site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हराउँदै कोदोखेती !
Sarbottam CementSarbottam Cement

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ ।

कुनै समयको महत्त्वपूर्ण खाद्यान्‍न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामीण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभजस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । वनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका २, बगरफाँटका वेदप्रसाद शर्माले बताए ।

करिब १० वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उनले बताए । “कोदो रोप्‍नै छाडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँबाट फलोस् त कोदो !” ८३ वर्षीय शर्माले भने । उनका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा हराउँदै जान थालेको कृषकको भनाइ छ । बेनी नगरपालिका ३, तोराखेतका देववहादुर सापकोटाको घरमा पनि काम गर्ने मान्छे छैनन् । उनको परिवारमा श्रीमती, छोरा र बुहारी छन् । छोरा विदेश गएका छन् भने बुहारीले घरमै पसल गरेकी छन् । वर्षौं पहिलेसम्म मुरीका मुरी कोदो फलाउने उनको घरमा पछिल्लो समय एक गेडा पनि छैन ।

कोदो फलाउने रहर भएर पनि बुढेसकालमा खेती गर्न नसकेको उनले बताए । “कोदो खाँदा के फाइदा हुन्छ भन्ने कुरा अहिलेकालाई थाहा छैन । कोदोले दिने बल धानको भातले कहाँ दिन्छ र ?” उनले सम्झिए, “म सानो हुँदा कोदोको ढिँडो र तरकारीसँग पेट भरेपछि ड्याम्म ज्यान बन्थ्यो । दिनभर काम गर्न सकिन्थ्यो ।” अहिलेका युवाले कोदोको महत्त्व नबुझेका कारण उनीहरूमा पाको पुस्ताको जस्तो बल नभएको र निरोगी पनि हुन नसकेको उनको भनाइ छ ।

Global Ime bank

औषधीय गुण भएको तागतिलो खाद्यान्‍न मानिने कोदोको खेती गाउँघर तिर निकै कम हुँदै गएको मालिका गाउँपालिका ओखरबोटका ६४ वर्षीय भवीराज विक बताउँछन् । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीय बताउँछन् । भएको कोदो पनि रक्सी पार्न (घरेलु मदिरा उत्पादन गर्न) का लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो, पिठो बनाएर खाने चलन हराउँदै गएको अर्मनका कृषक श्यामलाल सापकोटाको भनाइ छ । 

गाउँघरमा कोदोको प्रयोग कम हुँदै गएको भए पनि सहरका होटेलहरुले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्न थालेका छन् । होटेलमा आउने पाहुनाहरूले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका बेनीको होटेल यतीकी सञ्चालिका विमला गौचनले बताइन् । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ ।

कोदोलाई खानाका रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घरेलु मदिरा उत्पादनमा कोदोको प्रयोगलाई रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले ठूलो परिमाणमा कोदोबाट बनाइएका मदिराहरु बरामद गरेर नष्ट गर्दै आएको बताए ।

चिकित्सा विज्ञानले खाद्यान्‍नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्त्व पाइने ज्यामरुककोट स्वास्थ्यचौकीका चिकित्सक खगराज निउरेले बताए । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिने उनको भनाइ छ ।

म्याग्दीको २० हजार ४८२ हेक्टर खेतीयोग्य जमिनमध्ये पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC