site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्म गर फलको आशा (न)गर

यस आलेखको शीर्षकमा कोष्ठभित्र ‘न’ राखिएकाले पाठकमा कौतुहल उब्जेको होला । यो छोटो लेखमा कौतुहल मेट्ने जमर्को हुनेछ । निसन्देह, श्रीमद्भगवतगीता ज्ञानको अद्भूत भण्डार हो जसबाट जीवन र जगतको बृहत्तर बोध गर्न सकिन्छ । 

भागवद्गीताको अध्याय दुईमा रहेको ४७ औं श्लोकको पहिलो पंक्ति “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” लाई उद्धृत र व्याख्या गर्दै त्यसको अर्थ ‘कर्म गर, फलको आशा नगर’ भन्ने लगाइन्छ । तर जनमानसले बुझेको र जानेको यस भावार्थलाई गीताका ज्ञाताहरु भने गलत बुझाइ हो भन्छन् । ज्ञानीहरुको बुझाइमा उक्त श्लोकको सार ‘फलको आशा नगर’ भन्दा पनि ‘कर्मफलप्रति आशक्त नहोऊ’ भन्ने हो । किनभने, कर्मफलप्रतिको आशक्ति भनेको इन्द्रियभोगको अभिलाषा गर्नु हो । इन्द्रियभोगमा लागेका मानिस कर्ममा दत्तचित्त हुन सक्दैन । कर्म गर्ने समयमा भविष्यमा कस्तो फल प्राप्त होला भनेर चिन्ता गर्नु दुःखको कारण हो । किनभने हामी कर्ममा भन्दा पनि कर्मफलको आशामा चिन्तित हुन्छौं । ‘श्रीमद्भगवद्गीता यथारुप’का लेखक श्री श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपाद आफ्नो पुस्तकमा भन्नुहुन्छ — “आफ्ना कर्मको फलप्रति आसक्त हुनु पनि एउटा कर्मबन्धन नै हो । यसो गर्नाले कर्ता आफूद्वारा गरिएको कर्मका फलको भोक्ता बन्न पुग्छ ।”

आशा गर्नु र चिन्ता गर्नु फरक कुरा हुन् । ‘चिन्ताले चितासम्म पुर्याउँछ’ भन्ने उक्ति त हामी सबैलाई थाहा भएकै कुरा हो । अपितु, आशा गर्दा पनि तत्काल फल प्राप्ति होस् भन्ने चहाना राख्नु अथवा कर्मअनुरुप प्राप्त हुन सक्नेभन्दा बढी फलको इच्छा गर्नु दुःखको कारण हुन सक्छ । कर्मका नतिजा तत्काल प्राप्त नहुन सक्छ भने कतिपय परिणाम भौतिक प्राप्ति वा इन्द्रिय सुखमा नभई आध्यात्मिक आनन्द वा सन्तोषका रुपमा देखिन सक्छ । वास्तवमा, भौतिक लाभभन्दा आत्मिक सन्तोष नै परम फल हो – ‘सन्तोषम् परम् सुखम् ।’ तर, व्यवहारमा हामी त्यसो गर्न सकिरहेका हुँदैनौ ।

Prabhu Bank
Agni Group
NIC Asia

हामीले सोचेजस्तो, कर्म गराई र फल प्राप्तिबीच सँधै स्पष्ट कार्यकारण सम्बन्ध (कज एन्ड इफेक्ट रिलेसनसिप) नहुन सक्छ । अथवा, कतिपय अवस्थामा ती दुईबीचको सम्बन्ध तत्कालै नदेखिने अथवा अमूर्त हुन सक्छ । हामी कुनै पनि कर्म गरेपछि तुरुन्तै नतिजाको अपेक्षा गर्छौँ । यसरी, धैर्य नहुँदा काम, क्रोध, लोभ, मोह, अज्ञान तथा दुःखबाट निर्वृत्ति मिल्दैन । हामी कुनै जित हासिल गर्न चाहन्छौँं भने सर्वप्रथम जितप्रतिको मोह र हारप्रतिको चिन्ता दुवै त्यागी निश्चिन्त भएर काम गर्नुपर्छ । सत्कर्म गरे फल आफैँ प्राप्त हुन्छ किनभने सत्कर्ममा फलको आशा नै हुँदैन । 

