site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजा ज्ञानेन्द्रको पहिलो कार्यकाल

सात दशकअघिको कुरा हो । विसं २००७ साल कात्तिक तेस्रो सातासम्म आइपुग्दा नेपालमा राणा विरोधी आन्दोलनले उग्ररुप लिइसकेको थियो । यही क्रममा राजा त्रिभुवन सपरिवार काठमाडौंस्थित भारतीय दूतावासमा शरण लिन पुगे । राणाहरुको सातोपुत्लो उड्यो । अनि बिहानैदेखि भएभरका मोटरहरु जाने र फर्किने क्रम अप्रत्याशितरुपमा बढ्यो । उच्चवर्गका राणाहरुसँग मात्र मोटर हुने त्यो समय सहरमा फाट्टफुट्ट गाडी देखिन्थे । तिनताका सिंहदरबारभित्र बन्दी बनाइएका गणेशमान सिंहले ‘मेरो कथाका पानाहरु’ नामको पुस्तकमा रोचक ढंगबाट त्यस दिनको वर्णन गर्दै भनेका छन् — ‘मानौँ सहरका सबै मोटर गाडी सिंहदरबारमा जम्मा भएजस्तो लागिरहेको थियो । लगातार मोटर दरबारमा आएको र फर्किएको आवाज सुनिइरहेको थियो । ठीक त्यही समयको आसपासमा धरहराबाट एकाएक बिगुल बज्न थाल्यो र निक्कै बेरसम्म आवाज आइरह्यो । 

कुनै महत्त्वपूर्ण घोषणा गर्नुपर्दा जंगी, निजामती, साहुमहाजन, सन्तमहन्त र दुनियाँलाई जम्मा हुने उर्दी जारी गर्न राणाहरु यसरी नै बिगुल फुक्न लगाउँथे । 

त्यो दिन चाहिँ राजा त्रिभुवनले (भारतमा) शरण लिएपछिको अवस्थामा कसरी अघि बढ्ने भनेर महाराज मोहनशमशेरले सबै भारदारलाई सिंहदरबारमा जम्मा हुन आदेश गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशी दूतावासमा शरण लिन गएका राजालाई के गर्ने ? कसरी अघि बढ्ने ? भन्ने एजेन्डाका साथ । 

सबै भारदार जम्मा भएपछि महाराजले राजाले भारतको शरणमा गएर मुलुकको बेइज्जत गरेको सुनाए । केही बेरको छलफलपछि उनलाई फर्काउन प्रयास गर्ने निर्णय भयो । तर, राणाले अनेक प्रयास गर्दा पनि राजा फर्किन मानेनन् । 

Global Ime bank

राणाहरु चेपुवामा परे । एकातिर राजगद्दी एकछिन पनि खाली राख्न नहुने परम्परा । अर्कोतिर राजा त्रिभुवन, उनका छोरा महेन्द्र र नाती वीरेन्द्रसहित राजपरिवारका सदस्यहरुले दरबार छाडिसके । 

अब के गर्ने ? राणाहरु संकटमा परे । अन्नतः मामा घरमा छुटेका राजा त्रिभुवनका माइला नाति नाबालक ज्ञानेन्द्रलाई राजा वनाउने निर्णयमा उनीहरु पुगे । अनि त्रिभुवनलाई गद्दीच्युत गरी ज्ञानेन्द्रलाई राजा घोषणा गरियो । श्री ३ को चाहना भएपछि नाइँ नास्ती गर्ने को ? साँडे तीन वर्षका नाबालक ज्ञानेन्द्र राजा भए । 

कात्तिक २२ गते मंगलवार दिनको २.४५ बजे हनुमानढोकाको नासलचोकमा हतारहतार नायब गुरु हेमराज पाण्डेले नाबालक राजा ज्ञानेन्द्रलाई श्रीपेच लगाई राज्यारोहण गराए । यसरी बुबा महेन्द्र र दाजु वीरेन्द्रभन्दा अघि ज्ञानेन्द्र राजा भए ।

परम्पराअनुसार भारदारहरुले दाम राखी नयाँ राजाको दर्शन गरे । समारोहमा बेलायती राजदूत जर्ज फल्कोनर सहभागी भए पनि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह भने उपस्थित भएनन् । नयाँ राजाको राज्यारोहण बारे २००७ साल कात्तिक २३ गते ‘गोर्खापत्र’मा समाचार छापियो — ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको राज्यारोहण, श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहको पदच्युत । राज्यारोहणपछि दिउँसो तोप पड्कियो । शीतलनिवासस्थित भारतीय दूतावासमा शरण लिइरहेका राजा त्रिभुवन के रहेछ भनेर बार्दलीतिर निस्किए । त्यो दिन शीतलनिवासमै रहेका व्यवसायी बी.एल. शर्माले ‘राष्ट्रपिता र म’ नामक पुस्तकमा राजा त्रिभुवनसँग भएको वार्तालाप यसरी लेखेका छन् । नातिलाई राजा बनाएको सूचना पाएपछि उनले शर्मासँग भनेका थिए — ‘ए राजा त हाम्रा नातिलाई पो बनाए छन्, हेर्दै जाऊँ ।’

नयाँ राजाको नाममा केही टक (सिक्का) पनि काटिए । राज्यारोहणपछि नाबालक राजा ज्ञानेन्द्रलाई हात्ती चढाएर सहर घुमाइयो । त्यो बेला नेपालमा भर्खरैमात्र जहाज चल्न थालेको थियो । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रहेको स्थान त्यो बेला गौचरन थियो । त्यही चौर सम्याएर भारतीय विमान सेवाले साताको एकपटक कलकत्ता काठमाडौं हवाई सेवा चलाएको थियो । 

भारतीय दूतावासमा शरण लिएका राजालाई जहाजमा दिल्ली लैजाने तयारी हुँदै थियो । यसबीच राणाहरु उनलाई दिल्ली जान नदिने रणनीतिमा लागे । केही उपाय नलागेपछि हवाई मैदानमा जताततै खाल्डो खनाई दिए । त्यतिले नपुगेर थोत्रा ट्रक तेस्र्याएर अवरोध गरे । भारत सरकारको चर्को दबाबपछि गौचरमा राखिएका ट्रक हटाइए । कात्तिक २५ गते भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहले श्री ३ मोहनशमशेरलाई भारतमा रहँदा राजा कुनै किसिमको राजनीतिमा सहभागी हुने छैनन् भन्ने प्रधानमन्त्री नेहरुको सन्देश सुनाए । अनिमात्र राजा र राजपरिवारलाई भारत लैजाने अनुमति राणा सरकारले दियो ।

दिल्ली एयरफोर्सका दुई विशेष जहाज काठमाडाैं विमानस्थलमा उत्रिए । अनि त्रिभुवन राजपरिवारका १७ सदस्यसहित दिल्लीका लागि उडे । 

राजा भारत जाने घोषणा भारतीय आकाशवाणी रेडियोमा प्रसार  भएको भोलिपल्टै कात्तिक २५ गते साँझ महावीर शमशेरको हिमालयन एयरवेजको जहाजबाट काठमाडौंमा घरका छाना छाना र सडक गल्लीभर राणा विरोधी पर्चा छरियो । फाट्टफुट्टमात्र जहाज देखेका काठमाडाैंवासीले उपत्यका थर्किने गरी निक्कै बेर अकाशमा फनफनी जहाज उँडेको पहिलोपटक त्यही बेला देखेका थिए । त्यो दिन वीरगन्जदेखि काठमाडौंसम्म पर्चा छरियो । 

कात्तिक २६ र २७ गते त्यही जहाजवाट फेरि नेपालको पूर्वी भागदेखि काठमाडौंसम्म रातो रंगको पर्चा छरियो । पर्चामा नेपाली सैनिकहरुलाई राजा त्रिभुवनको समर्थन गर्न अपिल गर्दै जहाजबाट बम खसालेर राणाहरुलाई समाप्त पार्ने चेतावनी दिइएको थियो । पर्चा छरेलगत्तै नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगन्जमा धावा बोल्यो ।
सिंहदरबार वरिपरि निकै बेर घुमेर जहाजले पर्चा फालेपछि  प्रधानमन्त्री मोहनशमशेरको सातो उडेको थियो । जहाजबाट बम फालेर उडाई दिनसक्ने त्रासका कारण कात्तिक २५ (२००७) गतेदेखि उनी सिंहदरबारमा सुत्न सकेनन् । दरबारको दक्षिणपट्टि बरफवागमा सुत्न थाले । 

त्यस दिन जहाजमा सवार भई पर्चा छर्नेमध्येका एक कांग्रेस नेता रामहरी जोशीले लेखकलाई सुनाएका छन् — ‘जनता दैनिकका एक पत्रकार सहित म पनि जहाजमा थिएँ । पटनाबाट उँडेको जहाजमा पाइलटले नेपालको नक्सा राखेका थिए । उनी कराउँदै फलानो ठाउँ आयो भन्थे । हामी त्यही आधारमा पर्चा खसाल्थ्यौँ । सबैभन्दा बढी पर्चा विराटनगरमा खसायौँ । फेरि चक्कर लगाएर हेर्‍याैँ । माथिबाट हेर्दा सडक रातै देखिन्थ्यो । पूर्वतिरबाट पर्चा खसाउँदै काठमाडौं उपत्यका छिर्न खोजेको मौसमका कारण पहिलो प्रयास सफल भएन । फर्किएर इलाम, दार्जिलिङ पुग्याैँ । फर्किएर साँझ काठमाडाैं आयौँ र पर्चा छर्‍यौँ । जोशीका अनुसार कांग्रेसले छरेको पर्चामा लेखिएको थियो ‘आजदेखि हाम्रो क्रान्ति सुरु भयो । तपाईँहरु सबै तयार रहनुहोला । यो राणा शासन छिट्टै खत्तम हुनेवाला छ ।’

तिनताका नेपाली आकाशमा त्यसरी जहाज उँड्दैनथ्यो । तर, कांग्रेसका क्रान्तिकारीहरुले घरको छतभन्दा केही माथिबाट जहाजमात्र उडाएनन् सेनाको ब्यारेकभित्रै पर्चा खसाई दिए ।  राणा फौजको सातो गयो । ‘जहाजले बम खसाल्ने भयो भन्ने हल्लाले राणा फौज आत्तिएर आत्मसमर्पण गर्ने मनःस्थितिमा पुगेको कुरा मातृकाप्रसाद कोइरालाले आफ्नो अनुभवमा लेखेका छन् । राणा फौज कति डराएको थियो भने थुनामा रहेका बन्दी छोड्दै सैनिक अधिकारीहरु भन्न थाले — ‘ल हजुर हामीलाई वचाई दिनु ।’ एक जना कप्तान त अत्तालिँदै ब्यारेकबाट बाहिरिए र अरु सैनिकलाई भन्न थाले ‘ल सुत है । बम पनि झार्न सक्छ ।’ बमभन्दा ठूलो शक्ति प्रवाह गरेको थियो त्यो पर्चाले । 

अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरपछि प्रधानमन्त्रीको रोलक्रममा रहेका बबर शमशेरका नाती कांग्रेस नेता सागर शमशेर राणाले ति दिन बारे लेखकलाई सुनाएका छन् — राणा परिवारका सदस्यले १६ वर्ष पुगेपछि मात्र सिंहदरबार गएर महाराजको दर्शन गर्नुपथ्र्याे । म सानै भएकाले जाँदैनथेँ । तर, घरमा खासखुस चल्दा कांग्रेसको त्रास खुब थियो । निक्कै कुरा भएको सुन्थेँ कांग्रेसको शक्ति कति छ भन्ने विषयमा । 

राणाले सुनाए मेरो बुबा (मृगेन्द्रशमशेर) मुमा र म कलकत्ता गएका थियौ । के कारण हो थाहा छैन । बुबा, म, आमा र दिदी थियाैं त्यहाँ । त्यही बेला राजा दिल्ली गएको र कांग्रेस बढेको खबर आयो । जहाजबाट नेपाली कांग्रेसले पर्चा छर्‍यो । हामी राणा शासन टिकाउने पक्षमा हुने नै भयौँ । त्यहाँ रमाइलो कुरा भयो । कांग्रेसीले पर्चा खसाए । हाम्रो बुबाको एकजना साथी थिए — पाइलट मिष्टर वेदर अल । दुई जनाको कुरा भयो, हामी पनि एउटा जहाज लगेर पर्चा खसाऊँ । 

पर्चा छरेलगत्तै कांग्रेसले वीरगन्ज कब्जा गर्‍यो । केही दिनपछि काठमाडौंबाट मद्दतमा गएको राणा फौजले वीरगन्ज फिर्ता गरायो । अनि राणाहरुले पनि एउटा भाडाको जहाजबाट सहर भर पर्चा छरे । 

लडाइँ जारी रहँदा कांग्रेसको मुक्ति सेनाले काठमाडौं बाहिरका धेरै सहर कब्जा गर्‍यो । अन्नतः दिल्लीमा राजा, राणा र कांग्रेसबीच त्रिपक्षी सम्झौता भयो । एक सय चार वर्षे राणा शासनको अन्त्य भयो । यसरी २००७ कात्तिक २२ गतेपछि फागुन ७ गतेसम्म नेपालमा एक साथ त्रिभुवन र ज्ञानेन्द्र दुई राजा भए । राणाले बनाएका नाबालक राजा ज्ञानेन्द्रलाई जनताले मानेनन् । अन्नतः २००७ साल फाुगन ७ गते राजा त्रिभुवन नै पुनःस्थापित भए । 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC