site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीति, विकास र शिक्षा

नेपाली जनताले करिब ६५ वर्षदेखि खोज्दैआएको भए पनि संविधान सभाले २०७२ सालमा मात्र नेपालमा संविधान जारी गर्न सक्यो । संविधान बन्ने नागरिककै लागि हो । संविधान भावि पुस्ताका लागि धरोहर बन्ने दस्ताबेज हो ।

देशमा संविधान छ । सरकार छ । राज्यका सबै निकायले काम गरिरहेका छन् । जे भए पनि चलिरहेको छ । यो पंक्तिकार २०६४ सालमा इन्जिनियरिङ प्रथम वर्षको विद्यार्थी छँदा संविधान सभाको पहिलो निर्वाचनमा उत्साहपूर्वक जीवनकै पहिलो मतदान गरेको थियो । इतिहासका विभिन्न आन्दोलनको बारेमा पढे पनि २०६२÷६३ सालको आन्दोलनमा स्वयं कीर्तिपुरमा परिवर्तनका पक्षमा आवाज उठाएको थियो  । तर, इन्जिीनियरिङ स्नातक तथा स्नाकोत्तर तहको पढाइपछि कर्मचारीका रुपमा राष्ट्र निर्माणमा सरिक हुँदा पनि अझै यो देश बन्ने लक्षण छैन ।

नेपालमा राजनीति एकदमै फोहोरी खेल हो भन्ने गरिन्छ  । राजनीति त राजनेताको नीति न हो  । हाम्रो देशमा नेताहरु राजनेता हुन नसकेकै हो  । नेताहरु खराब भए भनेर गाली गर्दैमा देश बन्दैन  । देश बन्न एकताको खाँचो छ  । असल नागरिकको कर्तव्य सही कुराको प्रशंसा गर्नु र खराब कुराको सभ्य भाषामा विरोध गर्नु हो  । नेपाली जनताले राणा, राजाको निरकुंशताप्रति पटकपटक विरोधको आवाज मुखरित गरे तर नेताहरुले आफनो व्यक्तिगत स्वार्थ र पार्टी तथा कार्यकर्तालाई सर्वोपरी ठान्दा विकास र सुशासनविना देश भुमरीमा फसिराखेको छ  ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली नेताहरुको सबैभन्दा ठुलो कमजोरी नै परिर्वतनलाई संस्थागत गर्न नसक्नु तथा नेतृत्व आफु नमरुञ्जेल अरुलाई नदिनु, जसरी भए पनि पैसा र सत्ताको दुरुपयोग गरेर आफनो कार्यकाल लम्याइरहनु हो  । परिर्वतनका लागि नेपाली नेताहरुले खेलेको भूमिकालाई प्रशंसा गर्नैपर्छ  । तर, परिवर्तनलाई संस्थागत गरेर विकासको दिशामा मुलुकलाई लान नसक्दा सबै उपलब्धि गुम्ने खतरा पनि बढेको छ  । आज राजनीतिक दलहरूभित्र र उनीहरूबीच विश्वासकै अभावले सानातिना कुरामा पनि विवाद हुने गर्छ  ।

नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले प्रधानमन्त्रीका हैसियतले योजना आयोगको बैठकमा बोल्दा उनका मनमा देशको परिस्थिति खासगरी नेपालको अविकसित अवस्था र जनतामा व्याप्त अशिक्षा र गरिबीको चित्र थियो । त्यसकारण उनले भने — ‘तपाईंहरूले योजना आयोगको भित्तामा राजाको फोटो त राख्नुभएकै छ । अब एउटा झुपडीको अगाडि हलोसँगै उभिएको गरिब नेपाली किसानको फोटो पनि भित्तामा झुन्ड्याउनोस् । अनि नेपालको विकासको योजना बनाउँदा आफैँलाई सोध्नोस्, ‘मैले बनाएको यस योजनाले त्यस किसानको जीवनमा के सुधार ल्याउन सक्छ ? के परिवर्तन ल्याउन सक्छ ?’ तपाईंहरूले बनाएको योजनाको मुख्य लाभ उसले पाउनुपर्छ ।’