अनि, हामीले कर्म गर्दा सदा समभावमा रहेर गर्नुपर्छ । आफ्नो इच्छाअनुरुप कर्मफल प्राप्त भयो भने खुसी नत्र दुःखी हुनु भने समभाव होइन । फल प्राप्तिको इच्छाले कुनै कर्म गर्यौँ भने हामी कर्मबन्धनमा बाँधिन्छौँ र कर्मबन्धनमा बाँधियौँ भने मुक्ति र शान्ति दुवै प्राप्त हुँदैनन् । तसर्थ, जे छ त्यसैमा रमाउन सक्यौँ भने हामी सुखी हुन्छौँ ।

Global Ime bank

गीतामा भनिएको तीन प्रकारका कर्महरु राजस, तामस र सात्विकमध्ये हामीले सात्विक कर्म गर्नुपर्छ । तामस कर्म हिंसा र पुरुषार्थको विचार नगरी गरिन्छ भने राजस कर्म गर्दा मनमा लोभ मोहको ठूलो आसक्ति राखेर गरिन्छ । किन्तु, सात्विक कर्म जुन फलको आशाविना अर्थात् आसक्ति रहित भई गरिन्छ सबैभन्दा उत्कृष्ट कर्म हो ।

उक्त सतचालीसौं श्लोकको पूर्ण पाठ “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ।।” लाई गहन विश्लेषण गर्ने हो भने त्यसमा चार कुरा भनिएका छन् । पहिलो, तिमीमा कर्म गर्ने अधिकार छ । दोस्रो, कर्मफल तिम्रो अधीनमा छैन । तेस्रो, कर्मफल जेजस्तो आउँछ त्यसको कारण कहिल्यै आफूलाई नमान । चौथो, जे भए पनि तिमी कर्म गर्नबाट कहिल्यै विमुख नहोऊ । कतिपय अवस्थामा समय, परिस्थिति र वातावरण हाम्रा वशमा हुँदैनन् र गरेको कामको परिणाम हामीले सोचेभन्दा फरक पनि निस्कन सक्छ । तैपनि, हामीले कर्म जारी राख्नुपर्छ ।

अझ भगवद्गीतामा त कर्म गर्दा आफ्नो व्यक्तिगत हितका लागि नभई समाजको हितको लागि गर भनी अभिप्रेरित पनि गरिएको छ । लोक हितका लागि कर्म गर्दा व्यक्तिगत फलको चिन्ता नहुने भएकाले व्यक्तिगतरुपमा असन्तुष्टि, निराशा र हीनताबोध हुँदैन र हामी सदा खुसी र सन्तुष्ट जीवनयापन गर्न सक्छौँ ।

यसरी उल्लिखित श्लोकको अभिप्राय ‘फलको आशा नगर’ भन्ने नभई ‘कर्मफलको चिन्ता नगर’ भनी मान्ने हो भने कर्मफलप्रतिको आशालाई इन्कार नगरिएको बुझ्नुपर्छ । आशा किन र कसरी गर्ने वा नगर्ने भन्ने चर्चा भइसकेपछि आशा कति गर्ने भन्ने प्रसंङ्ग पनि आवश्यक देखिन्छ । आशा के कति राख्ने भन्ने सम्बन्धमा उल्लिखित श्लोकको अन्र्तनिहित मर्मलाई दैनन्दिन जीवनमा ‘कर्म गर फलको आशा पनि गर तर त्यतिमात्रै आशा गर जति तिमीले कर्म गरेका छौ’ भनी आनुपातिक अपेक्षा (प्रपोर्सनेट एक्सपेक्टेसन)को रुपमा व्याख्या गरियो भने केही व्यावहारिक र जीवनपयोगी हुने देखिन्छ । 

उल्लिखित श्लोकको अर्थ ‘कर्म गर, फलको आशा पनि राख, तर फलप्रति आसक्त नहोऊ’ भन्नेमा सामान्यतः सहमत हुँँदै फलको अपेक्षा कति राख्ने भन्ने प्रसंगलाई यहाँ थप चर्चा गर्नु उपयुक्त हुन्छ । तपस्वी, त्यागी र महात्माहरुको कुरा बेग्लै हो । उहाँहरु फलको आशा नराखी कर्म गर्न सक्नुहोला जुन सर्वोत्कृष्ट कर्म (सात्विक) पनि हो ।

तर, हामीलाई थाहा छ हामीजस्ता सामान्य मानिसलाई कुनै पनि फलको अपेक्षा नराखी कर्ममात्र गरेर बस्ने कुरा असम्भव नभए पनि अत्यन्तै कठिन हो । निष्काम कर्म गर्ने यत्न गरियो नै भने पनि गृहस्थ जीवनमा फलको अपेक्षाविनाको कर्म कति समयसम्म गर्न सकिन्छ भन्ने विचार पनि उत्पन्न हुनसक्छ । अर्कोतर्फ, ‘फलको आशा’ गर्ने वा नगर्ने बुझाइ एक हिसाबले सापेक्षिक होजस्तो लाग्छ । कसैको व्याख्यामा तुरुन्तै लाभ हुनुलाई फलको आशा गर्ने भन्ने हुनसक्छ भने केहीको बुझाइमा हतार नगरी समय परिपक्व भएपछि फल प्राप्त गर्ने भन्ने पनि हुनसक्छ ।

अझ कतिपय आस्तिक र पुनर्जन्ममा विश्वास गर्ने महानुभावहरुको सोचाइमा अर्को जन्ममा लाभ प्राप्त गर्ने अथवा पुण्य प्राप्त गर्ने भन्ने पनि होला । कतिको समझमा आत्मसन्तुष्टि अथवा अनन्त शान्ति प्राप्त गर्नु नै फल प्राप्त गर्ने भन्ने बुझाइ पनि हुन सक्छ । त्यस्तैगरी, फललाई मानमर्यादा, इज्जतप्रतिष्ठा, पहिचान तथा आर्थिक एवं भौतिक लाभको कसीबाट पनि हेर्न सकिएला । यी सब व्यक्तिका दृष्टिकोणमा भरपर्ने विषय हुन् । 

किन्तु, जस्तोसुकै दृष्टिकोण भए पनि एउटा कुरा के बुझ्न जरुरी छ भने हामीले जति कर्म गर्छौँ त्यति नै फलको आशा गर्नुपर्छ । त्यो न्यायोचित पनि होला । अपेक्षा व्यवस्थापन (एक्सपेक्टेसन म्यानेजमेन्ट) आजको चुनौती र आवश्यकता हो । हामी कतिपयमा कस्तो मानसिकता छ भने कर्म थोरै गर्छौँ तर फलको आशा चाहिँ धेरै गर्छौँ । हामीमध्ये अधिकांश फल तत्काल प्राप्त होस् भन्ने कामना गर्छौँ ।

यो नै दुःख, तनाव, चिन्ता तथा अनुचित कार्यतर्फ प्रवृत्त हुने धेरैमध्ये एउटा कारण हो । जब हामी एक पाउको कर्म गर्छौँ तर फलको आशा चाहिँ एक क्विन्टलको गर्छौँ तब त्यहा“ कर्म, आशा र फल (परिणाम)का बीचमा तालमेल हुँदैन । तर, कसैले एक क्विन्टलको कर्म गरेको छ भने उसले सोहीअनुरुप आशा गर्नु अनुचित नहोला । त्यस्तो आशालाई अरुले अन्यथा पनि लिँदैनन् ।

परन्तु, कुन कर्म एक पाउको हो र कुन एक क्विन्टलको भनी खुट्याउने काम कर्ताको भन्दा पनि त्यस कर्मबाट प्रभावित वा लाभान्वित हुनेको हो अथवा फल दिनेको हो । कर्ता ज्ञानी र व्यावहारिक (रियालिस्ट) छ भने आफ्नो कर्मको वस्तुनिष्ठ मूल्याङ्कन आफैँ पनि गर्न सक्ला । एक हिसाबले, आफूले गरेको कर्मलाई समय र परिस्थितिको कसीमा राखेर तौलन र त्यसको परिमाण यकिन गर्न सक्नु नै फल प्राप्तिप्रति वस्तुपरक हुनु हो ।

यो सजिलो छैन । सायद, फल प्राप्तिप्रति आसक्त हुने एउटा कारण व्यावहारिक अथवा वस्तुपरक ढङ्गले आफ्नो कामको मूल्याङ्कन गर्न नसक्नु नै हो । यसमा अर्को थप कुरा के छ भने आफूबाट कुनै ठूलो कर्म गरिएको छ र फलको आशा पनि समुचित नै राखिएको छ भने पनि त्यस्तो अपेक्षा अरुका सामु प्रकट हुन नदिनु नै उचित हुन्छ ।

त्यसो गरियो भने कदाचित् फल प्राप्त भएन भने पनि अरुका सामु दुःखित हुनुपर्ने परिस्थिति सिर्जना हुँदैन । धेरैजसो दुःखको प्रादुर्भाव समाजमा हामीले अरुसँग गर्ने तुलनात्मक व्यवहारको कारणबाट हुन्छ । अर्को पाटोबाट हेर्दा कतिपय अवस्थामा आफूले गरेको आफ्नो कर्मको आकलन पूर्वाग्रही हुन गएको अथवा विविध कारणले गर्दा अधिक मूल्याङ्कित भएको पनि हुनसक्छ । अर्थात्, सायद त्यो कर्म समग्रमा एक पाउको पो थियो कि ? अनि आफूले त्यसलाई एक क्विन्टलको रुपमा पो ठानियो कि?

मेरो यो लेखनको अभिप्राय सनातन धार्मिक, वैदिक र आध्यात्मिक चिन्तनको पुनव्र्याख्या गर्ने होईन र म त्यो हैसियत पनि राख्दिन । आध्यात्मिक धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीतामा उल्लिखित अमृतरुपी सो श्लोकको बारेमा गहन चिन्तन गर्दै जाउँला ।

अहिलेलाई सफलता र लाभको पछि दौडने भौतिकवादी चिन्तन भएको समाजमा विचार मन्थन गर्न सकियोस् भन्ने आशयले मात्र यो टिप्पणी लेखेको हुँ ।

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ श्लोकको शाब्दिक वा गूढ बुझाइ पृथकै भए पनि हामीले दौडधुपको दैनिक जीवनमा त्यसको मर्मलाई ‘कर्म गर फलको आशा पनि गर तर त्यतिमात्रै अपेक्षा गर जति तिमीले कर्म गरेका छौ’ भनेर मात्र बुझ्यौँ भने पनि केही हदसम्म भए पनि दुःखित र द्रवित हुनु नपर्ला । कर्मको परिमाणअनुरुप फलको आशा गरिएमा आसक्तिले गर्दा हुने नकारात्मक असर पनि कम होला । सारमा ‘फल प्राप्ति’ कर्म गराइसँग मात्र नभई आशासँग समेत अन्योन्याश्रित सम्बन्ध राख्ने भएकाले हामीले आशा त्यति गरौँ जति कर्म गरेका छौँ । यथार्थपरक हाऊँं । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC