गर्छन् ।
औषधि र समाज सुधारको क्षेत्रमा पुर्याएको योगदानका लागि उनलाई सन् १९५६ मा पद्म भूषणबाट सम्मानित गरिएको थियो । यस्तै तमिलनाडु सरकारले मुथुलक्ष्मीको स्मृतिमा उनको जन्मतिथि (१९८६) मा हुलाक टिकट जारी गर्यो ।
उनको सन् १९६८ मा ८१ वर्षको उमेरमा निधन भएको थियो र गुगलले उनको सम्मान र सम्झना स्वरुप उनको जयन्तीमा डुडल बनाएको थियो ।
(पद्मा मीनाक्षी/बीबीसी तेलुगू)