Global Ime bank

यो देशको विकास नहुनुमा पहिला राणा, अनि राजतन्त्रलाई दोष दियाैँ । राजतन्त्र हटेपछि सब कुराको समाधान हुन्छ भन्यौ । फेरि अहिले आएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहिन्छ भनेर अर्को ‘नौटंकी’ नगराैँ । नेपालमा राजतन्त्रको अन्त्य भएको हुनाले सबै धर्म, जात, लिङ्ग, भाषा, संस्कृतिलाई माया गर्न ,राष्ट्र र राष्ट्रियताको प्रतीक आलंकारिक राष्ट्रपति हुनुपर्छ । यसमा विवाद नगरौँ । के प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुँदैमा देशको समस्या समाधान हुन्छ ? अनि संसदीय प्रधानमन्त्री हुँदामात्रै समस्या हुने हो ? हाम्रो संसद्भित्रको शक्ति सन्तुलन, सामाजिक बनोट, राजनीतिक संस्कृति र चरित्रको परिवेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका लागि संसदीय प्रणालीभन्दा झन् खराब हुनेछ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री भए पनि व्यवस्थापिकाको कामकाज संसद्ले नै गर्ने हो । कार्यकारी राष्ट्रपतिले आफूले चाहेअनुसारको काम गर्न आवश्यक पर्ने कानुन र बजेट पास गर्ने व्यवस्थापिका संसद्ले नै हो । 

कुनै पनि देशको विकासको लागि कुनै न कुनै पुस्ताले बढी योगदान गर्नुपर्छ । नेपाललाई बनाइदिन भनेर सन् १९५१ देखि नै विदेशीहरू आएका त थिए नि । तर आफ्नो माटो चिन्ने नेपाली आफैँले नबनाए अरु कसैले बनाउँदैन सक्तैन रहेछ । विदेशी मित्र राष्ट्रलाई गाली गरेर सार्वभौमसत्ताका प्रश्न उठाएर लाञ्छना लगाएरमात्र हुँदैन । प्रकृतिले नै नेपाललाई दिएका नदीनाला वनजंगल सुन्दर हिमाल  र तालको सही उपयोग गर्न नसक्ने अनि सबै कुरामा विदेशसँग निर्भर हुने गरेपछि कसले हेप्दैन र  ?

विकासको सन्दर्भमा नेपालले आफ्नो भौगोलिक अवस्थिति र उपलब्ध स्रोतसाधनको आकलन नगरी विकास रणनीति बनाउनु हुँदैन । भिन्न सामाजिक र भौगोलिक परिवेशले गर्दा नेपालले अन्य देशका विकासका ढाँचा यथावत् अपनाउन सक्तैन  । त्यसैले विकासलाई तीव्रता दिने ठानिएको व्यापार उदारीकरण नीतिबाट नेपाललाई खासै फाइदा भएको छैन । विदेशीको बढी सल्लाह र कम कामले गर्दा नेपालीहरूको परनिर्भरता बढेको छ  । आफैँंमा विश्वास नगर्ने तर विदेशीहरूको सल्लाहमा बढी विश्वास गर्ने प्रवृत्ति छ  । त्यस्तै सरकारी संयन्त्र र सरकारी कर्मचारीहरूबारे पनि जनविश्वास कमै छ  । समाजमा पनि एकआपसमा विश्वास घट्दै गएको भान हुन्छ  । ठग्ने र छल्ने प्रवृत्ति बढ्दा अर्थतन्त्रमा लगानी बढ्न सक्दैन  ।

नेपालमा अपेक्षितमात्रा आर्थिक विकास हुनसकेको छैन ।  देशमा  भएका विद्यमान स्रोतसाधनको व्यवस्थित र समुचित प्रयोग गर्दै आर्थिक विकासको बाटोमा आएका  बाधाहरू चिर्दै अगाडि बढ्नुपर्छ । नेपालले दक्षिण कोरियाभन्दा पाँच वर्षपहिले नै योजनाबद्ध विकास थाले पनि विकासका बाधाहरू यथावत छन्  । विकासको परिपाटीलाई अहिलेकै अवस्थामा राख्ने हो भने नेपाल बन्ने अपेक्षा गर्न सकिन्न  । अर्को ४० — ५० वर्षपछि फेरि नेपाल किन बनेन भनेर खोतल्नुपर्ने हुन्छ  ।

आर्थिक विकासको विश्व इतिहासले विकासको लागि कुनै एउटा निश्चित बाटो वा सूत्र दिएको छैन  । देशको आफ्नै राजनीतिक, भौगोलिक, सामाजिक र सांस्कृतिक सेरोफेरोमा नै विकासको बाटो खोज्नुपर्छ । कम्तीमा गाँस, बास, कपास र न्यूनतम भौतिक पूर्वाधारविहीन अवस्थाबाट पार पाउनुपर्छ । काम गरेर बाँच्न पाउनुपर्छ । वास्तवमा विकास गर्ने र विकास चाहिने भनेको देशका बासिन्दालाई नै हो । तसर्थ, देशको जनशक्तिको अधिकतम उपयोग गर्नु नै उत्तम रणनीति हो ।

सरकारले अध्ययन अनुसन्धानमा पर्याप्त खर्च गर्नुपर्छ । अहिले अवसर र काम नपाएर बौद्धिक जनशक्ति पलायन भएको छ । जनशक्तिले नै उत्पादनका अन्य साधन परिचालन गर्छ । नेपालले ठूलो संख्यामा रहेको युवा जनशक्तिबाट जनसांख्यिक लाभ लिनसकेको छैन । जनशक्ति निर्माण र उपयोगमा पनि यथोचित ध्यान दिएको छैन । आज पनि ५० लाख नेपाली विदेशमा रोजीरोटीको संघर्ष गरिरहेका छन् । प्रश्न उठ्छ हामीले आफ्नै देश बनाउन श्रम गर्ने कि विदेशमा ? यद्यपि, वैदेशिक रोजगार रहरभन्दा बढी बाध्यता हो ।

कुनै पनि देश  विकास हुन जनता शिक्षित हुनुपर्छ । शिक्षित देश धनी र विकसित छन् । अशिक्षित देश गरिब र अविकसित छन् । नेपाल अविकसित छ । किनभने यहाँ अझै धेरै अशिक्षित छन् । यति साधारण कुरा पनि नबुझे झैँ गरी शिक्षाको विकासमा किन धन र श्रम नलगाइनु उदेकलाग्दो विषय हो । शिक्षण संस्था खोल्नु राष्ट्रनिर्माणको जग हाल्नु हो । नेपाल सरकारले २०१६ सालमा १ हजार ६०० र २०१७ सालमा ६०० प्राथमिक विद्यालय खोलेको थियो । त्रिभुवन विश्वविद्यालय पनि २०१६ सालमै खोलिएको हो । त्यतिखेर सरकारलाई देश विकास कसरी गर्ने हुटहुटी थियो । अहिले पनि त्यही हुटहुटी हुनुपर्ने हो । तर, आज देशको पहिलो र पछिपछि खुलेका अन्य विश्वविद्यालय राजनीतिक भागबन्डा र गुणस्तरहीनताको केन्द्र बनेका छन् । प्राज्ञिक स्थिति निराशाजनक छ । शिक्षित र सक्षम जनशक्तिको तयार र तिनीहरूको प्रयोग हुन नसक्दा नेपालमा सर्वत्र भद्रगोल छ । 

अहिलेका विकसित सबै देशहरूले आवश्यक जनशक्तिको तयार गरेर र तिनीहरूको सही सदुपयोग गरेर नै विकसित भएका हुन् । नेपालमा भने न आवश्यक जनशक्तिको पहिचान गरिएको छ न त भएका जनशक्ति प्रयोग गरिएको छ । आज बेलायतबाट अक्सफोर्ड र केम्ब्रिज विश्वविद्यालय झिकिदिने हो भने त्यससित अरू के नै रहन्छ र ? एक हजार वर्ष पुरानो अक्सफोर्ड, नौ सय वर्ष पुरानो केम्ब्रिज, चार सय वर्ष पुरानो हार्वर्ड । अनि जम्मा साठी वर्ष पुरानो हाम्रो  त्रिभुवन विश्वविद्यालय । त्यो पनि भागबन्डाको सिकार  । जुन देशमा संस्थाहरू विकसित भएका छन्, ती आर्थिकलगायत सबै दृष्टिले सम्पन्न हुन्छन् । जुन देशमा संस्थाहरू विकसित भएका छैनन्, ती अविकसित, असुरक्षित र असफल हुन्छन् । संस्थाको विकासका लागि पनि शिक्षण संस्था नै चाहिन्छ । शिक्षा नभएको देशमा अदालत, प्रशासन, राजनीति र कानुनको राज्यको अवधारणा विकसित हुनै सक्दैन । बेलायतमा लिखित संविधान नहुँदा पनि प्रजातन्त्रको त्यति पुरानो अभ्यास चालु रहनुका कारण कानुनी राज्यको संस्कार र त्यो संस्कार विकसित गर्ने शिक्षण संस्थाहरू नै हुन् ।

प्रविधिले गर्दा आज विश्व एउटा घर जस्तै भएको छ । अब प्रत्येक क्षेत्रमा प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्छ । अहिलेको प्रविधिको विकासलाई आत्मसात गरेर भूपरिवेष्टितताले सिर्जना गरेको समस्यालाई चिर्नुपर्छ । इलेक्ट्रोनिक्स व्यापार, सफ्टवेयर निर्माण आदिमा जोड दिइनुपर्छ । खासगरी देशको वस्तुस्थितिअनुरुप विभिन्न क्षेत्र जस्तै — कृषि, उद्योग, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारको विकासका लागि सूक्ष्मरूपमा नियमित अध्ययन अनुसन्धान भई समस्याको पहिचान र सुझावको कार्यान्वयन गरिनुपर्छ । चीन  र भारतलाई विश्वासमा लिई कृषि, पर्यटन, जलविद्युत्, रेल, सडक र शिक्षाको क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गर्दै विकास अगाडि बढाउनुपर्छ । 
पेट्रोलियम पदार्थमा भारतसँग रहेको परनिर्भरता कम गर्दै बिजुलीबाट खाना पकाउनु पर्छ । अर्बौं जनसङख्या भएका चीन र भारतबाट वर्षमा कम्तीमा १ करोड पर्यटक आकर्षित गर्न सकेमात्रै पनि हामीले आर्थिक वृद्धिमा ठूलो फड्को मार्नेछाैँ । सरकारले देशभित्र दक्ष जनशक्ति पलायन हुनबाट रोक्नुपर्ने र सुरक्षा, विकास, संघीयता जस्ता विषयमा देशभित्र रहेका विज्ञको सहयोग लिनुपर्छ । भारतले बनाउँदै गरेको मोटरको सानो भाग हामीलाई दिने, चीनले बनाएको मोबाइल जडान गर्नेजस्ता ससाना कामबाट हामीले सुरु गर्नुपर्छ ।देशभित्र चाहिने र देशभित्रै उत्पादन गर्न सकिने वस्तुहरु सकेसम्म देशभित्रै उत्पादन गर्नुपर्छ । जुम्लाको स्याउ काठमाडाैंमा ल्याएर सस्तो मूल्यमा वितरण गर्ने योजना बनाउनुपर्छ ।

सबै पार्टी राष्ट्रिय सुरक्षाका मामलामा र देशलाई परिवर्तन गर्ने महापरियोजनामा एउटै मत बनाएर अगाडि बढनुपर्छ । आफ्ना कार्यकर्तालाई आन्दोलन होइन विकास निर्माणमा लगाउनुपर्छ । विकास निर्माणका लागि चाहिने लगानी जुटाउन सोच्नुपर्छ । 
इन्जिनियर । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC